Friday, April 20, 2018

सडकको सिकार - मातृका पोखरेल

सडक धेरै फराकिलो छ
उसले शहरका घरहरुलाई
एकापसमा जोडेको छ
उहिल्यैझैं,
शहरका प्रत्येक घरहरु
सडकसँग बेखबर छैनन्
अब गाउँतिर तन्कँदै छ सडक
हिजोझैं,
गाउँहरु पनि सडकसँग बेखबर छैनन्
गाउँहरु सडकसँग जोडिदै छन्
जसजसलाई ढाँट्न खोज्दैछौ
ती सवै,
सडकको सागरका साक्षी छन्
तिमीले विगतमा
सानासाना खहरेहरुमा खेलेको सिकारझैं
सडकमा उर्लिएको सागरमा
अव कसरी गर्छौ सिकार?
यति बेला
सबैको कानमा गुन्जिएको छ
सडकको गीत
अब अन्यथा हुन्छ
सडकको सिकार नगर्नू ।

                     

हुनसक्छ
तिमी स्वस्ति धुन मात्र मन पराउछौ,
तिमीहरुलाई मन परेन
सडकको सागरले खोजेको आधुनिक धून,
तर कसरी ढाँट्न सक्छौ?
हामी सबैले सुनेको
सडकमा पोखिएको गीत
हिजो तिमीले खुल्लमखुल्ला ढाँटेछौ
म पढिरहेको थिएँ समाचारपत्रहरुमा
मान्छेहरु अब अन्यथा हुन्छ
अस्ति हामी सबैले सडकमा
एउटै गीत सुन्यौं
एउटा असफल र अपृय सङ्गीत भर्न
तिमी कोशिश गर्दैछौ
मान्छेहरु ! अब अन्यथा हुन्छ
सडकको सिकार नगर्नू ।

                     

कसरी भुल्न सकिन्छ
ति दिनहरु,
सडकमा पोखिएको विशाल समुद्र
समुद्रभरि तैरिएका टाउकाहरु
नयाँ युगलाई आमन्त्रण गरिरहेका गीतहरु
इतिहासले जिब्रो टोकिरहेको दृष्य
अब अन्यथा हुन्छ,
सडकको गीतमा
तिमीले अपृय धून हाल्ने षडयन्त्र ग¥यौ,
असफल धून
मान्छेहरु,
अब अन्यथा हुन्छ,
सडकको सिकार नगर्नू ।

              

No comments:

Post a Comment