Thursday, June 17, 2021

आलोचनाको यात्रा : यात्राको एउटा दृश्य - तेलवलास अधिकारी

       





------------------------------------------------------------------------------

आलोचनाको यात्रा : यात्राको एउटा दृश्य

तेलवलास अधिकारी

समीक्षा


अग्रभाग

सर्वकाल आलोचनात्मक बन्न प्रेरित गर्ने कविताहरुको माला हो । यात्राको एउटा दृश्य (२०६०) । नेपाली कविता यात्राका एक इमान्दार साधकका रूपमा परिचय बनाइसकेका साहित्यकार मातृका पोखरेल कविता, कथा र समालोचना क्षेत्रमा परिचित छन् । उनको पहिलो र कोमल परिचय बनेको क्षेत्र कविताको मौलिक कृतिहरुमध्ये ‘यात्राको एउटा दृश्य’ भित्र २२ (बाईस) कविताहरु सङ्कलित रहेका छन् । जीवन र जगत्लाई हेर्ने कोण नेपाली साहित्यको क्षेत्रमा फरक–फरक रहेको छ । समालोचक दहाल यज्ञनिधिले टिप्पणी गरेझैँ एकातिर बिक्रीका लागि आत्माको पसल थापेका माधव घिमिरे बालकृष्ण सम र धर्मराज प्रवृत्तिलाई राख्नुस् र अर्कातिर गोपालप्रसाद रिमाल, वि.पी. कोइराला र पारिजातलाई राख्नुस्, यस भनाइबाट प्रष्ट हुन्छ समाज परिवर्तनका निम्ति स्वाभिमानी लेखन गर्नेहरु र दाल–भात–डुकुका निम्ति कविता÷साहित्य बेच्ने फरकै हुन् ।

कवि मातृका निश्चित विचारबाट सामाजिक सन्दर्भमा देखा परेका रिमाल प्रवृत्तिका लेखक हुन् भन्ने दहाल यज्ञनिधिको ठहर छ । जनताका समस्या र समाजका विकृति र विसङ्गतिलाई आफ्नो यात्राको क्रममा जोड्ने काम गर्न उनलाई भ्याइ–नभ्याइ छ । विचारमा दृढता, प्रस्तुतिमा सरलता र व्यवहारमा प्रष्टता उनको काव्यकार व्यक्तित्व पनि हो । नेपाली कविता यात्रामा चार ओटा कवितासङ्ग्रह ‘सेतो दरबारको छेउबाट अनुहार भित्र मित्रताको आकाश र यात्राको एउटा दृश्यले’ यी सबै कुराको प्रमाण जुटाई दिएको छ । कवि मातृका र उनको काव्य साधनाको चर्चा वा व्याख्या गर्नु जनमुखी व्यवहारको सामाजिक मूल्य खोज्नु नै हो भन्ने समालोचकहरुको विश्लेषण छ । कवितालाई यथास्थितिको भेदन, कुरुपताको अनावरण र उज्यालोप्रतिको संघर्षको कलात्मक परिणति बनाउन अब कवि मातृकालाई, शब्दहरुको चयन–गुम्फन, संवेदनाको आलोपन र विचारको ऊर्जादान गर्नु गाह्रो छैन ।

सङ्ग्रह प्रवेश

‘यात्राको एउटा दृश्य’ (२०६०) कवितासङ्ग्रह भित्र माथिका समालोचकहरुले टिप्पणी गरेबमोजिमका थुप्रै तथ्य र प्रमाणहरुका आधारमा विषयवस्तु, प्रस्तुति कला र त्यसले छर्ने भाव सौन्दर्य सहजै भेट्न सकिन्छ । कविताहरु सबै नै कुनै न कुनै पत्रपत्रिकामा प्रकाशित भइसकेका छन् । एकमुष्ट यस सङ्ग्रहमा उनिएका छन् त्यसैले पनि निश्चित सङ्ख्याका कविता एउटै सङ्ग्रहमा केन्द्रित भएका छन् र निष्कर्ष निकाल्नका निम्ति सहज पनि बनेको छ । अधिकांश कविताहरु २०५६ साल पश्चात र २०६० साल भित्रका रहेका छन् । त्यस विधामा विद्रोही पक्षले जगाएको आशामात्र कवितासङ्ग्रह भित्र छैन, निरङ्कुशताको बाछिटाले भिजाउन लाग्दा अपनाउनुपर्ने सजगताप्रति पनि पूर्ण सचेत हुन आह्वान गरिएको छ ।

‘फरक आँखाका यात्रीहरु’, ‘अँध्यारोको विरुद्धमा’, ‘यस पटक दशै’, ‘अब आफ्नै बाटो रोज्नुपर्छ’, ‘प्रिय मान्छेका गीतहरु’, ‘उज्यालो हुनु अघि’, ‘बाटाहरु १,२,३’, ‘यात्राका एउटा दृश्य’, ‘सपना’ जस्ता बलशाली कविताहरु यस सङ्ग्रह भित्रका विचारलाई प्रस्तुत गर्ने राम्रो साध्यहरु हुन् । कविताहरु लामा छैनन्, कविताहरु स्तुति पद्य पनि होइनन्, कविता सङ्ग्रहभित्र त कविताले लिनुपर्ने वैचारिक बाटो र कवि वा स्रष्टाको जिम्मेवारी पो प्रस्तुत गरिएको छ ।

‘फरक आँखाका यात्रीहरु’ कवितामा कविले आफ्ना सहयात्रीहरुको ध्यान अन्तै भए पनि आफ्नो ध्यान एउटा न्यायप्रेमी मित्रको हत्या गरिएको स्थानमा अल्झेको र सो सम्झनामा रुमलिएको चर्चा छ । दृष्टिकोण फरक–फरक हुन्छन् नै तथापि वर्गीय कोणबाट हेर्नुपर्ने विषयलाई सतही रुपमा हेर्न नहुने विषयप्रति कविको आफ्नो कवितात्मक अभिव्यक्ति रहेको छ । एउटा आस्थाको पक्षमा रहेको व्यक्तिले निश्चय नै त्यसकोणबाट त्यो विषयलाई अर्थ दिन्छ तथापि त्यस खालको चेतना नभएकाहरुसँग यात्रा गर्दा खासमा स्वाद नै नभएको जस्तो महसुस कवितामा अभिव्यक्त रहेको छ ।

‘दुश्मनहरु सुरक्षित रहेको बेला’ कवितामा कविले राज्य र विद्रोही दुवै पक्षको ज्यादतिप्रति कटाक्ष गरेका छन् । वर्गद्वन्द्व र लडाईमा पनि मानवीय भावधारा छोड्न नहुने प्रति उनको अडान रहेको छ । राज्यको वास्तविकता एकातिर छ तथापि राज्यपक्ष बैरीलाई सफाइ गर्ने नाममा श्वेत आतङ्क मात्र मच्चाइरहेको छैन एउटा परिवारका दुई सदस्य (छोरा)हरु दुई फरक यात्रामा रहेकाले त्यो परिवार झन् पीडित बन्न पुगेको स्थिति छ । वास्तविक वर्ग बैरी कतै अन्तै छ हामीले चिन्न सकेका छैनौं भन्ने भाव कविको रहेको छ । जनयुद्धको चरम उत्कर्षतर्फको समयमा लेखिएको यो कवितामा छिट्टै समाधान खोज्ने आतुरपन प्रस्तुत छ । 

‘अँध्यारोका विरुद्धमा’ कविताले समाज बुझ्न बाँकी रहेको र देशको वास्तविक समस्यातर्फ ध्यान दिन युवाहरुलाई आह्वान गरिएको छ । जब हामी अँध्यारोको विरुद्ध बोल्न थाल्छौं । तब विरोधीले लखेटन सक्दैनन् त्यसैले आस्थाको बत्तिलाई निभ्न नदिन सचेत युवाले सबैखाले अतिवादको विरुद्धमा बोल्ने, लेख्ने र सङ्गठित हुने कार्य गर्नु जरुरी रहेको छ । 

‘यसपटकको दशैँमा’ कविताभित्र आफूले देशको वास्तविकता बुझ्न फुर्सदको समय खर्च गरेको र अध्ययन गर्दै जाँदा अवलोकनको माध्यमबाट एउटा निष्कर्षमा पुगेको विषय उद्घाटित भएको छ । खासमा नेपाली श्रमजीवी जनताको श्रमको मूल्य कायम नभएसम्म देश नबदलिनेतर्फ उनको दह्रो दलिल रहेको छ । देशलाई बुझ्न अवलोकन भ्रमण र संवाद आवश्यक छ, तथ्यविनाको विकासको पूर्वाधारले केही काम नहुने र त्यो केवल कागजी यात्रा मात्र हुने निष्कर्ष निकालिएको छ ।

‘उसले पनि हाम्रै जस्तो कुरा गर्छ’ एकातिर उग्रवामपन्थ र अर्कोतर्फ चरम संशोधनवादको यात्राले हाम्रो समाज आक्रान्त छ । त्यतिमात्र नभएर कविले वास्तविकरुपमा जनताले अलमलमा पर्नुपरेको साथै मध्यम खालका कार्यकर्ता के ठिक हो भन्ने विषयवस्तुबाट झन् अलमलमा फसेको  विषय यहाँ उपस्थित छ । झण्डा एउटै लिनेहरुले मानिसहरुलाई आफ्नो पक्षमा पार्न नानाथरिका कुरा गरेको विषय यहाँ प्रस्फुटित भएको छ ।

असल कुरा गरेको हो कि भन्ने

राम्रै खालको भ्रम पार्छ

जे जति कुराहरु गर्छ

रातो किताब बोकेरै गर्छ । (पृ. १७)

कवितामा सबैखाले भ्रमका विरुद्ध युवा नेतृत्व सचेत हुन र वास्तविकता बुझ्न अनुरोध छ । 

‘दुख्ने मनहरुसँग’ कवितामा देशलाई परेको मर्काप्रति सचेत युवाहरुले आन्दोलन गरेको र खुनी सत्ताप्रति जेहाद छेडेको विषयवस्तु प्रस्तुत छ । कविले सबैखाले भ्रम र अन्यायका विरुद्ध लड्नेहरुको प्रशंसा मात्र गरेका छैनन् । देशका सीमा, आर्थिक व्यवस्था र नारीलाई हेर्ने कोणप्रति असहमति समेत व्यक्त गरेका छन् । देश बुझ्नेहरुले नै मन दुखाउने र आँट हुनेहरुले नै क्रान्तिको नेतृत्व गर्ने विषय घनिभूत ढङ्गले प्रकट भएको छ ।

‘म तिम्रा कविताको विरुद्धमा लेख्छु’ वर्गीय पक्षधरतामा लेखिएको साहित्यलाई साहित्य नमान्ने धारका कवि भनाउँदाहरुप्रति कवि तीब्र आक्रोश व्यक्त गर्दछन् । कविको विचारमा सत्ताका भजन गाउनेहरु कुनै कवि नै होइनन् तथापि तिनै मान, सम्मान, पदवी लिएर श्रम गर्नेप्रति विष ओकलिरहेका छन् उनी भन्दछन् । ‘म ठेला उठेका हातहरुको पक्षमा बोल्छु’ श्रमको उचित मूल्य नदिएको राज्यका विरुद्ध पनि कविता लेख्नु पर्ने कविको निष्कर्ष छ । 

‘सर्प पूजा’ यस कवितासङ्ग्रहको एउटा सुन्दर विम्बात्मक कविताका रुपमा लिन सकिन्छ । नेपाली समाज सदियौंदेखिको अनौठो खालको भ्रमको खेती गरेर वा अन्धविश्वासमा रुमलिएर बसेको छ । विभिन्न समय विभिन्न अवस्था वा स्थितिमा हामीले गुजारेर पनि अब सर्पको पूजा गर्ने समय छैन । जनताको परिर्वतनको आवाजलाई लत्याउँदै विविध खाले भ्रम छर्नेहरुको भ्रम छर्न मिल्ने विषयहरु नै सकिएकोतर्फ कवि औंल्याइरहेका छन् । वास्तविक रुपमा सर्प भएता पनि धर्म अन्धहरुलाई नागको भ्रम दिँदै समाजको अभाव यथावत राख्न खोज्नेहरुले जनताले उरालेका स्वरमा नक्कली सम्बोधन गरेको जस्तै गरी घामछाया पार्दै रहे । जनता त्यो कुरा बुझ्दै जति दुःखमा पनि सामूहिक स्वार्थको यात्रालाई साथ दिँदै रह्यो । यसका अतिरिक्त राज जतिसुबै लामो होस् वा अपराधीले जतिसुकै अपराध गर्ने कसम खाओस् बिहान भइछाड्ने र आफ्नो कृत्य दोहो¥याउने स्पष्ट छ ।

निष्कर्ष

कवितासङ्ग्रहभित्र झण्डै दुई दर्जन कविताहरुले मूलतः विचारको दृश्यलाई स्थापित गरेको छ । जीवनयात्राका क्रममा कवि अभाव कसरी पैदा भयो । विसङ्गति कसरी भित्रिरहेछ तथा समाधानको बाटो के हो ? भन्ने खालका सङ्केत झिल्को वा विकल्प गर्न सफल भएका छन् । कवितासङ्ग्रह भित्रका क्रमबद्ध केही कविताहरुको विश्लेषण र सम्पूर्ण कविताहरुको प्रवृत्तिगत स्थिति समान खालको भए पनि प्रत्येक कविताले आफ्नो–आफ्नो फरक मूल्यलाई स्थापित गरेको देखिन्छ । कवि यस अर्थम श्रमजीवीको पक्षमा, प्रगतिशील यात्राको यात्रीका रुपमा साथी जीवन र सङ्घर्षप्रतिको अभिमुख कलाका उत्साहित र सारतः सफल पनि देखिएका छन् ।


ooo


No comments:

Post a Comment