Friday, April 20, 2018

नरेश शाक्यका आँखा - मातृका पोखरेल

अचेल नरेश शाक्यलाई बानी परिसकेको छ 
एकान्तमा बसेर हेर्न 
सपनाहरूको सामुहिक आत्महत्या। 

किशोर उमेरमैं 
उनले पहाडको सपना देखे 
पहाड चढ्न तम्सिए 
सगरमाथाको सपना देखे 
सगरमाथा चढ्न तम्सिए 
सपनामा चन्द्रमा देखे 
चन्द्रमा छुन तम्सिए 
महासागर देखे सपनामा 
त्यो पनि तर्न तम्सिए । 

यात्राको थालनी 
हरियो दुबोमै टेकेर गरेका थिए उनले 
हिड्दैहिड्दै जाँदा 
भेटिदै गयो मरूभूमि 
अब पछि फर्कने ठाउँ पनि छैन 
अघि हिड्ने ठाउँ पनि छैन 
उनलाई राम्रैसँग थाहा छ 
सत्ता हिड्ने राजमार्ग 
र आफू हिड्ने गोरेटो 
कहिले भेट नहुने बिपरित दिसामा छन् । 

बुढो माकुरो र नरेश शाक्य 
यो महानगरको एउटा छिडीमा 
अचेल सँगसँगै बस्छन 
उनलाई हिजोआज 
माकुराको माउलाई 
बच्चाहरुले खाइरहेको दृश्य 
खुबै मन पर्न थालेको छ । 

आत्महत्या मानिसहरुले मात्र गर्दैनन् 
सपनाहरुले पनि गर्छन 
अचेल नरेश शाक्य अनौठो नमानिकन हेर्छन 
प्रत्येक दिन / प्रत्येक रात 
सपनाहरूको लामो लश्करको दृश्य 
भीरबाट सामुहिक आत्महत्या गरिरहेको। 

अचेल नरेश शाक्यलाई बानी परिसकेको छ 
एकान्तमा बसेर हेर्न 
सपनाहरूको सामुहिक आत्महत्या।

No comments:

Post a Comment