Friday, April 20, 2018

पहिरो - मातृका पोखरेल

पहाडको स्वाभिमानमाथि शत्रुताको छुरी उज्याउने
पहाडको छातीलाई विपतको आराले रेट्ने
फेरी उत्तरआधुनिकताको टोपी भिरेर
किन गरिरहेछन् मान्छेहरु पहिरोको पूजा
म आगोका लप्का उठिरहेको डढेलोझैं
क्रोधले चुरचुर भएको छु ।

                     
अव किन पूजा गर्नु मान्छेले पहिरो,
जोगिमारा भोगेकै हो काठमाण्डूले
कृष्णभीरको घाउले धरधरी रूवाएकै हो
दुक्र्षिम भत्किएर तराई पनि पुरिएकै हो
अव किन पूजा गर्नु मान्छेहरुले पहिरो
आतङ्कको उही पुरानो विपनाले
मलाई बारबार घेरिरहन्छ
पहाडको शिरमा ठिङ्ग उभिइरहेको
उही पुरानो पहिरो,
र सम्सांझै निदाइरहेको
फेदीको उही पुरानो बस्ती
यति बेला, पहिरो पहाडको थुम नापिरहेको छ
म, नयाँ युगको चिन्ता बोकेर
चौबाटोमा नयाँ जुलुस पर्खिरहेको छु ।

                     
नयाँ युगको फूल बोकेर
म महाभारत
नयाँ भोलिको आमन्त्रण गरिरहेको छु
त्यस्तो एउटा नयाँ भोलि
त्यति बेला पहिरोले
हामी पहाडहरुको छाती रेटेर
वस्तीका वस्ती खण्डहर बनाउँदैन
हामीलाई पुरानो युगतिर धकेल्दैन
त्यस बेला म सँगसँगै
बच्चाहरुले घृणा गर्दै पढ्नेछन्
उसको क्रुर इतिहास ।

        

No comments:

Post a Comment