Thursday, September 27, 2018

शहरमा मार्क्स - मातृका पोखरेल

शहरबाट मार्क्स हराएको केही समय पछि
मैले उनलाई अस्ति एक्कासी बागबजारको श्रेष्ठ टेलरिङ्ग छेउमा भेटें ।

उनले मलाई पुरै बिर्सिसकेका रहेछन्
उनै पुराना कार्ल मार्क्स हुन भन्ने थाहा पाएपछि
मैले लालसलाम कमरेड भने,
र हात मिलाउन खाेजेँ
उनले अफ्ट्यारो मान्दै हात मिलाए ।

मैले उहिले भेट्दा उनले दारी पालेका थिए
हिजोआज जुँगामात्र राखेर दारी काटेछन
मनमनै लाग्यो- बुढा दारीमैं सुहाउँथे
राम्रो गरेनछन । 

आरामविरामका केही औपचारिक कुरा भए
उनले मलाई सोधे
श्रेष्ठ टेलरिङ्ग कहाँनेर पर्छ ?
मैले हातको इसाराले श्रेष्ठ टेलरिङ्ग देखाइ दिएँ ।
'त्यहाँ दौरासुरुवाल राम्रो सिलाउँछ भन्ने सुनेको थिएँ '
ऊनी स्पष्टीकरण दिँदै श्रेष्ठ टेलरिङ्गतिर गए
ऊनी गएको बाटो लामो समय मैले हेरिरहेँ ।

आज मैले फेरि उनलाई इन्द्रचोकनेरको एउटा गल्लीमा भेट्टाएँ
आज उनी दौरासुरुवालमा सजिएका थिए
घनिष्टता वोध गरेर हात मिलाउन खाेजेँ
मैले बढाएको हात नदेखेझैं गरे उनले
त्यसपछि मैले नमस्कार गरेँ
उनले खुसीका साथ नमस्कार फर्काए
कुनै पसलको खोजीमा थिए उनी
उनले खोजेको पसल मैले जान्न चाहेपछी
एकछिन अक्माकिए ऊनी
बिर्के टोपी पाइने दुकान कता होला बाबू ?
निकै अफ्ट्यारो मान्दै उनले फेरि सोधे ।

शहरबाट मार्क्स हराएको केही समय पछि
मैले उनलाई आज एक्कासी इन्द्रचोकको एउटा पुरानो गल्लीमा भेटें
उनी बिर्के टोपीको दुकान खोज्दै थिए ।

000 

No comments:

Post a Comment