Monday, April 13, 2020

देशविदेशमा रहनुभएका साहित्यकारहरूको कोभिड–१९ को सन्दर्भमा भनाइ :

‘कोरोना भाइरस (कोभिड–१९) को विश्वव्यापी महामारीको अवधीमा तपाईँको समय के कसरी बिताई रहनुभएको छ ? र कोभिड–१९ को विश्वव्यापी महामारीको अन्त्यपछि लेखक–कलाकार–संस्कृतिकर्मीको भूमिका कस्तो हुनुपर्दछ ?’ दुईओटा जिज्ञासाहरू : 



हरेक नकारात्मक कुराहरूको पछिल्तिर केही सकारात्मक कुराहरू पनि भेटिने रहेछन् ।



मातृका पोखरेल, (काठमाडौँ), पूर्व प्राज्ञ तथा साहित्यकार

मैले गर्न बाँकी रहेका केही पुरानै कामहरू तालिकामै थिए । तिनै बाँकी कामहरू सम्पन्न गर्न यही लकडाउनको समयलाई उपयोग गरौँ भन्ने लाग्यो । मेरो निजी कुरा गर्नुपर्दा यो लकडाउन मेरा लागि मौकाजस्तै बनेर आइदियो । तीनवटा साहित्यिक पत्रिकाका सम्पादकहरूले धेरै अगाडिदेखि कथा मागिरहनुभएको थियो । सिर्जना गर्नेभन्दा कुद्ने साहित्यिक कामको व्यस्तताले उहाँहरूको नजरमा ‘बेइमान’ हुनै लागिसकेको थिएँ । यो लकडाउनले साथीहरूको अघिल्तिर ‘बेइमान’ हुनबाट बँच्ने सम्भावना बढेको छ ।
यी तीनवटा कथाबाहेक यसै बीचमा समी साहित्यिक पत्रिकाले विषय तोकेरै एउटा लेख मागेको छ । वरिष्ठ साहित्यकार आनन्ददेव भट्टको अभिनन्दनग्रन्थको तयारी पनि हुँदै छ । उहाँका बारेमा एउटा संस्मरण पनि लेख्नु छ । पूर्व शिक्षामन्त्री डि.आर. पौडेल मेरा घनिष्ठ मित्र हुनुहुन्थ्यो । उहाँको स्मृतिग्रन्थको तयारी पनि यसैबीचमा हुँदै छ । म यस स्मृतिग्रन्थको सम्पादन समूहमा रहेको र उहाँकै बारेमा एउटा संस्मरण लेख्नु छ ।
तर यी गर्नैपर्ने तालिकाबद्ध कामहरूको आरम्भबाहेक यो गुप्तवासमा मैले कमरेड पुष्पलालका सङ्कलित रचनाहरूका चार भाग र एङ्गेल्सको ‘परिवार, निजी स्वामित्व र राज्यको उत्पत्ति’ भन्ने पुस्तक पढिसकेँ ।
लकडाउन अझै लम्बिने स्थिति बन्यो भने ज्ञानमणि नेपालको ‘नेपाल निरूपण’ भन्ने पुस्तक पढ्ने लिस्टमा राखेको छु ।

000
साहित्यकार, कलाकार र संस्कृतिकर्मीहरूले विपत्तिको यो समयमा सिर्जनात्मक ढङ्गले सोच्नुपर्ने धेरै कुराको वातावरण बन्यो भन्ने मलाई लागेको छ । हरेक नकारात्मक कुराहरूको पछिल्तिर केही सकारात्मक कुराहरू पनि भेटिने रहेछन् । विश्वव्यापी रूपमा मोटरगाडी र उद्योगधन्दा बन्द भएको अवस्थामा पृथ्वीको वातावरण अत्यन्तै स्वस्थकर सुन्दर भएको कुरा वातावरणविद्हरूले भनिरहेका छन् । हामी यतिबेला विकास र समृद्धिको कुरा पनि गरिरहेका छौँ । हाम्रो विकास र समृद्धिभित्र पृथ्वीको वातावरण अस्वस्थकर बनाउने तत्त्व पनि हुनेरहेछ भन्ने कुरा अब सबैले बुझ्नेगरी प्रष्ट भयो । यस बारेमा हामीले सोच्नै पर्ने भयो । कस्तो विकास ? कस्तो समृद्धि ? भनेर वहस गर्न साहित्यकार, कलाकार र संस्कृतिकर्मीहरू पनि अघि सर्नुपर्ने भयो ।
यो महाविपत्तिको समयमा साम्राज्यवादको असली अनुहार झनै प्रकट भयो । अमेरिकी साम्राज्यवाद औषधि, भेन्टिलेटर आदिजस्ता मानवस्वास्थ्यका लागि चाहिने अत्यावश्यक सामाग्रीभन्दा पूँजीको ठुलो हिस्सा हतियारको निर्माणमा खर्च गरिरहेको तथ्य पनि छर्लङ्ग भयो । वैज्ञानिक समाजवादको निर्माणमा लाग्ने साहित्यकार, कलाकार र संस्कृतिकर्मीहरूका लागि यो राम्रो अध्ययन र मूल्याङ्कनको विषय पनि हो ।
साहित्यकार, कलाकार र संस्कृतिकर्मीहरूले यतिबेला विचार निर्माण गर्ने, परिष्कृत गर्ने समयका रूपमा प्रयोग गर्दा राम्रो हुन्छ भन्ने मलाई लागेको छ । मानिसलाई असल र इमान्दार बनाउने पुस्तकहरू खोजीखोजी पढ्ने र पढाउने गरेर देश र समाजप्रतिको आफ्नो जिम्मेवारीलाई अघि बढाउन सकिन्छ ।

000

प्रस्तुति : इरान राई'सेवक' / रेखा सुवेदी 

www.niguro.com बाट साभार 

No comments:

Post a Comment