Wednesday, November 1, 2017

इतिहास पुरुष : ‘तीन लाल’को सालिक बेहाल





- गणेश राई, मन्थली


पुस २०, २०७३- रामेछाप जिल्लाको सदरमुकाम मन्थली फाँट । यही फाँटको एक तह उचाईको टारमा माझीबस्ती फैलिएको छ । यही माझी बस्तीको तल्लो छेउतिर थोरै क्षेत्रफल पर्खाल र तारबारभित्र एउटै ठाउँ तीन ऐतिहासिक पुरुषको अर्धकदको सालिक राखिएका छन् । जसलाई भनिने रहेछ– ‘तीन लाल ।’

सालिकको बायाँबाट क्रमश: सहिद गंगालाल श्रेष्ठ, कम्युनिस्ट पार्टीका संस्थापक नेता पुष्पलाल श्रेष्ठ र राणाकालमा ‘मकैखेती’ पुस्तकका लेखक कृष्णलाल अधिकारी रहेछन् । सालिकको अगाडि भागमा लेखिएका यी व्यक्तित्वको नामको अक्षर खुइलिइसकेका छन् । यी ढुंगेसालिक मूर्तिकार रामकृष्ण भण्डारीले कुँदेका हुन् । मुस्किलले अनुमान गर्न सकिने मिति २०५२ साल उल्लेख छ । कसले बनाएको भन्ने कतै देखिदैन । जिल्ला विकास समितिको सहयोगमा बनाइएको भन्ने स्थानीय बताउँछन् । सालिकमा उल्लेख परिचय खुइलिइसकेकोले नवआगन्तुक जोकोहीले यी ‘तीनलाल’बारे जानकारी पाउने नसक्ने स्थिति छ ।

वरिपरि बोटबिरुवा रोपिएका छन् । सरसफाई कसैले गरेका छैनन् । मन्थली पुगेका आगन्तुहरू यस ठाउँमा पुग्छन् । साहित्यकार तथा समाजसेवी जगदीश घिमिरे प्रतिष्ठानको निमन्त्रणामा मन्थली पुगेको साहित्यकार टोलीलाई यहाँ अवलोकन गराइएको थियो । वरिष्ठ नाटककार अशेष मल्ल, नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ मातृका पोखरेल, साहित्यकारहरू रोचक घिमिरे, ज्ञानुवाकर पौडेल, महेश प्रसाई, लक्ष्मण गाम्नागे, रमेश पौडेल, रुपक बनबासी, पत्रकार राजकुमार बानियालगायत सहभागी थिए । मन्थलीस्थित तामाकोशी सहकारी अस्पतालका निर्देशक डा. सुमन कर्माचार्यले अवलोकन गराएका थिए ।

को हुन् तीनलाल ?

देश नेपालमा जहानियाँ राणाशासनबाट मुक्ति दिलाउने चार सहिदमध्ये गंगालाल श्रेष्ठ एक हुन् । उनी काठमाडौं जन्मिएका र पिता भक्तलाल श्रेष्ठको जागिरको सिलसिलामा रामेछापमा हुर्किएका थिए । उनकै भाइ हुन्– पुष्पलाल । पुष्पलाल रामेछापको भँगेरीमा जन्मे, हुर्केका थिए । उनी जन्मिएको घर भत्किइसकेको छ भने उक्त ठाउँमा एउटा ढुंगा चिनो राखिएका छ । 

कृष्णलाल अधिकारीलाई नेपालका प्रथम साहित्यिक सहिदका रुपमा लिइन्छ । रामेछापकै कठजोर गाविस–६ तिल्पुङ गाउँ (हाल– मन्थली नगरपालिका–४)मा वि.सं. १९४४ माघ २४ गते उनको कृष्णलाल अधिकारीको जन्म भएको थियो । राणा कालमा मालअड्डाका सुब्बा रहेका कृष्णलालले ‘मकैको खेती’ भन्ने किताब लेखेवापत राणाशासक जेल हालेका थिए । उक्त किताबमा उनले मकै खेती गर्दा, मकै भण्डारण गर्दा दुई किसिमको कीरा लाग्ने उल्लेख गरेका थिए । ‘कालाटाउके’ र ‘राताटाउके’ कीरा लाग्ने, त्यसमध्ये राताटाउके खतरनाक हुन्छ भनेर उल्लेख गरेका थिए । त्यसरी ‘राताटाउके’ भनेर राणाशासकलाई लक्षित गरेको भन्दै उनका विपक्षले शासकलाई पोल लगाउपछि जेल हालिएका थिए । १९८० सालमा कारागारमै उनको निधन भएको थियो ।

दलीय पकड

रामेछापमा जन्मे तथा हुर्केका यी तीन व्यक्तित्वलाई विशेषगरी नेकपा (एमाले) ‘तीनलाल’को उपमा दिएर उसकै अगुवाईमा सालिक २०५४ सालतिर सालिक स्थापना गरिएको हो । एमालेनिकटले ‘तीनलाल एफएम’ रेडियो नै सञ्चालन गर्दैआएका छन् । यो कामलाई नेपाली कांग्रेस पक्षले त्यत्ति रुचाएका छैनन् । ‘यी ‘तीनलाल’को सालिकमा वर्षमा एक दिन (माघ १६ गते सहिद दिवस)मात्र फूलको थुँगा चढाउने काम भइआएको छ,’ डा. कर्माचार्य भन्छन्, ‘यसरी ऐतिहासिक व्यक्तित्वको अपमान गर्नुभन्दा सालिक नै नबनाएको भए वेश हुन्थ्यो ।’ यी व्यक्तित्वले देशका निम्ति बलिदानी गरे भन्ने इतिहास साक्षी छ । तर, पिछडिएको माझी बस्ती माझ सालिक स्थापना गर्नुको औचित्यसमेत पुष्टि भएको छैन । सालिक निर्माणले उनीहरूको बस्तीको शोभा बढ्न सकेको छैन । 

प्रकाशित: पुस २०, २०७३
कान्तिपुर दैनिक 

http://kantipur.ekantipur.com बाट साभार 

No comments:

Post a Comment