Friday, April 20, 2018

उपाध्याय बाजेको मम पसल - मातृका पोखरेल

यतिबेला सहरमा लोकप्रिय छ
उपाध्याय बाजेको मम पसल ।

शहरभरि हल्लैहल्ला छ
त्यहाँ सफा मासुको मम पाइन्छ
उपाध्याय बाजे,
आफू स्वयम्पाक्य छन्
धोतिपाटा फेरेरै
काँधमा झुण्ड्याएको जनै देखाउँदै
प्लास्टिकको पोकामा
बजारबाट खसीको मासु लिएर आउँछन्
हामी उनलाई चिनेका जजमानहरु
कतै बाटामा भेटियौँ भने
‘के गर्ने ? पापीपेटको सवाल हो’
स्पष्टिकरण दिन छाडेका छैनन् ।

खाद्य–अनुसन्धान–विभागले
धेरैतिर छापा मा¥यो
मम पसलहरुमा
भट्टी पसलहरुमा
ठूलाठूला गोदामहरुमा
तर कहिल्यै छापा मारिएन
उपाध्याय बाजेको मम पसल
बाजेको धोती–पाटा र जनैप्रति
विभाग पनि विश्वस्त छ ।

विचरा बाजे,
सहरमा आएर धेरै हण्डर खाए
पहाडको गाउँमा जानेको पेसा
कर्मकाण्डीय कामहरु खोजे
त्यो पेसाले राम्ररी पेट पाल्न सकेनन्
सहरका आफन्तहरुसँग प्रतिस्पर्धा गर्न सकेनन्
त्यसपछि धेरै सोचेर सुरु गरे
यो महानगरको एउटा गल्लीमा
सफा र स्वस्थ भएको ठूलो विज्ञापन गरेर
खसीको शुद्ध मासुबाट बनेको मम पाइने
सहरको एकमात्र शानदार पसल ।

उपाध्याय बाजेले
आफ्नो मम पसलमा
उही पुरानो दराज राखेका छन्
त्यहाँ उनका उनै पुराना किताबहरु छन्
रुद्रीका किताबहरु
चण्डीका किताबहरु
ज्योतिषशास्त्रका किताबहरु
मम पसलका ग्राहकहरु
ती किताबहरु हेरेर
मम अझ सफा र सुग्घर भएको ठानिरहेका छन् ।

एकदिन उपाध्याय बाजेले
मलाई खुसुक्क भने –
बाबु ! मटन मम भन्दा
बफ र चिकेन ममबाट
नाफा बढी हुँदोरहेछ
फेरि उनले मुस्कुराउँदै मलाई भने –
अब यो पसलमा
अङ्ग्रेजी सालको नयाँ वर्षदेखि
बफ र चिकेन मम पनि पाइन्छ ।

उपाध्याय बाजेको मम पसलमा
हिजोदेखि नयाँ विज्ञापन झुण्डिएको छ
भोलि नयाँ अङ्ग्रेजी सालको नयाँ वर्षदेखि
बफ र चिकेन मम पनि पाइन्छ
स्वस्थ र सफा ममका पारखीहरु
उपाध्याय बाजेको नयाँ विज्ञापनबाट
हिजो आज धेरै खुसी देखिएका छन् ।

यतिबेला सहरमा लोकप्रिय छ
उपाध्याय बाजेको मम पसल ।


000

-------------------------------------------








No comments:

Post a Comment