Saturday, September 15, 2018

आजको प्रलेस : साझा प्रलेस - मातृका पोखरेल


अन्नपूर्ण फुर्सद २०७५ भाद्र ३० गते शनिवार 

-----------------------------------------------------------------------------------------

आजको प्रलेस, साझा प्रलेस


मातृका पोखरेल


सन्दर्भ : प्रलेसको ६५ वर्ष


नेपाल कम्युनिस्ट पार्टीको स्थापनालगत्तै प्रगतिवादी/प्रगतिशील साहित्य–संस्कृतिलाई अघि बढाउन गठित प्रगतिशील लेखक संघ (प्रलेस) कम्युनिस्ट आन्दोलनसँगसँगै सांस्कृतिक संगठनमा विभाजन आएपछि साझा मञ्चको अवधारणामा क्रियाशील रह्यो। संघले स्थापनाकालको केही वर्षसम्म जसरी सक्रियतापूर्वक काम गर्‍यो, त्यसपछिको लगभग दुई दशक गतिविधि शून्य प्रायः रह्यो। २०३६ सालमा पुनःसंगठित हुँदा कम्युनिस्ट पार्टीहरू र सांस्कृतिक संगठनहरू विभाजित अवस्थामा भएका कारण प्रलेस पनि साझा मञ्चका रूपमा चल्ने गरी पुनस्र्थापित भयो। ६५ वर्ष लामो इतिहास बोकेको यो संस्था पुनर्गठित भएपछि पनि ४० वर्ष पार गर्दैछ तर बेलाबेला यसको आवश्यकता, औचित्य र भूमिकाबारे प्रश्नहरू उठ्ने गरका छन्।
प्रलेसको आवश्यकता झन्झन् बढेको छ तर हामी नै समयको मागअनुसार मैदानमा उभिन सक्छौं कि सक्दैनौं भन्ने मुख्य प्रश्न हो।
किन उठ्यो औचित्यको प्रश्न ?
यतिबेला केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमा प्रलेसको भूमिका र औचित्यबारे केही विषय उठान भएका छन्। यी प्रश्न आज मात्रै उठेका होइनन्। २०१७ सालतिर तत्कालीन अध्यक्ष धर्मराज थापा र सचिव तारानाथ शर्माले पनि आफ्नो संलग्नता दरबारतिर बढाउन थालेपछि प्रलेस गल्र्यामगुर्लुम ढलेको र आवश्यकता नभएको आरोप लगाएका थिए। २०१७ सालपछि अध्यक्ष बनेका कृष्णचन्द्रसिंह प्रधानले पनि पुष्पलाल र डीपी अधिकारीका निर्देशन आफूलाई मान्य नभएको आरोप लगाएर प्रलेसबाट आफूलाई अलग बनाए। त्यसबेला प्रलेसभित्रको विवादमा दरबारपरस्त चिन्तन र झुप्रापरस्त चिन्तनको द्वन्द्व नै मूल कारण थियो। राजा महेन्द्रको २०१७ सालको कदमपछि धेरै प्रगतिशील लेखक प्रगतिशील आन्दोलनलाई धारे हात लगाउँदै पञ्चायतको सेवा गर्न पुगे।
२०३६ सालपछिको पुनर्गठित प्रलेसमा पनि ठूलाठूला मतभेद र विवाद भए। पहिलो राष्ट्रिय सम्मेलनपछि उत्पन्न मोदनाथ प्र िश्रत र पारिजातको ‘साइलक’ प्रकरण प्रलेसजस्तै साझा मोर्चा भनेर गठन भएको ‘राष्ट्रिय जनसांस्कृतिक संघ’को कारण उब्जिएको थियो। यो विवादको अन्तर्यमा प्रलेसको काममा बाधा नपरोस् भन्ने चिन्ता मुख्य थियो। अर्को ठूलो विवाद तेस्रो राष्ट्रिय सम्मेलनपछि तत्कालीन अध्यक्ष श्यामप्रसाद शर्माले महेन्द्र प्रज्ञा पुरस्कार र मुक्ति पुरस्कार ग्रहण गर्नुभएपछि उत्पन्न भएको थियो। यो विवादले चौथो राष्ट्रिय सम्मेलन बहिष्कार गर्ने अवस्थासम्म ल्याइपुर्‍यायो। बाहिर जस्तो देखिए पनि यो वैचारिक विवाद थियो। त्यही समयतिरको ‘महाकाली सन्धि’ विवादले पनि प्रलेसभित्र ठूलै मतभिन्नताको सिर्जना भयो। विस्तारै त्यो अवस्थाबाट पार गरेर पाँचौं राष्ट्रिय सम्मेलनमा आइपुग्दा प्रलेसले संयुक्त मोर्चाको अवधारणा आत्मसात गर्न तयार भयो।
अहिले पनि प्रलेसमाथि विभिन्न कोणबाट प्रश्न उठाइएका छन्। केही प्रश्नहरू प्रलेसभित्रै रहेका जिम्मेवार पदाधिकारीले उठाएका छन्, केही संगठनभन्दा बाहिरबाट उठाइएका छन्। नेतृत्वमै रहेर सार्वजनिक बहस उठाउने साथीहरूले प्रलेसको आन्तरिक बैठकमा प्रलेसले गर्नुपर्ने आगामी कार्यक्रमबारे कहिल्यै सुझाव दिनुभएन, न प्रलेसका निर्धारित कार्यक्रमबारे रुचि देखाउनुभयो। प्रलेसको औचित्यबारेमा प्रश्न उठाउने अर्काथरी साथीहरू झन् इमानदार बन्न सकेनन्। संगठनभित्र रहँदा एउटा कार्यशैली अख्तियारी गर्ने तर बाहिरिएपछि आफ्नै कार्यशैली बिर्सिएर आरोप लगाउने प्रवृत्ति नैतिक होइन। केही साथीको यस्तो द्वैध चरित्र सबैले छर्लंग देखेकै छन्।
प्रलेसको दसौं राष्ट्रिय सम्मेलनमा आगामी नेतृत्व कस्तो बनाउने भन्ने विषयमा व्यापक छलफल भएकै थियो। कुनै पनि वामपन्थी पार्टीमा संगठित नभएको तर स्वतन्त्र भूमिका रहेर नेपालको प्रगतिशील साहित्यिक आन्दोलनमा महत्वपूर्ण योगदान पुर्‍याउने स्रष्टाहरूको संख्या नेपालमा ठूलो छ। उनीहरूलाई प्रलेसमा आबद्ध गर्नुपर्छ भनेर हामीले निकै गृहकार्य गर्‍यौं। त्यही मान्यताका आधारमा स्वतन्त्र साहित्यकारहरूलाई समेट्ने जिम्मेवारी कवि संगीत श्रोताले लिनुभयो। हाम्रो यही निर्णय क्रियान्वयन गर्ने बैठकमा विष्णु भण्डारीले ‘प्रलेसमा स्वतन्त्रहरूलाई ल्याएर नेतृत्व सुम्पने कुराप्रति मेरो सहमति हुँदैन’ भन्दै बहिष्कार गर्नुभयो। तर विडम्बना, संगठनबाट पलायन भएपछि उहाँले नै ‘प्रलेस पार्टीका कार्यकर्ताहरूले भरिएका छन्’ भन्ने आरोप लगाउनुभयो। यस प्रकारका धारणालाई आधार मान्ने हो भने प्रलेसको औचित्यबारे प्रश्नहरू वस्तुसम्मत नभएर मनगढन्ते र कपोलकल्पित मात्र छन्।
फुटको सम्भावना यसरी टर्‍यो
प्रलेसको चौथो राष्ट्रिय सम्मेलन बहिष्कार गर्ने सांस्कृतिक संघसंस्थासँग प्रलेसलाई पुनः संयुक्त मोर्चा बनाउन प्रयत्न गर्ने कि फुट्ने भन्ने विकल्प मात्र बाँकी थियो। कवि कृष्ण सेन इच्छुक नेतृत्वको अखिल नेपाल जनसांस्कृतिक संघका साथीहरूको अनुरोधलाई तत्कालीन इन्द्रेणी सांस्कृतिक समाजले स्वीकार गरेको भए प्रलेस त्यसबेलै फुट्थ्यो। ‘कलम’ साहित्यिक त्रैमासिकका सम्पादकीय र त्यसबेलाका लेखकहरू यसका साक्षी छन्।
प्रलेसलाई फुटाउनु कुनै गाह्रो काम होइन, तर केका लागि फुटाउने भन्ने जवाफ दिन सक्नुपर्छ। सबै राजनीतिक पार्टीका आ–आफ्ना सांस्कृतिक संगठन छन्। तिनले नेपालको क्रान्तिकारी सांस्कृतिक आन्दोलनमा कति भूमिका निर्वाह गरे ? स्वतः यो प्रश्न हाम्रा अघिल्तिर आइहाल्छ। संस्था निर्माण गर्नु मात्र ठूलो कुरा होइन, त्यसले सम्पादन गर्ने काम महत्वपूर्ण हो। चउरमा बसेर घाम ताप्दै एउटा संस्थाको ब्यानर झुन्ड्याउनुले सांस्कृतिक आन्दोलनमा खासै महत्व राख्दैन र राख्नुहुँदैन पनि।
प्रलेसमा फुट ल्याउने कोसिस कुनै अँध्यारो कुनामा भइरहेको हुन सक्छ। केही व्यक्ति प्रलेसमा सहभागी नहुनेबित्तिकै त्यसलाई फुट भन्नु पनि हुँदैन। समाज रूपान्तरणको पवित्र इच्छा छ भने प्रलेस फुटाइरहनै पर्दैन, आफ्ना सांस्कृतिक संगठनमार्फत समाज रूपान्तरणमा अघि बढ्दा समर्थन र सहयोगका हातहरू बढ्न सक्छन्। अँध्यारो कुनाको चिया पसलमा बसेर गरिने निन्दा र खिसिट्युरीले सम्पन्न सांस्कृतिक चेतना विकास हुँदैन, बरु विनाश हुन्छ।
प्रलेस सरकारी संस्था होइन
प्रलेस सरकारी मानिसका हातमा पुग्यो भनेर पनि निन्दा गरिन्छ। त्यस्ता साथीहरूले दसौं राष्ट्रिय सम्मेलनपछिका गतिविधिको अभिलेख खुला दिमागले हेरिदिने हो भने जवाफ खोज्न अन्त जानै पर्दैन। यसले प्रतिरोधी संस्कृति निर्माणकै पहल गरिरहेको छ। प्रलेसको स्थापनादेखिका कामको मूल्यांकन गरौं, भ्रमहरू सफा हुन बेरै लाग्ने छैन। केही संस्कृतिकर्मी र संस्थालाई दुई वामपन्थी पार्टी (एमाले र माओवादी केन्द्र) को एकताले सन्त्रास पैदा गराएको छ। त्यसको उपचार आफ्नै चेतनाले गर्ने हो। प्रलेस प्रतिरोधी चेतनाको प्रतिनिधि स्वर हो र बन्नुपर्छ भन्नेबारे अहिले प्रलेसको नेतृत्व समूह सचेत र गम्भीर छ। अहिले केही साथीले आफूले चलाएको संस्थालाई प्रतिरोधी संस्कृतिको केन्द्र भनेर प्रचार गरिरहनुभएको छ। ती संस्थाहरू र प्रलेसले यसबीचमा गरेका गतिविधिको मूल्यांकन गरियोस्, यथार्थ छर्लंग हुनेछ।
केही साथीलाई खिसिट्युरी गर्नु, गाली गर्नु क्रान्तिकारी काम हो भन्ने भ्रम कुहिरोले ढपक्कै गाँजेको छ। यो आफैंमा गैरक्रान्तिकारी काम हो। यो भ्रमबाट मुक्त भएपछि धेरै समस्या आफैं हल भएर जान्छन्। प्रलेस प्रतिरोधी चेतनाको प्रतिनिधि संस्था र आवाज हो।
अबको प्रलेस
प्रलेसमा आबद्ध सांस्कृतिक संगठनहरूबीच गम्भीर मतभिन्नता छन्। वर्तमान समाजको चरित्रलाई बुझ्ने प्रश्नमा हाम्राबीचमा साझा धारणा बन्न सकेको छैन। प्रलेसमा आबद्ध केही सांस्कृतिक संघले हिजोदेखि भनिँदै आएको नेपाली समाजको अर्धसामन्ती र अर्धऔपनिवेशिक चरित्रमा फरक आएको धारणा राखिरहेका छन् भने केहीले उक्त चरित्र यथावतै रहेको विचार प्रस्तुत गरेका छन्। नेपाली समाजको चरित्रमा परिवर्तन आएको धारणा राख्ने सांस्कृतिक संस्थाले सामाजवादी संस्कृति निर्माणको बाटोलाई आफ्नो कार्यदिशा बताएका छन्। नेपाली समाजको चरित्र उहिल्यैको जस्तो अर्धसामन्ती र अर्धऔपनिवेशिक छ भन्नेहरूले जनवादी संस्कृतिकै कुरा गर्छन्। यो ठूलो वैचारिक मतभेद हो। यसलाई समीक्षा गरेर प्रलेसलाई आउँदा दिनमा संयुक्त मोर्चाका रूपमा अघि बढाउन निश्चितै रूपमा केही पहल गर्नुपर्ने अवस्था छ।
यतिबेला सामन्तवादी कला संस्कृति पनि आफूलाई योजनाबद्ध ढंगले संगठित गर्ने प्रयत्न गर्दैछ। साम्राज्यवादी साहित्य संस्कृति हाम्रो समाजमा आफ्नो जवानस्वरूप बोकेर प्रवेश गरेको छ। यो अवस्थामा प्रगतिशील लेखक संघको आवश्यकता झन्झन् बढेर गएको छ। बरु, मूल कुरो हामी आफूलाई समयको आवश्यकताअनुसार मैदानमा उतार्न सक्छौं कि सक्दैनौं भन्ने नै हो। सिर्जनाका माध्यमबाट यो दायित्व पूरा गर्नु सबै प्रगतिशील लेखकको कर्तव्य हो।
प्रलेसलाई यो ऐतिहासिक कर्तव्य पूरा गर्न आवश्यक छ भन्नेहरूले चलाउने हो। आवश्यकता नदेख्नेले अनावश्यक समय खर्च गर्नुभन्दा स्वेच्छाले समाजहितको काम खोजी गरेर आफ्नो अमूल्य समयलाई मूल्यवान् बनाउन लगाउनु सबैका लागि हितकर हुन्छ। तर सिर्जना र संगठन दुवै क्षेत्रबाट प्रलेसको औचित्य र आवश्यकता यतिबेला झनै बढेर गएको छ।
(पोखरेल प्रगतिशील लेखक संघका अध्यक्ष हुन्।)
www.annapurnapost.com बाट साभार 

No comments:

Post a Comment