Friday, April 20, 2018

जंगबहादुर - मातृका पोखरेल

यतिबेला कसैले नपढे हुन्छ
जंगबहादुर मरेको झुठो इतिहास।

जंगबहादुर प्रत्येक अखबारहरुमार्फत
टेलिभिजनहरुमार्फत
हाम्रालागि प्रत्येक दिन
आदेशहरु जारी गरिरहेकाछन् ।
प्रत्येक दिन हामी सबै
जंगबहादुरको आदेश
छातीमा टाँगेर हिडिरहेका छौँ ।

आफ्नो प्रिय घोडा चढेर
प्रत्येक दिन जंग बहादुर
उही सान सौगातका साथ
उसैगरी आफ्नो सवारी चलाउछन
राजधानीका सडकहरुमा ।

जंग बहादुर संगसंगै
उनको पुरानो घोडा पनि जिवित छ
बालबच्चा बुढापाका सबैले देख्नेगरी
हिन्हिनाउदै कराउछ पहिल्यैजसरी ।
जंग बहादुर सवार घोडा
हाम्रा पू्र्खाहरु कोपरेका दाँतहरु बोकेर
सान सौगातका साथ हिडिरहेकै छ हाम्रो बस्तीमा ।

जंगबहादुरको घोडा
जब हिन्हिनाउछ बस्तीको छाती कोतरेर
त्यसबेला देखिन्छन उसका तरुण दाँतहरु
उसका दाँतहरु देखेर
बुढापाकाहरु आतंकित हुन्छन्
दुध चुस्दै गरेका अबोध बच्चाहरु एक्कासी चिच्याउछन
युवतीहरू कोकोहोलो मच्चाउदै रुन्छन् ।
र पुरै बस्ती भयग्रस्त बन्छ ।

एउटा जंगबहादुर मरेको कथा
खुबै घोकेको थिएँ इतिहासमा मैले
परिक्षामा पास गर्न पनि घोकेको थिएँ
अहिले आफैँलाई गलत लागिरहेको छ
जंग बहादुर मरेको इतिहास
आफैले घोकेको एउटा झुठो इतिहास ।

हामी सबै जंगबहादुरहरुबाट घेरिएका छौँ
जताततै सडकमा ,
सरकारी कार्यालयहरुमा
नीति निर्माणका तहहरुमा
पार्टीको पोलिटव्युरो र स्थायी समितिहरुमा
कहाँ छैनन् जंग बहादुरहरु ?
जंग बहादुर मरेको झुठो इतिहास
अझै घोकी रहेका छन् बच्चाहरु
बिध्यालय र कलेजका बिद्यार्थीहरु
पढाइरहेका छन् शिक्षक र प्राध्यापकहरु ।

स्वयं जंगबहादुर
बिद्यालय पुगेर
बिश्वबिधालय पुगेर
हाम्रा गुरुहरुलाई
अझै दबाब दिइरहेका छन्
र पढाउन भनिरहेका छन्
आफू मरेको झुठो इतिहास ।

दाँत पनि नझरेको तरुण जंगबहादुरलाई बोकेर
जंगबहादुरको तरुण घोडा
मेरो प्रिय पर्व गणतन्त्र दिवसलाई
टुडिखेलबाट ठुलोठुलो स्वरमा ललकारिरहन्छ
म यतिबेला सबैभन्दा खतरनाक सपना देखिरहेको छु ।

एउटा दुर्ग फेरि बनाउनु छ
र त्यहाँ उभिएर फेरि गर्नु छ
जंगबहादुरको मृत्यु घोषणा ।

यतिबेला कसैले नपढे हुन्छ
जंगबहादुर मरेको झुठो इतिहास ।

No comments:

Post a Comment