Friday, April 20, 2018

प्रश्नहरुको बाढी - मातृका पोखरेल

भूमिगत अक्षरहरु लेखिएको
रोल्पामा भेटिएको डायरी कसको हो ?
कसको हो ?
निबबाट बग्दै गरेको आलो मसीसहितको
रुकुममा भेटिएको रातो कलम ?

कसले छाडेर गएछ राजधानी ?
सपनाहरू थुनिएको पुरानो ट्याङ्का सिन्धुलीको गाउँमा ।
गरिबी पसिनाले धोएको सुट लगाएर
राजनीति गर्नु जोगी हुनलाई होइन भन्दै
जनअदालतको इजलासमा
भरखरैमात्र कसले गरिरहेछ बहस ?

सगरमाथा चढ्ने कुरा गर्दै
कसले तापिरहेछ चौरमा घाम ?
पहेँलो बस्त्र ओढेर मण्डपमा
कसले कोट्याइरहेछ सिन्काले दाँत ?

प्रश्नहरु बग्रेल्ती छन् सडकमा
प्रश्नहरु बाढी बनेर आउने हल्ला आइरहेको छ ,
प्रश्नहरूको बाढी पसेपछि
के होला हाम्रो बस्तीमा ?
हाम्रो शहरमा ?

कौतुहलताका अाँखाहरु फालेर
म प्रश्नहरुको बाढी पर्खिरहेको छु ।
मान्छेहरूले भन्न छाडेका छैनन्
प्रश्नहरुको बाढी
पानीको बाढीभन्दा शक्तिशाली हुन्छ ।
000

No comments:

Post a Comment