Sunday, December 15, 2019

रचना, सिक्किम साहित्य यात्रा अङ्क (वर्ष ५५ अंक ३ पूर्णाङ्क १३८ भदौ–असोज २०७२)


 रचना 
दुई महिने साहित्यिक प्रकाशन
सिक्किम साहित्य यात्रा अङ्क
वर्ष ५५ अंक ३ पूर्णाङ्क १३८ भदौ–असोज २०७२

प्रधान सम्पादक
रोचक घिमिरे

प्रवन्धक
सुधीर घिमिरे
प्रतीक घिमिरे

आवरण
सौजन्य रमाकृष्ण सृजना प्रतिष्ठान

सम्पर्क

७१ लामोढुङ्गा मार्ग, गहनापोखरी, टङ्गाल
काठमाडौं – ५
फोन : ४४३२७०३, ४४३२२०१


मुद्रक : श्रीप्रेस, जावलाखेल, ललितपुर, फोन : ५५३२८२२

विशिष्ट सदस्यता शुल्क : घटीमा रु. ५,०००।–
यस अङ्कको रु. ४०।–

यस अङ्कमा
लेख-निवन्ध
रमाइलो यात्रा सिक्किम जलेश्वरी श्रेष्ठ
साहित्य यात्राका सात दिन जयदेव भट्टराई
सिक्किमको यात्रा : अनुपम उपहार ठाकुर शर्मा भण्डारी 
लेन्डुप दोर्जी विम्बप्रति सिक्किमेलीको गुनासो तुलसीहरि कोइराला
सिक्किम डायरी पर्वत पोर्तेल
सफल र उल्लेखनीय सिक्किम साहित्य यात्रा महेन्द्र गुरुङ
सीमापारिको साहित्ययात्रा        रामप्रसाद पन्त
सार्थक र स्मरणीय यात्रा         रोचक घिमिरे
सम्मmनामा सिक्किम यात्रा लक्ष्मी उप्रेती
मस्तिष्कभरि सिक्किम यात्रा ललिता ‘दोषी’

कार्यपत्र
नेपाली साहित्यको समसामयिक प्रवृत्ति             डा. दुर्गाप्रसाद दाहाल
समकालीन नेपाली नारीकथाकार र कथा लेखन प्रवृत्ति       लक्ष्मी उप्रेती

कविता 
यात्रा                      सीताराम गुरुङ

हाम्रो कुरा
प्रस्तुत अङ्क               रोचक घिमिरे

 रचनाका विशिष्ट सदस्य
नवराज सुवेदी, रामेछाप  
बाबुराम पौडेल, रामेछाप
नगेन्द्रराज शर्मा, काठमाडौं
काशीनाथ बराल, विराटनगर
चूडामणि गौतम, काठमाडौं 
रमेश गोर्खाली, वीरगञ्ज
सामनाथ पौडेल, ललितपुर 
परशु प्रधान, काठमाडौं 
ऋषिराम घिमिरे, हेटौंडा
शङ्करविक्रम शाह, काठमाडौं
हरिश कल्पित काठमाडौं
डा. उपेन्द्र गौतम, काठमाडौं
रुक्मनाथ पौडेल, ललितपुर
एस्.बी. शाह, टीकापुर
मोहन दुबाल, बनेपा
रत्नश्री श्रेष्ठ, काठमाडौं
उदयप्रकाश चापागाईं, काठमाडौं
कार्तिकेय घिमिरे, सर्लाही
डा. उपेन्द्र महतो, हाल मस्को, रूस
डा. भीष्म आचार्य, हाल मस्को, रूस÷
डा. मणिराज पोखरेल, हाल मस्को, रूस
जीवा लामिछाने, हाल मस्को, रूस
खेमराज लामिछाने, हाल मस्को, रूस
डा. विन्दिता लामिछाने, हाल मस्को, रूस
दीपक भण्डारी, काठमाडौं
सुशीलारानी राणा, ललितपुर
इल्या भट्टराई, काठमाडौं
बाबुकृष्ण विष्ट, काठमाडौं
नृपेन्द्रपुरुष यादि, ललितपुर
नगेन्द्रराज न्यौपाने, गोरखा÷गोविन्द गिरि प्रेरणा, हाल अमेरिका÷कमला सरूप, हाल अमेरिका÷विश्वराज बास्तोला, पोखरा÷डा. नवराज चालिसे, काठमाडौं÷दिलीपकुमार चापागाईं,काठमाडौं÷माया ठकुरी, ललितपुर÷कृष्ण बजगाईंं, हाल बेलाईत÷नरेन्द्रराज पौडेल, काठमाडौं÷विष्णुबहादुर सिंह,काठमाडौं÷गोविन्दप्रसाद श्रेष्ठ, काठमाडौं÷डा. सुषमा आचार्य, ललितपुर÷रमा शर्मा, काठमाडौं÷छविरमण सिलवाल, काभ्रे÷पीताम्बरा उपाध्याय पीयूष, काठमाडौं÷डा.मुकेश चालिसे, ललितपुर÷जलेश्वरी श्रेष्ठ, काठमाडौं÷विभोर बराल, काठमाडौं÷सङ्गीता दाहाल, काठमाडौं÷ सहदेव गौतम, काठमाडौं÷चन्द्रकला नेवार, काठमाडौं÷लक्ष्मी उप्रेती, काठमाडौं÷वसन्त रिजाल, काठमाडौं÷उन्नति बोहरा ‘शिला’, काठमाडौं÷रुकु कार्की, काठमाडौं÷शर्मिला खड्का (दाहाल), इटहरी÷विजयध्वज थापा (लीलाध्वज थापाका छोरा), काठमाडौं÷दामोदर पुडासैनी किशोर, काठमाडौं÷ठाकुर शर्मा, गुल्मी÷दयाराम दाहाल, काठमाडौं÷महेन्द्र गुरुङ्, काठमाडौं÷घनश्याम राजकर्णिकार, काठमाडौं÷अमीर थापा, काठमाडौं÷सन्दीप भट्टराई, हाल अस्ट्रेलिया÷अनन्तप्रसाद वाग्ले, काभ्रे÷पवन आलोक, काठमाडौं÷विष्णुप्रसाद शर्मा पराजुली, पर्वत÷डोलिन्द्रप्रसाद शर्मा, काठमाडौं÷कुवेरप्रसाद शर्मा, काठमाडौं÷शिव प्रकाश, हाल अमेरिका÷धनराज गिरी, चितवन÷गोविन्दप्रसाद घिमिरे ‘वेदमणि’, काठमाडौं÷पोष चापागाई, भोजपुर÷निरञ्जन शर्मा घिमिरे, काठमाडौं÷डा.दुबसु क्षेत्री, काठमाडौं÷इन्द्रराज पौडेल, बर्दिया÷नरेन्द्र बहादुर श्रेष्ठ, काठमाडौं÷वियोगी बुढाथोकी, काठमाडौं÷विष्णु ओली, काठमाडौं÷बाजुराम पौडेल, काठमाडौं÷डा केशव प्रसाद उपाध्याय, काठमाडौं÷टेक बहादुर जिरेल, दोलखा÷रामेश्वर श्रेष्ठ जलन, ललितपुर÷विजय चालिसे, काठमाडौं÷श्याम दाहाल, ओखलढुङ्गा÷महेन्द्र चालिसे, काठमाडौं÷देवेन्द्र गौतम, काठमाडौं÷प्रदीपकुमार श्रेष्ठ, ललितपुर÷मदन रेग्मी, काठमाडौं÷किरणविक्रम थापा, ललितपुर÷गोपीकृष्ण शर्मा, काठमाडौं÷सुदर्शन शाक्य, वीरगञ्ज÷गीता केशरी, काठमाडौं÷चेवनप्रसाद काफ्ले, रामेछाप÷महेश गोर्खाली, ललितपुर÷जेबी खत्री, पाँचथर÷डा.गोविन्दराज भट्टराई, काठमाडौं÷श्रीराम सिंह बस्नेत, काठमाडौं÷राजेन्द्र भण्डारी, काठमाडौं÷भरत भट्टराई, काठमाडौं÷विनयदेव लुइँटेल (मा. वासुदेव लुइँटेलका नाति, डा. विद्यादेव शर्मा लुइँटेलका छोरा), काठमाडौं । 

लेख–निवन्ध 
रमाइलो यात्रा सिक्किम 
जलेश्वरी श्रेष्ठ

महेन्द्र गुरुङ भाइले ‘सिक्किम जाने योजना बनाएका छौं; दिदी पनि जाने हो ?’ भन्नुभयो । सिक्किम नगएकीले म जान उत्साहित भएँ । घरसल्लाह गरेर जाने निधो गरें । अनि तोकिएको समय र स्थानमा लक्ष्मी उप्रेती बहिनीसहित हामी भेला भयौं सिक्किम यात्राको लागि । हाम्रो यात्राका साथीहरू सबै सहयोगी हुनुहुन्थ्यो । पानी पर्ने घाम लाग्ने मौसम । हामी काठमाडौंबाट १३ जना यात्राका लागि रात्रि बसमा चढ्यौं । पानी परेर बसबाट चुहिएर यात्राभरि हामीमध्ये कतिलाई भिजाइरह्यो र पनि हामीले यस बस यात्रालाई सहज रूपमा लियौं । पानी पर्दै ओभाउँदै बिहान ८, ९ बजेतिर हामी काकडभिट्टा पुग्यौं । त्यहाँबाट अरु दुईजना साथीहरू थपिए । त्यसपछि गन्तव्यको पहिलो यात्रा तय भयो । सिलिगुडीको लागि । त्यो दिन सिलिगुडीमा डा.लख्खीदेवी दिदीसँग भेट भयो । साँझमा देवकोटा सङ्घ पुस्तकालयमा सानो तथा राम्रो साहित्यिक जमघट भयो । नयाँ पुराना साथीहरूसँग भेट गरी खुब रमाइलो भयो । त्यो दिन सार्थक बनेको मैले अनुभूत गरिरहेकी छु । भोलिपल्ट बिहानै कालेबुङका लागि बाटो लागी कालेबुङ पुगेर त्यहाँका साथीहरूसँग भेटघाट भयो अनि कार्यक्रमका लागि भेला हुने समय केही बाँकी भएकाले समयको उपयोग गर्दै हामी त्यतै वरिपरि टहलियौं । अनि तल राधाकृष्णको भव्य र सुन्दर मन्दिर रहेछ त्यो मन्दिरको आकर्षणले अरुलाई झैं मलाई पनि तान्यो । साथीहरूसँग त्यो मन्दिरमा गएँ । मन्दिर परिसरमा पुग्दा म गद्गद् भएँ त्यहाँ निर्मित सुन्दर चित्रहरू देख्दा भित्र बाहिर जहाँत्यहीं मन्दिर साँच्चिकै आनन्द र सन्तुष्टि दिन सक्ने परिवेशको वातावरण थियो । मन्दिरभित्रका सजीव मूर्तिहरू र बाहिरका फूलको बगैचाले ममा एक तमासको सन्तुष्टि छायो । एकछिन त्यो मन्दिरको आनन्दमा रमाएर हिँड्दै उकाली चढेर कार्यक्रम स्थलमा आयौं । कालेबुङबाट साहित्यकारहरू सिक्किम पुग्नु थियो त्यही दिन । हतारिएर कार्यक्रम सकेर सिक्किम जान हामी तयार भयौं । रातै परेको थियो हामी सिक्किम पुग्दा । ट्याक्सी स्ट्याण्ड नजिकै हाम्रो बस्ने खाने व्यवस्थाको होटल भएकाले थकाइले भुतुक्कै भएका बेला त्यति दुःख भएन । भोलिपल्ट बिहानै हामी सबैजना भानुभक्तको शालिक भएको ठाउँ गएर एकछिन सिक्किमको सुन्दरतालाई अवलोकन ग¥यौं । दिउँसो कार्यक्रम भएकाले कार्यक्रम हलमा भेला हुनुभएका त्यहाँका साहित्यकर्मीहरूसँग न्यानो आत्मीयता आदानप्रदान ग¥यौं । अरूले झैं मैले पनि त्यहाँ सिलिगुडीमा रेकर्ड भइसकेको आफूले लेखेको एउटा गीत वाचन गरें । दिनभर साहित्यिक रसपान गरेर आनन्द अनुभूत गरियो भने साँझमा महात्मा गान्धी मार्गको पार्कमा घुमफिर ग¥यौं । फर्किएर आउँदा हामी बसेको ठाउँमा केही युवा साहित्यिक भाइहरू आउनुभयो । त्यहाँका केही भाइहरूले सिक्किमको व्यवस्थाप्रति निकै असन्तुष्टि व्यक्त गरेको सुन्दा नरमाइलो लाग्यो । यात्राको एक बिट मर्दै गएको थियो । साहित्यिक यात्रामा बिताउने अब दुई स्थान बाँकी थिए । भोलिपल्ट दार्जिलिङ हुँदै  इलाम पुगेर यसपालिको यात्रा विश्राम गर्नुथियो । बिहान दार्जिलिङका लागि बाटो लाग्यौं । दार्जिलिङमा पनि एउटा राम्रो कार्यक्रम भयो । त्यसपछि हामी सबै साहित्यिक महारथी श्रद्धेय इन्द्रबहादुर राईलाई भेट गरेर इलामतिर लाग्यौं । इलाममा कवि विमल वैद्य भाइको सदाशयतामा हामीलाई रमाइलो भयो । भोलिपल्ट बिहान ८ बजेदेखि इलामेली साहित्यकारहरूसँग जमघटमा भएको रमाइलोमा उत्साहित भई त्यहाँ पनि मैले एउटा कविता सुनाएँ । इलामेली साहित्यकारको न्यानो आत्मीयतामा सुखद अनुभव गर्दा गर्दै हामी काठमाडौंका लागि त्यही दिन रात्रिबस चढेर बाटो लाग्यौं । यो यात्रामा भेटिएका साहित्यिक मनहरूलाई हृदयभरि राखेर । हाम्रो यो यात्रा सात दिनको छोटो भएर पनि खुब सार्थक र रमाइलो भयो । यसका लागि महेन्द्र भाइप्रति आभारी छु । हरेक ठाउँमा उहाँले पु¥याउनुभएको व्यवस्थापन र रेखदेखको पनि प्रशंसा गर्दछु । 

 ०१–४४१४४९१
बालुबाटार, काठमाडौं

साहित्य यात्राका सात दिन
जयदेव भट्टराई


अपर्झटको वर्षाले निथु्रक्क भिजेको काठमाडौँको जलमग्न सडक छिचोल्दै हामीले यात्रा थालेका थियौँ । दिउँसो दुई नबज्दै काठमाडौँको कोटेश्वरमा र भेला भएर थालिएको यात्रा सोचेभन्दा तीन घन्टा ढिलो भयो । हामी हतारिएका थियौँ कि बसवालाले विलम्ब गरे । जेहोस्, २०७१ चैत १२ गते हामी १२ जनाले साताव्यापी साहित्यिक यात्रा–सिर्जना उत्सवको थालनी ग¥यौँ । 

झमझम परेको पानीले अस्तव्यस्त बनाएको काठमाडौँको फन्को मारेर बसले कलंकीबाट यात्रा नथाल्दै जताततैबाट बसभित्र पानी बर्सिन थालेपछि प्लाष्टिक र मोटा कागजले टालटुल पारेरै भए पनि हामी अघि बढ्यौँ । को आयो, को छुट्यो, को कहाँ चढ्ने, के–के सामान आए ? यावत् कुरामा हाम्रा टोली नेता सोधखोज गर्दै हुनुहुन्थ्यो । १२ जना काठमाडौँबाट, दुईजना काँकडभिट्टाबाट मिसिएपछि जम्माजम्मी १४ जनाको टोली सिलगढी, कालिम्पोङ, सिक्किम, दार्जिलिङ र इलामसम्मको साहित्य यात्रामा सरिक हुने पक्कापक्की नै थियो । 

रमाकृष्ण सिर्जना प्रतिष्ठानको आयोजना एवम् यसका अध्यक्ष कवि महेन्द्र गुरुङको संयोजकत्वमा साताव्यापी सिक्किम यात्रा एवम् सिर्जना उत्सवको पहिलो कार्यक्रम भारतको सिलिगुढीस्थित देवकोटा संघमा सम्पन्न भयो । चैत १३ गते सिलिगुढीमा कार्यक्रम सकाएर कालेबुङ, (कालिम्पोङ) मा सोही दिन अर्को कार्यक्रममा जुट्यौँ हामी । स्थानीय नेपाली साहित्य अध्ययन समितिको सहयोगमा समिति अध्यक्ष ज्ञान सोतारले सभापतित्व गर्नुभएको थियो भने प्रमुख आतिथ्य आयोजक संस्थाका अध्यक्ष महेन्द्र गुरुङले गर्नुभयो । चैत १५ गते सिक्किमको गान्तोकस्थित नेपाली साहित्य परिषद्को भवनमा मुख्य कार्यक्रम आरम्भ भयो बिहानको १२ नबज्दै । औपचारिकता निर्वाहपछि प्रतिष्ठानका महासचिव एवम् साहित्यकार यादव भट्टराईले सहभागी स्रष्टाको परिचय प्रस्तुत गरेपछि भट्टराईलगायत जलेश्वरी श्रेष्ठ, तुलसीहरि कोइराला, विमल वैद्य, रामप्रसाद पन्त, ठाकुर शर्मा, लक्ष्मी उप्रेती, ललिता दोषी, महेन्द्र गुरुङ, सीताराम गुरुङले आ–आफ्ना सिर्जना सुनाउनुभयो ।

सिक्किमका पाका साधक केदार गुरुङलाई सम्मान प्रदानपछि लक्ष्मी उप्रेतीद्वारा सम्पादित वनिता त्रैमासिकको सिक्किम विशेषांकको विमोचन गरियो । सिक्किमका कवि चक्रपाणि भट्टराई, प्रवीण खालिङ, बलराम पाण्डेका रचनासमेत सुनिएपछि नेपाली साहित्य परिषद्, सिक्किमका अध्यक्ष पारसमणि दंगालले ‘नेपाली साहित्यको विकासक्रम : भारतभित्र’ शीर्षकको कार्यपत्र प्रस्तुत गर्नुभयो । नेपालबाट सहभागी वरिष्ठ साहित्यिक पत्रकार रोचक घिमिरे एवम् नेपाल प्रज्ञाप्रतिष्ठानका सदस्य मातृका पोखरेल, प्रमुख अतिथि महेन्द्र गुरुङ, वनिताका सम्पादक लक्ष्मी उप्रेतीको मन्तव्यसँगै डा. दुर्गा दाहालको ‘नेपाली साहित्यको विकासक्रम : नेपालभित्र’ विषयक कार्यपत्र प्रस्तुत भए । नेपाली साहित्य परिषद्का कोषाध्यक्ष डा. राजु गिरीको मन्तव्यसँगै सभाका सभापति एवम् वरिष्ठ साधक प्रा. रुद्र पौड्यालको मन्तव्यले धेरै ध्यान केन्द्रित ग¥यो । 

दुईदिने सिक्किम बसाइपछि चैत १६ गते दार्जिलिङस्थित गोरखा दुःख निवारक सम्मेलनमा अर्को कार्यक्रम भयो । दार्जिलिङका पुराना स्रष्टा नन्द हाङ्खिमलाई सम्मान गरेसँगै मनप्रसाद सुब्बा, केवलचन्द्र लामा, कर्ण थामी, मनिका मुखिया, प्रमिता गुरुङका रचना सुनिए । औपचारिक कार्यक्रमको समापनसँगै नेपाली भाषासाहित्यका विशिष्ट व्यक्तित्व इन्द्रबहादुर राईको निवासमै पुगेर प्रतिष्ठानले उहाँको सम्मान ग¥यो । चैत १६ गतेको राति इलाम फर्केपछि १७ गते बिहान इलाममा भानु प्रतिभा संरक्षण तथा साहित्य सम्बद्र्धन समिति, इलाम, नेपाल प्रज्ञाप्रतिष्ठानको सहकार्यका सातदिने यात्राको अन्तिम कार्यक्रम सम्पन्न भयो । इलामका पुराना साधक माधव भण्डारीको प्रमुख आतिथ्य र अर्का सक्रिय व्यक्तित्व एवम् कवि विमल वैद्यको सभापतित्वले मात्र होइन, प्रज्ञाप्रतिष्ठानको सहयोगले पनि कार्यक्रम उल्लेख्य बन्यो । 

समग्रमा भन्नुपर्दा एक साताको अवधिमा झन्डै आधा समय यात्रामै बिताउनुपरे पनि रमाकृष्ण सिर्जना प्रतिष्ठानले नेपाल र भारतका विभिन्न क्षेत्रका अनि पूर्वी नेपालको सुन्दर थलो इलामका साधकबीच भेटघाट, सिर्जना श्रवण र साधकको सम्मान, विभिन्न विशेषांकको प्रकाशनले उपलब्धि हासिल ग¥यो भन्दा हुन्छ । प्रतिष्ठानका अध्यक्ष महेन्द्र गुरुङ, उपाध्यक्ष लक्ष्मी उप्रेती, महासचिव यादव भट्टराई आदिको सक्रियता प्रशंसनीय छ । इन्द्रबहादुर राई, लख्खीदेवी सुन्दास, नन्द हाङ्खिम, केदार गुरुङ, युद्धप्रसाद वैद्य र माधव भण्डारी जस्ता स्रष्टाको सम्मान गरेर प्रतिष्ठानले दुई देशबीचका साधककै सम्मान गरेको अनुभूत भयो । 

यात्रामा सहभागी वरिष्ठ साधक रोचक घिमिरे, जलेश्वरी श्रेष्ठ, कवि विमल वैद्य, ठाकुर शर्मा, रामप्रसाद पन्त, ललिता दोषी, तुलसीहरि कोइराला, डा. दुर्गा दाहाल, सीताराम गुरुङ, पर्वत पोर्तेल जस्ता स्रष्टा–पत्रकारको सहभागिता र सिर्जना वाचन दुई देशका स्रष्टाबीचको अन्तक्र्रिया जस्ता औपचारिक उपलब्धिबाहेक यो यात्राले एक–अर्कालाई कसिलो सम्बन्धमा गाँस्न, एक–अर्काका दुखेसो सुन्न, उन्नति, प्रगति हेर्न–हेराउन पनि सफल भयो । यात्रा हतारमा पक्कै भएको हो तर पनि सफल यात्रा पनि पक्कै भयो– सिक्किम यात्रा । साहित्य यात्रामा नेपालबाट सहभागी स्रष्टाले सुनाएका कविता अनि लामो यात्रामा सशक्त कवि विमल वैद्यका कविताले मुग्ध भएका थियौँ हामी । 

साहित्य यात्राका सात दिन हामीले साहित्यमै समर्पण ग¥यौँ, साहित्यमै रमायौँ र साहित्यमा केन्द्रित भयौँ । आउँदा दिनमा यस्ता यात्रा अझ झाँगिनुपर्छ र फैलिनुपर्छ ।

नेपाली साहित्यको धेरै पुरानो इतिहास छ, देशबाहिर खासगरी भारतीय भूमिमा बस्दै आएका नेपालीहरुले नेपाली भाषा साहित्यका लागि दिदै आएको योगदानको । कुनै समय यस्तो पनि थियो –नेपाली साहित्यका सन्दर्भमा दार्जिलिङ अघि थियो । ऐतिहासिक सम्बन्धक र साहित्यको साइनो, नेपाली भाषा संस्कृतिको सेतुले अलग अलग भूभागमा भएर पनि एक जस्तै भएका हौं हामी । तर समय अहिले अलि भिन्न भएको छ । पहिले जस्तो अहिले छैन दार्जिलिङ–भाषा साहित्यको सन्दर्भमा । यता केही दशकदेखि सिक्किम साहित्य सन्दर्भमा बढी सक्रिय बन्दै आएको छ । रमाकृष्ण सिर्जना प्रतिष्ठानको यो यात्राले नेपाल बाहिर रहेका स्रष्टाहरुलाई प्रेरित गर्न दुई देशकाबीचको भाषिक साहित्यिक सम्पर्क बढाउन, स्रष्टाहरुवीच सम्पर्क स्थापित गर्न पक्कै पनि सघाउ पु¥याउने नै छ । 

नेपाली साहित्यको क्षेत्रमा संस्कृतिको क्षेत्रमा काम गर्दै वर्षेनी साधक स्रष्टाहरुलाई पुरस्कृत गर्दै आएको रमाकृष्ण सिर्जना प्रतिष्ठानले यस्ताखाले यात्रा थालेर थप उल्लेख्य काम गरेको छ । त्यसो त अचेल साहित्यिक यात्रा विवादरहित हुन छाडेका छन् । स्वार्थ, लोभ र आफ्नो वर्चस्व देखाउन साहित्यको नाममा साहित्यिक यात्रा गर्ने चलन फस्टाएको छ । प्रतिष्ठानको यो यात्रा यस्ता कुराबाट टाढै रहनुले पनि यसलाई उल्लेख्य र उपलब्धिमूलक भन्न सकिएको हो । 

सिक्किमको यात्रा : अनुपम उपहार
ठाकुर शर्मा भण्डारी

यात्रा हो जिन्दगी भन्दै चल्दियो फुल्दियो पनि 
गन्तव्य मिल्छ खोजेमा भेटिन्छ पूर्ण यो जुनी । १ ।


भावनामा बग्यो मान्छे कहाँ पुग्छ त्यही ध्वनि
उध्र्वगामी बने मात्र आपैmमा हुन्छ त्यो पनि । २ ।

आपूmमै हुन्छ आनन्द आपूmमै हुन्छ त्यो ध्वनि
साधना बन्दिए नित्य बन्यो सुन्दर जीवनी । ३ ।

यात्रामा हुन्छ आनन्द मेरो यात्रा निरन्तर
जिन्दगी त्यसमै चल्छ भए चलाइ सुन्दर । ४ ।

यात्रारूपी जीवनमा जति टाढा पुगेँ भने पनि आफ्नै घेराभित्र नै भइँदो रहेछ, मानिस हिँड्दा हिँड्दा थाकेर होला जहाँको त्यहीँ छु कि भन्नेमै आपूmलाई चलाइ राखेको छ । भन्ने पनि गरिन्छ – जीवन एक यात्रा हो, यात्राको तात्पर्य निरन्तरता पनि हो । परिवर्तनशील संसार छ, सोच्दासोच्दै परिवर्तन भइसक्छ । भावनाको बगाइमा छुट्टै आनन्दको अनुभूति हुँदो रहेछ । यसमा बग्नु नियति हो जस्तो लाग्छ कहिलेकाहिँ । मानिसलाई प्रकृतिसँगै हिँड्नुपर्ने हुनाले पनि घुम्न मन हुन्छ । साहित्य–साधनामा लाग्ने मानिसको घुमाइ त आनन्ददायी हुन्छ र जीवनमा जीवन्तपनको अनुभूति हुन्छ । 
साहित्यकै कुरामा साथीभाइ, इष्टमित्रले साहित्यिक यात्रामा जाउँभन्दा नसा नसा प्रफुल्लित भएर आउँछन् कि क्या हो ? नाइँनास्ति गर्ने कुरै हुँदैन । यस्तो मनस्थिति बोकेर हिँडेको मानिसलाई जहाँ गए पनि रमाइलै लाग्छ । चाहे बुटामुनिको वास होस् वा महलको वास होस्, जहाँ पनि रमाउने र सिर्जनामा रत हुने मानिसलाई केही फरक पर्दैन । यात्राको लागि अवसर प्राप्त हुनु पनि विगतको योगदान होला शायद । कर्म गर्दै जाँदा प्राप्त हुने आनन्द त छँदै छ, त्यसमा पनि अरूबाट अवसर प्राप्त हुनुभनेको स्वयं सम्मानित हुनु पनि हो । यस कुरालाई ठम्याउन नसकेर मानिस रमाउन सक्दैन । कहीँ कसैसँग जानुपर्दा पनि यो भएन त्यो भएनको तृष्णाले गाँजिरहेको देखिन्छ । साहित्यले मानिसलाई कलुषित भावनाबाट पारमार्थिक जीवनतिर पु¥याउँछ भन्नेमा म पनि विश्वास गर्छु । 

रमाकृष्ण सिर्जना प्रतिष्ठानका अध्यक्ष साहित्यकार महेन्द्र गुरुङज्यूले दूरभाषमा भन्नुभयो – सिक्किमयात्राको सम्बन्धमा केही सरसल्लाह गरौँ कि, भोलि नयाँँ बानेश्वरमा जम्मा होऊँ, सबै सदस्य, हुन्न र ! मैले तुरुन्त हुन्छ भनेँ । अर्को दिन साहित्यिक यात्रीहरू जम्मा भयौँ, भनेको समयमा । दिन थियो – २०७१ चैत्र ९ गते । यात्रामा काठमाडौँबाट महेन्द्र गुरुङ, रोचक घिमिरे, मातृका पोखरेल, सीताराम गुरुङ, लक्ष्मी उप्रेती, यादव भट्टराई, जलेश्वरी श्रेष्ठ, डा. दुर्गा दाहाल, जयदेव भट्टराई, तुलसीहरि कोइराला, रामप्रसाद पन्त, ललिता दोषी र यो लेखक गरी १३ जना भयौँ । काकडभित्ताबाट विमल वैद्य र पर्वत पोर्तेल सहभागी हुने कुरा भयो । यसरी १५ जनाको सिक्किम साहित्यिक यात्रा तय भयो । उपस्थित सहभागीमा नयाँ लहरको सृजना भयो । त्यहाँ विभिन्न किसिमका कुराहरूमा छलफल भयो । आयोजक संस्थाका कार्यकारी सदस्यहरू धेरै भएको हुनाले आयोजनामा केही गर्नुपरेन हामीले । 

यात्राको प्रस्थान २०७१ चैत्र १२ गते समय दिउँसो २ बजे तिलगङ्गामा भेला हुने कुरा थियो तर त्यस दिन राष्ट्रपतिको विदेश भ्रमणको दिन परेको हुनाले यात्रीहरूलाई कोटेश्वरमा बोलाइयो । म समयमै पुगेँ तर भनेको समयमा गाडी (बस) आएको थिएन, साथीहरूको आगमन भने हुँदै थियो । करिब दुई घण्टा कुरेपछि मेट्रो बस नं.४७८२ आयो । यात्राको व्यवस्थामा कमजोरी नहोस् भन्ने धारणा आयोजक साथीहरूको थियो । सबैलाई अगाडिका सीट थिए । बसमा साहित्यिक यात्रीहरू १३ जना थियौँ । पाँच बजेसम्म हामी काठमाडौँमै घुमिरहेका थियौँ । शायद बसमा सीट बाँकी भएर हो कि, यो मेरो अनुमान । त्यस दिन पानी परेर सबैलाई आच्छु आच्छु पारेको थियो किनभने बसको भ्mयालबाट पानी भित्रै पस्न थाल्यो । साथीहरूले प्लास्टिकको झोला खोज्न थाले । बस भने साँझ साढे पाँच बजे मात्र आप्mनो गन्तव्यतिर लाग्यो अर्थात् काकडभिट्टातर्फ । सम्पूर्णको जीवन उनैको हातमा थियो तर हामी ढुक्क थियौँ, हामीमा विश्वास थियो, आनन्दको अनुभूति थियो, विधिको विधानलाई पचाउने शक्ति थियो तर मर्ने कसैलाई रहर हुदैन गीत भएको सिनेमाले दिक्क पा¥यो । त्यसलाई पनि हामीले सहर्ष स्वीका¥यौँ । 

रमाकृष्ण प्रतिष्ठान संस्थाको अगुवाइमा
यात्रा सुन्दर थ्यो हाम्रो साहित्यको सुसाइमा । ५ ।


यात्रामा हुन्छ आनन्द नयाँ भाव उदाउँछ
त्यसैले जिन्दगी व्यर्थ हुँदैन पूर्ण छाउँछ । ६ ।

२०७१ चैत्र १३ गते बिहान ८ बजे काकडभिट्टा पुग्यौँ । केही समय विमल वैद्यजी र पर्वत पोर्तेलजीलाई पर्खिनुप¥यो । उहाँहरू आएपछि दुइटा जीप लिएर सिलगढी पुग्यौँ । सिलगढी साहित्यिक व्यक्तित्वहरूसँगको सम्पर्कमा हुनुहुन्थ्यो साथीहरू । साहित्यकार ज्ञानेन्द्र दाहालबाट त्यहाँ व्यवस्था भएको रहेछ गौरव लज, पटेल रोड (प्रधान नगर सिलगढी पश्चिमबङ्गाल)मा । सामानहरू थन्क्याएर केही समय सुस्ताएपछि खाना खानेतर्फ लाग्यौँ । प्रतिष्ठानको कार्यतालिका अनुसार साहित्यिक यात्रीहरू लख्खीदेवी सुन्दासको निवासमा पुग्यौँ । उहाँ अस्वस्थ भएको कारण पनि हिँडडुल गर्न नसक्ने अवस्थामा हुनुहुन्थ्यो, उहाँको जन्मदिन पनि त्यही दिन रहेछ, सुन्दर मौका मिल्यो, उहाँ अत्यन्त खुसी हुनुभयो । त्यहाँ प्रतिष्ठानका अध्यक्ष महेन्द्र गुरुङले दोसल्लासहित अभिनन्दन–पत्र प्रदान गरी सम्मान गर्नुभयो । वनिता त्रैमासिक साहित्यिक पत्रिका जीवनका पाइलामा डा.लख्खीदेवी सुन्दास विशेषाङ्क (२०७१ असोज–मङ्सिर, पूर्णाङ्क ५७) सम्पादक एवम् प्रकाशक लक्ष्मी उप्रेतीले प्रदान गर्नुभयो । त्यसको सम्पादकमा संस्थाका महासचिव यादव भट्टराई पनि हुनुहुन्छ । सबैका तर्फबाट शुभकामना प्रदान गर्नुका साथै उपस्थित व्यक्तित्वको परिचय संस्थाका महासचिव यादव भट्टराईले गराउनुभएको थियो । त्यसै दिन देवकोटा संघ सिलगढीमा ४ बजेदेखि कार्यक्रम भएको हुनाले त्यहाँबाट सौहार्दपूर्ण वातावरणमा बिदा भयौँ ।

सदा सम्मानले संस्था उन्नतितिर बढ्दछ
आफै सम्मान पाइन्छ गरिमायुक्त बन्दछ । ७ ।


भाषा साहित्य सेवीको महिमा बुभ्mनुपर्दछ
अस्तित्व हुन्छ मान्छेको देवत्व शक्ति जुर्दछ । ८ ।

सिलगढी देवकोटा सङ्घ (२५ अगस्त १९६३)को भवन ठूलो रहेछ । निर्माणाधीनजस्तो देखिए पनि धेरै जग्गामा रहेको भवनले त्यहाँ नेपाली साहित्य र महाकवि लक्ष्मीप्रसाद देवकोटाप्रति त्यहाँका साहित्यकार र साहित्यप्रेमी महानुभावहरूमा नेपाली भाषा–साहित्यप्रति अगाध प्रेम रहेछ भन्ने लाग्यो । भुइँतलामा पुस्तकालय नियमित सञ्चालन हुँदो रहेछ । त्यही भवनको माथिल्लो तलामा कार्यक्रम सञ्चालनार्थ सबै जुट्नुभएको थियो ।  कार्यक्रमको सञ्चालन प्रारम्भमा ज्ञानेन्द्र दाहालले गरे पनि पछि उहाँ मञ्चासीन व्यक्तित्व भएपछि यादव भट्टराईले सञ्चालन गर्नुभयो । रुद्रप्रसाद अधिकारीको सभापतित्व र लक्ष्मी उप्रेतीको प्रमुख आतिथ्य रहेको सो कार्यक्रममा रोचक घिमिरे, महेन्द्र गुरुङ, मातृका पोखरेल, अशोक राई, विजयकुमार सुवेदी, सरुसिं रसाइली, विन्द्या सुब्बा, टि.बी.घटानी, देवेन्द्र गुरुङ आदिको मन्तव्यका साथै ललिता दोषी, मीरा गजमेर, राजा पुनियानी, राधाश्री मोक्तान, तुलसीहरि कोइराला, रामप्रसाद पन्त, विमल वैद्य, जलेश्वरी श्रेष्ठ, सीताराम गुरुङ, ठाकुर शर्मा भण्डारी आदिले सुन्दर कविता वाचन गर्नुभयो । जयदेव भट्टराई, डा. दुर्गाप्रसाद दाहाल, पर्वत पोर्तेल, सकृ घिमिरे, राधाश्री मोक्तान क्षत्री, किरण घिमिरे, सुदर्शन निर्मोही, आर.के.अधिकारी, गोपाल गजमेर, रोहित शर्मा, पूर्ण राई, समीर गिरी, बलराम गजमेर आदि विभिन्न व्यक्तित्वहरूको उपस्थिति रहेको सो कार्यक्रममा देवकोटा सङ्घलाई रमाकृष्ण सिर्जना प्रतिष्ठानको तर्फबाट सम्मानपत्र र साहित्यिक पत्रिका, पुस्तकहरू प्रदान गरिएको थियो । उक्त समारोहमा नेपालबाट गएका साहित्यिक टोलीलाई खादाद्वारा सम्मान र सामूहिक परिचय गराइएको थियो । परिचय गराउने कार्य उद्घोषक स्वयंबाट भएको थियो । कार्यक्रममा स्थानीय साहित्यिक व्यक्तित्वहरूको विविध कारणले सङ्ख्यात्मक उपस्थिति कम रहे पनि गुणात्मकता अवश्य रहेको थियो । 

साहित्यमा छ आनन्द सबैको हो सनातन 
सत्यता यसमा हुन्छ नित्य–नूतन भावन । ९ ।


ज्ञान–विज्ञानको बोली प्रत्येक सुविचारमा
विभाजन यहाँ हुन्न एकत्व छ सुधारमा । १० ।
सिलगढीमा गरिने कार्यक्रम समाप्त भएपछि त्यस दिनको बसाइ गौरव लजमै भयो । साहित्यिक टोलीले साँझ सिलगढी बजारको अवलोकन पनि ग¥यौँ । 

२०७१ चैत्र १४ गते बिहान ८ बजे ध्द्य ७३ द्य २८२४ र ध्द्य ७६ द्य ४५४३ नम्बरका दुई जीपमा सिक्किमका लागि सिलगढीबाट जाने कुरा भयो । ती जीपले हामीलाई दार्जिलिङको कालिङपोङ अर्थात् कालेबुङ लगेर दिउँसो २ बजेको साहित्यिक कार्यक्रममा संलग्न भएपछि त्यसै दिन गान्तोक पु¥याउने कार्यक्रम भएको हुनाले हामी बिहान छिट्टै हिँड्नु थियो, चियापान गरेर हिँड्यौँ पनि । बाटो सफा, चौडा, स्वच्छ वातावरण, सरर हामी उत्तराभिमुख भएर अगाडि गइरहेका छौँ । सहर्ष टिस्टानदीले स्वागत ग¥यो हामीलाई । टिस्टाको इतिहास मनमा आउन थाल्यो । हाम्रा पुर्खाहरूले यहाँसम्म नेपाललाई तन्काएका थिए कुनै समय । पछि पुनः खुम्चिएको थियो नेपाल, हामीले सुनेका थियौँ, किताबमा पढेका थियौँ । अहिले पनि साहित्यिक यात्रामा अन्य देशमा गएको अनुभव भएको थिएन । एक त साहित्यको कुनै सीमा हुँदैन । यसको विस्तारमा रोक लगाउने र यसमा गुटबन्दी गरेर तेरो र मेरो भन्ने हुँदैन, त्यसैले त साहित्य सर्व हितकारी बन्नुपर्छ । कुनै कुरामा बाँधिनु हुँदैन । भाषा जुनसुकै प्रयोग गरे पनि संसारका साहित्यकार भाइ भाइ हुन्, कुनै द्वन्द्व छैन । त्यसमा पनि नेपाली भाषा–साहित्यको आत्मिक सम्बन्ध छ, यस भूमिसँग । यहाँ त नेपाली भाषाभाषीहरू कति छन् कति । टिस्टाको किनारै किनार हिँड्दा राष्ट्रकवि माधव घिमिरेको गीतको सम्झना आयो मलाई । हामी ससाना छँदा चौरमा उफ्री उफ्री घिमिरेको राष्ट्रभक्तिले भरिएको गीत गाउँथ्यौँ – गाउँछ गीत नेपाली, ज्योतिको पङ्ख उचाली...जय जय जय नेपाल सुन्दर शान्त विशाल......पूर्वमा टिस्टा पुगेथ्यौँ... आदि । टिस्टाको पश्चिमी किनारबाट हामी सररर गइराखेका छौँ । 

पाखा–पर्वत ती देखी रमायो मन नै यहाँ
जता जता जता हे¥यो वन्यजन्तु विहारमा । ११ ।


उत्फुल्ल मन हार्दिक भावना सल्बलाउँछ
जिन्दगीभित्र सिङ्गै नै स्वराष्ट्रसरि छाउँछ । १२ ।

एउटा सानो बजार आयो, ठूलो पुल भेटियो । त्यहाँ सबै झरेर दृश्यावलोकन ग¥यौँ, एकआपसमा फोटो खिच्यौँ । उनन्तीस किलो भन्ने नदी किनारकै बजारमा खाना खायौँ । सिलगढीबाट उनन्तीस किलोमिटर पार गरिएछ शायद । एक घण्टाको विश्रामपछि हामी त्यहाँबाट हिँड्यौँ । टिस्टा बजारबाट पुल तरेर हामी कालिङपोङतर्फ लाग्छौँ । हरियाली प्रशस्त भएको केही घुमाउरो उकालोतर्फ लाग्छौँ हामी । साहित्यकार विमल वैद्यले साथीहरूलाई कार्यक्रमको सम्बन्धमा जागरुक गराइरहनु भएको थियो । कालिङपोङमा भेटघाट कार्यक्रम गरेर हिँड्नु थियो ।

जहाँ गयौँ उतै हाम्रो भन्ने भाव रसाउँछ 
मानवी चेतना जाग्छ एकत्व भित्र आउँछ । १३ ।


वर्षा आनन्दको पाई मन प्रफुल्ल नै भयो
जिन्दगी त्यसमै हुन्छ यथार्थ रूप पाइयो । १४ ।

मिति २०७१ चैत्र १४ गते शनिवार करिब १२.३०्र बजे कालिङपोङ पुग्दा त्यहाँ मनोज वोगटी लगायत साहित्यिक साथीहरू उपस्थित हुनुहुन्थ्यो । उहाँहरूले खाना खाने व्यवस्था गर्नुभएको रहेछ तर हामीले त उनन्तीस किलो बजारमै खाना खाइसकेका थियौँ । नेपाली साहित्य अध्ययन समिति (१९६५) १० माइल शहीद डी.बी.गिरी पथ, कालेबुङ (कालिङपोङ)को भवन हे¥यौँ, केही बेर सुस्तायौँ, चियापान ग¥यौँ र कार्यक्रमको समय नभइसकेकोले खबर गरेका साथीहरू आइपुग्नु भएको थिएन । संस्थाका अध्यक्ष र सचिव साथीहरूले छिटो आउन पनि भन्दै हुनुहुन्थ्यो । समयको सदुपयोग गर्ने हिसाबबाट प्रा.सञ्जय विष्टले मंगलधाम र वरपरका महत्वपूर्ण स्थलहरूको अवलोकन गराउनुभयो । रमाइलो लाग्यो त्यहाँको वातावरण । दुई बज्नु अघि नै साहित्यिक कार्यक्रम प्रारम्भ भयो नेसाअसको भाइचन कार्यकक्षमा । रमाकृष्ण सिर्जना प्रतिष्ठानका अध्यक्ष एवं साहित्यिक टोलीका संयोजक महेन्द्र गुरुङको सभापतित्व तथा समाजसेवी सानुमती राईको प्रमुख आतिथ्यमा कार्यक्रम प्रारम्भ भयो । संस्थाका सचिव बलभद्र शर्मा कार्यक्रमको सञ्चालक हुनुहुन्थ्यो । करिब दुई घण्टा चलेको सो कार्यक्रममा रोचक घिमिरे, सञ्जय विष्ट, विमल वैद्य, मातृका पोखरेल आदिको मन्तव्य र स्थानीय कविहरू मणीन्द्र भुजेल, डि.पी.अधिकारी, टेकबहादुर ठकुरी, मनोज वोगटी, मदना ओझा, डा.सरोज राई, लता राई, सुधा राई, ममता लामा, रुद्र कार्की, ललिता दोषी, मेहरमान सुब्बा, तारानाथ सुवेदी, कुमार गजमेर, उमेश उपमा, प्रदीप लोहगुण, सुधीर क्षत्री, अनिल तलेजा, प्रणेश पाखरिन, सीताराम गुरुङ, पुकार राई आदिका कविताहरूका साथै एस.एम. राई, हरीश मोक्तान, दीपक राघव, वर्षा सार्की, सुजाता विश्वकर्मा, ललितकुमार छेत्री, हेमन राई आदि कविहरूको उपस्थिति रहेको थियो । साहित्यिक यात्राका सम्पूर्ण साथीहरूको उपस्थिति रहेको सो कार्यक्रममा साहित्यिक यात्रीहरूको परिचय संस्थाका महासचिव यादव भट्टराईले गराउनुभएको थियो । नेपालबाट लगिएका पुस्तक, पत्रिकाहरू सबैले हस्तान्तरण गर्नुभयो । कालिङपोङको वातावरणलाई देखेर यो लेखकले पनि – कालेबुङ तिमीसँग जीवन छ र त म छु, तिमी छौ र त म छु भन्दै चार लाइनको कविता भन्न मन लाग्यो–

चाहे उत्तर फर्केको चाहे दक्षिण होस् यहाँ
रमाइलो छ सर्वत्र सुन्दर भावना जहाँ । १५ ।


आयौँ, हे¥यौँ, पियौँ हामी रमायौँ हुन्छ एकता
क्षुधा शान्त भयो आज यसैमा देख्छु पूर्णता । १६ ।

त्यहाँ सबै साहित्यकारको गुनासो के थियो भने हामीले सत्कार गर्ने मौका पाएनौँ, पुनः यस किसिमको भ्रमणमा आउनुपर्छ । अहिलेको भेटघाटले ममा भने नव सञ्चार भएको अनुभूति भयो किनकि यो मेरो पहिलो यस किसिमको यात्रा थियो । हामीले काठमाडौँबाट लगेका पुस्तक, पत्रिकाहरू प्रदान ग¥यौँ । उहाँहरूले पनि आफ्ना पुस्तकहरू दिनुभयो । केही समय भलाकुसारी गरेर कार्यक्रम सिद्धिएपछि जलपान गरेर हामी सिक्किमतिर लाग्यौँ । त्यहाँका पुराना पारसमणि प्रधानजस्ता साहित्यकारहरूलाई सम्भ्mयौँ, नयाँ साहित्यकारहरूसँग नयाँ अनुभव साटासाट ग¥यौँ । अत्यन्त छोटो समयको भेटघाट भए पनि प्रभावशाली र रमाइलो क्षणको रूपमा त्यो समयलाई हृदयङ्गम गरी त्यहाँबाट बिदा भयौँ । 

मिति २०७१ चैत्र १४ गते शनिवार करिब साँझ ६.३०्र बजे गान्तोक पुगेका थियौँ । त्यहाँ पुग्दा सिक्किम साहित्य परिषद्का अध्यक्ष त्यहाँका केही साहित्यिक व्यक्तित्वहरूसहित उपस्थित हुनुहुन्थ्यो । उहाँहरूले बस्ने व्यवस्था गर्नुभएको होटल थियो म्याग्नोलिया (ःबनलयष्बि) । गान्तोक बजारको मध्यमा स्थित त्यस होटलमा केही समय सुस्ताएपछि आआफ्नै किसिमबाट बजार घुम्न हिँडियो । त्यहाँको महत्वपूर्ण ठाउँ एम.जी.मार्ग जहाँ महात्मा गान्धीको पूर्णकदको लौरो टेकेको शालिक रहेको मुख्य बजारमा गयौँ । त्यहाँ फोटो खिचियो गान्धीसँग बसेर । साँझको चहल पहल, खुल्ला ठाउँ, बस्ने बेन्चहरू जताततै, पानीका फोब्बारा चलेका ठाउँ ठाउँमा । अत्यन्त रमाइलो, सुन्दर लाग्यो गान्तोक । हामी बसेको होटलको लाइनमा तलदेखि माथिसम्म जोडिएका घरहरू, बिचबिचमा गान्धीमार्गमा जाने सिँढी बनाइएको, हामीले गन्ने प्रयास पनि ग¥यौँ तर ६० भन्दा माथि लागेपछि बिर्सिने, यस्तै भयो धेरैपटक । ठाउँ ठाउँमा क्रसपुलहरू भएको हुनाले कतै पनि दिक्कत लागेन । त्यहाँको प्रशासन चुस्त भएको कारण पनि कसैले कतै फोहोर फालेको देखिएन । सिक्किमको सीमा पस्दा नै प्रशासनिक क्रियाकलापको अनुभूति भएकै हो । जीपवाला नै कति सतर्क, यो गर्न हुन्छ, यो गर्न हुँदैन हामीलाई सिकाउँदै थियो यदि त्यसको विपरीत गरे हामीलाई भन्दा पनि चालकलाई कार्यवाही हुने कुरा भन्दै थियो । उसले भनेको कुरा र त्यहाँको बजार व्यवस्था देखेर पनि अनुभव भयो । मैले आधा बाहुले कमिज र जाँगे लगाएर पट्ठो बनेर हिँडेको त साँझको बेला चिसो हावाले बुढेस लागेको जनाउ शरीरले दिएको थियो तर त्यस्तो सहन नै नसकिने जाडो भने होइन । रमाइलो ठाउँ भएकोले एक घण्टा जति त्यहीं घुम्यौँ र फक्र्यौं पनि । यादवजी फुर्तिलो मान्छे, अझ बसौँ भन्दै हुनुहुन्थ्यो, तपाईंले यो बुढाको पनि ख्याल गर्ने गर्नुस् है ! मैले त तपाईंको भन्दा २०÷२५ वटा भोटा फटाएको छु सम्म भनेँ, त्यस्तो चिसोको अनुभूति भएको थियो ।

मिति २०७१ चैत्र १५ गते बिहानको समय हामीले त्यहाँको मुख्य ठाउँ हेर्नु थियो । सबै जना दैनिकीबाट निवृत्त भएपछि सँगै लाग्यौँ भानुभक्तको शालिकतिर । हामी बसेको ठाउँबाट करिब २० मिनटमा पुगिने रहेछ त्यो ठाउँमा । कतिपय साथीहरू ट्याक्सी खोज्नतिर लाग्नुभयो, केही साथीहरू लाग्यौँ पैदल । भानुको पूर्णकदको शालिक हेरेर आनन्द लाग्यो । हातमा पुस्तक लिएको पूर्णकदको शालिक चौपारी जस्तो बनाएर ठड्याइएको थियो । त्यहाँ लेखिएको थियो – आदिकवि भानुभक्त आचार्य (१८७१–१९२५) अनावरण – मुख्यमन्त्री नरबहादुर भण्डारी (२३ जुलाई १९८९) । उँचो ठाउँमा भए पनि बजारको नजिक, नेपाली साहित्यका धरोहर आदिकविलाई सम्मान गरेको देखेर सबैको साहित्यिक मन प्रसन्न थियो, सबै रमायौँ । मन भरिने गरी सबैले साथै फोटो खिचियो, बसेर, उठेर, अँगालो मारेर, समूहमा, एक्लै, टेडोमेडो, छट्के, तेर्सो के के हो के के, मनग्गे फोटो खिच्यौँ । करिब एक घण्टा समय बितेछ त्यहाँ वरपर गरेको । एघार बजेभित्र कार्यक्रम पुग्नुपर्ने हुनाले जाने हतारले लाग्यौँ होटलतिर ।    

भावनामा सधैँ बग्छु साहित्यको समाजमा
जहाँ जान्छु त्यहीँ रम्छु उन्नत देख्छु साधना । १७ ।


जहाँ पुग्दा छ आनन्द त्यही हो कर्मको स्थल
साहित्यभित्रको ज्योति यथार्थ मानवी–फल  । १८ ।
मिति २०७१ चैत्र १५ गते (दिनाङ्क ः २९ मार्च २०१५) आइतवार गरिने सिक्किमको साहित्यिक भेटघाट कार्यक्रम नै मुख्य थियो । काठमाडौँदेखिको परिलक्ष्यित कार्यक्रम भएको हुनाले हामी सबै सतर्क हुनु स्वाभाविक पनि थियो । बिहान ११.३० बजे हामी कार्यक्रम स्थल सिक्किम साहित्य परिषद्मा पुगेका थियौँ । त्यहाँ सिक्किमेली साहित्यिक व्यक्तित्वहरूको आगमन हुँदै थियो । ११.४५तिर कार्यक्रम प्रारम्भ भयो । अत्यन्त सुन्दर भवन रहेछ सिक्किम साहित्य परिषद्को, आनन्द लाग्यो त्यहाँ साहित्यप्रतिको रुचि देखेर । सम्पन्नताको प्रतीक पनि थियो भवन । सिक्किम साहित्य परिषद् एवं रमाकृष्ण सिर्जना प्रतिष्ठानको संयुक्त आयोजना भएको सो कार्यक्रमको उद्घोषण सिसापका महासचिव नीलम न्यौपानेले गर्नुभएको थियो । सिक्किम विश्व विद्यालयका प्रध्यापक रुद्र पौड्यालको सभापतित्व रमाकृष्ण सिर्जना प्रतिष्ठान, नेपालका अध्यक्ष एवं टोलीका संयोजक महेन्द्र गुरुङ प्रमुख अतिथि र विशिष्ट अतिथि केदार गुरुङ रहेको सो कार्यक्रममा काठमाडौँबाट गएका टोलीलाई विशिष्ट अतिथि भन्दै कार्यक्रम सञ्चालकले उद्घोषण गर्नुभयो र सबैलाई कलात्मक खादा ओढाएर सिसापका अध्यक्षले सम्मान गर्नुभएको थियो । औपचारिकताको निर्वाहपछि रमाकृष्ण सिर्जना प्रतिष्ठानका महासचिव यादव भट्टराईले सहभागी स्रष्टाहरूको परिचय दिनुभएको थियो । डा.कविता लामा, पेम्बा तामाङ, जलेश्वरी श्रेष्ठ, चक्रपाणी भट्टराई, तेजमान बराइली, टिपीचन्द्र सुब्बा, नवीन लामिछाने, चुनिलाल घिमिरे, रूपेश शर्मा, विनाश्री खरेल प्रधान, दीपा राई, के.एन.शर्मा, रवि पौडेल, मिना सुब्बा, शिव दर्नाल, खुसेन तिम्सिना तागासी, शेरबहादुर कार्की, प्रवीण खालिङ, डा.राजु गिरी, टीका ढुङ्गेल, अम्बर लाछिकाठी गुरुङ, अर्जुन पीयूष, सीताराम गुरुङ, तुलसीहरि कोइराला, विमल वैद्य, रामप्रसाद पन्त, लक्ष्मी उप्रेती, ललिता दोषी, महेन्द्र गुरुङ, यादव भट्टराई ठाकुर शर्मा आदि साहित्यकारहरूले रचना वाचन गर्नुको थियो । त्यहाँ चन्द्र दुलाल, युवा बराल अनन्त, मेनुका क्षत्री, ओमा शर्मा, चूडामणि खतिवडा, पूर्ण योन्जन, हरिभक्त अधिकारी, भीम प्रधान, बलराम शर्मा, प्रमिला शर्मा, देव लिम्बु, सुरज छेत्री, निर्मल निरौला, अर्जुन यावा आदिको उपस्थिति रहेको थियो ।

गान्तोककै निकट सेराफेरामा बसोवास गर्ने सिक्किमका प्रसिद्ध साहित्यकार तथा ‘स्रष्टा’ पत्रिकाका सम्पादक पद्मश्री पुरस्कार प्राप्त केदार गुरुङलाई सम्मान गरिनुका साथै सिक्किम साहित्य परिषद्लाई प्रशंसा पत्र प्रदान गरिएको थियो । त्यस अवसरमा लक्ष्मी उप्रेतीद्वारा सम्पादित वनिता त्रैमासिकको सिक्किम विशेषाङ्क विमोचित भएको थियो । जसमा सिक्किमेली साहित्यकारका रचनाका साथै त्यहाँको भाषा–साहित्यको गतिविधिलाई समेट्ने प्रयास भएको छ । उक्त कार्यक्रमको महत्ता भनेको मुख्य रूपमा दुईवटा कार्यपत्र प्रस्तुत भएका थिए । त्यसमा सिसापका अध्यक्ष पारसमणि दङ्गालले नेपाली साहित्यको विकासक्रम ः भारतभित्र शीर्षकमा अत्यन्त रोचक ढङ्गले धारावाहिक रूपमा प्रस्तुत गर्नुभएको थियो भने डा. दुर्गा दाहालले नेपाली साहित्यको विकासक्रम ः नेपालभित्र शीर्षकको कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । दुवै कार्यपत्र अत्यन्त प्रभावशाली ढङ्गमा प्रस्तुत भएका थिए । त्यहाँ नेपालबाट सहभागी वरिष्ठ साहित्यिक पत्रकार रोचक घिमिरे, नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य मातृका पोखरेल, महेन्द्र गुरुङ, लक्ष्मी उप्रेतीको मन्तव्यका साथै नेसापका कोषाध्यक्ष डा.राजु गिरीले धन्यवाद ज्ञापन र प्रा.रुद्र पौड्यालको सभापतीय मन्तव्यले सबैको ध्यान केन्द्रित गरेको थियो । उहाँले नेपाली भाषा साहित्य सम्बन्धी धेरै कुराहरू उठाउनुका साथै आप्mनो प्रशासनिक कुरा र नेपाली भाषाभाषीले ध्यान दिनुपर्ने कुरातर्फ सङ्केत गर्नुभएको थियो, उहाँको मन्तव्य विद्वत्तापूर्ण थियो । कार्यक्रमको सबैलाई सम्मान गर्ने नयाँ तरिका, नयाँ ढङ्ग अति राम्रो लाग्यो । कोही पनि मञ्चमा राखिएन, सबै तल बस्ने र मन्तव्य दिँदा, कसैलाई सम्मान गर्दा मञ्बाट गर्ने अत्यन्त राम्रो लाग्यो । सभाकक्ष अति सुन्दर थियो, साहित्यकारहरूका तस्वीरले अझ सुन्दर बनाएको थियो ।
भावनामा डुबेका छौँ देखी समाज उन्नत
वरपर घुम्यौँ हामी रूप सौन्दर्य विस्तृत । १९ ।

भाषा–साहित्यका सेवी हामी बढ्छौँ निरन्तर
हातमा हात राखेर पूर्णता छ सुधाकर । २० ।
कार्यक्रमको दिन साँझ सिसापका सबै पदाधिकारीहरू नेपालबाट गएका सबै साथीहरूको भेटघाट हामी बसेकै ठाउँमा भयो । सिक्किमका साथीहरूले बिदाइको सम्मान स्वरूप कार्यक्रम राख्नुभएको थियो । त्यहाँ एउटा साहित्यिक गोष्ठी नै भयो । विमल वैद्यजीका कविताले सबैलाई उत्साहित बनायो । धेरै साथीहरूले आआप्mनै सिकसिमका कविता, मुक्तक, चुट्किला, सुनाएर रमाइलो बनाउनुका साथै सिक्किमको साहित्यिक, सांस्कृतिक, राजनीतिक विषयहरूको चर्चा पनि भएको थियो । यो अनौपचारिक कार्यक्रमले सबैको पारिवारिक सम्बन्धजस्तो बनाएको थियो । सधैँ सम्झिरहने बिर्सनै नसकिने क्षणको अनुभव गराएको थियो ।

दुई दिन सिक्किमको बसाइपछि अर्को दिन अर्थात् ०७१ चैत्र १६ गते बिहान ८ बजे सिक्किमबाट जीप नम्बर डब्लु.बी.७६ ३६०७ बाट दार्जिलिङतर्फ प्रस्थान गरियो । साहित्यिक यात्रीको दार्जिलिङको बसाइ थिएन । त्यहाँका साहित्यिक व्यक्तित्वहरूसँग भेटघाट गर्ने र सानो कार्यक्रम थियो । दार्जिलिङ स्थित गोरखा दुःख निवारक सम्मेलनको भवनमा साहित्यिक कार्यक्रम भयो । उद्घोषक विमल वैद्य रहेको सो समारोह साहित्यकार प्रेम प्रधानको सभापतित्व र महेन्द्र गुङको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । विशेष अतिथिमा मनप्रसाद सुब्बा, नन्द हाङखिम र अतिथिमा रोचक घिमिरे, मातृका पोखरेल, जलेश्वरी श्रेष्ठ, गोपीचन्द्र प्रधान, प्रमिता गुरुङ, वीणा हाङखिम केवलचन्द्र लामा हुनुहुन्थ्यो । त्यस कार्यक्रममा त्यहाँका पुराना स्रष्टा नन्द हाङखिमलाई संस्थाको तर्फबाट अभिनन्दन गरियो । यसैगरी अतिथि कवि र स्थानीय कविहरू ठाकुर शर्मा भण्डारी, वीणा हाङखिम, केवलचन्द्र लामा, रामप्रसाद पन्त, कर्ण थामी, गोपीचन्द्र प्रधान, ललिता दोषी र जलेश्वरी श्रेष्ठ मनिका मुखिया, प्रमिता गुरुङ आदि विभिन्न व्यक्तित्वहरूले रचना वाचन गर्नुभएको थियो । उपस्थित स्थानीय महानुभावहरूमा सविता सङ्कल्प, विमल मुक्सु,  मेनुका प्रधान, मणिका मुखिया, अमला सुब्बा छेत्री, डा.गीता क्षत्री, गुप्त प्रधान, किरण स्याङदेङ, मेनुका प्रधान, उदय सुब्बा गोर्खा, जीवन गुरुङ, मोहन शर्मा, रूपा लामा, रिन्र्गी इडेन वाङदी, वेनुका लामा, कर्ण थामी, खड्गप्रसाद वैद्य, ज्ञानेन्द्र अर्याल आदि हुनुहुन्थ्यो । 

त्यस कार्यक्रमको लगत्तै वरिष्ठ साधक इन्द्रबहादुर राईको निवासमा गई प्रतिष्ठानको तर्फबाट सम्मान गरिएको थियो । दार्जिलिङ पुगे पछि लाग्यो –
कस्तो सुन्दर ठाउँ यो प्रकृतिको आनन्द बर्साउने
जे छन् ती सब वस्तुमा मन गयो प्रारब्ध सम्झाउने

तिम्रै माझ रमाउने मन भयो सम्पूर्ण त्यागेर नै
साथै साथ रहूँ रहूँ स्वजनको हातै समाई सधैँ । २१ ।

यसरी साहित्यिक टोली १६ गते नै दार्जिलिङबाट इलामको लागि प्रस्थान ग¥यो । सिक्किमबाट नै आएका दुईवटा जीपले नै साहित्यिक टोलीलाई पशुपति नगरसम्म पु¥याउने कबोल भएको थियो । त्यस कारणले पनि हामी हरेक कुरामा सतर्क भई कार्यक्रम छिटो छरितो ढङ्गबाट अगाडि बढाउनुपरेको थियो तथापि केही समयको ढिलाइले जीपचालकको पारा तात्नु र पशुपतिनगर पुग्दा पानी पर्नुले हामीलाई दुःख हुनुबाहेक आनन्दसँग नै यात्रा गरेका थियौँ । इलाममा होटल व्यवस्था भएको र खानपीनको व्यवस्था भइसकेको कारण र हामीसँग विमल वैद्यजी हुनुभएकोले सबै ढुक्क थियौँ । समयमा नै इलाम पुगेर बस्न पाइयो र अर्को दिनको कार्यक्रमा साथीहरू जुट्न पाउनुभयो । 

यात्रामा कति छन् कष्ट तर देखिन्न क्यै पनि
मन आनन्दले गर्दा परिपूर्ण छ जीवनी । २२ ।

ठूला काम हुँदा राम्रा साना कुरा हराउँछन्
यही हो जिन्दगी राम्रो सुख्ख मात्रै उदाउँछन् । २३ ।  
मिति २०७१ चैत्र १७ गते बिहान हामी इलामका केही स्थानहरूको भ्रमण ग¥यौँ । जिल्ला प्रशासन कार्यालयको हलमा कार्यक्रम भएको थियो । सात दिने साहित्यिक यात्राको त्यो अन्तिम कार्यक्रम पनि थियो, महत्वपूर्ण थियो । विमल वैद्य लगायत इलामका साहित्यकारहरू यसमा लाग्नुभएको थियो । नेपाल प्रज्ञा प्रतिष्ठान र भानु प्रतिभा संरक्षण तथा साहित्य संवद्र्धन समिति, इलामको सहकार्य एवं रमाकृष्ण सिर्जना प्रतिष्ठानको प्रमुख आयोजनामा भव्य साहित्यिक कार्यक्रम हुने भएकाले हामी सबै अत्यन्त उत्साहित र आह्लादित थियौँ । साहित्यकार दिवाकर भण्डारीद्वारा सञ्चालन भएको उक्त कार्यक्रम इलामका साहित्यकार विमल वैद्यको सभापतित्व र वरिष्ठ साधक माधव भण्डारीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । विशेष अतिथिमा रोचक घिमिरे, मातृका पोखरेल, मदन कोइराला, महेन्द्र गुरुङ, प्रा.युद्धप्रसाद वैद्य, जलेश्वरी श्रेष्ठ, कार्यपत्र प्रस्तोता लक्ष्मी उप्रेती र टिप्पणीकर्ता केदार शर्मालाई मञ्चासीन गराइयो । आयोजकहरूको तर्फबाट सुमधुर शैलीमा धर्म गौतमले स्वागत गर्नुभएको थियो । हाम्रो टोलीको परिचय यादव भट्टराईले दिनुभएको थियो । रमाकृष्ण सिर्जना प्रतिष्ठानको तर्फबाट साहित्यकार प्रा.युद्धप्रसाद वैद्यलाई सम्मान गरिएको थियो । 

सो कार्यक्रममा साहित्यकार तथा साहित्यिक पत्रकार लक्ष्मी उप्रेतीले समकालीन नेपाली नारी कथाकारहरू र लेखन प्रवृत्ति विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । साहित्यकार तथा साहित्यिक पत्रकार केदार शर्माले उक्त कार्यपत्रमाथि रोचक शैलीमा सटीक टिप्पणी प्रस्तुत गर्नुभएको थियो, टिप्पणी स्वयंमा कार्यपत्र सरह नै थियो ।  मातृका पोखरेल, रोचक घिमिरे, रामकुमार शाह, महेन्द्र गुरुङ आदिको मन्तव्य र साहित्यिक टोलीका साथीहरू यादव भट्टराई, सीताराम गुरुङ, ठाकुर शर्मा भण्डारी, रामप्रसाद पन्त, जलेश्वरी श्रेष्ठ, तुलसीहरि कोइराला, ललिता दोषी, लक्ष्मी उप्रेती तथा, स्थानीय कविहरू प्रवेश शर्मा घिमिरे, अन्वेश राई चुलुङ, डा.देवी क्षत्री दुलाल, शिव अधिकारी, इलामेजेठो, प्रतिभा पौडेल, डि.बी.इलामे आदिले कविता वाचन गर्नुभएको थियो । उक्त समारोहमा डा.दुर्गाप्रसाद दहाल, जयदेव भट्टराई, पर्वत पोर्तेल, देवी गौतम, तुलसी प्रसाईं, उपेन्द्रप्रसाद आचार्य, केशबहादुर राई, दीपक पौडेल, उद्धव सापकोटा, शङ्करमणि प्रधान, रिना घिमिरे (ढाले), ईशा कोइराला, कल्पना ओली, सृजना राई, तोयानाथ भट्टराई, लक्ष्मण चौलागाईं, सनम राई, तेजबहादुर बि.क., प्रकाश म्यार, देवीप्रसाद भट्टराई, सुरेन्द्र राई, अनिश्चित राई, सुदर्शनप्रसाद काफ्ले, राम दियाली, कृष्णप्रसाद घिमिरे, रामप्रसाद गुरागाईं, जय भण्डारी, धनमान बराइली, गोपीकृष्ण सुवेदी, रीता अधिकारी, याम वाङ्देल राई, विप्लव भट्टराई, लगायतको उपस्थिति थियो । सम्मानित व्यक्तित्व र मञ्चासीन व्यक्तित्वको मन्तव्यका साथै महेन्द्र गुरुङको मन्तव्य विशेष यस मानेमा रह्यो कि साहित्यिक यात्राको समीक्षा आद्योपान्त गर्नुभएको थियो । अन्त्यमा विमल वैद्यको प्रस्तुति रहेको सो कार्यक्रम अत्यन्त सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको थियो । 

कार्यक्रम पश्चात् दिउँसोको खाना खायौँ र हतार हतार हामी सबै बसेको हाटेलमा गई इलामको कोसेली लालीपप किनेर झोलामा राखेँ किनकि घर पुगिसकेपछि मेरी सानी नातिनी शाम्भवीको मासूम अनुहारबाट टेढो हेराइ, ठुस्स परेको अनुहार हेर्नु थिएन, आदेश थियो लालीपप चाहिन्छ, चाहिन्छ । मैले पनि भनेको थिएँ ल्याइन्छ, ल्याइन्छ अवश्य ल्याइन्छ । त्यो कुरालाई नबिर्सी इलामे लालीपप झोलामा राखेर काठमाडौँका लागि दुई बजेको बसबाट सबै साहित्यिक यात्रीहरू प्रस्थान ग¥यौँ र अठार घण्टापछि अर्को दिन अर्थात् २०७१ चैत्र १८ गते बिहान आठ बजे आनन्दको अनुभव गर्दै सकुशल काठमाडौँ उत्रियौँ ।

उपलब्धि थियो साथ यात्रानुभव भित्रियो
भेटेका साथी साथै थे ज्ञानको रास उत्रियो । २४ ।

प्रेमका रासका साथ साथमा चेतना थियो
प्रफुल्ल मनका साथ सिर्जनाको विधा थियो । २५ ।

समग्रमा यात्रा सुखद् रह्यो, आनन्ददायक रह्यो र सौहार्दपूर्ण रह्यो । जीवनको आनन्द भनेकै यही हो, जहाँ रमाउन सकिन्छ, जहाँ मानिससँगको अनुभूति साटासाट गर्न पाइन्छ, केही सिक्न पाइन्छ, केही सिकाउन पाइन्छ, सन्तुष्ट मन लिएर जीवन यापन गर्न पाइन्छ । त्यसैको सिर्जनामा लागेका व्यक्तिहरूसँग भ्रमण गर्न पाउनु भनेको जीवनको सफलता हो । त्यही जीवनको जीवन्तता हो सार्थकता हो । यस समयमा यो आनन्दको अनुभूति दिने, दिलाउने संस्था रमाकृष्ण सिर्जना प्रतिष्ठानप्रति आभार व्यक्त गर्दछु र जीवनमा यस्ता अवसरहरू जुटिरहून् । नेपाली साहित्यको सेवामा निरन्तर लागि सबैलाई एक जुट हुने र जुटाउने कार्यमा निरन्तरता होस् । जय नेपाल, जय नेपाली भाषा, जय साहित्य । इत्यलम् ।
२०७२ वैशाख १ गते  
 ९८४१२४५३३१
धूम्रवाराही, कामाडौँ 


लेन्डुप दोर्जी विम्बप्रति सिक्किमेलीको गुनासो
तुलसीहरि कोइराला

‘काजी, ठेकेदारी र बेठबेगारी जस्ता दैदस्तुर र दबाबबाट मुक्त भई विशाल भारतीय प्रजातान्त्रिक महासंघमा समाहित हुन अन्ठान्नब्बे प्रतिशत सिक्किमेलीले जनमत संग्रहद्वारा सहर्ष स्वीकार गरेर सन् १९७५ मे १६ बाट भारतीयकरणमा समाहित भएका हौँ हामी । उता नेपालमा भने राजनीतिक भाषणहरूमा सिक्किमलाई विम्ब बनाएर सिक्किमीकरण गरिएको भनिन्छ । राजा नाम्ग्याल र लेन्डुप दोर्जीलाई गाली गरेको सुनिन्छ । उनीहरूलाई देशद्रोही र धोकाधडीका उदाहरण बनाइएको छ । यसो किन गरिएको हो ? यो सबै भएको त हामी सिक्किमेलीकै अभिमतबाट हो नि । नेपाली दाजुभाइहरूले यसो भनिदिँदा हाम्रो चित्त कुँडिन्छ ।’

नेपाली साहित्य परिषद, सिक्किममा आयोजित द्विदेशीय साहित्यकारहरूको जमघटमा ‘भारतीय नेपाली साहित्यका प्रवृत्तिहरू’ शीर्षकमा परिषदका अध्यक्ष पारसमणि दङ्गालले कार्यपत्र प्रस्तुत गर्नेक्रममा यसो भन्नुभएपछि म निक्कै सोचमग्न भएथेँ । जनताको अभिमतबाट राजतन्त्रलाई छोडेर भारतीय महासंघमा प्रान्तीय हैसियतमा विलय भएको सिक्किमका जनताको कुनै गुनासो छैन भने त्यसका कारणीहरूलाई हाम्रा देशका राजनीतिक भाषणवाजहरूले किन गाली गरिरहेका छन् भन्ने सोचनीय विषय बनेको छ । भारतीय साहित्य अकादमीबाट पद्मश्री सम्मान प्राप्त दुई व्यक्तित्व सानु लामा र केदार गुरुङसमेत मञ्चमा रहेको कार्यक्रममा सिक्किमको यथार्थ थाहा पाएपछि यसअघिका मेरो मस्तिष्कमा गढेका राजनीतिक खिलहरू एकाएक हराएथे ।

भारतीय साहित्य अकादमीकै मान्यता प्राप्त सन् १९८१ मा स्थापना भएको परिषदको सभाहलमा भएको कार्यक्रममा सभापतित्व ग्रहण गरिरहनुभएका प्राध्यापक रुद्र पौडेलले बाँडेको सद्भावपूर्ण अभिव्यक्ति झनै प्रशंसनीय थियो । ‘भारतीय संस्कृति भनेको हाम्रो साझा संस्कृति हो । यसलाई इण्डियन संस्कृतिमा बदलेर खुम्च्याउन मिल्दैन । हामीबीच प्रेम र सद्भाव नै हो जति बाँड्दा पनि नसिद्धिने । प्रेममा नै सृष्टि र आनन्द छ । हृदयको पुललाई कसैले तोड्छु भनेर पनि तोड्न सक्दैन’ भन्नुभएपछि  मेरो मन एकाएक हलुङ्गो भएको अनुभव भएथ्यो । यही हृदय जोडिएकै कारण हामी एक हप्ते साहित्यिक यात्रामा सिलिगुढीबाट पसेर कालिङ्पोङ, सिक्किम, दार्जिलिङ हुँदै इलाम निस्किएर साहित्यिक यात्राको समापन कार्यक्रम गरेका थियौँ ।

‘जहाँ सिर्जनामा सिँचन गरिन्छ’ मूलवाक्यका साथ सिर्जना उत्सवमा निस्किएको हाम्रो टोलीको नेतृत्व ‘रमा–कृष्ण सिर्जना प्रतिष्ठान’का अध्यक्ष महेन्द्र गुरुङले संमाल्नुभएको थियो । वास्तवमा हाम्रो यात्रा एक वर्षअघि नै तय भएर विशेष कारणवश स्थगित भएथ्यो । वि.सं. २०७१ चैत १२ गते काठमाडौँबाट रात्रिवसमा पूर्वीसीमा काकडभिट्टा प्रस्थान गर्दाको दिन बाटोमा परेको पानीले वसभित्रै पनि ओभानो रहन हामीलाई हम्मेहम्मे परेको थियो । रातभरको लामो यात्राबाट विहान काकडभिट्टा वसपार्कमा उत्रिँदा सबै जनाको अनुहार र शरीर निक्कै थकित देखिएको थियो । भारतीय मुद्रा साट्न तँछाडमछाड गर्दै आएका महिलाको भीड हेर्नलायक थियो । हामीलाई हिँड्नकै चटारो थियो । यताबाट लगिएका किताव र पत्रपत्रिकाका पोकापन्तुरा डिकीमा पानी पसेर लफक्कै भिजेकाले सम्हाल्नै मुस्किल भइरहेको थियो । लक्ष्मी उपे्रतीले प्रकाशन गर्नुभएको लख्खीदेवी सुन्दास र सिक्किम विशेषाङ्क नराम्ररी भिजेछन् । वास्तवमा हाम्रै बेहोसीले यस्तो भएथ्यो । गाडीभित्रै मिलाएर राख्न पनि सकिन्थ्यो तर डिकीमा हालिएछ र नराम्ररी भिजेछन् ।

सिलिगुढी जानलाई गाडीको मोलतोलमा पनि समय लामै लाग्यो । यता इलामबाट टोलीमा सामेल हुन आउने कवि विमल वैद्य पनि आइपुग्नुभएकै थिएन र उहाँलाई पनि कुर्नैपर्ने थियो । कान्तिपुरका काकडभिट्टा सम्वाददाता पर्वत पोर्तेल आएपछि समय कटाउन अलिक सहज भएथ्यो । वसपार्ककै पूर्वपटि महाकवि लक्ष्मीप्रसाद देवकोटाको शालिक अनावरण हुन समय कुरेर घुम्टोभित्रै थियो । निक्कै फराकिलो क्षेत्रफलमा सभाहलसमेत बन्ने योजना रहेछ । मुद्दामामिलो गरेर बल्लतल्ल स्वामित्व पाएको स्थान वास्तवमा सबैका आँखा लाग्ने ठाउँमै रहेछ । लामै मोलतोलबाट दुइटा गाडी तय गरिएपछि हाम्रो यात्राटोली कुनै पनि विहानी कर्म नगरी नै सिलिगुढीतर्फ लागेथ्यो । कवि महेन्द्र गुरुङ अध्यक्ष रहेको संस्थाका अन्य पदाधिकारीहरूमा लक्ष्मी उप्रेती, यादव भट्टराई, सीताराम गुरुङ, जलेश्वरी श्रेष्ठ हुनुहुन्थ्यो भने टोलीका अन्य सहभागीहरूमा– रचनाका सम्पादक रोचक घिमिरे, नेपाल प्रज्ञा–प्रतिष्ठानका आख्यान विभाग प्रमुख प्राज्ञ मातृका पोखरेल, रामप्रसाद पन्त, ठाकुर शर्मा, जयदेव भट्टराई, ललिता दोषी, विमल वैद्य, पर्वत पोर्तेल र यो पङ्क्तिकार सामेल थियौँ । यात्रामा निस्किइनैसकेपछि हतारो नहुनुपर्ने हो तर हामी भने वास्तवमै हतारोमै थियौँ । वारि र पारिको विकासको चर्चा गर्दै पहिलो गन्तव्य सिलिगुढी पुगेर गौरव लजमा भित्रिएपछि बल्ल हलुका हुन पाइएथ्यो । खाना खाएर पहिलो चरणमा डा. लख्खीदेवी सुन्दासलाई उहाँकै अपार्टमेन्टमा गएर भेट गरी उहाँकै विशेषाङ्क र अरुले लगिदिएका पत्रपत्रिकाहरू हस्तान्तरण गरियो । लकुवा (पार्किन्सन्स)ले गर्दा हिँडडूल गर्न नसक्ने अवस्थाकी सुन्दासको संयोगवश त्यसै दिन जन्मदिन पनि परेको रहेछ । यसरी घरैमा एकडफ्फा साहित्यकार भेट्न पुग्दा उहाँ निक्कै भावविभोर हुनुभएथ्यो । जन्मदिन भन्ने थाहा पाएपछि रसवरी मगाएर खुवाउने–खाने गरेथ्यौँ ।

सिलिगुढीमा देवकोटा संघको ठूलो भवन रहेछ तर निर्माण सम्पन्न हुन भने बाँकी नै । हाम्रो सिक्किम साहित्य यात्राको पहिलो कार्यक्रम त्यही भवनमा भएथ्यो । देवकोटा संघका अध्यक्ष शारदा क्षेत्री नहुनुभएकोले उपाध्यक्ष रुद्रकुमार अधिकारीको सभापतित्वमा आयोजित कार्यक्रममा दुवै तर्फका स्रष्टाहरूले सिर्जना सुन्ने–सुनाउने गरेका थियौँ । हाम्रो नेतृत्वदायी संस्थाका तर्फबाट देवकोटा संघलाई सम्मानपत्र प्रदान गरिएको थियो । उपस्थिति भने सोचेअनुसारको थिएन । इन्द्रबहादुर राई दार्जिलिङ जानुभएको, लख्खीदेवी हिँडडूल गर्न नसक्ने, ज्ञानेन्द्र खतिवडा लगायतको एक टिम लजमा भेट गर्न आएको भए पनि आउँछौँ भनेर पनि कार्यक्रममा उपस्थित भएनन् । दुई समूहबीच तालमेल नभएको स्पष्टै देखिन्थ्यो । विन्द्या सुब्बालाईसमेत जानकारी रहेनछ र लक्ष्मी उप्रेतीले फोन गरेर बोलाएपछि उहाँ आउनुभएथ्यो । संगीतकार अशोक राईले गीत गाएर सुनाउनुभएथ्यो । विन्द्या सुब्बा, राजा पुनियानी, मिरा गजमेर लगायतका केही स्रष्टाले सिर्जना वाचन गर्नुभएथ्यो । मैले भने बेग्लै स्वाद होस् भनेर लघुकथा सुनाएथेँ । आख्यानको छोटो रूप ‘लघुकथा’लाई पनि कविता, गजल, गीतजस्तै कार्यक्रमहरूमा वाचन गर्न सकिन्छ भन्ने अभियानमा छ ‘लघुकथा समाज’ । समाजको सचिवको नाताले पनि थोरै  बोलेर लघुकथा सुनाएथेँ र सबैले मन पराएको अनुभव भएथ्यो । 

रोचक दाईले बोल्नेक्रममा नाट्यसम्राट वालकृष्ण समले भन्ने गरेको वाक्य– आज दार्जिलिङले जुन कुरा गर्छ, भोलि नेपालले त्यसैको अनुसरण गर्छ’ को सम्झना गर्नुभएथ्यो । तर हामी दार्जिलिङमा नभएर दार्जीलिङको प्रवेशद्वार सिलिगुढीमा थियौँ । दार्जिलिङ त अग्रणी हुँदै हो तर सिलिगुढीमा चाहिँ साहित्यमा ‘अहम्’ रोग लागेको अनुभव गरियो । पछिल्लो पुस्ताले इन्द्रबहादुर पुस्तालाई तिनीहरू के लेख्छन् र भन्ने, आफ्नै  पुस्तामा पनि त्यसको भन्दा मेरो दमदार भन्ने भावनाले ग्रसित पारेको देखियो । देवकोटा, भानु, पारिजात लगायतका स्रष्टाहरूका शालिक ठडिएका छन् । भाषिक रूपमा नेपालीभाषीबीच बाह्य एकता देखिए पनि ‘साहित्यिक एकता’ देखिएन । नेपाली साहित्यको भोलिको अवस्था के कस्तो हुने हो भन्ने अनुमान यो छरपष्टले देखाइरहेथ्यो । त्यसो त यता पनि हालत त उस्तैउस्तै नै हो तर पनि यहाँभन्दा दयनीय सिलिगुढीमा देखिएर चिन्ता लागेको हो । 

भोलिपल्ट विहानै हाम्रो टोली कालेबुङ(कालिङ्पोङ) तर्फ लागेथ्यो । कालेबुङमा पनि ‘नेपाली साहित्य अध्ययन समिति’ सन् १९६५ देखि नै क्रियाशील रहेछ । खानाको प्रवन्ध यतै गरिएको छ भन्ने जानकारी नहुँदा टिष्टा किनारकै होटलमा मीठो खाना खाएर उकालो लागेथ्यौँ हामी । टिष्टा नदीको किनारै किनार उकालो लाग्दा राष्ट्रकवि माधव घिमिरेको ‘गाउँछ गीत नेपाली ज्योतिको पङ्ख उचाली....पूर्वमा टिष्टा पुगेथ्यौँ...’ गीत गुनगुनाउँदै नदीको जलप्रवाह हेरेर निक्कैबेर टोलाएथेँ इतिहासका पाना सम्झिएर । झण्डैझण्डै खाजाको समय हुन लागेको थियो हामी कालेबुङ पुग्दा । उहाँहरू खाना खानुपर्छ भनेर जोड गर्दै हुनुहुन्थ्यो तर खानाको आग्रहलाई स्वीकार्न सक्ने अवस्थामा हामी थिएनौँ । सहमतिमा कुरा टुङ्ग्याएर कार्यक्रमको तयारी गर्दैगर्दा हामी चाहिँ कालेबुङको प्रसिद्ध स्थल मङ्गलधामको अवलोकन गर्न ओरालो झरेथ्यौँ । मङ्गलधाम वास्तवमै हेर्नलायक स्थल रहेछ । त्यहाँका भव्य कक्षहरू, कृष्णका अनेक लीलाका मूर्तिहरू, विष्णुका अनेक अवतारका रूपहरू, त्यहाँको सफाई, फुलबारी, प्रवेशद्वारको भव्यता, औधि रोमाञ्चित बनाउनेखालका रहेछन् । समय थोरै भएकोले मात्रै हो, नत्र दिनभर बस्दा पनि धीत नमर्नेखालको स्थल एकसरो हेरेर मात्रै पुनः उकालिएथ्यौँ हामी । 

पहाडी डाँडामा तलैदेखि जग उठाएर भित्तामा टाँसेर बनाएका घरहरू माथिबाट हेर्दा साना तर तलबाट हेर्दा आठ–नौ तल्लाका पनि देखिन्थे । खानेपानीका फलामे पाइपहरूले कान्ला–भित्ता छपक्कै देखिन्थे । यस्तो दृश्य मैले पाल्पामा पनि देखेको थिएँ । त्यसै दिन हामीले गान्तोक पुग्नु थियो र रिजर्भ गाडीलाई पर्खाएका थियौँ । यसकारण पनि जतिसक्दो छिटो कार्यक्रम सकेर बाटो लागिहाल्नुपर्ने हतारो थियो । यता फर्किनलाई १८ गते उपत्यका बन्द हुने भन्ने हल्लाले गर्दा एक दिनको कार्यक्रम कटौती गर्नुपर्दा समयको व्यवस्थापन गर्न आयोजकलाई धौधौ परिरहेको थियो । समितिको भाइचन्द्र सभाहलमा परिचय आदान–प्रदान र सिर्जना वाचन कार्यक्रम गरिएथ्यो । उपस्थिति निकै राम्रो थियो । यात्राको उद्देश्यमाथि हाम्रा टोलीनेता महेन्द्र गुरुङले प्रकाश पार्नुभएको थियो । सुधीर क्षेत्री, मनोज बोगटी, मदना ओझा, पुकार राई, प्रदीप लोहारुङ उताका र यताका केहीका कविता वाचन गरिएका थिए । कार्यक्रममा कालेबुङका धेरै स्रष्टाहरू भएर पनि यी नामहरू उहाँहरूले नै छानेर बोलाउनुभएको थियो । समयको अभावले गर्दा धेरैका सिर्जना सुन्ने अवसर मिलेन । पुस्तकालय निक्कै आकर्षक रहेछ । पुराना सामग्रीहरू व्यवस्थित तरिकाले राखिएका रहेछन् । डा. पारसमणि पुरस्कार, भाइचाङ पुरस्कार, कथा पुरस्कार, लगायतका पुरस्कारहरू पनि समितिबाट प्रदान गरिदैआएको रहेछ । कालेबुङका स्रष्टाहरूको आतिथ्यलाई हामीले धेरैबेर अँगालिरहन सकेनौँ । समय भएको भए मेरै आफ्नो माइलो हजुरबाका सन्तान पनि कालेबुङमै थिए । आमाले खोजेर भेटेस् है नानी भन्नुभएथ्यो पनि । तर दुई घण्टा जतिमा कार्यक्रम, भेटघाट र अवलोकन सकेर सिक्किमलाई गन्तव्य बनायौँ हामीले । 

यो यात्राको मुख्य आकर्षण भनेकै सिक्किम थियो । दार्जिलिङ, सिलिगुढी भनेका त पहिले पनि पुगिसकेका स्थलहरू हुन् तर सिक्किम जान मन भएर पनि समय जुरिरहेको थिएन । एक्लै जाने कुरो भएन, राम्रो टोली बनाएर जान पनि सकिएको थिएन । कुनै संघ–संस्थाबाट अगुवाई गरेर लानलाई सम्भवतः मेरो पालो आइनसकेको हुनुपर्छ । सिक्किम छिर्ने रम्पो वोर्डरमा कडाई गर्छ भन्ने पनि थियो । कति नेपालीलाई छिर्न नदिएर फर्काइएको पनि सुनिएको थियो । फेरि सिक्किम जाने भनेपछि अथवा गएर आएको भनेपछि उसलाई हेर्ने दृष्टिकोण नै फरक पर्ने गरेको पनि छ । हाम्रा केही साहित्यकारहरू झोला बोकेर पारि तरेपछि अनेक उपाय लगाएर खर्चबर्च झारझुर गरेर आउँछन् । विशेष गरी सिक्किमका साहित्यकारहरूले एक दर्जन नयाँपुराना हाम्रा साहित्यकार–पत्रकारहरूको नामै लिएथे । कसैले नेपालको नामी पत्रिकामा अन्तर्वार्ता प्रकाशित गरिदिन्छु भन्ने, कसैले पुस्तक सम्पादन–प्रकाशनको काम गरिदिने, कसैले समालोचना लेखाइदिने, कसैले विशेषाङ्क निकालिदिने, कसैले आफ्नो दरिद्रपन मात्रै देखाएर पनि मुखै फोरेर माग्ने गरिदिँदा सबैलाई एउटै दृष्टिले हेर्नेहरू पनि रहेछन् । मुख्यमन्त्री पवन चामलिङलाई भेटेर दुखेसो पोख्ने, पुस्तक प्रकाशन गर्न नसकेको भनी झोलाबाट पाण्डुलिपि नै झिकेर देखाउने र प्रकाशन खर्च माग्नेहरूको सूची पनि बेलुकाको समीक्षा वैठकमा सुन्न पाइयो । हामीले भने चामलिङलाई भेट्ने कार्यसूची नै बनाएनथ्यौँ । उनी पनि गुराँस महोत्सव मनाउन भनेर दुई दिनदेखि पश्चिम सिक्किम (गेजिङ) गएका रहेछन् । हामीलाई कार्यक्रम गर्नु थियो, विचारहरू आदान–प्रदान गर्नु थियो, गर्यौँ । उनीहरूका गुनासोहरू सुन्यौँ । चित्त दुखाई र खुसीका कुराहरू पनि सुन्यौँ । त्यही चित्त दुखाइकै कुरा थियो सिक्किमीकरण र लेण्डुप दोर्जी प्रवृत्ति भनिएको प्रतिको उनीहरूको स्पष्टीकरण । जसले भोगेका छन्, उनीहरू राजीखुसी छन् भने हामीले टाउको दुखाउनुपर्ने कुनै कारण नै देखिदैन । 
नेपाली साहित्य परिषद, सिक्किमको आफ्नै  भवनमा दुई देशीय जमघटमा वार्ता र छलफल चल्यो । प्राध्यापक रुद्र पौडेलको सभापतित्वमा आयोजित कार्यक्रममा– केदार गुरुङ, सानु लामा, पेम्वा तामाङ, डा. कविता लामा, पारसमणि दङ्गाल, प्रवीण खालिङ, पूर्ण योञ्जन, नीलम न्यौपाने, डा. राजु गिरी, चक्रपाणि भट्टराई, नवीन लामिछाने, वीना घिमिरे, टिवीचन्द्र सुब्बा, टीका ढुङ्गेल, शिव दर्नाल, लगायतका स्रष्टाहरूको बाक्लो उपस्थितिमा सिक्किमका स्रष्टाहरूको तर्फबाट प्रतिनिधि कविको रूपमा चक्रपाणि भट्टराईले मात्रै कविता सुनाउनुभएको थियो । ‘तपाईँहरू पाहुनाको रूपमा यहाँ आउनुभएको छ, हामी तपाईँहरूका सिर्जना सुन्छौँ’ भनेर अड्डी नै लिएपछि हाम्रो तर्फबाट सबैले नै सिर्जना वाचन गरेथ्यौँ । 

सिक्किमका कार्यक्रममा उता र यताबाट एकएक वटा कार्यपत्र पनि प्रस्तुत गरिएका थिए । डा. दुर्गाप्रसाद दाहालले नेपालका तर्फबाट ‘नेपाली साहित्यको विकासका प्रवृत्तिहरू’ शीर्षकमा कार्यपत्र प्रस्तुत गर्नुभएथ्यो । यताको त थाहा भएकै हो, हामीलाई उताको सुन्नु थियो । पारसमणि दङ्गाल (परिषदका अध्यक्ष) ले ‘भारतीय नेपाली साहित्यका प्रवृत्तिहरू’ केलाएर सुनाउनेक्रममै हो नेपाली राजनीतिज्ञले गलत विम्बका रूपमा सिक्किमलाई प्रयोग गरेको भन्ने दुखेसो गर्नुभएको । उहाँले सुवानन्द दास, ज्ञानदिल दास, पादरी गङ्गाप्रसाद प्रधान, पारसमणि प्रधानदेखिका योगदानहरूलाई केलाउनुभएथ्यो । वि.सं. १९५८ मा प्रकाशित ‘गोर्खे खवर कागज’को इतिहास केलाएर पादरी गङ्गाप्रसाद प्रधानलाई ‘नेपाली पत्रकारिताको आदिपुरुष’ भन्नुभएथ्यो । परिषदबाट भएका राम्रा कामहरू, भानु पुरस्कार, शिवकुमार राई पुरस्कार र माष्टर मित्रसेन पुरस्कारको चर्चा पनि भएथ्यो । नेपाली साहित्यमा सिक्किमले धेरै गरेको छ भन्ने प्रमाणका रूपमा दङ्गालको प्रस्तुति प्रशंसनीय थियो । 

हाम्रो टोली नेता महेन्द्र गुरुङ कवि मात्र नभएर गीतकार र राम्रो गायक पनि हो भन्ने जानकारी मलाई त थियो नै, उक्त कार्यक्रममा ‘सिक्किम मेरो हजुर’ बोलको गीत गाउँदा सिक्किमेलीका तालीले हल गुञ्जिएपछि उहाँको तारीफ नहुने कुरै थिएन । हाम्रो संस्थाका तर्फबाट नेपाली साहित्य परिषद, सिक्किम र स्रष्टा केदार गुरुङलाई सम्मान गरेर ‘अरुबाट आफूले सम्मान पाउन अरुको पनि सम्मान गर्न जान्नुपर्छ’ भन्ने भनाईको सार्थकता पुष्टि गरेका थियौँ । 

दुई दिनको सिक्किम बसाइमा त्यहाँको वातावरणले हामीलाई रोमाञ्चित बनाइरह्यो । महात्मा गान्धी (एमजी रोड) को पूर्णकदको शालिक र वरपरको सुन्दरतामा फोटो खिच्ने तेस्रो मुलुकका पर्यटकहरू पनि बाक्लै देखिन्थे । रातको समयमा गान्तोकको सुन्दरता औधि लोभलाग्दो थियो । कालेबुङ, सिक्किम(गान्तोक) र दार्जिलिङको भौगोलिक अवस्थिति लगभग एकै खालको लाग्यो । भित्तामा टाँसिएका माथिबाट हेर्दा साना तर तलबाट हेर्दा दश तल्लासम्मका सिक्किमी घरहरूमा जत्रो घर भएपनि छानो चाहिँ जस्तापाताकै थियो । यसो गर्नुको पछाडि सरकारी नियम नै हो कि भन्ने लागेर मैले प्रा. रुद्र पौडेललाई नै सोधेथेँ । घोषित कानुनी नियम नभएर अघोषित तर प्रचलन नै बनिसकेको कुरा उहाँले बताउनुभएथ्यो । पहाडी वस्ती भएकोले एक तल्ला भए पनि भूकम्पीय जोखिमको दृष्टिले भार कम होस् भनेर जस्ता हालिएको हो भने पनि नवौँ तल्ला ढलान गरेर दशौँ तल्लामा चाहिँ जस्तापाता हालिनुले तर्क उति दर्विलो थिएन । जोखिम कम गर्ने नै हो भने त चार–पाँच तल्लाभन्दा माथि नबनाउँदै उपयुक्त हुने भूबनोट रहेछ । यहाँ आएजस्तै भूकम्प त्यहाँ पनि गयो भने जनधनको अकल्पनीय क्षति हुनसक्ने पूर्वानुमानले म झस्किएको छु । 

सिक्किममा बीसौँ वर्षदेखि यताबाट गएर अनेक काम–मजदुरी गरेर बसेका थुप्रै नेपालीहरू भेटिए । कोटेश्वर र कालीमाटीमा दुइटा घर छन् भन्ने एक दिदी विहानविहान घरमै पकाएर थर्मसमा चिया र चना–अण्डा बेच्दिरहिछिन् । जति बनाएर ल्याए पनि सकिइहाल्छ भन्थिन्, चिया साँच्चिकै मीठो थियो । विहानी भ्रमणमा जयदेवजी र मैले गफिदै चिया पिएका थियौँ । सिक्किममा बाहिरकाले जग्गाजमिन किन्न नपाउने भएर मात्रै उतै जोडेको हो, नत्र यहीँ पनि घर बनाउन सक्थ्यौँ भन्दै थिइन् ती दिदी । उनले श्रीमान्को व्यवसाय चाहिँ बताउन चाहिनन् र हामीले पनि कर गरेनौँ । जे भए पनि इमान्दारीपूर्वक काम गरेर जीविका गर्नु नै ठूलो कुरा हो । उनीहरू त भविष्यको लागि पनि कमाइरहेथे, यो झनै राम्रो हुँदै हो । 

औपचारिक कार्यक्रम सकिएपछि वेलुका रमाइलोसहितको समीक्षा वैठक बसेथ्यो । त्यति वेला सिक्किमी स्रष्टाहरूले साहित्य, राजनीति र यताबाट जाने स्रष्टाहरूका स्वभाव–व्यवहार आदिका बारेमा खुलेरै कुरा गरेका थिए । उनीहरूले मलाई यताबाट जाने त्यस्ता खेतीपाती गर्ने साहित्यकार र पत्रकारहरूका कारण आफूहरूलाई को कस्तो हो भन्ने छुट्याउन गाह्रो भएको दुखेसोसमेत गरेका थिए । 

१६ गते विहानै सिक्किमलाई बाईबाई गरेर हाम्रो यात्रा दार्जिलिङतिर सोझिएथ्यो । दार्जिलिङ पुग्दा हामी अलिक ढिलै भएथ्यौँ । ‘गोर्खा दुःख निवारक सम्मेलन’मा दार्जिलिङका स्रष्टाहरू हाम्रो आगमनको प्रतीक्षामा हुनुहुन्थ्यो । रमिता प्रकाशनको आयोजनामा हुनलागेको कार्यक्रममा हाम्रो यात्राको स्थायी ब्यानर ‘सिक्किम साहित्य यात्रा’लाई नै त्यहाँ पनि टाँगेका थियौँ । बोल्नेक्रममा त्यहाँका एकाध स्रष्टाले छेड हानेका पनि थिए– ‘उता नेपालबाट सिक्किमको साहित्यिक यात्रामा गएर दार्जिलिङ पनि बाटोमा परेकोले ओर्लिनुभएका नेपालका स्रष्टाको बाटोमै भए पनि स्वागत गर्न पाउँदा औधि खुसी लागेको छ’, वास्तवमा यो हाम्रो स्थायी ब्यानर भए पनि तलतिर चाहिँ ‘सिर्जना उत्सव, दार्जिलिङ’ टाँसेका थियौँ । 

छोटो समयमै भए पनि दार्जिलिङको कार्यक्रम राम्रो भयो । प्रेम प्रधान (साहित्य अकादमी, दिल्ली), मनप्रसाद सुब्बा, नन्द हाङखिम (साहित्य अकादमी पुरस्कार प्राप्त स्रष्टा), गोपीचन्द्र प्रधान (अध्यक्ष नेपाली साहित्य सम्मेलन, दार्जिलिङ), अमला सुब्बा, प्रमीता गुरुङ, डा. गीता क्षेत्री, विमल राई, गुप्त प्रधान, केवलचन्द्र लामा, लगायतका थुप्रै स्रष्टाहरूको जमघट थियो । मनप्रसाद सुब्बाको विशेष अतिथि मन्तव्य निक्कै बौद्धिक र पेचिलो अनुभव भयो । एक समयमा दार्जिलिङले नेपाली साहित्यमा निक्कै प्रभाव पारेकै हो । अझै पनि दार्जिलिङ उत्तिकै तागतिलो छ । नेपाली साहित्यले फड्को मारिरहेको, विश्वमै फैलिदो अवस्थामा रहेको र नेपालमा साहित्यिक उद्योग चलिरहेको अनुभव दार्जिलिङले गरेको सुब्बाको मन्तव्यको निचोड थियो । केही स्रष्टालाई मात्रै छानेर काँधमा बोकेको र अरुलाई नेपालले वास्ता नगरेको भन्ने कसैमाथिको व्यङ्ग्यात्मक अभिव्यक्ति पनि उहाँबाट आएथ्यो ।  केही यताका र केही उताका स्रष्टाका सिर्जना वाचन गरिएपछि हाम्रो संस्थाका तर्फबाट नन्द हाङखिमलाई सम्मान गरिएको थियो । इन्द्रबहादुर राई भने दार्जिलिङमै भएर पनि कार्यक्रममा आउन सक्नु भएन । फोन सम्पर्कमा त उहाँले आउने नै भन्नुभएको थियो रे तर उहाँको घरसम्म गएर ल्याउन कसैले अग्रसरता नदेखाइदिएकाले नै हुनुपर्छ उहाँ नआउनु भएको । उहाँलाई पनि हाम्रो संस्थाले सम्मान गर्ने कार्यक्रम रहेको थियो । त्यसैले उहाँको घरैमा जानुपरेको थियो ।

नेपाली साहित्यमा इन्द्रबहादुर राईको योगदानको मूल्याङ्कन निक्कै उच्च छ । उता पनि उहाँको मूल्याङ्कन भइरहेकै छ तर उताभन्दा यता ज्यादा भएको छ । तेस्रो आयाम, लीलालेखन जस्ता सिद्धान्तहरूले पनि उहाँलाई अझ चर्चाको शिखरमा पुर्याएका हुन् । अब उमेरका कारण पनि उहाँलाई हिँडडुल गर्न गाह्रो हुनथालेको छ । घरसम्म पुगेरै सम्मान गरेको मलाई ठीक लाग्यो ।
हाम्रो कार्यक्रम तालिकामा पहिले त एक दिन दार्जिलिङमा बस्ने रहेको थियो तर बन्दको हल्लाले गर्दा त्यही बसाईलाई नै इलाम सारेका थियौँ । दार्जिलिङको औपचारिक कार्यक्रम सकेर खाना खाई, सम्मान कार्यक्रम सकेर फर्किन हामीले दौडादौड नै गर्नुपरेको थियो । राईको सद्भावपूर्ण मन्तव्य पनि हामीले मन खुलाएर ग्रहण गरिरहन सकेनौँ । कतिसम्मको हतारो भने चौरस्तासम्म पुगेर भानुको शालिकलाई नमस्कार र परिक्रमा गर्ने आधा घण्टाको समय पनि हामीसँग भएन । जलेश्वरी दिदी ‘यस्तो धपेडी गरेर त म कहिल्यै कतै पनि हिँडेकी थिइनँ, लौन श्वास बढेर आयो, म त दौडिन सक्दिनँ, बिस्तारै हिडौँ न हौ’ भन्दै हुनुहुन्थ्यो । हामीमध्ये कति जनाको त दार्जिलिङ टेकेकै पहिलोपल्ट थियो । उनीहरूलाई ‘पहाडकी रानी’ दार्जिलिङ घुम्ने रहर कति हुँदो हो । समूहमा भएपछि रहरहरू पनि खुम्च्याउनु पर्दोरहेछ । आखिर बन्दको आह्वान गर्नेहरूले बन्द पनि फिर्ता लिइसकेका रहेछन् तर हामीले यसको आधिकारिक जानकारी इलाम आएपछि मात्र पाएका थियौँ । दार्जिलिङबाट पशुपतिनगर र त्यहाँबाट इलाम रिजर्भ गाडी लिएर आउनुपर्ने थियो । पशुपतिनगर आइपुग्दा मुसलधारे पानी परिरहेको थियो । जण्ड स्वभावको दार्जिलिङे ड्राइभरले बाटोमा आफूले मान्छे मारेर जेल बसेर निस्किएको, लुटपाट गर्ने, गाडीमा हतियार बोकेर हिँड्ने, आफू समय अनुसारको गुण्डा हुँ भनेर आफ्नो परिचय दिँदा हाम्रा केही साथीहरूको सातो उडेको पनि थियो । राति अबेर गरी इलाम आइपुगेर दौडादौडको थकाइलाई आनन्दले बिसाएथ्यौँ । 

इलामको सुन्दरतामा रम्नुको मज्जा त्यहीँ पुगेपछि मात्रै थाहा हुन्छ । विहानै उठेर उकालिएका हामी भ्युटावरसम्म पुगेर चारैतिरको रमणीय वातावरणमा पुलकित भएका थियौँ । इलामका कवि विष्णु नवीनको शालिकमा उभिएर फोटो खिच्दा उनका अनेक पक्षमाथि छलफल गरेथ्यौँ हामीले । पूरै एक चक्कर लगाएर फर्किएपछि खाजा खाइओरी कार्यक्रमका लागि जिविस हलमा जम्मा भएथ्यौँ । ‘भानु प्रतिमा संरक्षण तथा साहित्य संबद्र्धन समिति, इलाम’को स्थानीय आयोजना र नेपाल प्रज्ञा–प्रतिष्ठानको सहकार्यमा तथा ‘रमा–कृष्ण सिर्जना प्रतिष्ठान’को संयोजनमा इलामको कार्यक्रम उल्लेख्य नै भएथ्यो । ‘समकालीन नेपाली नारी कथाकाहरू र लेखन प्रवृत्ति’ शीर्षकमा लक्ष्मी उप्रेतीले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । इलामका पुराना व्यक्तित्व प्राध्यापक युद्धप्रसाद वैद्यलाई प्रतिष्ठानका तर्फबाट सम्मान गरिएको थियो । अग्रजस्रष्टा माधव भण्डारीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा केदार शर्माबाट कार्यपत्रको टिप्पणी भएथ्यो भने स्थानीय स्रष्टाहरू र यताबाट गएका स्रष्टाले पनि सिर्जना वाचन गरेका थियौँ । कवि विमल वैद्यले कार्यक्रमलाई सफल बनाउन गरेको दौडधूपलाई हामीले मुक्तकण्ठले प्रशंसा गरेथ्यौँ । कार्यक्रम सकेर खाना खानलाग्दा रात्रि वसले हर्न बजाइसकेको थियो । हाम्रैलागि भनेर वसले एकघण्टा बढी पर्खिनुपरेको थियो । एकहप्ताको यात्रामा यतिका ठाउँमा कार्यक्रमहरू गरेर हतारोहतारोमै यात्राबाट विश्राम लिएथ्यौँ हामीले । 

उता जाँदाभन्दा फर्किदाँ हाम्रा झोलाको वजन बढेथ्यो । आसामकी चेली स्रष्टा चन्द्रकला नेवारले एकपटक अन्तर्वार्ताका क्रममा भन्नुभएथ्यो– उता आसाममा त एउटै किताव प्रकाशित गर्नु पनि ठूलो हुन्छ । यता नेपालमा भने छ महिना–वर्ष दिनमा पुस्तक निकाल्ने स्रष्टा त कति रहेछन् कति ? तर आसामको तुलनामा सिक्किम, कालेबुङ, दार्जिलिङ साहित्यमा निक्कै अग्रणी हुन् नै । यसैको प्रमाणस्वरूप हाम्रा झोला पनि उपहारका पुस्तकहरूले भरिभराउ थिए । नेपाली साहित्य अध्ययन समिति, कालेबुङबाट प्रकाशित कथा विशेषांक उन्नयन, डा. पारसमणि प्रधान जन्म शतवार्षिकी विशेषांक, साहित्य संकेतका अंकहरू, सिक्किम कलाकार संघको मुखपत्र कलामञ्जरी, भानु स्मारिका, डा. राजेन्द्र भण्डारी र पारसमणि समको संयुक्त कृति भाषा–साहित्य, टिवीचन्द्र सुब्बाको इन्द्रबहादुर राई (व्यक्ति, कृति र कार्य) लगायतका थुप्रै पठनीय कृतिहरू मेरा यतिवेलाका खुराक बनेका छन् । 

 

सिक्किम डायरी
पर्वत पोर्तेल

म्यानमारको टमु भन्ने सानो शहरमा आयोजना भएको नेपाली साहित्यिक सम्मेलनबाट फर्किएको दुई तीन दिन जति भएको थियो । साताव्यापी लामो म्यानमार यात्राबाट फर्किएर आफ्नो दैनिकीमा फर्किने प्रयासमा थिए“ । इलामबाट एउटा अपरिचित नम्वरबाट फोन आयो । ‘पर्वत जी होइन ?’, उताबाट सोधियो । ‘बोल्दैछु । हजुर को बोल्नु भो होला ?’ मैले भनें । ‘म विमल वैद्य’ उताबाट जवाफ आयो । मैले नमस्कार गरें । मलाई फोन गर्ने व्यक्ति मेरा फेवरेट कवि विमल वैद्य पो हुनुहुदो रहेछ । म अचम्ममा परें । विमल वैद्यले मलाई किन फोन गर्नु भयो ? भन्ने पनि लाग्यो । पछि कुरा गर्दै जादा थाहा भो । भारतको सिलिगुडी, कालेवुङ, सिक्किम, दार्जिलिङ हुदै इलामसम्मको साहित्यिक भ्रमणमा मलाई पनि सहभागी गराइएको रहेछ । 

विमल दाइले भन्नुभो,‘भ्रमणमा तपाईंको नाम पनि छ, तीन चार दिनजति हामीलाई दिनु प¥यो ।’ मैले  उहाँसँग थप कुरा बुझ्दा रमा–कृष्ण सिर्जना प्रतिष्ठान काठमाडांैको आयोजनामा नेपाल–भारत साहित्यिक भ्रमण तय भएको रहेछ । त्यसमा मलाई पनि समावेश गरिएको रहेछ । 

विमल दाइलाई मैले पछि खवर गर्छु भनें । म्यानमारको भ्रमणताका कार्यालयमा साताव्यापी विदा मागेको थिए“ । पुनः विदा पाइने हो कि होइन भन्ने लाग्यो । तर, म कार्यरत संस्था कान्तिपुर दैनिकका पूर्वाञ्चल व्युरो प्रमुख माधव घिमिरे दाइसँग विदा मिलाए“ । उहाँ“ले ओके भन्नुभो । त्यसपछि पुनः विमल दाईलाई फोन गरेर भ्रमण निश्चित गरें । 

हामी चैत १३ गते विहान का“कडभिट्टाबाट सिलिगुडी लाग्ने कार्यक्रम तय भएको थियो । त्यसैले अघिल्लै दिन राजधानीबाट हिड्नु भएका आदरणीय साहित्यिक व्यक्तित्वहरू विहान ८ वजे का“कडभिट्टा आइपुग्नु भो । टोलीमा सहभागी साहित्यकार यादव भट्टराईलाई फोन गरेको उहाँहरू देवकोटा पार्कमा मलाई नै पर्खिएर बस्नु भएको रहेछ । म पुगें । आधा घण्टापछि विमल दाइ आइपुग्नु भो । दुई वटा टाटा सुमो गाडीमा हामी सिलिगुडीतिर हानियौं । 

करिव ११ बज्न लागेको हुनुपर्छ हामी सिलिगुडी पुग्दा । सिलिगुडीमा हामीलाई त्यहाँँका साहित्यकार ज्ञानेन्द्र दाहालले स्वागत जनाउनु भयो । उहाँँले नै हामीलाई स्थानीय एक होटलमा बस्ने÷खाने व्यवस्था मिलाइदिनु भयो । सिलिगुडीमा त्यस दिन दुई वटा कार्यक्रममा हामी सहभागी बन्यौ । पहिले नेपाली समालोचना विधाकी सशक्त हस्ताक्षर डा. लख्खीदेवी सुन्दासलाई हामीले भेट्यौं । उहाँँको प्रधान नगरस्थित एपार्टमेन्टमा म अघिल्लो पटक पनि पुगेको थिए“ त्यसैले टोलीलाई मैले नै त्यहाँसम्म पुर्याए“ । लख्खीदेवी गुरुआमालाई भेट्नुका पछाडिको रहस्य अर्कै रहेछ । ‘वनिता’ मासिकले उहाँँको विशेष अंक प्रकाशित गरेको रहेछ । वनिताकी सम्पादक दिदी लक्ष्मी उप्रेतीले उहाँँलाई विशेषांक प्रदान गर्नु भयो । संयोग कस्तो परेछ भने त्यो दिन उहाँँको वर्थ डे रहेछ । हामी अचानक त्यहाँँ पुग्दा उहाँँ चकित बन्नु भएको थियो । बाथ रोगले थलिएकी गुरुआमा हिडडुल गर्न सक्नु हुन्न । र पनि बल्ल तल्ल हामीलाई भेट्न पल्लो कोठाबाट आउनु भयो । 
उहाँले भन्नु भयो,‘मलाई सम्झिएर त्यति टाढा काठमाडौबाट आउनु भएकोमा धन्यवाद छ ।’ उमेरले असी पार गर्नु भएकी गुरुआमा अझ पनि लेख्न र पढ्न उस्तै सक्रिय हुनुहुन्छ । उहाँ भन्ने गर्नुहुन्छ,‘यति पनि गर्न नसके त मरे भै हाल्यो नि किन बिथ्थामा बा“च्नु संसारको भार भएर ।’ 
गुरुआमासँगको भेटघाटपछि हाम्रो टोली सोझै प्रधानगरको देवकोटा संघमा हानियो । त्यहाँ कार्यक्रमको सुरसार हुदैथियो । वरिष्ठ संगीतकार अशोक राईदेखि युवा लेखक राजा पुनियानीसम्मका हस्तीहरू सहभागी हुनुहुन्थ्यो । 

देवकोटा संघको संयोजन भएपनि कार्यक्रम हामीले नै ‘चियर’ गरेका थियौ । रमा–कृष्ण सिर्जना प्रतिष्ठानका महासचिव साहित्यकार यादव भट्टराईले कार्यक्रम आरम्भ गरे । अतिथि आसन ग्रहणसँगै कार्यक्रम शुरु भयो । हाम्रो टोलीका र उताका कविहरूले रचना सुनाए । अशोक राईले गीत गाए । त्यो कार्यक्रममा नेपाली भाषा साहित्यकै विषयमा चर्चा परिचर्चा भयो । रमा–कृष्ण सिर्जना प्रतिष्ठानको आयोजना र देवकोटा संघ सिलिगुडीको आतिथ्यतामा एक साहित्यिक कार्यक्रम आयोजना भयो । ललिता दोषी, तुलसीहरि कोइराला, ठाकुर शर्मा, रामप्रसाद पन्त, जलेश्वरी श्रेष्ठ, मीरा गजमेर, राधाश्री मोक्तान, राजा पुनियानी, विमल वैद्यलगायतले रचना सुनाए । गायक अशोक राईले गीत  । लक्ष्मी उप्रेती, प्राज्ञ मातृका पोखरेल, नेपाल साहित्यिक पत्रकार संघका अध्यक्ष रोचक घिमिरे, पत्रकार टीवी घतानी, कवि ज्ञानेन्द्र खतिवडा, विन्ध्या सुब्बा, यादव भट्टराईलगायतले नेपाल–भारतको साहित्यिक गतिविधि बढाउ“दै लैजानु पर्ने धारणा राखे । यस किसिमका कार्यक्रमहरू नेपाली भाषा र साहित्यको उत्थानमा कोसेढुंगा सावित हुने उनीहरूको तर्क थियो ।  त्यस दिनको रात सिलिगुडीमै बित्यो । 

भोलिपल्ट कालेवुङमा कार्यक्रम तय भएको थियो । त्यसैले हामी विहान १० वजेतिर कालेवुङतिर लाग्यौं । करिव १ वजे त्यहाँ पुगियो । कालेवुङका सर्जकहरूले स्वागत जनाए । कालेवुङ साहित्य अध्ययन समितिको आयोजनामा छोटो तर ज्यादै ओजपूर्ण कार्यक्रम सम्पन्न भयो । युवा कवि मनोज बोगटी, प्रदीप ल्वागुन, वलभद्र शर्मा, सन्जय विष्ट, ज्ञान सुतारलगायतका सर्जकले  कविता सुनाएर हाम्रो भ्रमणलाई सफल तुल्याइदिए । 
कालेवुङको कार्यक्रम सकेर टोली सिक्किमतिर रवाना भयो । हाम्रो योजना सा“झमा पुग्ने, रात त्यहीं विताउने र भोलिपल्ट कार्यक्रममा सहभागी बनेर पर्सिपल्ट मात्रै फर्कने थियो । त्यही अनुरूप भयो । एमजी पार्क मुन्तिरको एउटा राम्रो होटलमा हाम्रो बसाई निश्चित भयो । 

भोलिपल्ट दिउसो तिर मात्रै कार्यक्रम थियो । त्यसैले हाम्रो टोलीले सिक्किमका केही स्थान घुम्यो । जिरो माइलमा रहेको आदिकवि भानुभक्तको शालिकमा टाँसिएर फोटो सेसन भयो । सिक्किम सरकारले भानु भक्त पार्कको रूपमा थोरै जमीन छु्ट्याएको रहेछ । तर, त्यो स्थान देखेर हामी छक्क प¥यांै । भानुपार्कको स्थिति उनको गरिमा अनुरूप थिएन । रामायणलाई नेपाली भाषामा उल्था गर्ने भानुभक्तलाई आज पनि नेपालसहित भारत, वर्मा, भुटानलगायतका नेपाली भाषी वसोवास भएका देशहरूमा अत्यन्त श्रद्धा र सम्मान गरिन्छ । 

दिउसोको लन्चपछि हामी सिक्किम साहित्य परिषदको भवनतिर लाग्यौं । कार्यक्रम त्यहीं आयोजना हुदैथ्यो । त्यो कार्यक्रममा नेपाली स्रष्टा सर्जकहरूले साहित्यको सीमालाई कुनै पनि भौगोलिक सीमानाले नछेक्ने अभिव्यक्ति दिए । 

‘भौगोलिक रूपमा मेची नदीले हामीलाई अलग्याएको छ’, नेपाली साहित्य परिषद सिक्किमका पूर्व अध्यक्ष रुद्र पौडेलले भन्नुभयो,‘तर, साहित्यलाई कसैले सीमाना लगाउन सक्दैन ।’ साहित्यकै कारण संसारभरका नेपाली मनहरू एक भएको प्राध्यापक पौडेलको कथन थियो ।  

नेपाल साहित्यिक पत्रकार संघका अध्यक्ष रोचक घिमिरेले नेपाली भाषा साहित्यले मात्रै विश्वभरका नेपालीलाई एक सूत्रमा वाध्न सहयोग प¥याउने धारणा राखे । ‘संसारभरका नेपालीलाई एक बनाउने एउटै मात्र कुरा नेपाली भाषा र साहित्य हो’, घिमिरे बोले । नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य मातृका पोखरेलले साहित्य नेपाल– भारतलाई जोड्न सक्ने साँघु बन्नुपर्ने बताए । ‘त्यो यस्तो साँघु होस् जुन कहिल्यै नभत्किओस्’, उनले थपे । 

सिक्किम साहित्य परिषदका अध्यक्ष पारसमणि दंगालले ‘भारतमा नेपाली साहित्यको विकासक्रम’ बारे बोल्दै भारतेली नेपाली साहित्य सधै समस्यावीच वाँचिरहेको बताए । खासगरी सिक्किममा प्रकाशित पुस्तकहरूको बजार विस्तारमा समस्या भइरहेको उनको भनाई थियो । ‘सिक्किमबाट निस्किएको पुस्तक भारतकै अन्य राज्यमा पु¥याउन हामीलाई समस्या छ’, उनले गुनासो पोखे । उनले नेपालका पुस्तकहरू सिक्किममा र सिक्किमका पुस्तकहरू नेपालमा आदानप्रदान गर्न सके दुवै तर्फको साहित्य फष्टाउन पाउने बताए । उनले भने,‘हामी हजारांै रुपैया“ खर्च गरेर प्रकाशित पुस्तकहरू निःशुल्क बाड्न वाध्य छौं ।’ वनिताका कार्यकारी सम्पादक डा. दुर्गा दाहालले ‘नेपाली साहित्यको समसामयिक प्रवृत्तिवारे कार्यपत्र प्रस्तुत गर्दै वर्तमान नेपाली साहित्यवारे चर्चा गरे । 

कार्यक्रममा वनिताको सिक्किम विशेषांक लोकार्पण भयो । अग्रज साहित्यकार तथा पत्रकार केदार गुरुङ, प्राध्यापक रुद्र पौडेल, सिक्किम साहित्य परिषदका अध्यक्ष पारसमणि दंगाल, वनिताका सम्पादक लक्ष्मी उप्रेती र रमा–कृष्ण सिर्जना प्रतिष्ठानका अध्यक्ष महेन्द्र गुरुङले संयुक्त रूपमा लोकर्पण गरे । सोही अवसरमा अग्रज साहित्यकार, पत्रकार तथा भारतको प्रतिष्ठित साहित्य पुरस्कार पद्मश्री विजेता केदार गुरुङलाई रमा–कृष्ण सिर्जना प्रतिष्ठानका अध्यक्ष महेन्द्र गुरुङले अभिनन्दन गरे । कार्यक्रममा ललिता दोषी, प्रवीण खालिङ, ठाकुर शर्मा, यादव भट्टराई, जलेश्वरी श्रेष्ठ, लक्ष्मी उप्रेती, तुलसीहरि कोइराला, सीताराम गुरुङ, विमल वैद्य, रामप्रसाद पन्तलगायतले कविता सुनाए । 

सिक्किमको कार्यक्रम सकेर हाम्रो टोली दार्जिलिङमा  साहित्यकारसँगको छलफलमा सहभागी बन्यो । इलामका कवि दाइ विमल वैद्यको विशेष पहलमा दार्जिलिङमा कार्यक्रम तय भएको थियो । संख्यात्मक रूपमा सहभागी थोरै भएपनि कार्यक्रम गुणात्मक रूपमा उत्कृष्ट बनेको थियो । दार्जिलिङको कार्यक्रमपछि त्यही दिन हामी इलाम पुग्यौं । त्यो रात इलाममा बित्यो । विहान १० वजे त्यहाँ पनि कार्यक्रम आयोजना गरिएको थियो । इलामका पुराना साहित्यकार माधव भँडारीको प्रमुख आतिथ्यमा कार्यक्रम भयो । इतिहासकार युद्ध प्रसाद वैद्यलाई अभिनन्दन गरेर केही साहित्यिक बहस र छलफलपछि कार्यक्रम समापन भयो । त्यही दिन हामी फर्कियांै । विमल दाइ इलाममै बस्नु भो । म झापाको चारआलीमा झरें । टोलीका अन्य सदस्य राजधानीतिर लाग्नु भो । 
 ९८४२६३३६१४
झापा

सफल र उल्लेखनीय सिक्किम साहित्य यात्रा
महेन्द्र गुरुङ

२०७० सालमै हो, आख्यान पुरुष डा. ध्रुवचन्द्र गौतमले मलाई एक पटक भन्नुभएथ्यो, “गुरुङजी, एक चोटी सिक्किम जाने कार्यक्रम मिलाउनुस् । मिलिजुली जाउँला नि ।” सुनेपछि मलाई पनि ठीकै जस्तो लाग्यो । रमा–कृष्ण सृजना प्रतिष्ठानले केही नयाँ काम गरेको पनि देखिने, सबैको धेरथोर सहयोग भएपछि संस्थालाई उतिविधि आर्थिक भार पनि नपर्ने । साहित्यकार लक्ष्मी उप्रेतीको सरसल्लाह लिएर नेपाली साहित्य परिषद्, सिक्किमका त्यस बखतका महासचिव पारसमणि दंगालसँग इमेल सम्पर्क स्थापना गरेँ । कुरा अगाडि बढ्यो । ध्रुवदाईले सबैभन्दा पहिला आफ्नो भागको रकम प्रदान गरी सबैलाई हौस्याउनु भयो । तर जाने दिनभन्दा करिब एक साताअघि मेरो नजिकको एक नातेदारको परलोक भएको खबर आयो । छोटो भएपनि बार्नुपर्ने भयो । म जान नमिल्ने भयो । संस्थाको अध्यक्ष नै जान नमिल्ने भएपछि यात्राको लागि उठेको कौतूहल र उत्साहको ज्वारभाटा त्यसै शिथिल भयो । यात्राको कार्यक्रम स्थगित भयो ।

२०७१ सालमा प्रतिष्ठानको वार्षिक कार्यक्रम सकेपछि फेरि यात्राको कुरा उठ्यो । म पनि हौसिएँ । यात्राको नाम राखेँ – सिक्किम साहित्य यात्रा । फेरि इमेल सम्पर्क गरेँ । यस पटक सिक्किममा केही परिवर्तन आएछ । पारस दंगाल त्यहाँको परिस्थिति अनुसार नेपाली साहित्य परिषद्को अध्यक्ष हुनुभएछ । डा. ध्रुवचन्द्र गौतमको नेतृत्वमा साहित्य यात्रा हुने भनेपछि दंगाल निकै उत्साहित हुनुभयो । तर यसपाली अनायासै ध्रुवदाई बिसन्चो हुनुभयो । मलाई यात्रा स्थगित गरुँ कि जस्तो पनि लाग्यो । तर यात्रा नरोक्नू, जानू भन्ने उहाँको राय सल्लाह पाएपछि यात्रालाई सुनिश्चित गर्नेतर्फ म, लक्ष्मीजी लगायत प्रतिष्ठानका पदाधिकारी लाग्यौँ ।

२०७१ चैत १२ गते रात्री बसबाट जाने तय भयो । यात्राका सहभागीहरू काठमाडौंबाट म लगायत प्रतिष्ठानका पदाधिकारी एवं कवि लक्ष्मी उप्रेती, यादव भट्टराई, सीताराम गुरुङ, जलेश्वरी श्रेष्ठ, नेपाल साहित्यिक पत्रकार संघका अध्यक्ष रोचक घिमिरे, नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ एवं आख्यान विभाग प्रमुख मात्रिका पोखरेल, कविहरू ठाकुर शर्मा, रामप्रसाद पन्त, ललिता ‘दोषी’, समालोचक डा. दुर्गा दाहाल, पत्रकारद्वय जयदेव भट्टराई तथा तुलसीहरि कोइराला तथा काकडभिट्टामा इलामका कवि विमल वैद्य र पत्रकार पर्वत पोर्तेल सम्मिलित हुने गरी जम्मा १५ जना रहने निश्चित भयो । हाम्रो कार्यक्रम चैत १२ गते गएर १९ गते फर्किनु पर्ने तय भएको थियो तर तत्कालीन तरल राजनीतिक अवस्थामा ३० दलीय विपक्षी मोर्चाले बन्द हड्तालका बिरोध कार्यक्रम घोषणा गरेकाले एक दिन छोट्याउनुु पर्ने सम्भावनालाई पनि हामीले बिचार र व्यवस्थापन गर्नुपर्ने भयो ।

यात्रा शुभारम्भकै दिन गजबका दुई संयोग भए । चैत १२ गते नै महामहिम राष्ट्रपति डा. रामवरण यादव चीन भ्रमणमा जाँदै हुनुहुन्थ्यो  । यो एउटा सुखद् संयोग थियो । जाहेर छ, हाम्रो साइत चानचुने थिएन । त्यसपछि अर्को संयोग, बसमा सामानहरू राख्दा नराख्दै कताबाट हो घैला घोप्ट्याएझैं वर्षा भयो । वर्षा यति भयो कि पानी बसभित्र मात्र होइन, सामान राखेको डिकीमा समेत पसेछ । भोलिपल्ट त्यहाँ राखेको किताबहरूको दशा हेर्न लायक थियो । यात्रा संयोजकको हैसियतले मैले यात्राको समय तालिका — काकडभिट्टा, सिलिगुडी, कालिम्पोङ, सिक्किम (गान्तोक), दार्जीलिङ्ग र इलाममा हुने कार्यक्रमबारे बसभित्र छोटकरीमा जानकारी गराएँ, कार्यक्रमको कागज वितरण गरेँ । अनि बस गुड्यो, हाम्रो यात्रा शुरु भयो । 

राती १० बजे नारायणघाट नजिक रामनगरमा खाना खाएपछि बसको टि.भी. स्क्रिनमा ‘नाइँ नभन्नू ल !’ सिनेमा हेर्दै, निदाउँदै अनि यात्राका बारेमा सुरम्य कल्पना गर्दै घरजस्तो भीमकाय मेट्रो नामको बसमा हामी काकडभिट्टा तर्फ गुडिरह्यौँ । काडमाण्डौंबाट हामी जम्मा १३ जना थियौँ । जोडी मिलाएर बस्दा एक जना म एक्लो परेँ । लाग्यो, ध्रुव दाई हुनुभएको भए कस्तो असल हुन्थ्यो ! 
चैत १३ गते झन्डै ८ बजे बिहान हामी काकडभिट्टा पुग्यौँ । इलामका विमल वैद्य र झापाका पर्वत पोर्तेलको केही बेर प्रतीक्षा ग¥यौँ । बसभित्र पानी पसेर पुस्तक पत्रिकाको अवस्था बेहाल भएको थियो । लक्ष्मीजी र म भएर ती सबलाई स्याहा¥यौँ । दुई वटा ट्याक्सी रिजर्भ गरेर हामी सीमा पार भयौँ । सिलिगुडीको प्रधाननगरस्थित गौरव लजमा पुग्दा १२ बजिसकेको थियो । त्यहाँ हामीलाई सिलगढी देवकोटा संघका सहमहासचिव ज्ञानेन्द्र दाहालले स्वागत गर्नुभयो ।

 यो यात्रा हो, थकाइ मार्न आएका होइनौँ । अतः खाना खाइसक्नासाथ प्रधाननगरमै गौरब लजबाट नजिकै वरिष्ठ साहित्यकार डा. लख्खिदेवि सुन्दासको घर गयौँ । लक्ष्मीजीले प्रकाशन गर्नुहुने ‘वनिता’ त्रैमासिकको डा. लख्खिदेवी सुन्दास विशेषांक अर्पण ग¥यौँ । सुखद् संयोग । त्यही दिन (मार्च २७) उहाँको जन्मदिन रहेछ । तुरुन्त मिठाइको व्यवस्था  ग¥यौँ  । खादा ओढायौँ, मिठाइ वितरण  ग¥यौँ  । सम्मान अर्पण ग¥यौँ अनि खुशियाली बाड्यौँ ।

साँझ ४ बजेतिर प्रधाननगर स्थित सिलगढी देवकोटा संघमा संस्थाका उपाध्यक्ष रुद्रकुमार अधिकारीको अध्यक्षतामा यात्राको पहिलो साहित्यिक कार्यक्रम आयोजना गरियो । वनिताका सम्पादक÷प्रकाशक लक्ष्मी उप्रेतीको प्रमुख आतिथ्यमा आयोजित सो कार्यक्रममा देवकोटा संघका पूर्व महासचिव विजय कुमार सुवेदी, हिमालय दर्पणका कार्यकारी सम्पादक पि.बी. घताने, वरिष्ठ संगीतकार एवं गायक अशोक राई, डा. विन्ध्या सुब्बा, ज्ञानेन्द्र दहाल लगायत अन्य साहित्यकार कविहरूको  राम्रो उपस्थिति रहेको थियो । सो सभाकक्षलाई स्व. डा. शोभाकान्ति थेगिमप्रति समर्पित गरिएको थाहा पाउँदा अत्यन्त हर्ष लाग्यो । कार्यक्रममा स्थानीय एवं अतिथि कवि कवयित्रीहरूबाट कविता वाचन गरिएको थियो । सिलिगुडीमा रहेर भाषा र साहित्यको माध्यमबाट आफ्नो पहिचानलाई जिउँदो राखिराख्न अहोरात्र खट्नुहुने स्रष्टा एवं साहित्य कर्मीहरू प्रति मनमा अत्यन्त श्रद्धा जागेर आयो । 

भोलिपल्ट १४ गते । हिजो रातभरिको पानीले नुहाएर सफा, स्निग्ध भएको सिलिगुडीले मुसुक्क हाँसेर आतिथ्य प्रकट ग¥यो । बंगालमा नेपाली शब्द र भाषाले अभिवादन गर्दा मन कति आनन्दित भयो । तर, हामीलाई कालिम्पोङको डाँडाले रुमाल हल्लाएर बोलाइ सकेथ्यो । गाडीको बन्दोबस्त मिलाएर हामी ७ बजे बिहान सिलिगुडीबाट हिड्यौँ । त्यहीँ मैले एउटा वोदोफोनको सीमकार्ड किनेँ र मेरो मोवाइल सेटमा फिट गरेँ । अब म भारतभरि र नेपालका लागि समेत सम्पर्कको दायराभित्र आएँ, परेँ ।

पहाडीबाटो । नेपालको जस्तै लाग्यो, त्यतिविधि फरक लागेन । हाम्रो यताको नौबिसे भनेझैँ, वा काभ्रेको जिरो माइल (कि.मी.) भने झैँ, त्यहाँ बाटोमा ‘२९–माइल’ नामको बजार रहेछ । दोलखा जाँदा बाह्रबिसे बजारमा खाना खाएझैँ २९–माइलमा खाना खायौं । खाना गज्जबको रहेछ । एक थाली खानामा भातसँग थालको वरिपरी सात वटा कचौरा भिन्न भिन्न दाल, तरकारी र अचारका परिकारहरू सहित । स्वादिष्ट पनि । खासै महंगो पनि होइन  । जो कोही कालिम्पोङ जाँदा खाना खान छोड्न नहुने ठाउँ । म गएँ भने फेरि त्यहीँ खाने छु । अचम्म त के भने त्यहाँबाट कालिम्पोङ उक्लिँदा मलाई त बाह्रबिसेबाट दोलखाको मुढेतिर उक्ले जस्तो लाग्यो । कसो कसो सबै आफ्नै जस्तो । 

यस्तै ११ः३० तिर सानो, सघन र सुन्दर कालिम्पोङ (कालेबुङ) पुग्यौँ । समय बचत रहेकोले मंगलधामको दर्शन ग¥यौँ । त्यसपछि नेपाली साहित्य अध्ययन समिति भवनको भाइचन्द प्रधान सभाकक्षमा समितिका अध्यक्ष श्री ज्ञान सुतारको सभापतित्व र वरिष्ठ कवि एवं अग्रज श्रीमती सानुमति राईको प्रमुख आतिथ्यमा साहित्यिक कार्यक्रम संचालन भयो । मूलसचिव बलभद्र शर्माद्वारा सञ्चालित सो कार्यक्रममा ५१ जना कवि एवं साहित्यकारहरूको जमघट रहेको थियो । उदियमान युवा कविहरू मनोज बोगटी, मदन ओझा र सुधीर क्षेत्रीका कविताहरू झर्रा लागे । अझ सुधीर क्षेत्रीको ‘ निदाएको टिष्टा ’ कविताले साहित्य अनुराग मात्र जागृत गरिदिएको हैन कि बितेका इतिहासलाई नै झंकृत गरिदिए झैँ लाग्यो । कविताहरू श्रवण गरिहँदा मन बिगतमा हरायो, आँखा नजानिकन आद्र्र बने, इतिहास मात्र हैन कता कता आत्मीयतामा पालुवा चढेर आयो । कार्यक्रममा मन्तब्य राख्दै नेपाल साहित्यिक पत्रकार संघका अध्यक्ष रोचक घिमिरेले कालेम्पोङका स्रष्टाको रचना समावेश गरी रचनाको विशेषाङ्क प्रकाशन गरिने बताउनु भयो ।

आज गान्तोक नपुगी हुँदैन । त्यसैले हामी साढे ३ बजे साँझ त्यहाँबाट हिड्यौँ । सिलिगुडीमा रिजर्भ गरेको गाडीको चालक कर्कर् गर्दै थियो । सिक्किमको प्रवेशद्वार रोङपो चेक पोष्टमा कडा जाँच हुन्छ, कागजपत्र खोजिन्छ, ढिलो हुन सक्छ भन्ने डर थियो । त्यहाँ ढिलो हुनासाथ दुबै गाडी फेरि सिलिगुडी फर्कन गाह्रो हुने थियो तर चालक त चलाख रहेछ, बिस्तारै रोकेझैँ गरेर गाडी पार गरायो । उसको साथीको गाडी पनि पछि पछि आयो । दुबै गाडी सहजताका साथ प्रवेश भए । तै पनि गान्तोकको उज्यालो एवं व्यस्त डा“डामा पुग्दा सा“झको ७  बजेको थियो । गाडीहरूलाई जंक्सनमा छाड्नु पर्ने र त्यसपछि स्थानीय ट्याक्सीमा जानु पर्ने नियम रहेछ । दुई वटा ट्याक्सीले हामीलाई म्याग्नोलिया होटल भएको ठाउ“मा पु¥यायो । त्यहा“ नेपाली साहित्य परिषद,् सिक्किमका अध्यक्ष पारस दंगाल र महासचिव नीलम (प्रसाद) न्यौपाने हामीलाई स्वागत गर्न बस्नु भएको थियो । 

गान्तोक पुग्नासाथ दुई तीन वटा सकारात्मक कुराहरूले मलाई छोयो । एउटा, डा“डामा बसाइएको गान्तोक शहर सफा रहेछ । अलि माथि माथि पनि हेर्न गयौं , पर्यटनको आकर्षण केन्द्रको रूपमा यस शहरलाई विकसित गर्न खोजिएको रहेछ । गाडी धेरै रहेछन् , भीड भाड रहेछ, तर स्वःस्फूर्त रूपमा अनुशासित भई लाईनबद्ध रूपमा पालैपालो एकले अर्कोलाई अनुसरण गर्ने रहेछन्, काठमाण्डौंमा जस्तो ‘अगाडि पुगिहा“लु’ भनेर नियम तोड्ने बानी यहा“ रहेनछ । राम्रो लाग्यो ।

भोलिपल्ट, चैत १५ गते (मार्च २९) । बिहानै हामी सिक्किमको गान्तोकको तरेली परेको उकालोमा नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यलाई खोज्न थाल्यौं । उक्लियौं, सोध्दै उक्लियौं । बिहानीको ब्यायामी हिंडाई । हामीले हाम्रो गन्तब्य भेट्यौं । भानु प्रतिमामा पुग्यौं । आनन्द अनुभूति भयो । फोटो सेसनहरू भए । “यो देशमा म एउटा मानिस खोजिरहेछु” भन्ने गीतले झैं भानु प्रतिमाको चरणमा बसेर फोटो खिचाई रह“दा हामी प्रत्येकले शायद हाम्रो भाषाको बीज, साहित्यको शिला र सिर्जनाको  मूलस्रोत खोजिरह्यौं । बाहिर हा“सिरह्यौं तर भित्र हामी आफैंमा हराइरह्यौं, हराउन चाह्यौं । 

       परिषद्को आºनै भवन र भवनभित्र सभाकक्ष रहेछ । भित्तामा लेखिएका दुई उक्तिहरूतर्फ मेरो दृष्टि प¥यो । एउटा थियो— ‘सहितस्य भावः साहित्य तम् साहित्यम् ।’ अर्को थियो— ‘हितेन सह सहितः तस्यभावः साहित्यम् ।’ कति सान्दर्भिक र आदर्शपूर्ण वाक्यहरू † करीब १२ः३० तिर सिक्किमका वरिष्ठ शिक्षाविद् श्री रुद्र पौड्यालको सभापतित्वमा कार्यक्रम शुरु भयो । यो उत्कर्षको दिन थियो हाम्रो साहित्य यात्राको । महासचिव नीलम न्यौपानेको ओजिलो आवाजद्वारा सञ्चालन गरिएको गोष्ठी सहितको सो कार्यक्रममा करीब ६० जना विशिष्ट कवि साहित्यकारहरूको सहभागिता रहेको थियो । सो कार्यक्रममा “नेपाली साहित्य विकासका प्रवृत्तिहरूः नेपाल भित्र र बाहिर” विषयक गोष्ठी विशेष आकर्षणका रूपमा आयोजना गरिएको थियो । सो गोष्ठीमा नेपाली यात्रु टोलीका तर्फबाट डा. दुर्गा दहाल र सिक्किमका तर्फबाट परिषद्का अध्यक्ष पारसमणि दंगालले उत्कृष्ट एवं विचारोत्तेजक कार्यपत्र प्रस्तुत गर्नुभयो । अर्को आकर्षणका रूपमा सो अवसरमा वरिष्ठ साहित्यिक पत्रकार एवं ‘स्रष्टा’ पत्रिकाका प्रधान सम्पादक केदार गुरुङलाई प्रतिष्ठानका तर्फबाट सम्मान अर्पण गरियो । अतिथि र स्थानीय गरी २५ जना भन्दा बढी कवि कवयित्रीहरूले कविता पाठ गर्नुभएको थियो भने विद्वान एवं अतिथिहरूबाट गहन गन्तब्य प्रकट गरिएको थियो । सो अवसरमा वनिताको सिक्किम विशेषाङ्क विमोचन गरिएको थियो । सो विमोचन कार्य अध्यक्ष, प्रमुख अतिथि तथा प्रधान सम्पादकबाट संयुक्त रूपमा गरिएको थियो । 

आºनो कार्यपत्र प्रस्तुत गर्दै डा. दुर्गा दाहालले नेपालमा साहित्य विकासका १३ वटा प्रवृत्ति उल्लेख गर्नु भयो  । ती हुन् ः स्थिर परम्परागत, प्रगतिवादी, उत्तरआधुनिकता, मिथकीय प्रवृत्ति, अतियथार्थवादी प्रयोग, विसंगतिवादी प्रयोग, अस्तित्ववादी, मनोवैज्ञानिक साहित्य, प्रकृतिवादी, बहुतावादी (बहुलवादी), पहिचानको अभिव्यक्ति, नारीवाद र चेतनाको उच्चता । बीस मिनेट समयभित्र उहाँले आºनो गहन एवं विस्तृत कार्यपत्र प्रस्तुत गर्नुभयो, जसमा भरपुर मेहनत देखिन्थ्यो ।

त्यसै गरी नेपाली साहित्य परिषद् सिक्किमका अध्यक्ष पारसमणि दंगालले भारतीय नेपाली साहित्य विकासको प्रवृत्तिका बारेमा विषद् कार्यपत्र प्रस्तुत गर्नुभयो । श्री शुभानन्द दास (सन् १७४०–६०) पहिलो भारतीय नेपाली कवि हुनुहुन्थ्यो भन्दै श्री दंगालले सन् १८२० मा प्रो.जे. एटनले पहिलो नेपाली ब्याकरण लेखेका र सन् १८७० मा सन्त ज्ञानदिल दासले भजन, लहरी, रचना र गायनका माध्यमबाट दार्जीलिङदेखि सिक्किमसम्म नेपाली साहित्यलाई फैलाउने अभियानको थालनी गरेको बताउनुभयो ।

सन् १८८७ को अवधि महत्वपूर्ण भन्दै यसै अवधिमा नेपालका मोतीराम भट्ट बनारसमा पुगेका, भानुभक्त आचार्यबारे खोज शुरु गरिएको, नेपालबाट राजनीतिज्ञहरू निर्वासन भई बनारस पुगेका, त्यहाँ पत्रिका प्रकाशन शुरु गरिएको र गोष्ठीको परम्परा र शोधको परम्परा समेत त्यहींबाट शुरु भएको बताउनुभयो । सन् १९०१ को मे महिनामा नेपालका तत्कालीन राणा प्रधानमन्त्री देव शमशेरले गोरखापत्रको प्रकाशन शुरु गरेको उल्लेख गर्दै तर त्यसको करीव ४ महिना अघि जनवरीमा नै पादरी गंगा प्रसाद प्रधानले भारतमा गोर्खे खबर कागज प्रकाशित गरिसकेका थिए । दंगालको कथन थियो “त्यसैले प्रधानलाई नेपाली पत्रकारिताको आदिपुरुष मान्नु पर्दछ ।”

सन् १९२०–२१ तिरको तुलनात्मक अवस्था प्रस्तुत गर्दै दंगालले भन्नुभयो “नेपालमा त्यतिबेला दर्बार हाइस्कूल खोलिएको थियो, तर त्यहाँ नेपालीमा पढाइन्नथ्यो । तर त्यसैबेला पारसमणि प्रधानको नेतृत्वमा भारतको कलकत्ता युनिर्भसिटीमा मेट्रिकसम्म नेपालीमा पढाइने स्वीकृती लिइएको थियो ।” फेरि सन् १९२४ को घटना उल्लेख गर्दै भन्नुभयो, “त्यसबेला नेपालमा गोर्खा भाषा प्रकाशिनी समिति थियो । तर दार्जीलिङमा त्यसबेला बृहत् नेपाली साहित्य सम्मेलन आयोजना गरिएको थियो, जसको नैतिक दवाव परेकोले हुनसक्छ , सो गोर्खा भाषा प्रकाशिनी समिति नेपाली भाषा प्रकाशिनी समितिमा बदलियो ।”

सन् १९३४ तिर छापिएको ‘नासो’ (गुरु प्रसाद मैनाली) लाई पहिलो आधुनिक नेपाली कथा मानिन्छ । तर त्यसको ८ बर्षअघि नै देहरादूनबाट प्रकाशित हुने गोर्खा संसार पत्रिकामा रूपनारायण सिंहका ‘अन्नपूर्ण’ र ‘परिवर्तन’ कथा प्रकाशित भईसकेका थिए । उहाँको दावी छ, “मूल्यांकनका हिसावले यी दुई कथा अन्यायमा परेका छन्, यिनले न्याय पाउनुपर्छ ।”

समयको गतिस“गै भएको साहित्य विकासलाई सान्दर्भिकता दिदै दंगालले भन्नुभयो – सन् १९४७ मा भारत स्वाधीन भयो, १९४८–४९ तिर पारसमणि प्रधानले पत्रिका प्रकाशन शुरु गरे । सन् १९६३ मा ईश्वर बल्लभ, इन्द्र बहादुर राई र बैरागी का“इलाहरूले तेस्रो आयामिक आन्दोलन गरे । सन् १९७८ मा नेपाली भाषालाई भारतको दिल्ली एकादमीले स्वीकार ग¥यो । सन् १९८० मा सम्बैधानिक मान्यताका लागि आन्दोलन शुरु भयो । सुखद प्रसंग जोड्दै उहाँंले थप्नुभयो— सन् १९९२ महत्वपूर्ण साल रह्यो । यता भारतमा नेपाली भाषाले सम्बैधानिक मान्यता पायो उता नेपालमा बहुदलीय ब्यवस्था स्थापित भयो ।

सिक्किममा नेपाली साहित्यको विकासको क्रम जोड्दै दंगालले भन्नुभयो १५ औं – १६ औं शताब्दीतिर नेपालीहरू सिक्किम प्रवेश गरेको भए तापनि सन् १९५७ मा मात्र ‘कञ्चनजंघा’ मासिक पत्रिका प्रकाशित भएको, जुन रोकिएको थियो, तर तात्कालीन नेपालका राजा त्रिभुवन तथा सिक्किमका राजा छोगेलले भारतीय राजनीतिक अधिकारीहरूलाई दबाब दिएपछि पुनः प्रकाशित भएको थियो । 

सन् १९७५ मा सिक्किम भारत महासंघमा समावेश भएको प्रसंगलाई राख्दै दंगालले भन्नुभयो, “महासंघमा जनमत संग्रहको प्रक्रियाबाट सिक्किम समावेश भएको थियो । यसमा सिक्किमको राजनीतिक, आर्थिक, सांस्कृतिक स्थितिलाई बुझ्नुपर्दछ,” भन्दै उहाँले नेपालमा प्रयोग गरिने ‘सिक्किमीकरण’ को शब्दावलीप्रति र त्यसले फैलाउने चेष्टा गरेको भ्रमप्रति गुनासो पोख्नुभयो र भन्नुभयो, “भारत महासंघमा प्रवेश हु“दा जनताले यहाँको परम्परागत काजी ठेकेदारी प्रथाबाट मुक्ति पाएका छन् र सन् १९७५ देखि यता सिक्किमी जनता उच्चता र अग्रता तर्फ उन्मुख छन् ।”

सन् १९९५ मा बरिष्ठ पत्रकार केदार गुरुङको नेतृत्व एवं एकल प्रयासमा स्रष्टा पत्रिका प्रकाशन भयो, जुन अद्यापि निरन्तर रहेको छ । दंगालले भन्नुभयो, सन् १९९० पछि चक्रपाणि भट्टराईको ‘पूर्णिमा’ पत्रिका, भीम उपाध्यायको ‘बाल दर्पण’, के.एन. शर्माको ‘कोष’ आदि प्रकाशित छन् । अहिले कथा, कविता, समालोचना हरेक क्षेत्रमा कलम तिखारिएको छ, यद्यपि नाटक र बाल साहित्य केही पछाडि परेको महसुस भएको छ । 

अन्तमा उहाँको एउटा सुझाव थियो “हाम्रो यहा“ प्रकाशन भएका कृतिहरू नेपाल पु¥याउन सकिएको छैन । नेपालका कतिपय पुस्तकहरू पनि हामीले पाउन सक्तैनौं । वितरणको समस्या छ । हामी एउटा पुलको काम गरौं, चा“जो मिलाऔं । पहल गरौं ।”

विद्वान दंगालद्वारा माथि सम्पे्रषित विचार, मत र सुझावहरूलाई जिम्मेवारी लिइरहनु भएका सम्बन्धित अधिकारी पाठकहरूले मनन गरिदिनु हुनेछ भन्ने अपेक्षा राखिएको छ र रमा–कृष्ण सृजना प्रतिष्ठान यस्तो सत्कार्यमा हातेमालो गर्न प्रतिबद्ध रहने छ । 

प्रसंग यात्राको छ । गान्तोकमा आयोजित सो कार्यक्रममा कार्यपत्रका अतिरिक्त यात्रा टोलीका कविहरूले कविता सुनाए, कथाकारले लघुकथा सुनाए । स्थानीय कविहरूले कविता सुनाए । 

प्राज्ञ मातृका पोखरेलले ‘अपतन आन्दोलन’ को स्मरण गर्दै ‘भारतमा गरिने रचना हामीलाई हाम्रो आफ्नै  लाग्छ’ भनी मन्तब्य प्रकट गर्नुभयो । बरिष्ठ साहित्यिक पत्रकार रोचक घिमिरेले नेपाली भाषा र साहित्यको लागि सिक्किमले गरेको संघर्षको प्रशंसा गर्नुभयो । मैले पनि सिक्किमकै लागि रचित गीति कविता सुनाएँ  । सिक्किम वास्तवमा हामी नेपालीका हृदयमा हाम्रा पुर्खाहरूले रचेको टिस्टासम्मको इतिहासमा अविस्मरणीय छ, नेपाली सभ्यता र संस्कृति फैलावटका कारण प्रिय छ, अनि दंगालजीले उल्लेख गर्नुभएझैं सन् १९७५ को घटनाक्रमले दिएको पीडाका कारण पनि सम्झिने गरिन्छ । तर जे भएपनि , जसरी भएपनि सिक्किम सधैं–सधैं प्रत्येक नेपालीको हृदय स“गै बस्ने गर्दछ, एक पटक पुग्नै पर्ने गन्तब्य क्षेत्र पनि पर्दछ, अनि त्यहा“ पुगेपछि सिक्किमले मनका पीडा र भ्रमहरूलाई हर्दछ र बदलामा आत्मीयता र प्रेम भर्दछ । अनि त मन ‘फेरि आउँछु है’ भनी बाचा गर्दछ । धेरै प्रयत्नपछि पुग्न पाएको हु“दा मेरो कल्पनाको ‘सिक्किम हजुर’ कस्तो होला भनी मैले जुन रचना गरें, त्यसको एउटा अंश यस्तो छ —

मेरो हजुर मेरो हजुर
एक विन्ती आज बिसाउ“छु ।
युग युगदेखिको तृष्णा यो,
तिमी स“ग आज मेटाउ“छु ।।

ढिलो भयो मेरो गल्ती भो, गल्तीको उत्तर माफी हो ।
नबिर्सी  फर्की जो आउ“छ, उही नै सच्चा साथी हो ।।
उही साथीको यो छातीको, रगत प्रमाण बुझाउ“छु ।
मेरो हजुर ......
यात्रा कार्यक्रमको योजना अनुसार हाम्रो मूल गन्तब्य र लक्ष्य सिक्किम थियो, गान्तोक थियो । यथार्थमा पनि यो त्यस्तै रह्यो, उत्कर्षको दिन रह्यो । दिनभरि साहित्य साधना । सा“झमा मुक्तक र गीत सहितको रमाइलो पनि भयो । एकै दिनमा एकै छिनमा अपरिचित हामी बीचको परिचय र आत्मीयता अत्यन्तै हार्दिकतापूर्ण रह्यो, गाढा भएर गयो ।

भोलिपल्ट चैत १६ गते हाम्रो यात्राको टोली दुईवटा गाडीमा दार्जीलिङ तर्फ लम्कियो । करीब ७ बजेतिर हामीले गान्तोकमा प्राप्त सौहार्दता र सुमधुर आतिथ्यबाट बिदा लियौं किनभने यात्रा आखिर यात्रा नै हो । यति गहकिलो बसाई भयो गान्तोकमा, ध्रुवदाई साथमा हुनुभएको भए अझ कति रस आउ“थ्यो होला । उहा“ स्वयं कति रमाउनुहन्थ्यो होला, बाटोमा मनभरि कुराहरू खेलिरहे । बाटोमा पर्ने लोप्चुमा बिहानको नास्ता ग¥यौं । त्यहीं मैले गाडीवालाहरूस“ग कुरा गरी पशुपतिनगरसम्मकै लागि जान मिलाएँ ।

हामी करीब ११ बजे दिउ“सो दार्जीलिङ पुग्यौं । सिनेमामा देखिने दार्जीलिङको सांकेतिक चिनो बनेको सानो स्टिम इन्जिनको रेल गाडी देखेपछि दार्जीलिङ आईपुगेको थाहा भयो । सानो ठाउँ, ब्यस्त ठाउँ । विमल वैद्यले यसको समन्वय गरिरहनु भएको थियो । ट्राफिक जामलाई छिचोल्दै हामी ‘गोर्खा दुःख निवारक सम्मेलन, दार्जीलिङ’ को भवनमा पुग्यौं । त्यसै भवनको सभाकक्षमा कार्यक्रम आयोजना भयो । सो कार्यक्रम युवा कवि प्रमिता गुरुङको संयोजकत्व तथा स्थानीय रमिता प्रकाशनको सहयोगमा आयोजना गरिएको थियो ।

दिल्ली साहित्य एकादमीद्वारा हालै पुरस्कृत हुनुभएका वरिष्ठ साहित्यकार प्रेम प्रधानको सभापतित्वमा आयोजित सो कार्यक्रमको सञ्चालन विमल वैद्य स्वयंबाट गरिएको थियो । सो कार्यक्रममा दिल्ली साहित्य एकादमीद्वारा पुरस्कृत वरिष्ठ साहित्यकार नन्द हाङखिमलाई प्रतिष्ठानद्वारा सम्मानित गरियो । विद्वान मन प्रसाद सुब्बा, नेपाली साहित्य सम्मेलनका अध्यक्ष गोपिचन्द्र प्रधान, कवि वीणा हाङखिम, सविता ‘संकल्प’, पत्रकार विमल राई लगायतका ३० भन्दा बढी स्थानीय साहित्यकारहरूको उपस्थिति, रचना प्रस्तुति र मन्तब्यहरूले कार्यक्रम अत्यन्त ओजपूर्ण बनेको थियो । यात्रु टोलीका तर्फबाट रोचक घिमिरेले दार्जीलिङ नेपाली भाषा साहित्यको तीर्थ भएको र यो ठाउँप्रति हामी जति अनुगृहीत भएपनि कम हुने बताउ“दै दुई देशबीच साहित्य सन्दर्भमा बिभाजन रेखा आवश्यक नभएको आºनो धारणा व्यक्त गर्नुभयो ।

हामीलाई इलाम पुग्न हतार थियो । हतारकै बीचमा पनि आयोजकद्वारा मिठो खानाको व्यवस्था अत्यन्त स्वादिष्ट लाग्यो । माया र स्नेह शायद यसैलाई भन्दछन् । त्यो उर्वर हार्दिकतालाई हृदयमा संगाल्दै हामी अझ हतार गरेर नेपाली साहित्य, तेस्रो आयामेली आन्दोलनका शिखर पुरुष इन्द्र बहादुर राईज्यूको घरमा गयौं । प्रतिष्ठानले उहाँलाई उहाँकै घरमा गएर सम्मान अर्पण ग¥यो । उहा“ले हाम्रो सम्मानलाई स्वीकार्नु मात्र भएन अपितु छोटो र मर्मस्पर्शी उद्गार ब्यक्त गरेर हामीलाई कृतार्थ पारिदिनुभयो, हाम्रो साहित्यिक यात्रालाई अर्थ प्रदान गर्नुभयो, वजन प्रदान गर्नुभयो ।

हतार गरिरह“दा पनि हामीले दार्जीलिङ छोड्दा साढे ३ बजिसकेको थियो । स्थानीय पत्रिका किन्यौं । कालेबुङ र गान्तोकका हाम्रा कार्यक्रमका समाचार पढ्दै, तस्बिर हेर्दै अनि मनमा आल्हादित हु“दै हामी भारतको सिमाना पशुपतिनगरतिर गुड्दै थियौं । अर्थात् हामी स्वदेश फर्कदै थियौं, र हाम्रो आजको दिनको गन्तब्य थियो इलाम बजार ।

समय सन्दर्भ पनि सम्झि ल्याउ“दा कस्तो रमाइलो बनिदियो । नेपाल–भारत सिमा स्थल पशुपतिनगर पुग्दा नपुग्दा दर्किएर झरी प¥यो । पशुपतिनगरमा यी दुई गाडीलाई छाडेर इलाम बजार नेपाल जाने गाडीको व्यवस्था गर्नुपर्ने थियो । विमलजी र म निथु्रक्कै भयौं । बल्लबल्ल गाडीको ब्यवस्था भयो । सामान सार्दा बा“की सबै यात्रीहरू पनि रुझे । डा“डा, जंगल भएको त्यो सानो चेकपोष्टमा तातो तातो चिया र अण्डा खाएर बिस्तारै बिस्तारै गाडीमा ओरालो लाग्यौं – मेचीतर्फ, इलामतर्फ । 

मैले समय सन्दर्भ जोड्न खोजेको के भने सिक्किम साहित्य यात्राको प्रारम्भमा नेपाल छाड्दा पनि मज्जाको पानी परेथ्यो भने आज यात्रा टुंग्याएर नेपाल प्रवेश गरिरह“दा पनि निथ्रुक्क हुने गरी मज्जाको पानी परेको छ । सिलिगुडी, कालीम्पोङ, गान्तोक र दार्जीलिङमा रह“दासम्म कतै पानी परेन । कार्यक्रमहरू सुचारु रूपले निर्विघ्न अगाडि बढे । त्यो झरी र यो झरी पनि कुनै अर्थले बिघ्न होइन । अर्थ जे जस्तो लगाए पनि भयो, तर म भने पन्ध्र जना नेपाली साहित्यकारहरूको यो यात्रा टोलीको बिदाईमा अनि स्वागतमा पनि कोही किन हर्षाश्रु बगाउंछ, त्यो सम्झेर म आफैभित्र पुलकित छु, प्रफुल्लित छु ।

इलाम बजारको बस स्टेशनमा रहेको न्यू डिश होटलमा पुग्दा रातीको आठ बजेको थियो । पानी परिरहेकै थियो । हामी खाना र कोठा ब्यवस्थापनमा लाग्यौं । अब यात्रा टुंगिदै थियो । कोठाभित्र एक्लै बसेर मैले सोचें – आखिर जे जस्तो भए पनि आºनो देश, आºनो भूमिमा फर्कनुको मज्जा अर्कै छ, स्वाद अर्कै छ । फेरि मनमा अनायास लाग्यो — धुव्रदाई स“गै हुनुभएको भए यो साहित्यिक यात्रा, यो दौडधुप र अहिलेको यो झरीलाई कसरी रमाउनुहुन्थ्यो होला 

  भोलिपल्ट चैत १७ गते अर्थात् यात्राको अन्तिम दिन गायक यम. बरालको “बादलुको घुम्टोले छोपेको इलाम” मा बिहान आ“खा खुल्दा बादल थिएन । बादलले धर्ती भिजाउने आºनो काम गरिसकेको थियो । अनि, भर्खर नुहाएर निस्केकी सुन्दरीजस्तो शुद्ध, स्निग्ध र सुन्दर थियो इलाम । इलाम जसरी बिहानको घाम पाएर प्रफुल्लित देखिन्थ्यो, हामीलाई लाग्यो शायद हामीलाई पाएर नै उ यति प्रफुल्लित भएको होला । भ्रम नै किन नहोस्, यो मिठो आभासस“ग हामी पनि त्यस बिहान इलाम र इलामेली विद्वान र साहित्य सारथीहरूस“ग प्रफुल्लित हुंदै घुलमिल भयौं । 

इलामको कार्यक्रम गरिमापूर्ण थियो । गरिमापूर्ण यस मानेमा कि नेपाल प्रज्ञा प्रतिष्ठानको यसमा प्रत्यक्ष सहकार्य थियो । साथै स्थानीय भानु प्रतिमा संरक्षण तथा साहित्य प्रवद्र्धन समितिको समन्वयात्मक सहयोग थियो र यसमा इलामका लब्ध प्रतिष्ठित ब्यक्तित्वहरूको राम्रो सहभागिता थियो । यो कार्यक्रम महत्वपूर्ण हुनुका पछाडि अर्को पनि कारण थियो । त्यो के भने साहित्यिक यात्रामा निस्केको प्रतिष्ठानले यात्राका अतिरिक्त अन्य संघ संस्थास“ग मिलेर मोफसलमा एउटा सर्वाधिक महत्वपूर्ण विषय “समकालीन नेपाली नारी कथाकारहरू र लेखन प्रवृत्ति” मा गोष्ठीको आयोजना गरेको थियो । सो कार्यक्रममा प्रतिष्ठानद्वारा पूर्वका विद्वानका रूपमा परिचित शिक्षासेवी प्रा. युध्द प्रसाद वैद्यलाई सम्मान अर्पण गरिएको थियो ।

साहित्य प्रवद्र्धन समितिका अध्यक्ष विमल वैद्यको सभापतित्वमा आयोजित सो गोष्ठीमा साहित्यकार एवं ‘वनिता’ का सम्पादक÷प्रकाशक लक्ष्मी उप्रेतीले ‘समकालीन नेपाली नारी कथाकार र कथा लेखन प्रवृत्ति’ शीर्षक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने विद्वान समालोचक÷पत्रकार केदार शर्माले टिप्पणी गर्नुभएको थियो । कार्यपत्र जति विस्तृत र गहन थियो टिप्पणी त्यतिकै तीक्ष्ण  थियो । कार्यक्रममा प्राज्ञ एवं आख्यान विभाग प्रमुख मातृका पोखरेलले प्रखर मन्तव्य राख्नुभएको थियो ।  उहाँले २५ वर्ष अघि पारिजातको अध्यक्षतामा गठित प्राज्ञिक संघर्ष समितिको स्मरण गर्दै पारिजात, माया ठकुरी, भागीरथी श्रेष्ठ, आन्विका गिरीलाई नेपाली नारी साहित्य विकासको कोसेढुङ्गाका रूपमा स्पष्ट उल्लेख हुनुपर्ने बताउनुभयो । नेपाल साहित्यिक पत्रकार संघका अध्यक्ष रोचक घिमिरेले २००९ साल असोज १८–२२ मा इलामको करफोकमा भएको पहिलो मोफसल साहिात्यिक गोष्ठीको स्मरण गर्दै महानन्द सापकोटा, डा. तारानाथ शर्मा, युध्द प्रसाद वैद्य जस्ता विद्वानहरू र राजनीतिक नेताहरूको जन्मभूमि इलामको गरिमा ठूलो रहेको बताउनुभयो । रमा–कृष्ण सृजना प्रतिष्ठानद्वारा अभिनन्दित अध्येता युध्द प्रसाद वैद्यले नेपाल र सिक्किमको इतिहासलाई छोटकरीमा पस्क“दै यात्रा कार्यक्रम इलाममा आएर यसरी गोष्ठी मार्फत समापन गरिएकोमा खुसी ब्यक्त गर्नुभयो र प्रशंसा गरेर प्रतिष्ठान र यात्रा टोलीलाई मख्ख पारिदिनुभयो । प्रमुख अतिथिको आसनबाट प्रा.माधव भण्डारीले मन छुने गरी भन्नुभयो, “जीवन बितिरहेथ्यो, लाग्थ्यो बेअर्थ । होइन, आज महशुस भयो, बा“च्नुमा सार्थकता रहेछ । एउटी नारीले यो विषयमा यस्तो गहिराईमा प्रस्तुत गरेको यो पहिलो अवसर हो,” भन्दै नारी, माटो र आमा सम्झी उहाँले थप्नु भयो, 

“ऋणको सावा“ माटो बुझाउँला । 
 आमा, ब्याज बुझाउँला ।।” 

कवि विमल वैद्यले आºना कविताहरूद्वारा यात्राभरि यात्रा टोलीलाई तरंगित पारेकै थिए । तर इलाम आएपछि उनकै जादुगरि संयोजनमा यहाँका विद्वानहरूस“गको छोटो तर घनीभूत संगम पाएपछि अनि हतार–हतार बिहानको मिठो लन्च खाएपछि त सा“च्चै नै हामी सबै द्रवीभूत भयौं । कम्तिमा मैले त्यस्तो महशुस गरें । यहा“निर विमलजीस“ग नजिक ल्याइदिने परिचय गराइदिने हाल नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव तथा स्रष्टा आदरणीय गणेश रसिक दाइको सम्झना गर्नै पर्छ, त्यसै होइन आत्मिक धन्यवादका साथ ।

हाम्रै टोलीका लागि काठमाण्डौं जाने बसले पनि ३० मिनेट पर्खिदियो । गाम्राङ–गुम्रुङ सामान बसमा लोड ग¥यौं, आ–आºनो सिटमा बस्यौं अनि विमलजीस“ग टांस्सिएको हात बलजफत छुटाउ“दै, न्यानो स्नेहका साथ हामी बिस्तारै बसस“गै अगाडि बढ्यौं । पन्ध्र जनाको टोलीबाट गिन्तीमा यहाँ एक घट्यो, करीब अढाइ घण्टापछि पूर्व–पश्चिम राजमार्ग पुग्ने बेलामा चाराली भन्ने ठाउँमा पर्वत भाई उत्रिए, अर्को गिन्ती घट्यो । तर पनि बस काठमाण्डौंतर्फ दौडिरहंदा मलाई भने तेह्र होइन पन्ध्र जना नै स“गै भइरहेझैं लागिरह्यो । शायद हप्तादिन भरिको सुखद् सहयात्राले होला यस्तो लागेको । यो सिक्किम यात्राभरि कुनै दुर्घटना घटेन, कुनै सदस्य बिरामी परेन अनि न त कुनै सदस्यकाबीच असहजता नै बन्यो । काठमाण्डौंमा फुलेको फक्रेको हामीबीचको सहजता र समझदारी यात्राभरि कायम रह्यो, अझ साहित्यिक विमर्श, परामर्श र प्रस्तुतिका फलस्वरूप  विद्यमान सहजता, समझदारी र मित्रता अझ गाढा भयो, न्यानोपन बढ्यो र भविष्य अझ आशापूर्ण बन्यो । कोही राय राख्दै हुनुहुन्थ्यो, “अबको यात्रा आसामसँग पु¥याउनु पर्छ ।” यो सुनेर म मनमनै आनन्दित, सन्तुष्ट र आल्हादित भएँ । सफलताको सूचक म यो भन्दा बढी अरु के खोजुँ ?

बिस्तारै घाम ढल्कँदै थियो, गोधुली हुँदै थियो । बस काठमाण्डांैको लक्षित दिशातर्फ दौडिरहेको थियो । अनायास म फेरि सम्झन पुगेँ – धु्रव दाई सँगै हुनु भएको भए कति रमाइलो हुन्थ्यो । यहाँ बसमा सीटमा जोडी पनि बिग्रदैनथ्यो । यति शालीन र सुखद् यात्रामा उहाँ हुनुभएको भए यसको शालीनता र गरिमा अझ कति बढ्थ्यो होला । यो सञ्चो बिसञ्चो भन्ने पनि कति निष्ठुर छ । जसले यात्राको अवधारणाको सूत्रपात ग¥यो, जसले संस्थागत यात्रा संयोजनका लागि प्रोत्साहित ग¥यो, उही नै आज ‘अनिच्छित अनुपस्थित’ छ । यो अनुपस्थिति मेरो मनमा खट्केको छ, सिक्किमलाई पनि खट्केको हो र शायद त्यो प्रेरक व्यक्तित्व आख्यान पुरुषलाई पनि खट्केको होला ।

साहित्यिक पत्रकारिताका शीर्ष व्यक्तित्व आदरणीय रोचक दाईको प्रेरक अभिभावकत्व, नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ मातृका पोखरेलको सद्भावयुक्त सहकार्य र यात्रा टोलीका सवै सुपरिचित स्रष्टाहरूको गहकिलो सहभागिताले हाम्रो यात्रालाई सफल, उल्लेखनीय र प्रभावपूर्ण बनाएको अनुभूति गरें मैले ।

बस दौडिरह्यो, अँध्यारोले बिस्तारै छोप्तै र ढाक्दै गयो, .......म बिस्तारै निद्रादेवीको काखमा शिर राख्न पुगेँ, म निदाएँ । काठमाडौं आइपुगेपछि थाहा भयो । राष्ट्रपति डा. रामवरण यादव पनि १८ गते नै चीनको यात्रा सकी काठमाडौं फर्कनुभएछ ।
यात्रा पूरा गरी काठमाडौं फर्केपछि २०७१ चैत्र २९ मा रचना गरिएको आफ्नो यो कविता सहित विश्राम लिन्छु :-

सिक्किम साहित्य यात्रा

मुग्लिनको घुमाउरो बाटो
काकडभिट्टाको समथर बाटो
यो यात्रा हो, साहित्य यात्रा हो, यो यात्रा नै हो 
सिक्किम यात्रा हो, सहयात्रा हो, यो यात्रा नै हो

शिलिगुरी पसी, गौरब१मा बसी, देवकोटा सङ्घ२मा बोलेको 
बसी वरिपरी, परिचय गरी, यात्राको पेटारो खोलेको 
बङ्गालमा नेपाली बास
पहिचानको राख्दै सुवास
मन लाग्दो भो, माया जाग्दो भो, यो यात्रा नै हो

भोलिपल्ट उठी, दुई गाडीमा जुटी, पहाडको बाटो लागेको 
घुम्ती चढाई उस्तै, दोलखाको जस्तै, मनभरि आफ्नोपन जागेको 
उन्तिस माईल३को नबिर्सने खाना
त्यहींबाट कालिम्पोङ रमाना
हावा चीसो भो, पानी मीठो भो, यो यात्रा नै हो

कालिम्पोङका कवि, उदाउंदा रवि, आसलाग्दा साहित्यका स्रष्टा 
युवा कविहरू, भन्ने केही गरुँ, सिर्जनशील भविष्यका द्रष्टा 
रोङ्पो४ चेकपोष्ट बिस्तारै छल्दै
लक्ष्य भेट्न अंध्यारो छिचोल्दै
पुग्दा राति भो, गान्तोक माथि हो, यो यात्रा नै हो

प्रकृति र प्रविधि, पर्यटनको निधि, पाखाभरि विकास फुलेको 
परिषद्५को कक्ष, गहन चिन्तन वक्ष, मनभरि साहित्य झुलेको 
भानु शालिकलाई बिहानै ढोग्दै
भाषा पौरखको आशिक माग्दै
संगम अनुपम भो, बहस बिहङ्गम भो, यो यात्रा नै हो 

नहिंडी हुंदैन, छोड्न मन छैन, सिक्किमका कवि अनि सिर्जना 
पुख्र्यौली इतिहास, जोड्ने हाम्रो प्रयास, जागिरहे साहित्यका तिर्सना 
दार्जी्लिङको घुमाउरो फेरो
आफ्नै लाग्ने डाँडा र पखेरो
आवाज के को हो ? छुक् छुक् रेलको हो, यो यात्रा नै हो 

विमलका कविता, अविरल सरिता, बाटोभरि झरनासरी भो 
दार्जीलिङको गन्तव्य, गहन भए मन्तब्य, सम्झना त्यो हृदयभरि भो 
पशुपति नगरको सिमाना
फेरि स्वदेशकै माटोमा रमाना
मेची सुसाउँछ हो, इलाम बोलाउँछ हो, यो यात्रा नै हो 

इलामको बिहानी, गोष्ठीको निशानी, नारी कथाकारको चिन्तन 
कार्यपत्र प्रस्तुति, विद्वानको टिप्पणी, कविता र विचारको मन्थन 
अनुभूतिलाई छातीभरि राख्दै
बिदा पाउने अनुमति माग्दै
मन शुभ्र भो, गति तीब्र भो, यो यात्रा नै हो

साहित्यका शिखर इन्द्र राईलाई, प्रतिष्ठानले पूजित गरेको 
सिक्किमका केदार, दार्जीलिङका नन्द१, सम्मानले विभूषित् गरेको 
युध्द वैद्यको ज्ञानको सागर,
पारस दङ्गालको अध्ययनको गागर,
सबको दर्शन भो, मन प्रसन्न भो, यो यात्रा नै हो 

यात्रा पूरा भो, सिक्किम यात्रा यो, यो यात्रा नै हो 
मुग्लिनको घुमाउरो बाटो .... .... .... .... ....

९८४१३१३६५३
हाडीगाउँ, काठमाडौं

सीमापारिको साहित्ययात्रा
रामप्रसाद पन्त

१. सदाबहार यात्रा : सिलगढी बास 
तीव्र चाहना र उत्कट अभिलाषा भएपछि समय पनि अनुकूल बन्दो रहेछ । 
हाम्रो दश महिनाको सपना साकार भयो तर अन्यौलग्रस्त रह्यो हाम्रो यात्रारम्भ । 
राष्ट्रपतिको चीन प्रस्थान र हाम्रो सिक्किम यात्रा एउटै समयमा परेछ । लामै समय सार्वजनिक यातायात बन्द भयो । तिलगङ्गा अगाडिको बस पुग्यो रे- कोटेश्वरमा । 

२०७१ साल चैत्र १२ गतेको कुरा ।
भित्री बाटोबाट जान सक्नेहरू त जालान् टेक्सी वा निजी मोटरबाट ! तर मजस्तो फुटपाथे प्राणी कसरी जाने चाबहिलबाट कोटेश्वर ? 

मनमनै सोचेँ, राजा र राष्ट्रपतिमा फरक के रह्यो त ! निर्मल निवासको सट्टा शीतल निवास ! सान उही ! रवाफ उही ! चाकडीवाजहरूको तामझाम उही ! घन्टौँसम्म जनताले पाउने पिर मर्काको समाचार राष्ट्रपतिको कानमा पुग्दैन कि त्यस्तै चाहन्छन् उनले ? 

म के गर्ने, के नगर्ने ! अवस्थामा चिन्ताग्रस्त भएकै बेला धुम्बाराहीमा बस्ने मित्र ठाकुर शर्मासँग फोनमा कुराकानी भयो । उहाँले उपाय बताउनुभयो - ‘म कुनै उपाय निकालेर भित्री शहरको बाटो हुँदै जान्छु, तपाईं विनयकुमार शर्माको सहयोग लिएर मोटरसाइकलमा पुग्नुस् । सार्वजनिक यातायातमा जानुपर्ने भएकोले बसले हामीलाई नकुर्न सक्छ ! हामी छुट्न सक्छौँ । हाम्रो दीर्घ प्रतीक्षित यात्रा प्रतिकूल हुन सक्छ ।’ 

अचुक उपाय त्यही निस्कियो । चाबहलिबासी मातृका भाइको मोटरसाइकल पछाडि बसेर म पुगेँ तोकिएकै समयमा कोटेश्वरस्थित सदाबहार म्याट्रो डिलक्सको काउन्टरमा र फोन सम्पर्क गरेँ साथीहरूलाई । कोही बाटोमा छन्, कोही घरमै छन्, कोही सामानको जोरजाममै व्यस्त छन् । म परेछु पहिलो नम्बरको जन्तु । ‘जन्तु’ यसर्थमा भन्दै छु कि समयमा पुग्ने मानिस नेपाली हुन सक्दैन । म विदेशी पनि होइन भने नेपालको एउटा जन्तु नभएर अरु के हुन सक्छु ? 

क्रमशः आउँदै गए साथीहरू तर साढे दुई बजे हिँड्ने भनेको बस तीन बज्दा पनि देखिएन । कुनै साथीहरू त तीन बजिसक्दा पनि आइपुगेनन् । सायद तिनीहरूले बुझेका रहेछन् नेपाल !

एकाएक मौसम बदलियो, आकाश बादलियो र पानीका छिटा पर्न थाल्यो । साढे तीन हुन लाग्दा नलाग्दै साथीहरू सबै जना जम्मा भए । बस पनि एक घण्टा ढीलो गरी आइपुग्यो । सदाबहार बस, झलक्क हेर्दा राम्रो देखिन्थ्यो । भित्र सिटमा बस्दा पो थाहा भयो, बस त साँच्चिकै सदाबहार रहेछ, भित्र बाहिर उस्तै । बाहिर दर्किएको पानी बर्सिन थाल्यो बसभित्र पनि । 

सिटमाथि सजाइएका तर नघुम्ने केही पङ्खाहरूबाट पानीको धारो लाग्न थाल्यो केही सिटमा । यादव भट्टराईले व्यङ्ग्य गर्नुभयो — शीतलता दिनका लागि पङ्खामा पानी आवश्यक पर्छ नि ! त्यसै भएर .....।’ 

उहाँको कुराले म त ट्वाल्ल परेँछु, हो कि क्या हो भनेर ! साथीहरू हाँसेपछि पो हाँसें म पनि । तर गम्भीर थियो कुरो । लक्ष्मी उप्रेती र जलेश्वरी श्रेष्ठ बसेको सिटमाथि त प्लाष्टिकको थैलो फिट गर्दा पनि नथामिने भयो । तररर झरिरहेको पानीको धारोले प्लाष्टिक कुन बेला भरिने हो र फ्यात्त खस्ने हो भन्ने डर ! यस्तै समस्याग्रस्त थिए अरु तीन÷चारवटा सिटहरू पनि । 

कस्तो हो यो बस ! रात्रीसेवाको बस पनि यस्तो हुन्छ ? कसैले आक्रोश पोखे । ‘आकाशबाट पानी पर्दासम्म हो, त्यसपछि त चुहिँदैन !’ कन्डक्टरले बडो स्वादिलो उत्तर दियो । ‘हिउँदमा फिट गरिएको बडी भएर होला यस्तो भएको !’— कसैले व्यङ्ग्य गरे । 

ड्राइफुड खाइरहेका र पानी नपाइरहेका साथीहरूले भने — ‘किन चाहियो पानी ! किन खर्च गर्नुप¥यो बन्द बोतलको पानी ! सिट सिटमै पानीको धारो राखिदिएपछि ।’ 

चार बज्न केही मिनेट बाँकी छँदै हिँडेको बस हालसालै खुलेको बिपी महापथ (राजमार्ग भन्न हुन्न क्यारे !) तिर लाग्छ कि भनेको त चक्रपथतिरै गुड्यो । दुर्गा दहालले भने — ‘बस यही बाटो आउँछ भन्ने थाहा पाएको भए म कीर्तिपुरबाट कोटेश्वर किन पुग्थेँ ?’ अझ आश्चर्यको कुरा त के थियो भने बल्खु हुँदै अगाडि बढेको बस कलङ्कीबाट थानकोटतिर लाग्नुपर्नेमा बसपार्कतिर पो सोझियो । त्यसपछि त दाहाललाई साथ दिने अरु धेरै जना भए । आखिर प्रस्थान विन्दु बसपार्क नै थियो भने महाराजगन्जदेखिका यात्रुहरू कोटेश्वर किन जानुपथ्र्याे ? 

बसपार्क पुगेर आधा घण्टाजति रोकिएपछि पनि सदाबहारमा बहार छाउन सकेन, अर्थात् पछाडिको पूरै सिट खाली भयो । पाँच बज्न पन्ध्र मिनेट बाँकी छँदा बस हिँड्यो । चैतेपानी अचम्मैसँग बर्षियो । बालाजु चौबाटोको महापथ महासागरमा परिणत भयो । 

चर्चाको विषय बन्यो पानी र पानीले जोड्यो अरु धेरै कुराहरू । जलस्रोतको धनी देशमा खानेपानी छैन, बिजुली छैन र सिँचाइ छैन । कृषिप्रधान देशमा अन्न र फलफूल छैन । शान्तिका अगुवा गौतम बुद्धको देशमा शान्ति छैन । जनकको देशमा ज्ञान छैन । यलम्बर, अंशुवर्मा र पृथ्वीनारायण जन्मेको माटोमा कुनै राजनेता छैन । रत्नगर्भा जननीका हामी सन्तति सुनको थालमा भीख मागिरहेछौँ । 

त्यसै बेला यादव भट्टराईको होस खुल्यो- ‘धत्तेरिका ! झोलैमा रह्यो नागरिकता । ताल्चा लगाउनै भुलिएछ । एकातिर चुहेको पानीले भिज्ने डर, अर्काेतिर हराउला भन्ने पीर !’ ‘कहाँ हराउँछ ?’ भन्नेहरूलाई भट्टराईको जवाफ थियो— ‘हराइहाल्यो भने फर्कँदा के भइन्छ थाहा छ ? न नेपाली न विदेशी । त्यसैले आफ्नो सुरक्षा आफै गर्नुपर्छ ।’ 

सक्कलै नागरिकता बोक्नुको कारण थियो— सिक्किम प्रवेश गर्दा खोजी हुन्छ कि भनेर । 
बसका सिटहरू अग्ला भएकाले छोटो कद हुनेहरूका लागि बस्न अप्ठ्यारो भइरहेको कुरा चर्चामा आयो । मैले नजर दौडाएँ अघि र पछि । महेन्द्र गुरुङ र जलेश्वरी श्रेष्ठका खुट्टाले येनकेन भुइँ छोएका थिए तर बिचरा जयदेव ! कुर्सीमा थपक्क बसाइएको बच्चाजस्तै सिटमा बसेर खुट्टा तुर्लुङ्ग झुन्डाई पिङ खेलाइरहेका । ललिता भने आफ्नो सिट छाडेर पछिल्तिरको खाली सिटमा तेर्सिन पुगिसकेकी थिइन् । 

अगाडिपट्टि टेलिभिजनमा अभिनयसहित नेपाली र फिल्मी गीतहरू घन्किन थाले । यात्रुहरूका लागि श्रवण अवलोकन गरेर बाटो कटाउने माध्यम बन्यो । हेर्दै जाँदा मैले के अनुभव गरेँ भने नेपाली र हिन्दी गीतहरू यसरी एकैसाथ प्रशारण गर्न नहुँदो रहेछ । कारण के भने हिन्दी गीतहरूको स्तरीयताको अगाडि नेपाली गीतहरू अत्यन्त फिका र कमजोर प्रतीत हुँदा रहेछन् । 

साथीहरूबीच गीतको मूल्याङ्कन भयो — इन्डियनहरू जनइच्छा बुझेर, बजारको सर्वेक्षण गरेर फिल्म र गीतहरू बनाउँछन् । नेपालीहरूमा त्यो ज्ञान र अनुभव अझ विकसित हुन सकेको छैन । विश्व हाँकिसकेको इन्डियाको अगाडि नेपाली फिल्म र गीतहरूको प्रतिस्पर्धा कुन युगमा हुने ? 
दिदीबहिनीहरूलाई साथमा लिएर हिँडेपछि पेट टट्याएर बस्नुपर्दैन भन्ने मेरो अनुभवले यस यात्रामा पनि पुनरावृत्ति पाइरहेको थियो । त्यसैले हेटौँडा पुगेर खाना खाए पनि हुने कुरामा हामी सबै ऐक्यमत भएका थियौँ । तर हाम्रो इच्छा कहाँ चल्छ र ! इच्छा त कमिसनको पो चल्छ । त्यो कमिसन ड्राइभरलाई मात्र थाहा हुन्छ । 

बस रामनगरको सिद्धबाबा होटल अगाडि पुगेर छेउ लाग्यो । कृषि खाद्य विभागबाट ग्रिनकार्ड पाएको रामनगरको एकमात्र होटल रे ! त्यही लेखिएको थियो बोर्डमा । भात खानेलाई भात, रोटी खानेलाई रोटी, हाजिर भयो टेबुल टेबुलमा । घरमा जस्तो त कहाँ पाउनु महापथका होटलहरूमा ! तर ग्रिनकार्डको इज्जत गइहाल्ने खाना चाहिँ थिएन त्यहाँ ।
यात्रा जारी रह्यो यथावत् ..... । पूर्व जाने बसहरूले पारस बसपार्कको परिक्रममा गर्नै पर्दाे रहेछ । ज्ञानेन्द्र शासनको पालामा चाकडीवाजहरूको बोलवाला रहेछ चितवनमा पनि । र, त नाम रह्यो पारस बसपार्क । अझै पनि भनिँदो रहेछ पारस बसपार्क । नाम राखिसकेपछि मेट्न समय लाग्दो रहेछ । पूर्वराजा भन्नुपर्नेमा भनिहालिन्छ, राजा । रत्नपार्कको नाम मेट्न कति कोशिस गरियो, अझै सकिएको छैन । राजमार्ग नभनेर लोकमार्ग भन्नुपर्नेमा फुत्किहाल्छ मुखबाट । 

बस सिधा पूर्व सोझिएसँगसँगै ‘नाइँ नभन्नु ल—२’ सुरु भयो । बच्चाबच्चीलाई नायक नायिका बनाइएको त्यस फिल्मको दोस्रो भाग धेरै यात्रुका लागि फोविया सावित भयो । बारम्बार आइरहने गीतिगजल — मर्ने कसैलाई रहर हुँदैन, तर नमर्ने प्रहर हुँदैन । भागेर जाउँ कुन ठाउँ जाउँ, मान्छे नमर्ने शहर हुँदैन बोलको यस गजलले साँच्चै नै हामीहरूको मानसपटलमा आतङ्कै फैलायो । गीत नराम्रो होइन, गीत लेख्ने मान्छे नराम्रो होइन तर फिल्म भित्रको अत्यधिक प्रयोगले डाइबिटिजका रोगीलाई चिनी चखाइ भयो । फिल्म सकिएपछि केही साथीहरूबीच फिल्मबारे मूल्याङ्कन भयो— यस फिल्मले जनतामा के सन्देश गयो त ? हात लाग्यो शून्य । फिल्मले समाज परिवर्तन गर्नमा ठूलो भूमिका खेल्छ । सर्वसाधारणका लागि चेतना जगाउने सजिलो माध्यम हो फिल्म तर परिवर्तनशील समाजका चाहना र भावनाहरू अभिव्यक्त हुन सकेनन् नेपाली फिल्ममा । यस्तै महसुस ग¥यौँ हामीहरूले । 

फिल्म सकिएसँगसँगै भाते निद्राले छोइहाल्यो । काठमाडौँ छाडेपछि सिटमै पानी दर्केला भन्ने समस्या त भएन तर बसको सिटमा चैनसँग निदाउन त कहाँ पाउनु ? कोही निदाए पनि होलान् ! म भने आँखा चिम्लेरै निद्राको तीर्खा मेट्ने मान्छे परेँ, त्यसै गरेँ । 
‘कोसी ब्यारेज आयो, नदी तर्दा निदाउनुहुन्न, बगिन्छ’ भन्ने तुलसीवाणी कानमा परेपछि शायद धेरैको निद्रा खुल्यो । तबसम्म आकाश उज्यालिन थालेको थियो । दमक पुग्दा आकाशमा छरिएको प्रकाश धर्तीतिर पनि ओर्लियो । महापथ छेउछाउको जङ्गलमा उम्रिएका चिहानहरू देखेर दिक्क लाग्यो । सुरुङ्गा, बिर्तामोड, चारआली, धुलाबारी हुँदै हामी काँकडभिट्टा बसपार्कमा ओर्लिंदा प्रात ः ७ः४५ भएको थियो । 

डिकीबाट सामान निकाल्दा पो थाहा भयो— भारतीय नेपाली साहित्यकारका लागि कोसेलीस्वरूप ल्याइएका किताब र पत्रिकाहरू मजैले पानी खाएर ढाडिएछन् । डोरी फुकेर छरिएका र कच्याककुचुक भएका किताबहरूलाई जतनसाथ राख्न ठूल्ठूला प्लाष्टिक झोलाहरू किनियो र पोका पोका पारियो । 

त्यहाँबाट हामीले कान्तिपुरका झापा सम्वाददाता पर्वत पोर्तेल र इलामका कवि विमल वैद्यलाई साथ लिनुथियो । फोन सम्पर्क भयो दुवैसँग । एक जना भर्खर उठेर तयारीमा जुट्दै छन् रे ! अर्का बाटैमा । एक घण्टा बढी लामो कुराइमा परियो त्यहीँ । न शौच जानु, न हातमुख धुन पाउनु, न चियापान गर्नु, न बस्न पाउनु, छटपटीमा प¥यौँ हामी । यो कसको दोष हो ? यस दोषको भागीदार को हो ? पत्रकारिता र कवित्वको शक्तिले पो काम गरेको हो कि अरु कुनै तत्वले ? मैले भेउ पाउन सकिनँ । कुनै प्रश्न पनि गरिनँ । 

त्यसै बीचमा झापाली कवि पुण्यप्रसाद खरेल आइपुगे । उनले झापाको साहित्यिक गतिविधि वर्णन गरेर केही बेर भुलाए । त्यसै बसपार्क भित्र बनेर अनावरण गर्न बाँकी रहेको महाकवि देवकोटाको शालिक उनैको संयोजकत्वमा निर्माण भएको रहेछ । 

सिलगढी जानका लागि दुईवटा जीप तयारी अवस्थामा थिए । पत्रकार र कवि आउने बित्तिकै हामी प्रस्थान गरिहाल्यौँ — ९ः१५ मा । मेची पुलमाथि गुड्दै गर्दा मैले नदीको पानीलाई ‘बिचरा’ भनेँ । मैले सोचेको मेचीनदी ‘नदी’ रहेनछ, बाग्मती जस्तै पो रहेछ । विशाल बगरमा जताबाट डो¥याए पनि हुने, जताबाट कुल्याए पनि हुने । २५ वर्षअघि मैले पुलको वल्लोछेउमा उभिएर हेर्दा सायद वर्षाको बेला थियो होला ! 

मेरो लागि पश्चिम बङ्गाल नयाँ गन्तव्य । 
मेची पुलपारि भारतीय सिमास्थित पानीट्याङ्की पुग्दा बजारमा देवनागरी, अँग्रेजी र बङ्गाली लिपिका बोर्डहरू प्रशस्तै देखिए । तर जीप भने मूलमार्ग छाडेर सहायक मार्गतिर कुद्न थाल्यो । 
‘किन ?’ मैले प्रश्न गरेँ ड्राइभरसँग । 

मेनरोडमा भीडभाड हुन्छ, हामी यताबाट चाँडै पुग्छौँ र भेट्टाउँछौ मेनरोड— ड्राइभरले मेरो जिज्ञासा मेट्यो । 

दश-पन्ध्र मिनेटमै भेटियो मुख्य मार्ग । 
बाटो सफा, सिधा र फराकिलो थियो ।
नक्सलबाडीको भूमिमा कुद्दै गर्दा मातृका पोख्रेलले दुई सय मिटरजति पर लाइनै ठड्याइएका पाँच वटा शालिक देखाउँदै भने — नक्सलबाडी आन्दोलनका नायक चारु मजुमदारको शालिक तिनैमध्येको एक हो । 

कसैले हेलमेट गलाएका, कसैले नलगाएका मोटरसाइकल चालकहरू देखेर मैले अर्काे प्रश्न गरेँ ड्राइभरसँग — ‘के लगाउनु पर्दैन हेलमेट ?’ 

उसले रमाइलो उत्तर दियो— ‘बङ्गाली दादाहरूलाई कसले रोक्ने ? पुलिस पनि डराउँछ उनीहरूदेखि ।’ 

बेलगाछी आयो । चिम्नीबाट धुवाँ फ्याँक्दै गरेका केही कारखानाहरू देखिए । सविस्तार फैलिएको सुन्दर चिया बगान आयो । तलपट्टि हाँगाबिँगा नभएका, कम मोटा, सुरिला र अग्ला रुखहरूले थप शोभा दिइरहेको देखियो चियाबगानलाई । तत्क्षण आइपुग्यो बागडोग्रा बजार । ‘बागडोग्रा’ बङ्गालको कहलिएको ऐतिहासिक ठाउँ । पुरानो विमानस्थल । सात सालपछि खेदिएका र नेपालबाट कलकत्तामा अथाह सम्पत्ति भिœयाएका महावीर शमसेर आफ्नै निजी विमान चढेर बागडोग्रा उत्रन्थे रे !

बालासान नदीको पुल तरेर विस्तारित रेलवे लाइनलाई ओभरहेड ब्रिजबाट नाघेपछि सिलगढी बजारले स्वागत गरिहाल्यो । तर ठाउँको अस्पष्टताले सम्बन्धित होटल पुग्न हामीलाई शहरका गल्लीहरूमा फनफनी घुम्नुप¥यो । त्यसपछि मात्र आइपुग्यो गौरव लज र लजका अगाडि भेटिए ज्ञानेन्द्र दाहाल । उनैले मिलाएका रे लजको व्यवस्था ! भन्दै थिए— ‘नेपाली साहित्यकारहरूका लागि भनेर कन्सेसन गराएको छु ।’ 

त्यसैबेला हाम्रो परिचयमा आए, सिलगढीका साहित्यकार भनी कहलिएका ज्ञानेन्द्र खतिवडा र राजन मोक्तान । तर तिनीहरूले दोस्रो पटक अनुहार देखाएनन् । 

हामीलाई दुई÷दुई जनाको दरले कोठा व्यवस्था गरिएको रहेछ । तर पन्ध्र जनाको विजोड संख्या भएकोमा जलेश्वरी श्रेष्ठ, लक्ष्मी उप्रेती र ललिता दोषीले एउटै कोठा रोजेपछि ‘के खोज्छस् काना आँखा’ भनेजस्तै भयो । 

ठीक बाह्र बजे खाना खानका लागि तयार हुने भनेर हिँडेका टोलीनेता महेन्द्र गुरुङ एकाएक बेपत्ता हुँदा र टेलिफोन नचल्दा आधा घण्टा अन्यौल छायो । तर बिचरा गुरुङ पैसाको जोहो गर्न एटिएमको खोजीमा गएका रहेछन् । गुरुङलाई अघि लगाएर हामी त्यहीँ पर्तिर सरगम होटलमा गयौँ र भातभान्सा ग¥यौँ । 

प्रधाननगर भनिँदो रहेछ त्यस टोललाई । कुनै समय केशव प्रधानले त्यो टोल विकास गर्न निकै परिश्रम गरेका रहेछन् र सरकारको केन्द्रस्तरसम्म नेतृत्व दिन सफल भएका रहेछन् । प्रधानमात्र होइन, सिलगढी देवकोटा संघ भएको बजारको लाइनै भारतीय नेपालीहरूको निवास रहेछ । ज्ञानेन्द्र दाहाल भन्दै थिए— ‘पदम क्षेत्रीको नेतृत्वमा तयार भएको महाकविको पूर्ण कदको सात फिट अग्लो शालिक यही चोकमा राख्ने योजना छ । देवकोटाको मात्र होइन, अलिकति पर रत्नलाल ब्राह्मण (माइला बाजे) को शालिक छ, भानुभक्तको शालिक पनि यहीँ नजिकै छ र शहरको केही दूरीमा पारिजातको शालिक पनि प्रतिस्थापन गरिएको छ । यसैगरी क्रमशः अरु साहित्यकारहरूका शालिक पनि राख्दै जाने योजनामा छौँ हामी ।’ 

खाना खाइसकेपछि हामी लख्खीदेवी सुन्दासको निवास खोज्दै गयौँ अलिकति पर । सडकको चोकमा शताब्दी अपार्टमेन्टको दोस्रो तलामा बस्दिरहिछन् सुन्दास । पार्किन्सनले हिँड्नै नसक्ने अवस्थामा पुगेकी सुन्दास बल्लतल्ल एउटी महिलाको सहारामा बाहिर निस्किन् । संयोगले असी प्रवेशको दिन परेको रहेछ, चैत्र १३ गते । उनलाई शुभकामना दिन मानिसहरूको आउने जाने क्रम चलिरहेको थियो । वनिता प्रकाशनको तर्फबाट लक्ष्मी उप्रेतीले लख्खीदेवी सुन्दास विशेषाङ्क अर्पण गरिन् । महेन्द्र गुरुङले रमा–कृष्ण सिर्जना प्रतिष्ठानको तर्फबाट दोसल्ला ओढाएर ताम्रपत्र अर्पण गरे । बाँकी सबैले आ–आफ्ना रचना र पत्रिकाहरू हस्तान्तरण गरेर शुभकामना दियौँ ।
इन्द्रबहादुर राईलाई पनि सम्मान गरिने कार्यक्रम थियो— सिलगढीस्थित उनकै निवासमा । अस्पष्ट जानकारी अनुसार नेपालबाट एउटा साहित्यिक टोली आउने र त्यस टोलीलाई सिलगढी देवकोटा संघमा स्वागत गर्ने तर इन्द्रबहादुर राईलाई एउटा सामान्य साहित्यकारको हैसियतमा आमन्त्रण गरिने भन्ने सुइँको पाएपछि दुई दिनअघि मात्र दार्जिलिङ उक्लेका रे ! 

हामीले बुझे अनुसार पूर्वाेत्तर भारतका नेपाली साहित्यकारहरूबीच अग्रज साहित्यकारहरूलाई सम्मान गर्ने प्रक्रियामा कन्जुस्याइँ आउँदै गएको रहेछ ! हामी जाँदा नेपालका भूपीन र मनु मन्जिलजस्ताको नाम लिने तर अग्रजहरूका बारेमा मौन रहने प्रवृत्तिले त्यसलाई पुष्टि गर्दै थियो । नेपाली साहित्यको भविष्य साथमा लिएर अघि बढिरहेका नवोदित साहित्यकारलाई स्वागत नगर्ने भन्ने होइन, तर अग्रजको अस्तित्व नभए हाम्रो अस्तित्व कहाँ रहन्छ भन्ने कुरालाई पनि भुल्नुहुँदैन र सम्मान गर्नुपर्छ । 

सुन्दासलाई सम्मान गरेपछि हामी पुनः गौरव लजमा फर्कियौँ र तोकिएको चार बजेको समयमा सिलगढी देवकोटा संघको भवनमा उपस्थित भयौँ । मूलद्वारमै स्वागत गरे— मीरा गजमेर र सन्तु घिमिरेले । 

कार्यक्रममा जनसहभागिता ज्यादै न्यून देखियो । वैचारिक द्वन्द्व काठमाडौँमा भन्दा चर्काे भएको पायौँ हामीले । २०÷२५ जनाकै उपस्थितिमा संस्थाका उपाध्यक्ष ज्ञानेन्द्र दाहालले उद्घोषण सुरु गरे । न्यून उपस्थिति बारे उनले स्पष्ट पारे — विश्व क्रिकेटको फाइनल, नगरपरिषदको चुनाव, बोर्डको परीक्षा । त्यसपछि उनले मञ्चासीन गराउँदै गए— रुद्रकुमार अधिकारी सभापति, लक्ष्मी उप्रेती प्रमुख अतिथि र विजयकुमार सुवेदी, टिवि घटाने, अशोक राई, रोचक घिमिरे, मातृका पोख्रेल, समेतलाई मञ्चासीन गराउँदा पनि हाम्रा टोलीनेता महेन्द्र गुरुङको नाम नआएपछि हाम्रो साहित्यिक टोली विस्मयमा प¥यो । आखिर महेन्द्र गुरुङलाई मञ्चासीन गराउनका लागि यादव भट्टराईले दाहालसँग साउती नगरी भएन । 

यतिमात्र होइन, सिगलगढीकी चर्चित साहित्यकार डा. विन्द्या सुब्बालाई कार्यक्रमबारे जानकारी नै रहेनछ । हाम्रै टोलीका सदस्यले खबर गरेपछि आइपुगिन् कार्यक्रमको बीचमा । मञ्चासीन व्यक्तित्वहरूबाट मन्तव्य र ललिता दोषी, तुलसीहरि कोइराला, ठाकुर शर्मा, रामप्रसाद पन्त, जलेश्वरी श्रेष्ठ, मीरा गजमेर, राजा पुनियानी आदिबाट कविता वाचन भएपछि रमाकृष्ण सिर्जना प्रतिष्ठानको तर्फबाट महेन्द्र गुरुङले ताम्रपत्रसहित संस्थालाई सम्मान गरे ।
साढे ६ बजे कार्यक्रम सकेर पहिलो तलामा ओर्लँदै गर्दा भ¥याङसँगै देखियो— ‘डा. शोभाकान्ति थेगिम्’ कक्ष र त्यसभित्र पढिरहेका देखिए— विद्यार्थीहरू । त्यहाँ बेलुकापख निःशुल्क पढाइ पनि हुँदो रहेछ । त्यहीँ सँगै रहेछ, सिलगढीको एउटा मात्र राष्ट्रिय पुस्तकालय । पुस्तकालय देखेपछि पो होस आयो— हामीले त्यस पुस्तकालयका लागि पनि केही पुस्तक छुट्याउनुपथ्र्याे अनिमात्र किताबको उपयोगिता बढ्थ्यो । के थाहा ? कसले सल्लाह दिने हामीहरूलाई !

हामीले अध्ययन गरे अनुसार संस्थाकी अध्यक्ष शारदा क्षेत्री भए पनि बोलवाला ज्ञानेन्द्र दाहालकै रहेछ । संस्थालाई अर्पण गरेका किताब र पत्रिका पनि उनैले जिम्मा लिए । बाहिर लगेर खाजा खुवाउने काम पनि उनैले गरे र हाम्रो बिदाइ पनि उनैले गरे । 

जे होस् सिलगढीमा देवकोटा संघको निर्माणाधीन अवस्थामा रहेको तीन तले भवन देख्न पाइयो । साहित्य सेवाकै निम्ति सात÷आठ रोपनी जग्गा सहित करिब दुई करोडको सम्पत्ति र वर्षेनी केन्द्र सरकारबाट आर्थिक सहयोग प्राप्त हुने कुरा सुनेर खुसी लाग्यो ।
बेलुकाको खाना पनि सरगम होटेलमै खाएपछि केही साथीहरू टहलिन निस्कियौँ मेनरोडमा । होचा कदका काला अनुहारका पठ्ठा केटाकेटी र युवा जोडीहरू हिँडेका देखिए बाटैभरि । नयाँ सिलगढीका अग्ला भवन र मुख्य बजार हेर्ने सौभाग्य त हामीलाई मिलेन तैपनि पूर्वाेत्तर राज्यको मुहान सिलगढी, नेपाल राज्य विस्तारको क्रममा बहादुर शाहले गढीमा सिल गरी फर्केको सिलगढी र पछि अँग्रेजहरूले उच्चारण बिगारेको नाम सिलिगुरी (क्ष्ष्निगचष्) मा प्रथम पटक पुग्न पाएर औधी आनन्दको अनुभूति भइरह्यो मलाई । 

रात्री विश्रामका लागि स्वतः जोडी बन्यो रोचक दाइ र मेरो । यो जोडी यात्रा अवधिभर रात्री विश्राम गर्दा मात्र होइन, बसमा पनि छुटेन । सिलगढीको त्यस लजमा दश बजेपछि सुतेका हामीहरूलाई पटकपटक ढोका ढकढक्याएको आवाजले निद्रा भङ्ग गरिरह्यो । हामीले नसुने झैँ ग¥यौँ र खोलेनौँ । सिलगढी जस्तो ठाउँमा मध्यरातको त्यो खटखट आवाजले त्रसित बनाइरह्यो हाम्रो मन । तर बलिरहेको जिरो बाटको बत्ती र चलिरहेको पङ्खा समेत बाहिरैबाट बन्द भएपछि र ‘हामी लजका मान्छे, मान्छे हराएको खबर गर्न आएको’ भनेपछि ढोका खोल्यौँ । 

साँच्चै नै मानिस हराएकै रहेछ र त्यो हाम्रै मान्छे रहेछ । बाहिरबाट रक्सी खाएर आएका हाम्रै समूहका एक जना कविले लजमा बसेर अरु थप्न नपाएपछि ‘खाना राखिदिनू, म एकछिन पछि आउँछु’ भनेर हिँडेछन् र बाह्र बजेसम्म नआएपछि मान्छे हराएको सूचना दिन र मूल गेट बन्द गर्नका लागि त्यो अस्त्र प्रयोग गरेका रहेछन् । 

यी सबै कुरा हाम्रा टोलीनेतालाई पनि जानकारी गराइयो । हामीले निष्कर्ष निकाल्यौँ— ‘ती कविका आफन्त सिलगढीमै भएकोले उतै गए होलान् ! उनी हराउन्नन् ।’

काठमाडौँदेखि सिलगढीसम्मको ६१६ (५८१/३५) किलोमिटर यात्राको थकान मेटाउन ओछ्यानको सहारा लिइरहेको बेला मैले मनमनै गमेँ— यात्रा रमाइलोका लागि मात्र गरिने होइन, विभिन्न अनुभव र अनुभूति, ज्ञान र शिक्षा हासिल गर्नका लागि पनि गरिन्छ र ती अनुभवहरूलाई पाठकसम्म पु¥याउन सकियो भने त्यो भन्दा खुसीको विषय अरु हुन सक्तैन । त्यही अमूल्य सम्पत्ति मैले पाएँ । 

निद्रादेवीले अँगालोमा नबाँध्दासम्म मेरो मनमा अनेक तरङ्गहरू उठिरहे— महेन्द्र गुरुङले आफ्ना बाबुआमाको नाममा स्थापित रमा–कृष्ण सिर्जना प्रतिष्ठानका तर्फबाट धन, मन र समय खर्च गरेर १५ सदस्यीय टोलीलाई सप्ताहव्यापी सिक्किम यात्रामा नहिँडाएको भए कहाँ सँगाल्न सकिन्थ्यो— यी सबै अनुभव र अनुभूतिहरू ?

२. टिष्टाको तिरैतिर
आज २०७१ साल चैत्र १४ गते, अर्थात् सप्ताहव्यापी सिक्किम यात्राको तेस्रो दिन ।
सिलगढीको गौरव लज अगाडि उभिएका छौँ हामी । रिजर्भ गरिएका दुईवटा जीप आउन बाँकी छन् । अलिकति पर खुल्ला सडकको पेटीमा चियाको कित्ली बसालेर ग्राहकको प्रतीक्षा गरेका देखिन्छन् एक जना बङ्गाली भाइ । ‘सानो गिलासमा पाँच रूपैयाँ, ठूलोमा दश, इच्छा लागेको खानुस् ।’ चिया बिक्री गर्ने काइदा राम्रो लाग्छ मलाई । खानेले चाहे अनुसारको परिमाणमा चिया खान पाओस् न ! यस्तो सिष्टम देखेको थिइनँ मैले अन्यत्र कतै । 

जलेश्वरी दिदी अघि सरेर चिया अर्डर गर्नुभयो — ‘को–कसले खाने ? भाइहरूलाई खुवाउँछु म चिया ।’ चार पाँच जनामात्र रहेछौँ त्यसबेला हामी । अरु साथीहरू छरिएका थिए बाटोमा वरपर । 
चिया खाँदै गर्दा दुईवटा जीप आएर गौरव लज अगाडि उभिए । समय बिहानको आठ बजेको थियो । झोलाहरू जीपको छतमा थन्किँदै गए । चिया खाइसकेर हामी जीपभित्र पस्यौँ । दीपक यादव र सुधीर जैसवालले हाँकेका ‘माउन्टेन रिडर’ र ‘पवनपुत्र’ नामका जीपहरू अघिपछि भएर प्रधाननगरका गल्लीहरू छिचोल्दै मुख्य सडकमा निस्के र पूर्वाेत्तर दिशातिर हानिए । महानन्द पुल आयो । त्यसपछि आयो प्रकाश नगर । केन्द्रीय विद्यालयको भवन राम्रो देखियो बाटो छेउमै । सेवक रोड हुँदै कुदिरहे जीपहरू । 

आधा घण्टा कट्न पाउँदा नपाउँदै आइपुग्यो सेवक बजार अर्थात् टिष्टा किनार । टिष्टामाथि एउटा रेलवे पुल तेर्सिएको देखियो । हामी टिष्टा नतरीकन टिष्टाको पश्चिमी किनार हुँदै पहाडी बाटो टिष्टाको मुहानतिर लाग्यौँ । 

बागपुल देखियो । पुलको मुखमा दुईवटा बागका प्रतिमूर्ति देखिए । ‘आहा ! क्या सुन्दर पुल ! रोक रोक रोक, जीप रोक । हेर्नुप¥यो र फोटो खिच्नुप¥यो ।’ — हाम्रो आवाज घनीभूत भयो । 
हामी चढेका दुइवटै जीप कुना लागेर रोकिए । टिष्टाको वल्लो र पल्लो किनारबाट पिलर उठाएर तिनै दुई पिलरको आधारमा निकै अग्लाइमा बनाइएको रहेछ पुल । हामीले छोडेर आएको अलिकति तलको रेलवे पुलजस्तै यो बागपुल चाहिँ अन्य सवारी साधनहरू चल्ने पुल रहेछ । पूर्वाञ्चल राज्यहरूको सम्पर्क सेतुको रूपमा त्यस पुलले काम गर्दाे रहेछ । कसैले त्यस घाँटीलाई ‘हेन नेक’ पनि भन्दा रहेछन् । अर्थात् कुखुराको घाँटीजस्तै । घाँटी छिनाइदियो भने टाउको र शरीरको सम्पर्कै बन्द । 

मैले जीपचालक दीपकलाई सोधिहालेँ— कति किलोमिटर होला यहाँबाट गुहाटी ? उसले भन्यो— करिब ५ सय किलोमिटर । अनि सिलगढीबाट कालिङपोङ नि ? उसले त्यसैगरी उत्तर दियो— पैँसठ्ठी ।
करिब दश मिनेट अलमलिएपछि हामी पुनः अगाडि बढ्यौँ— टिष्टा किनारै किनार । जाँदाजाँदै टिष्टा छाडेर हामी एउटा खोचतिर पस्यौँ, अर्काे खोला भेटियो । त्यसैको किनार पछ्याउँदै जाँदा फेरि टिष्टा किनारमै पुगियो । कुरो के रहेछ भने टिष्टाकै पानी खोचतिर पसेर एउटा पहाडलाई परिक्रमा गर्दै पुनः टिष्टामा मिलेको रहेछ । रमाइलो लाग्यो त्यहाँको भूदृश्य । 

एउटा पावर हाउस भेटियो त्यहीँनेर । कालीझोरा भनिँदो रहेछ त्यस ठाउँलाई । अझ अगाडि बढेपछि आइपुग्यो बालुवा खानी । त्यस ठाउँलाई ‘२९ माइल’ भनेर पनि चिनिँदो रहेछ । अर्थात् सिलगढीबाट हामी उनान्तीस माइल यात्रा गरेछौँ । त्यस क्षेत्रको टिष्टा पूरै जलमग्न भएको थियो । हामी सहजै अनुमान गर्न सक्थ्यौँ, कालीझोरामा छाडेर आएको पावर हाउसमा पानी खसाल्न बनाइएको जलाशय  थियो त्यो । 

चिया–नास्ताका लागि रोकिए हाम्रा जीपहरू । ‘होटल पण्डित’मा पस्यौँ हामी । तर टोलीनेताबाट प्रस्ताव आयो— दश बज्न लागिसक्यो, अब के चिया–नास्ता गर्न थाल्ने ? खाना नै खाऊँ ।’ प्रस्तावमाथि असहमत हुनेहरूको मत पनि आखिर सहमतिमै टुङ्गियो । 

सम्धीखाना खुवाउने विशेषता राखेको रहेछ होटल पण्डितले । अर्थात् हाम्रो समाजमा सम्धीलाई सबै भन्दा बढी आतिथ्य दिने गरिन्छ । धेरै परिकारहरूको संयोजन भयो भने ‘सम्धीलाई जस्तो’ भन्ने गरिन्छ हाम्रो समाजमा । त्यस्तै देखेँ त्यस होटलको चलन पनि । रोटी र भात राखिएका प्रत्येक थालीका वरिपरि सातवटा कचौरा सजिएका थिए र ती कचौराहरूमा तीन÷चार थरी तरकारी, दाल, अचार र चट्नीहरू राखिएका थिए । तर के गर्नु, हाम्रो शरीर अनुकूल नभएपछि धेरै परिकारको के अर्थ रह्यो ! 

खाना खाइसकेपछि हाम्रो यात्रा पुनः अगाडि बढ्यो । हामी टिष्टालाई नछाडेर मुहानतिर अभिमुख भयौँ । धेरै टाढा रहेनछ टिष्टा बजार । पाँचै मिनेटमा पुगियो टिष्टा । मेरो मनले भन्यो— खाना खानै थियो भने यसै बजारमा खान पाएको भए पनि त हुन्थ्यो !

टिष्टा बजारबाट एउटा बाटो दार्जिलिङतर्फ उकालो लाग्दो रहेछ, अर्काे बाटो टिष्टा तरेर पूर्वी किनार हुँदै उत्तर ....... । 

हामी पुल तरेर पूर्वी किनारतिर लाग्यौँ र सिक्किम जाने तटीय मार्गलाई पनि छाडेर कालिङपोङतिर ठाडै उक्लियौँ । त्यही दोबाटोमा ठडिएको बोर्डले जानकारी गरायो— त्यहाँबाट कालिङपोङ १६ किलोमिटर रहेछ । 

घना जङ्गलको बाटो सेल घुमे झैँ फनफनी घुम्दै उक्लिदै थियो । ठूला ठूला पात भएका अग्ला रुखहरूले ढाकिएको थियो अधिकांश वन । ‘के जातका रुखहरू होलान् यस्ता ?’— मैले जिज्ञासा राखेँ । 

‘टिक’ — पर्वत पोर्तेलले जिज्ञासा मेटिदिए । उनले यो पनि भने — ‘यी रुखहरूले वरिपरि अरु रुखहरू उम्रन नदिने भएकोले साम्राज्यवादी रुख पनि भन्छन् यी रुखहरूलाई ।’ 

माथि माथि हुँदै जाँदा बाँसका झ्याङ मिसिएका अरु रुखहरू पनि देखिन थाले । 

एउटा देउराली भेटियो बाटैमा । चित्रेपार्क भनिँदो रहेछ त्यस ठाउँलाई र खुल्ला ठाउँमा भवानीको स्थान पनि बनाइएको रहेछ । पूजा गर्दै थिए भक्तजनहरू ।

पूरै जङ्गल, बाँस, रुख र सेउलापातले भरिएको देखिन्थ्यो । मेरो मन बोल्दै थियो — ‘मानिसको क्रूर नजर पर्न पाएको रहेनछ यस वनमा र वनले आफ्नो सौन्दर्य जोगाइराख्न सकेको रहेछ ।’ 

वन पातलिँदै गएपछि बस्ती सुरु हुँदै गयो । हामी कालिङपोङ (कालेबुङ) बजारमा प्रवेश ग¥यौँ । 
साँच्चिकै सुन्दर देखियो माथि डाँडोमा कालिङपोङ । सोचेँ— कालिङपोङ यति सुन्दर छ भने सिक्किम अझ कति सुन्दर होला !

जीपहरू अन्तिम विश्राम स्थलमा पुग्दा नेपाली साहित्य अध्ययन समिति कालेबुङका अध्यक्ष ज्ञान सुतार र मनोज बोगटीले हाम्रो स्वागत गरे । 

हामी आफ्ना झोलाझाम्टा जीपमै राखेर कालिङपोङका लागि छुट्याइएका पुस्तक पत्रिकाहरू मात्र साथमा लिई उनीहरूकै अगुवाइमा संस्थाको कार्यालयमा पुग्यौँ । 

सन् १९६५ मा स्थापना भएर भारत एकादमी दिल्लीबाट मान्यता प्राप्त गरेको पचास वर्षको इतिहास बोकेको त्यस संस्थाले आफ्नै भवन निर्माण गरेर साहित्यिक गतिविधिहरू सञ्चालन गर्दै आएको रहेछ । 

आयोजक संस्था र आमन्त्रित संस्थाबीच समय र कार्यतालिका बारे स्पष्ट हुन नसक्दा हामीले उनीहरूको सौहार्दपूर्ण भोजन ग्रहण गर्न सकेनौँ र लामो समयसम्म कार्यक्रमको प्रतीक्षा गर्नुप¥यो, अर्थात् हाम्रा लागि खाना खाने व्यवस्था कालिङपोङमै गरिएको रहेछ र साहित्यिक कार्यक्रम दुई बजे राखिएको रहेछ, जबकि हामी ११ः४५ मा पुगेका थियौँ र भोजन पनि गरिसकेका थियौँ । अबको दुई घण्टा कहाँ गएर, के गरेर वा हेरेर बिताउने ? 

एउटा ठाउँ भेटियो— मङ्गलधाम । 
बजारभन्दा अलिकति तलपट्टि रहेछ मङ्गलधाम । स्थानीय जनताकै सहयोगमा वैष्णव सम्प्रदायद्वारा सञ्चालन गरिएको त्यो मङ्गलधाम अत्यन्त सुन्दर र आकर्षक थियो । त्यस्तो पहाडी पाखोमा त्यति राम्रो व्यवस्थापन भएको सुन्दरताको नमुना सितिमिति देख्न पाइन्नँ । आनन्द लाग्यो त्यस धामको परिसर घुम्दा । 

‘सिमापारिको नेपालका तीन तारा ‘सुधपा’ मध्येका पारसमणिको घर कतापट्टि पर्छ ?’ — मेरो प्रश्न । 

‘बाह्र माइलमा’ — सञ्जय बिष्टबाट उत्तर पाएँ मैले । अर्थात् बजारबाट बाह्र माइल टाढा पर्दाे रहेछ पारसमणिको घर । त्यहाँको चलन अनुसार कतिपय ग्रामीण बस्तीहरूलाई माइलको आधारमा परिचय गराइँदो रहेछ । 

वास्तवमा कालिङपोङमा बसेर पनि नेपाली भाषा–साहित्यको सेवामा अनवरत लागिरहने पारसमणि यथार्थमा ‘पारसमणि’ नै । प्रथमपटक त्रिभुवन पुरस्कार र मदन पुरस्कार समेत पाउने पारसमणि प्रथम भारतीय नेपाली थिए । उनैको सम्पादनमा ‘चन्द्रिका’ प्रकाशित भएको थियो । कालिङपोङको सौन्दर्य बखान गर्दै मैले इतिहास बुझ्न खोजेँ । बिष्टले मेरो जिज्ञासा मेटाए— पहिले कालेबुङ सिक्किम राज्य अन्तर्गत थियो । सन् १७०६ मा भूटानले जितेर लियो । सन् १८६५ मा अँग्रेजले विजय प्राप्त गरेर इन्डियामा विलय ग¥यो र सैन्य अखडा राख्यो ।

सञ्जय बिष्टले के कुरा पनि जानकारी गराए भने— ‘‘सुधपा’ भनेजस्तै हामीले ‘मोपपा’लाई कालिङपोङका तीन महारथी मान्छौँ, अर्थात् मोतीचन्द्र प्रधान, पद्मलाल सुब्बा र पारसमणि प्रधान । 
उनले धेरै कविता लेखेनन् । जति लेखे, सटीक लेखे । कविताबारे उनको स्पष्ट दृष्टिकोण रह्यो— 
कवि कविता होस्, कविता कवि होस्, तब पो कविता हुन्छ । 

शब्द थुपारीकन के हुन्छ ? भाव भए पो हुन्छ ।
समयको परिपालना गर्दै हामी दुई बज्नुअघि नै नेपाली साहित्य अध्ययन समितिको कार्यालयमा पुग्यौँ । भाइचन सभाहलमा समयमै सुरु भयो कार्यक्रम । आयोजक र आमन्त्रित संस्थाका सभापतिहरू र साहित्यसेवी वृद्धा सानुमती राईलाई मञ्चासीन गराइएको उक्त कार्यक्रममा संस्थाका सचिव तथा कार्यक्रम सञ्चालक बलभद्र शर्माले सुजाता, वर्षा र सञ्जयको सहयोगमा अतिथिहरूलाई खादा र किताबहरू अर्पेर औपचारिक स्वागत गरे र संस्थाको सङ्क्षिप्त परिचय दिए । 
त्यस संस्थाले वर्षेनी पारसमणि पुरस्कार, भाइचन प्रधान पुरस्कार, ‘साहित्य सङ्केत’ पत्रिकाका उत्कृष्ट रचनाकारलाई समेत पुरस्कार दिने व्यवस्था गरेको रहेछ । संस्थाको मुखपत्र साहित्य सङ्केतको पैँतिसौँ अङ्क पनि सार्वजनिक भयो त्यसै बेला । 

मनीन्द्र भुजेल, डिपी अधिकारी, टिबी ठकुरी, मदना ओझा, मनोज बोगटी, डा. सरोज राई, लता राई, सुधा राई, मोक्ता लामा, रुद्र कार्की, ललिता दोषी, मेहरमान सुब्बा, तारानाथ सुवेदी, कुमार गजमेर, एसएम राई, हरिस मोक्तान, उमेश उपमा, प्रदीप लोहागन, सुधीर क्षेत्री, अनिल तलेजा, पुकार राई, गणेश पाख्रिन, सीताराम गुरुङ र विमल वैद्यले कविता वाचन गरेपछि पुस्तक, पत्रिका र सम्मान आदानप्रदान गरी कार्यक्रम सकियो । 

समय ३ः४५ भइसकेको हुँदा हामी ढीलो नगरी त्यहीँ अगाडि बाटोमा उभिएर हाम्रो प्रतीक्षा गरिरहेका जीपहरूमा बसी हिँडिहाल्यौँ । अबको हाम्रो गन्तव्य थियो सिक्किम । यसर्थ हामी गएकै बाटो ओर्लन थाल्यौँ । ओर्लँदै गर्दा सीताराम गुरुङको कविताको बखान भयो । 

प्रथमपटक वाचित कविता र जिन्दगीको छैटौँ कविता भनी रटान दिइरहेका सीतारामलाई अब कहीँ पनि त्यसो नभन्न सुझाव दिए साथीहरूले । त्यसपछि विमल वैद्यका कविता सुन्दै ओर्लियौँ टिष्टा किनारमा र टिष्टाको पूर्वी तीरैतीर लाग्यौँ सिक्किमतर्फ । 

बाटोको छेउमा ठडिएको बोर्डले जानकारी दियो— गान्तोक ७० किलोमिटर । वारी जङ्गल, पारी जङ्गल, बीचमा नदी र नदी किनारमा बनेको मोटरबाटो । यस बाहेक नगण्य भेटिन्छन् नदी किनारमा बस्तीहरू । फेरि भेटियो विद्युत् गृह । 

म देख्दै आएको छु, नदीको पानीलाई त्यसै बग्न दिइएको छैन । पानी सङ्कलन, विद्युत् उत्पादन, फेरि सङ्कलन, फेरि उत्पादन । हाम्रा नदीनालाबाट अथाह जलराशि त्यसै बगेको देखेर मन कुँडियो । बगेको बग्यै छ पानी, बगेको बग्यै छ जवानी । 

‘टिष्टाको पानी त्रिशूलीको जस्तै’ - ठाकुर शर्माको दृष्टि । 
थाहा छैन पानीको रङ फरक हुन्छ कि हुँदैन । नहुनु पर्ने हो तर फरक देखिन्छ । टिष्टाको पानी देखेर मलाई पनि शर्माको दृष्टिमा साक्षी बन्न मन लाग्यो । 

‘पश्चिम किल्ला काँगडा पूर्वमा टिष्टा पुगेथ्यौँ’— टिष्टाले सम्झाइरह्यो नेपालको इतिहास । त्यसबेला वीर गोरखालीहरू टिष्टा किनारसम्म आए तर नदी तरेनन् । दामोदर पाँडेले बैरीहरूलाई काटेको रक्ताम्य खुँडा टिष्टामा पखालेर फर्केका थिए रे ! त्यो ठाउँ कहाँ होला ? — मेरो जिज्ञासा । 
‘मल्ली’ भन्दा अलिकति तल ‘रङ्गीत’मा । त्यो ठाउँ यतै पारिपट्टि हुनुपर्छ !’ — विमलको सन्देहपूर्ण जवाफ आयो । 

बाँदर र चराचुरुङ्गीहरू निकै रहेछन् क्यारे त्यस वनमा ! ठाउँ ठाउँमा सडक छेउको प्यारापीठमा बसेका देखिन्थे बाँदरहरू र चराका बथानहरू पनि मालश्री बनेर जङ्गलको वारी र पारि गरिरहेका देखिन्थे । तिनीहरूले भन्दा मेरो ध्यान आकर्षण गरेको थियो परेवाले । बाटोको मध्यभागमा फटफटाइरहेको (छटपटाइरहेको वा फुरफुराइरहेको ?) एउटा परेवाले बाटो नछोडिदिएपछि ड्राइभरले जीपलाई छेउतिर मोडेर कुदाएको थियो । मेरो मस्तिष्क तरङ्गित भएको थियो त्यस बेला — पति वा पत्नीको वियोग सहन नसकेर आत्महत्या गर्न खोजेको त होइन यो परेवा ? 

टिष्टाको पूर्वी किनारमा एउटा ठूलै भवनको धुरीमा क्ःक्ष्त् लेखिएको देखियो टाढैबाट । त्यो सिक्किम मणिपाल इन्स्टिच्युट टेक्नोलोजी रे ! पोखराको मणिपाल त्यसैको सम्बन्धन रे ! यसको अर्थ हामी पूर्वी सिक्किममा प्रवेश गरिसकेका रहेछौँ । 

पूर्वी सिक्किम अर्थात् गान्तोक जाने प्रवेशद्वार ‘मल्ली’ आउनै बाँकी छ । केही छिनमै हाम्रो नजर प¥यो, टिष्टाको पश्चिमतर्फ मल्ली बजारमा पनि । 

टिष्टामाथि तेर्सिएको पक्की पुल पनि देखियो लगत्तै । हामी पुग्यौँ सिङ्ताम र पुल तरेर प्रवेश ग¥यौँ मल्ली बजारमा । दक्षिण लागे जोरथाङ, उत्तर लागे गान्तोक । हाम्रो गन्तव्य गान्तोक । त्यसैतर्फ मोडिँदा गान्तोक प्रवेशद्वार देखियो— गान्तोकमा तपाईंलाई स्वागत छ । 

क्यामेरा निकालेर तेस्र्याएँ त्यतैतिर । ड्राइभरले मेरो हातै झड्कारी दियो— ‘के ठान्नुभएको छ तपाईंले ? यो सिक्किम हो, कडा छ नियम ।’ 

उसको असभ्य व्यवहार निको लागिरहेको थिएन मलाई तर केही भनिनँ । अर्काको देशमा छु, मेरो कारण अनावश्यक विवाद बढ्यो भने यात्राटोलीलाई नै अप्ठ्यारो...... । 

सम्झेँ, मातृकाजीले भनेको कुरा - ‘ड्राइभर र होटलको बेयरासँग कहिल्यै झोक्किनु वा रिसाउनुहुँदैन, त्यसको प्रतिफल उल्टो हुन्छ ।’ त्यति भनिसकेपछि कारण खोजिरहनु परेन मलाई । 

गेटमा जीप रोकेर सोधपुछ ग¥यो सुरक्षा प्रहरीले । 
‘हामी नेपालबाट आएका, नेपाली साहित्यकारको टोली .....।’ 
त्यसपछि प्रहरीले ड्राइभरलाई भन्यो— ‘परमिट लिएर जाऊ ।’ 
परमिट लिने ठाउँ कतै थियो होला ! तर ड्राइभरले कतै नरोकेर कुदायो जीप । 
हामीले सोध्यौँ— ‘के परमिट नलिए पनि हुन्छ ?’ 

‘लिन थाल्ने हो भने झन्झट हुन्छ । यिनीहरूले भनेको समयमा फर्किनुपर्छ, रेकर्ड रहिरहन्छ ।’ — ड्राइभरले जवाफ दियो । 

त्यो हाम्रो समस्याको विषय थिएन, हामीलाई रोकिनुपरेन राम्रै भयो । मल्लीबाट हामीले छाड्यौँ टिष्टालाई । बाटो छेउको पक्की पिलरमा लेखिएको अङ्कले स्पष्ट पा¥यो — गान्तोक (न्बलनतयप) २७ किलोमिटर । सजिलोका लागि हामीले गान्तोक भन्यौँ तर अङ्ग्रेजीमा हुँदो रहेछ— गङ्गटोक । 

हामी करिब पाँच किलोमिटर तेर्सो गएर रानीखोलाको किनारै किनार उकालो लाग्यौँ । दूरभाष केन्द्र र  आकाशवाणीका बोर्डहरू देखिए । रोचक दाइको आँखा परेछ एउटा भित्तोमा । लेखिएको रहेछ— आफ्नो गाउँ आफैँ बनाऊँ । यो शब्द नेपालबाट यता आएको हो कि यताबाट उता गएको हो ? खोजीकै विषय भयो । 

बाटो सफा थियो, वातावरण हरियालीपूर्ण थियो । ड्राइभर भन्दै थियो— ‘सिक्किम लागेको थाहा पाउने मुख्य सङ्केत हो सफा बाटो ।’ 

सीतारामजीलाई रानीखोला पारिपट्टिको गाउँ राम्रो लागेछ । सोध्नुभयो ड्राइभरलाई ।
भन्यो — ‘मैले गाडी यहीँ रोकिदिन्छु तपाईं गएर सोधेर आउनुस् ।’ 

अब हामी हाँस्ने कि प्रतिवाद गर्ने ! — मातृकाजीकै भनाइ सम्झेर चूप लागिरह्यौँ । 
सिक्किमको उत्पादन र आयआर्जनको मुख्य स्रोत के हो ? आपसमा सम्वाद ग¥यौँ हामीले । सिक्किम व्रान्डेड रक्सी, जडिबुटी, औषधी र पर्यटन । राँचीको प्रमुख माग नै सिक्कमको औषधी रहेछ । 

कुन्नि कताबाट निस्क्यो राधेश्यामको कुरा । कुनै बेला नरबहादुर भण्डारी र पवन चामलिङसँग राधेश्यामको घनिष्ठ सम्बन्ध थियो । दसैँको बेला उनी प्रायः सिक्किम गइरहन्थे । 

कालिङपोङमा बढी समय प्रतीक्षा गर्नुपर्दा मुडअफ भएको थियो सायद ड्राइभर । त्यही रिस पोख्दै थियो हामीहरू माथि । त्यसैको प्रतिफल थियो सीमाद्वारको घटना । 

बाटोको छेउछाउमा देखिँदै थिए ‘वेष्ट अफ वेष्ट सिक्किम’ ‘ग्रिन सिक्किम, क्लिन सिक्किम’ ‘बाहिर पिसाप फेरेमा एक हजार जरिवाना’ आदि आदि । 

करिब १० किलोमिटर तलबाट हामी रानीखोलाको पुल तरेर गान्तोक उकालो लाग्यौँ । सूर्यले नेटो काटिसकेका थिए । भूतलमा सन्ध्याको प्रवेश भइसकेको थियो तापनि विद्युत् प्रकाशमा बाटो छेउछाउका भौतिक संरचनाहरू देखिँदै थिए । चामलिङलाई जोडेर सिक्किमको कुरा गर्दै थियौँ हामी । कसैले तीन दिनअघि धरती छाडेका लि क्वान युको सम्झना गर्दै थिए । केही साथीहरू ठट्टा पनि गर्दै थिए— पवन चामलिङ (राई)लाई लिएरै जाउँ नेपालमा । जे होस् नेपाल बनाउनका लागि हामीले इमानदार र उदार तानाशाहको आवश्यकता महसुस गर्दै थियौँ । 

कुरैकुरामा हामी घुम्ती घुम्ती हुँदै निकै माथि उक्लेछौँ । जीप मुख्य मार्ग छाडेर सहायक मार्गतिर लाग्यो र ठीक सात बजे गान्तोकको जीपपार्कमा ओराल्यो । 

डाँडोको पाखोमा तलैतला पारेर बनाइएको जीपपार्कलाई देखेर मलाई विकसित राष्ट्रहरूको सम्झना भयो । पाश्चात्य मुलुकहरूमा घुम्दा मैले नौ तलासम्मका बसपार्कहरू देखेको थिएँ । सिक्किम साहित्य परिषदका पदाधिकारीहरूसँग सम्पर्क गर्नका लागि हाम्रै टोलीका सदस्य विमल वैद्यसँग भारतीय सिम भएकोले सजिलो भएको थियो । उनले त्यहाँबाट पनि सम्पर्क गरे सिक्किमे साहित्यकारहरूलाई । 

हामी बस्ने म्याग्नोलिया होटल पुग्नका लागि ट्याक्सी चढ्नुपर्दाे रहेछ । चारवटा ट्याक्सी आवश्यक भयो हामीलाई । टोलीनेता गुरुङले वार्गेनिङ गर्न खोज्नुभयो तर ट्याक्सी ड्राइभरले भन्यो— ‘रेट फिक्स छ, तलमाथि गर्नै मिल्दैन ।’ 

मेरो मनले भन्यो— नियम कानुन बनाएर मात्रै के गर्ने ! लागु गर्न सके पो ! पालना गराउने आँट चाहियो शासकमा र इमानदारी चाहियो जनतामा पनि । अनि पो बन्छ देश । 

म्याग्नोलियाको अगाडि पुगेर ट्याक्सीबाट ओर्लिंदा सिक्किम साहित्य परिषद्का अध्यक्ष पारसमणि दङ्गाल र सचिव नीलम न्यौपाने हाम्रो स्वागतार्थ उभिएका देखिए । 

३. ग्रीन सिक्किम, क्लिन सिक्किम, ब्युटी सिक्किम
‘कता बसेका छन् हाम्रा बराजु भानुभक्त ? भेट्नु त प¥यो नि ! आशीर्वाद पनि लिनुप¥यो ।’ — बिहानैदेखि चर्चा भएको थियो हामीहरूबीच । 

दिन थियो— २०७१ साल चैत्र १५ गते र स्थान थियो — सिक्किम मध्यबजारको होटल म्याग्नोलिया । 

एउटा अचम्मको कुरा— सिक्किममा पनि भानुभक्त बस्छन् भन्ने धेरैलाई थाहा रहेछ तर कहाँ बस्छन् भन्ने कसैलाई थाहा रहेनछ । यसको अर्थ हाम्रो यात्रासमूहका कुनै पनि सदस्य सिक्किम पुगेका रहेनछन् । सिक्किम साहित्य परिषद्को तर्फबाट हामीलाई बिहान कतै भ्रमणमा लैजाने योजना नभएकोले परिषद्का सदस्यहरू त्यहाँ उपस्थित नहुँदा पनि हामीलाई समस्या परेको थियो । 

कति नै ठूलो छ र गान्तोक बजार ! बटुवालाई सोधेर पनि त भानुभक्त निवास पत्तो लगाउन सकिएला नि ! भन्ने सोचेर हामी निस्कियौँ होटलबाट बिहान ८ बजे । 

फलामे बार बाहिरपट्टिको फुटपाथ प्रयोग गरेर उकालो लाग्दै गर्दा बाटोमा पुलिस हेडक्बार्टर भेटियो, सुप्रिमकोर्ट भेटियो, मुख्यमन्त्रीको कार्यालय मेनन भवन भेटियो, एसम्ब्ली हाउस भेटियो । ठाउँठाउँमा आउने आकासे पुल (ओभरहेड ब्रिज)हरू नाघ्दै अगाडि बढ्दै गर्दा टाइटानिक पार्क, मिलेनियम पार्क जस्ता हरित उद्यानहरू बाटोको माथिपट्टि देखिए र झन्डै ५ सय मिटर तल पाल्जोर स्टेडियम पनि देखियो । 

तानसेन जस्तै डाँडोमा बसेको गान्तोकको संरचना अद्भुत लाग्दै थियो मलाई । भीर–पाखामा पनि बनेका छन् घरहरू र ती पक्की घरहरूको माथिल्लो छत जस्ताले ढाकिएको छ । घरहरूमा जस्ताको टोपी लाइनु नै सिक्किमको पहिचान रहेछ र त्यो पहिचान स्थापित गर्नका लागि सरकारले अनुदान दिँदो रहेछ । 

हामी जिरो प्वाइन्टमा पुगेछौँ । बाटोमाथिपट्टि ठिङ्ग उभिएका देखिए भानुभक्त । बिचरा भानुभक्त ! एउटा ओत पनि पाएका रहेनछन् । करिब आधा रोपनी खुल्ला चौर भोगबन्धकीमा परेकोमा उभिएका भानुभक्तआश्रित जग्गा सुरक्षित देखिएन । हामी केहीबेर बेन्चमा बसेर सुस्तायौँ र भानुभक्तलाई बीचमा पारेर एकल वा सामूहिक फोटोहरू खिच्यौँ । भानुभक्तको त्यो शालिक २३ जुलाई १९८९ मा बनेर तत्कालीन मुख्यमन्त्री नरबहादुर भण्डारीबाट अनावरण भएको रहेछ । त्यसयताका पच्चीस वर्षमा बार लगाउने काम पनि हुन सकेनछ । 

मेरो नजर त्यहीँ मुनि बाटो छेउमा ठडिएको मार्गसूचक स्तम्भमा प¥यो । हामी उभिएको ठाउँ गान्तोकको केन्द्रविन्दु, अर्थात् जीरो प्वाइन्ट । त्यहाँबाट दक्षिण सिलगढी ११६, राङ्गपो ४१, रानीपुल ११ किलोमिटर । उत्तरतर्फ नाथुला ५३, सोम्गो ३५, माङ्गन ६८, लाचुङ १२३ किलोमिटर । चीन र भारतको सिमाना छोङ्बु क्षेत्र पुग्न भने लामो यात्रा तय गर्नुपर्दाे रहेछ । 

फर्कने बेलामा माथिल्तिरबाट चार÷पाँचवटी बहिनीहरू त्यही भानुभक्तचर्चित भूमि हुँदै ओर्लिए । फरासिला र गोरा ती बहिनीहरूले सोधिहाले । उनीहरूले हामी नेपालबाट आएको पत्तो पाइसकेछन् । भनिहाले— ‘नत्र यस ठाउँमा अरु को आउँथ्यो ?’ 

उनीहरू बौद्धगुम्बा गएर आएका रहेछन् । भन्दै थिए— ‘टाढा छैन, तपाईंहरू गएर आउन सक्नुहुन्छ । त्यहीँ नजिकैबाट भारत–चीन बोर्डर नाथुला पनि देख्न सक्नुहुन्छ र चाइनाको भूमि पनि अवलोकन गर्न सक्नुहुन्छ ।’ 

म उत्साहित हुँदै थिएँ उनीहरूको कुराले, तर भ्यालीका बसाहाहरूले आँट गरेनन्, अल्छीको भाषा प्रयोग गरे— ‘खाना खाएर ११ बजे कार्यक्रममा पुग्न भ्याइँदैन ।’ 

फर्कँदै गर्दा बाटोमा सिक्किमबासी मेनुका पौडेल भेटिइन् । उनी राम्री थिइन्, स्मार्ट थिइन् र फरासिली पनि थिइन् । बाटो काट्ने सुयोग मिल्यो । हाम्रा प्रश्नहरूको उत्तर दिँदै थिइन् उनी । शिक्षा र स्वास्थ्यमा सरकारले राम्रो सुविधा प्रदान गरेको रहेछ । पर्यटन विकासका लागि केन्द्र सरकारले पनि सघाउँदो रहेछ । तर सरकारी सेवामा प्रवेश गर्न भने सर्वसाधारणका लागि फलामको ढोका सरह कठिन रहेछ । आफ्नो मान्छे मन्त्री नभएसम्म चिहाउँनै नपर्ने रे ! त्यसै भएर उनी प्राइभेट स्कूलमा अध्यापन गर्दिरहिछन् । 

बाटोमा भेटिएका चर्च र गुम्बाहरूलाई देखेर मैले धर्मको बारेमा पनि जान्न चाहेँ । पौड्यालको भनाइमा गान्तोकमा बुद्धिष्टहरूको बाहुल्य रहेछ र त्यसपछि क्रमशः हिन्दू, क्रिश्चियन र मुस्लिमको पालो आउँदो रहेछ । तर वृद्धिको अनुपात भने क्रिश्चियनको अत्यधिक रहेछ । 
अर्की सिक्किमेली बहिनी पवित्रा भण्डारीसँग पनि परिचय भएको थियो बाटैमा । उनले पनि हामीलाई साथ दिएकी थिइन् एकछिन । अप्ठ्यारो मानीमानी सरकारी रवैयाको झल्को दिएकी थिइन् उनले — ‘सरकारविरोधी नाराजुलुस गरिहाल्न कठिन छ यहाँ । पत्रपत्रिकामा सूचना प्रवाह गर्दा पनि गम्भीर ध्यान पु¥याउनुपर्छ यहाँ । सरकारी कार्यशैलीका आलोचकले स्पष्टीकरण दिइरहनुपर्ने अवस्था सिर्जना भइरहन्छ यहाँ । 

हामी मेनन भवनको द्वार, अर्थात् जीवन थिङ मार्गको प्रारम्भ विन्दुमा आइपुगेछौँ । अघि शून्यता छाएको  द्वारमा अहिले एउटी महिला सैनिक उभिएकी देखिइन् । उनको नाम रहेछ— उमा रेग्मी । उनले भनिन् — ‘मुख्यमन्त्री पश्चिम सिक्किमको भ्रमणमा रहनुभएकोले चहलपहल नभएको ।’ हामीले अनुरोध ग¥यौँ, उनी सामूहिक फोटो खिचाउन तयार भइन् ।
साढे नौ बजे नै फर्कियौँ हामी होटलमा । साढे दस बजे खाना खाएर एघार बजे कार्यक्रम स्थलमा पुग्नुपर्ने हामीहरू एक घण्टा के गरेर बस्ने होटलमा ? यो समय सदुपयोग गर्न पाएको भए कति राम्रो हुन्थ्यो ? मेरो मन छटपटियो । ममात्र छटपटिएर के गर्ने ? असन्तुष्टि व्यक्त गर्ने मसँग कुनै आधार थिएन । झिनो आशा राखेँ — कार्यक्रम समाप्तिपछि केही समय बाँकी रहन्छ कि ! 

ठीक एघार बजे हामी सिक्किम साहित्य परिषद्को कार्यालयमा पुग्यौँ तर संस्थाका सचिव नीलम न्यौपानेले माइक खोले आधा घण्टापछि । उनले सङ्क्षेपमा संस्थाको परिचय दिए— ‘सन् १९८१ मा स्थापित सिक्किम साहित्य परिषद् सिक्किम राज्यकै उत्कृष्ट साहित्यिक संस्था हो र यस संस्थाबाट बर्सेनी भानु पुरस्कार, मित्रसेन स्मृति पुरस्कार, कृष्ण सुब्बा पुरस्कार र उत्कृष्ट विद्यार्थी पुरस्कार दिने परम्परा कायम राखेको छ ।’ 

सिक्किम विश्वविद्यालयका प्राध्यापक रुद्र पौडेल सभापति, महेन्द्र गुरुङ प्रमुख अतिथि रहेको त्यस कार्यक्रममा कविता लामा, देप्या तामाङ, चक्रपाणि भट्टराई, एनएल कपिल, तेजमान बराइली, टिपी चन्द्र सुब्बा, रूपेश, नवीन लामिछाने, चेतराम घिमिरे, विनाश्री खरेल, दीपा राई, जेएन शर्मा, रबि पौडेल, विना सुब्बा, शिव दर्नाल, सुखिम तिमल्सिना, शेरबहादुर कार्की, प्रवीण खालिङ, राजु गिरी, टीका ढुङ्गेल, अमर नासिक, अर्जुन बेहोसी, ललिता दोषी, ठाकुर शर्मा, यादव भट्टराई, सीताराम गुरुङ, लक्ष्मी उप्रेती, जलेश्वरी श्रेष्ठ, तुलसीहरि कोइराला, विमल वैद्य र रामप्रसाद पन्तबाट कविता वाचन भएपछि गान्तोक भन्दा दुई घण्टा दूरीको नाम्चीमा बसोबास गर्ने सिक्किमेली प्रसिद्ध साहित्यकार तथा स्रष्टा, कञ्चनजङ्घा र स्रष्टा पत्रिकाका सम्पादक पद्मश्री पुरस्कार विजेता केदार गुरुङलाई सम्मान अर्पण गरियो र सिक्किम साहित्य परिषद्लाई प्रशंसापत्र प्रदान गरियो । 

त्यसपछि दुर्गा दाहालबाट ‘नेपाली साहित्यको विकासक्रम ः नेपाल भित्र र बाहिर’ र सिक्किम साहित्य परिषद्का अध्यक्ष पारसमणि दङ्गालबाट ‘नेपाली साहित्यको विकासक्रम’ नामक दुई कार्यपत्रहरू प्रस्तुत भएपछि वनिताको सिक्किम विशेषाङ्क विमोचन भयो । मातृका पोख्रेल, रोचक घिमिरे र महेन्द्र गुरुङको सङ्क्षिप्त मन्तव्यपछि मायाको चिनो लगायत दायित्व, रचना, वनिता र मधुपर्कका प्रकाशनहरू अर्पण गर्ने काम भयो । 

अन्त्यमा सभापति पौडेलले अगमसिं गिरीको कवितालाई उद्धृत गर्दै बडो भावमुग्ध भएर नेपाली भाषासाहित्यले स्थापित गरेको सौहाद्र्र सम्बन्धको बारेमा विद्वत्तापूर्ण मन्तव्य दिए — 

‘काँडाको बीच पहाडी फूल, छैन र कहाँ हाँसेको ? 
अर्थात् जहाँ हृदय बोल्छ, त्यहाँ राजनीतिक सीमा रहँदैन । त्यस्तो धार्मिक, भाषिक र सांस्कृतिक सिमाना भलै चीनसँग नमिल्ला, हामीसँग मिल्छ । हाम्रो माटो फरक छ, तर गन्ध एउटै छ । हाम्रो मुटु फरक छ तर धड्कन एउटै छ । काठमाडौँको भन्दा कम जनसङ्ख्या भएको सानो सिक्किम हात्तीको आँखाजस्तै हो । वसुधैव कुटुम्बकम् भन्ने वैदिक संस्कारले सीमा वारिपारिका हामी सबै नेपालीभाषीलाई एकै ठाउँमा समेटेको छ । हाम्रो संस्कृति इन्डियन संस्कृति होइन, भारतीय संस्कृति हो । इन्डिया, पाकिस्तान, अफगानिस्तान, बङ्गलादेश, भूटान र नेपाल सबैको संयुक्त रूप हो— भारतीय संस्कृति । भाषा–साहित्यका सेवक हौँ हामी । भाषा–साहित्यको सेवा गर्दा हामीलाई दुःख पनि सुखमा परिणत हुने गर्छ । हनुमानले जस्तो छाती चिरेर राम र सीता देखाउन त सक्तैनौँ तर हाम्रो हृदयमा तपाईंहरू हुनुहुन्छ, नेपाली भाषा र संस्कृति छ । त्यो तपाईंहरूसँग साटासाट गर्न सक्छौँ । माया र प्रेम जति पनि दिन सक्छौँ । इन्जिनियरले बनाएको पुल भत्कन सक्छ तर नेपाली भाषा र संस्कृतिसँग जोडिएको हाम्रो हृदयको पुल भत्किन सक्तैन । हामीलाई गर्व छ, नेपाली जाति चोरेर, ठगेर, वेइमानी गरेर खाँदैन । परिश्रम गरेर खान्छ ।’ 
हामीले ताली ठोकेर प्रशंसा ग¥यौँ, रुद्र पौडेलको मन्तव्यलाई । 

३ः३० मा कार्यक्रम सकियो । 
इच्छाशक्ति भएको भए कार्यक्रमपछि पनि कुनै पर्यटकीय स्थलमा पुग्न सकिन्थ्यो तर नयाँ ठाउँ हेरेर, नयाँ नयाँ अनुभूतिहरू सँगाल्ने चाहना नै नभएपछि मेरो इच्छाले मात्र काम गरेन । म निरीह थिएँ, म बोल्न सक्तिनँ थिएँ । प्रतिवाद गर्ने मसँग कुनै आधार थिएन । मेरो भावनाप्रति भावुक बन्ने मानिसको अनिकाल थियो । सिक्किमेलीहरू सोच्दा हुन् आफूजस्तै सबै देखेको, सबै बुझेको । 
गान्तोकमाथिको उच्च घाँटी हनुमान टक जाने योजना पनि तुहिएपछि म अत्यन्त आहत मुडमा खुम्रिएको थिएँ । त्यही व्यथित मन बहलाउन रोचक घिमिरे, ठाकुर शर्मा र म ‘एमजी रोड’ले प्रख्यात महात्मा गान्धी रोडतिर लागेका थियौँ । करिब पाँच सय मिटर लम्बाइ भएको फराकिलो त्यो रोड हाम्रो दरबारमार्ग वा नयाँसडक भन्दा कम थिएन सौन्दर्यको दृष्टिले अझ एक कदम अगाडि थियो । बेलुका प्रज्ज्वलित रङ्गिचङ्गी बत्तीहरूले पूरै रोड झल्झलाकार भएको थियो । कतै गान्धीका मूर्ति र कतै रोडको मध्यभागमा ठडिएका रुखहरूले बेञ्चमा बसी सुस्ताउनेहरूका लागि आह्लादकारी सिद्ध भएको थियो । गान्तोक मुख्य बजारको त्यो एमजी रोडले साँच्चिकै हामीलाई अघाउने गरी आनन्द दिएको थियो । तर सिक्किमबाट ल्याएको झल्को दिने ‘सिक्किम’ लेखिएको सिक्किममै बनेको मायाको चिनो खोज्न दर्जनौँ पसल चहार्दा पनि हामीले त्यस्तो बस्तु भेटाएनौँ । 
सिक्किमेली साहित्यकारहरूको तर्फबाट हाम्रो आतिथ्यमा बेलुका रसपानको आयोजना गरिएको थियो । त्यसबेला गफिएका थियौँ हामी मज्जैले र बीचबीचमा मैले सिक्किमका विभिन्न दर्शनीय र पर्यटकीय स्थलहरूबारे जिज्ञासा राख्ने मौका पाएको थिएँ —

देउरालीदेखि सचिवालयसम्मको करिब डेढ किलोमिटर केवुलकार, टासी भ्यु प्वाइन्टबाट देखिने कन्चनजङ्घाको सुन्दर दृश्य, हिमालयन जुलेजिकल पार्क, चोग्याल मेमोरियल पार्क, वनझाँक्री तथा इनर्जी पार्क, हनुमान टकबाट देखिने दूरस्थ चाइनाको भूमि, रुम्तेकको धर्मचक्र सेन्टर, सोम्गो लेकहरू, गान्तोक परिसरका दर्शनीय स्थलहरू रहेछन् । 

सिक्किम पार्वत्य प्रदेश भएकोले सिक्किम राज्यमै रेल यातायात रहेनछ । सिक्किमको लागि नजिकको रेलवे स्टेशन भनेको दार्जिलिङको घुमपहाड रहेछ तर त्यो रेल यातायात सेवाको लागि भन्दा पनि सांस्कृतिक सम्पदाको रूपमा परिचालित भएको हुनाले रेल सुविधा उपभोग गर्न चाहने सिक्किमेलीहरू सिधै सिलगढी पुग्दा रहेछन् । 

खासगरी पूर्व, पश्चिम र उत्तर, दक्षिण गरी चार जिल्लामा विभाजन गरिएको सिक्किमको पूर्वी मुख्यालय गान्तोक, पश्चिमी मुख्यालय गेजिङ, उत्तरी मुख्यालय मगन र दक्षिणी मुख्यालय नाम्ची रहेछन् । भारतको दोस्रो सानो तथा बाइसौँ राज्य सिक्किम सन् १९७५ मा भारतमा गाभिनुअघि सिक्किम राज्यका अन्तिम राजा पाल्देन योन्डुप नाम्ग्याल र अन्तिम प्रधानमन्त्री लेन्डुप दोर्जी थिए रे !

सिक्किम भारतमा गाभिएको बारे सिक्किमेली जनताका विभिन्न मतहरू रहेछन् — मतदानद्वारा खुसीसाथ गाभिएको भन्नेहरू र राजा तथा दिल्लीको गोप्य सम्झौताबाट जनमत विपरीत गाभिएको भन्नेहरू । हाल सिक्किममा नरबहादुर भण्डारीको नेतृत्वमा सञ्चालित सिक्किम पार्वत्य परिषद् र पवन चामलिङको नेतृत्वमा सञ्चालित सिक्किम डेमोक्रेटिक फ्रन्ट नामक दुई पार्टी प्रमुख अस्तित्वमा रहेछन् । भण्डारीले लगातार पन्ध्र वर्ष मुख्यमन्त्रीको पद सम्हालेपछि सन् १९९४ देखि लगातार पाचौँ कार्यकाल व्यतीत गर्दै रहेछन् पवन चामलिङ ।

चामलिङकै दूरगामी परिकल्पनामा नयाँ युगतिर अग्रसर हुँदै रहेछ हालको सिक्किम । मुसलमानको मक्का–मदिना, क्रिश्चियनको भेटिकन सिटी, बुद्धिष्टको लुम्बिनी–बोधगया, हिन्दूको चारधाम जस्तै सिक्किमलाई धार्मिक पर्यटनको रूपमा विकसित गर्ने सोचाइमा रहेछन् चामलिङ । नाम्ची सोलोफोकको सिद्धेश्वर चारधाम, साम्दुप्चेको गुरु रिम्पोछे शालिक, राभङ्लाको बुद्धपार्क, चेरेङ्जीको तेन्जिङ नोर्गे पार्क, आसाङथाङको साई केन्द्र सिक्किमका आधुनिक आकर्षण केन्द्रहरू रहेछन् । सौन्दर्य, शान्ति, पर्यटन र आतिथ्यलाई चार मन्त्रको रूपमा लिएर अगाडि बढेका रहेछन् चामलिङ । कञ्चनजङ्घा, छाँगु, खेचिपोखरी, दूधपोखरी, हरितपोखरी, हाँसपोखरी, सत्रपोखरी, मैनाक डाँडा आदिको प्राकृतिक सौन्दर्यलाई अलिकति पनि विकृत हुन नदिने योजनामा लागेका रहेछन् चामलिङ । जैविक विविधता र रेडपान्डाजस्ता दुर्लभ वन्यजन्तुहरूको संरक्षणमा कटिबद्ध भएर लागेका रहेछन् चामलिङ ।

पौराणिक कथन अनुसार— सिक्किमलाई इन्द्रकिल अर्थात् इन्द्रको फूलबारी भनिँदो रहेछ । जहाँ देवी देवता, अप्सरा, परी, गन्धर्व, किन्नरहरू क्रीडा गर्छन् । मन बहलाउँछन् र ऋषिमुनिहरू तपस्यामा लीन रहन्छन् । त्यही स्वर्गको टुक्रा हो सिक्किम । 

लेप्चा भाषामा सुहिमको अर्थ हुँदो रहेछ— राम्रो । त्यही सुहिमबाट सुकिम र सुकिमबाट सिक्किम भएको अर्थ लगाउँदा रहेछन् लेप्चाहरू । लिम्बु भाषामा सिक्किमको अर्थ हुँदो रहेछ— नयाँ मुलुक । सिक्किम नयाँ मुलुक नै भएको तर्क गर्दा रहेछन् लिम्बुहरू । साँच्चै नै अनौठो रहेछ जातिविशेषको अभिमत ।  कसैको गङ्गटोक, कसैको गान्तोक । कसैको सुखिम, कसैको सिक्किम । कसैको सिलगढी, कसैको सिलीगुरी । कसैको दोजिङ, कसैको दार्जिलिङ । कसैको कालिङपोङ, कसैको कालेबुङ । कसैको टिष्टा, कसैको तिस्ता । आ–आफ्नै भाषाभाषिका, आ–आफ्नै उच्चारणहरू । 

जोसमनि सन्त परम्पराका प्रचारक ज्ञान दिलदासको जीवन विसर्जन भूमि पनि रहेछ सिक्किम । वि.सं. १८७८ मा इलामको आमचोकमा लामिछाने ब्राह्मण परिवारमा जन्मेका दिलदास विवाहित मात्र होइन सन्तानका पिता पनि भएका थिए । तर पाँचथरको नागिन गुरुकुलमा दीक्षित भएपछि उनले घरपरिवार छाडेर ओखलढुङ्गाको रुम्जाटारलाई कर्मथलो बनाए । जीवनको अन्तिम चरणमा उनी दार्जिलिङ हुँदै सिक्किम प्रवेश गरे र पश्चिम सिक्किमको गेजिङमा वि.सं. १९४० मा देहत्याग गरे । 

ज्ञान दिलदासको कुरा मात्र होइन, भाषा–साहित्य र संस्कृतिको दृष्टिले हामी आदिकालदेखि नै सीमाहीन सम्बन्ध राख्दै आएका छौँ । यसै नाताले सिक्किमेलीहरू नेपाल पुग्छन् र नेपालीहरू सिक्किम आउँछन् । यो सम्बन्ध कहिल्यै पनि खुकुलो नहुने सम्बन्ध हो, कसिँदै जाने सम्बन्ध हो । जसको अन्त्य कहिल्यै हुँदैन ।

कुराहरू गम्भीर पनि थिए, सतही पनि थिए । जेजस्ता भए पनि मेरा लागि लाभप्रद नै थिए । सुरासेवन सँगसँगै काव्यपान पनि भइरहेको थियो बीचबीचमा । अन्त्यमा कविताबारे निचोड निकालिएको थियो — अब प्रकृति, झरना, वादल, वर्षा, हिमाल, नदी, तलाउ र राजामहाराजाका कविता लेख्ने दिन गए । अब त भोगिरहेको यथार्थ जीवन र जगत्का बारेमा कविता लेख्नुपर्छ । 
यसो भनिरहँदा सिक्किमेली साहित्यकारहरू होटलबाट बाहिरिँदै थिए, हामीहरू शयनकक्षतिर सोझिँदै थियौँ । 

४. त्यो यात्रा थियो कि म्याराथन ?
शायद त्यो यात्राभन्दा बढी म्याराथन दौड थियो । तर त्यो त्यस्तो दौड थियो, जुन प्रतियोगितामा कसैको जीत वा कसैको हार हुँदैन थियो । सबै विजेता, सबै पराजित । यस्तै दुवै पक्षले जित्ने खेल हुन्छ रे प्रेमको ! प्रेमको लडाइँमा कि त दुवैको जीत हुन्छ, कि दुवैको पराजय । 

साहित्यिक प्रतिस्पर्धा पनि साँच्चै नै यस्तै हुन्छ क्यारे ! मिलेर सही सिर्जना ग¥यो भने सम्वद्र्धन, अस्वस्थ प्रतिस्पर्धातिर लाग्यो भने अपसर्जन । भाषा–साहित्य र संस्कृतिको लडाइँ जहाँ पनि सकारात्मक हुन्छ र कल्याणकारी नै हुन्छ । त्यसै भएर होला, भाषाकै नाताले सिमा मेटिएको  । हामी त्यसै नातालाई अझ बलियो बनाउन म्याराथन दौड गर्दै छौँ अहिले । अहिले, अर्थात् आज २०७१ सालको चैत्र १६ गते ।

बिहान सातै बजे हाम्रो दौड सुरु भएको छ — सिक्किमको गान्तोक बजारबाट । हामीलाई खुट्टा दुखाएर, स्वाँस्वाँ र फ्वाँ फ्वाँ गर्दै दौड्नुपर्दैन । पसिना चुहाउनु पर्दैन र कसैले कसैलाई उछिन्ने कोसिस पनि गर्नुपर्दैन । हामीलाई चारपाङ्ग्रे दुईवटा जीपले ओराल्दै छन् रानीपुलतिर । जुन बाटोबाट हाम्रो गमन भएको थियो, त्यही बाटोबाटै आगमन सुरु भएको छ । उही मल्ली, उही सिङ्गताम, उही रम्फु र उही टिष्टा बजार, अर्थात् कालिङपोङ, सिक्किम र दार्जिलिङको जङ्कसन । 

दार्जिलिङ लाग्ने दोबाटोमा उभिएको बोर्डले सङ्केत गर्दै थियो— गान्तोक ६४, दार्जिलिङ ४१, कालिङपोङ १६, सिलगढी ५० किलोमिटर । मैले हिसाब गरेँ— गान्तोकदेखि दार्जिलिङ १०५ किलोमिटर रहेछ ।

हामी टिष्टापश्चिमको डाँडोतर्फ उकालो लाग्यौँ । बाटो साँघुरो थियो र जेरीजस्तै जेलिएर घना जङ्गलको बाटो उकालो लाग्दै थियो । पारिपट्टिबाट कालिङपोङ उक्लेजस्तै वारिबाट दार्जिलिङ उन्मुख हुँदै थियौँ हामी । जङ्गल उस्तै, बाटोको संरचना उस्तै, खाली बाटो साँघुरो मात्र । मैले अनुमान गरेँ — दार्जिलिङका लागि त्यो बाटो कमै प्रयोग हुँदो रहेछ । म देख्दै थिएँ— सवारी साधनहरूको सङ्ख्या अत्यन्त न्यून थियो, कारण साँघुरो र घुमाउरो बाटोको संरचनाले धान्नै सक्तैनथ्यो यातायातको घनत्वलाई । 

हामी निकै उचाइमा पुगेछौँ । जङ्गल छाडेर छिटपुट बस्ती आयो, बाटो तेर्सिँदै गयो र आइपुग्यो चिया बगान । ‘पेसोक’ भनिँदो रहेछ त्यस ठाउँलाई । ड्राइभरले जीप साइड लगायो र भन्यो— चिया नास्ता खाउँ । 

ठाउँ चाहिँ रोकिनै पर्ने र दृश्यावलोकन गर्नै पर्ने रहेछ । 
रुखपात कम भएको त्यो डाँडैभरि चियावगान थियो तर भूमि उर्वर नभएर होला, चियाका बोटहरू सप्रिएका थिएनन् । खाना खाइदिएबापत गाडी धोइदिने चलन, क्या मज्जा ड्राइभरलाई ! 

त्यसैले खाना खाए ड्राइभरहरूले, तर हामीले भने चिया नास्ता मात्र ग¥यौँ । ठाउँ अग्लो र खुल्ला थियो, दृश्य रमणीय थियो । एकल र समूहमा फोटो खिच्न व्यस्त भयौँ हामी । 

करिब आधा घण्टाको अलमलपछि हामी लाग्यौँ डाँडैडाँडा ।

लामाहट्टामा बाटोको दायाँबायाँ लाम लागेका देखिए अग्ला अग्ला विविध जातका घनीभूत सल्ला र धुपीहरू । ‘सेकेन्ड फरेष्ट’ भनेर चिनिने ती वृक्षहरू रोपण गरिएका थिए । मैले खुलेर प्रशंसा गरेँ— वृक्षरोपण गरेर मात्र के गर्ने ? संरक्षणको यो कति राम्रो काइदा ! वृक्षमात्र हो र, उन्युले लपक्क ढाकिएको बाटोमाथिको ढिक एक टक हेरिरहँुजस्तो थियो । पानीका मूलहरू ओर्लँदै थिए बाटोमा र पछ्याउँदै थिए गन्तव्य । पानीका ट्याङ्करहरू कुद्दै थिए हाम्रा अगाडि । क्रमशः हामीहरू ‘छ माइल’ र ‘तीन माइल’मा कुद्दै गयौँ र जोरबङ्गला पुग्यौँ । जोरबङ्गला दार्जिलिङको प्रवेशद्वार रहेछ । सिलगढी–खर्साङ हुँदै जोडिने भूपथ र लौहपथको मिलन विन्दु । 

पिच बाटोमै छोटीलाइन देखेर मात्र त मलाई त्यति आश्चर्य लागेको थिएन, प्रचलनमा नआएको रेलवे लिक पनि हुन सक्थ्यो । तर त्यसमाथि अहिले पनि रेल चल्छ भन्दा घोर आश्चर्य लाग्यो । एकैछिनमा देखिइहाल्यो रेल । गाडीहरू रोकिए, हामी रोकियौँ । चारवटा डिब्बाको त्यो सानो रेल धुवाँ छोड्दै र छुकछुकाउँदै कछुवा गतिमा लाग्यो पछिल्तिर । मैले सुनेको दार्जिलिङमा चल्ने रेल त त्यही पो रहेछ । 

‘बाटो नबन्दै बिछ्याइएको रेलवे लाइनसँगसँगै बाटो बनाएर सवारी साधनहरू चलाउन थालेपछि त रेलवे लिकलाई कुनापट्टि सारेको भए पनि त हुन्थ्यो नि ! त्यसो गरेको भए रेल आउँदा गाडी रोकिइराख्नुपर्ने थिएन ।’ मेरो भनाइको चित्त बुझ्दो जवाफ कसैबाट नआएपछि मैले आफैँ अनुमान लगाएँ — दिनमा एक’दुई पटक आउनेजाने अल्पगतिको रेलको ऐतिहासिकता नमेटाउने दृष्टिकोण होला ! नत्र आधुनिक जमानामा हाम्रो भृकुटी मण्डपको बालरेल जस्तो रेलमा महँगो भाडा तिरेर दिनभर लगाएर मानिस किन चढ्थे ? हुन पनि अहिले स्वदेशी भन्दा विदेशी नै बढी चढ्दा रहेछन् । ‘टोयट्रेन’को नामले चिनिने कोइलाबाट चल्ने उक्त रेलको सिलगढी–दार्जिलिङ भाडा भारु. पन्ध्र सय पर्दाे रहेछ । तर हिजोआज भने डिजेल सञ्चालित सानो आकारको आधुनिक रेल पनि चल्न थालेछ ।

‘अङ्ग्रेज शासकहरूले कलकत्ताको गर्मीबाट त्राण पाउन उष्णकालीन र राजधानी दार्जिलिङलाई बनाएका थिए रे ! त्यसै भएर उनीहरूले सामान र मानिसहरू ओसार्न सन् १८८१ मा कलकत्तादेखि दार्जिलिङसम्म टोयटे«न सञ्चालन गरेका रे ! ‘दार्जिलिङ हिमालयन रेलवे’ को नामले प्रसिद्ध उक्त टोयटे«नको पहिलो इन्जिन अहिले पनि घुम पहाडस्थित घुम रेलवे म्युजियममा सुरक्षित छ रे ! सर्वाेच्चस्थानमा चल्ने यो  रेलवे लाइनलाई सन् १९९९ देखि विश्वसम्पदा सूचिमा राखिएको छ रे !’ — बुझक्कडहरूका आवाजहरू सुन्दै थिएँ म । 

अवरोध विनाको मोटर, बाटोमै लमतन्न सुतेको रेलवे लिक, त्यस लिकमा धुवाँ फाल्दै घर्किँदै गरेको रेल र बाटोको छेउमा बनेका होचा र साँघुरा रेलवे स्टेशन देखेर म छक्क पर्दै थिएँ, हाम्रा जीपहरू दार्जिलिङ शहरमा प्रवेश गरिसकेछन् । जीप चालकहरूले हामीलाई गोर्खा दुःख निवारण सम्मेलनको भवन अगाडि लगेर ओरालिदिए र भन्न थाले— ‘यहाँ गाडी रोकिराख्न मिल्दैन, ओर्लिहाल्नुस् र कार्यक्रम सकिएपछि जीप स्टेशनमा आउनुस् ।’ 

हामीले कार्यक्रमका लागि अत्यावश्यक चिजहरू साथैमा राखेका थियौँ तर छतमा राखिएका पत्रपत्रिका र पुस्तकहरू कसैले निकाल्न भ्यायौँ, कसैले भ्याएनौँ । जीपहरूले बाटो तताइहाले । 
समय दिनको बाह्र बजेको थियो । आयोजकहरूले हामीलाई सरासर हलमा पु¥याए र कार्यक्रम सुरु गरे । कार्यक्रम कुन बेला सकिने हो र खाना खाने हो ! सोचेर हामी हैरान भयौँ । आयोजकको सोचाइमा हामीले खाना खाइसकेका छौँ कि आयोजकको तर्फबाट खाना खुवाइन्छ ? अन्यौलमा थियौँ हामी । 

सभापति- प्रेम प्रधान, प्रमुख अतिथि- महेन्द्र गुरुङ, विशेष अतिथि - मनप्रसाद सुब्बा, सम्मानित व्यक्तित्व- नन्द हाङखिम । रोचक घिमिरे, मातृका पोखरेल, जलेश्वरी श्रेष्ठ, गोपीचन्द्र प्रधान, प्रमिता गुरुङ र वीणा हाङखिम अतिथि । 
कार्यक्रम सञ्चालन गरिन् सविता सङ्कल्पले । उनको भाषाले मलाई दिग्भ्रमित पा¥यो । सिक्किमेलीहरूको त्यस्तो प्रष्ट भाषा, दार्जिलिङेको किन यस्तो ? भन्दै थिइन्— ‘खेल मैदानमा ल्याएर छोडिदिनु भएका छन् मलाई, म तातो तावामा हालेको जिउँदो माछाजस्तो भएको छु । यदपि मोलाई बोल्न आउँदैन, तथापि नेपालबाट आउनुभएका सदेय साहित्यकार दोजु तथा दिदीहरूलाई दोजिङको यस जग्गामा म स्वागत गर्दछु । जति गर्नुपर्ने सम्वद्र्धना हामी गर्न सक्दौँन, जे गर्न सकिन्छ, टोकसो नमानी स्वीकार्नु होला । हाम्रो यो सङ्गति निरन्तर रहिरहने छ’ ............इत्यादि । लगत्तै प्रमिता गुरुङले वन्दना गीत गाइन् — ‘वक्रतुण्ड महाकाय......’ र ‘या कुन्देन्दुतुषारहार ......’ गल्ती नै गल्ती । 

भित्तोमा तुल टाँगिएको थियो हाम्रै सिक्किम यात्राको । दार्जिलिङको तर्फबाट कुनै व्यानर टाँसिएको थिएन र आयोजक को हो उल्लेख पनि गरिएको थिएन । हामी अन्यौलग्रस्त थियौँ— दार्जिलिङका लागि छुट्याइएका पुस्तक तथा पत्रपत्रिकाहरू कसलाई दिने ? हामीले थाहा पाएको दार्जिलिङको साहित्यिक संस्था— नेपाली साहित्य सम्मेलन । तर सम्मेलनका अध्यक्ष गोपीचन्द्र प्रधान अतिथि बनेर मञ्चमा बसेका छन् । साहित्येतर संस्था गोरखा दुःख निवारण सम्मेलनको भवनमा कार्यक्रम भइरहेको छ— अन्यौलै अन्यौल ।  

वीणा हाङखिमलाई समेत सँगै राखेर नन्द हाङखिमलाई सम्मान गरेपछि मनिका मुखियाबाट कविता वाचन सुरु भयो । ‘गर्वदान’ शीर्षकमा कविता वाचन गरिन् उनले । उनले प्रयोग गरेका ‘सम्भवत्’ ‘बोलवाल्’ ‘क्रमश्’ जस्ता शब्दहरू अनौठा लाग्दै गए । स्थानीयताकै कमाल सम्झेर चुप लागि सुनिरहेँ म । 

यसै गरी अतिथि कवि र स्थानीय कविहरू — क्रमशः ठाकुर शर्मा, वीणा हाङखिम, केवलचन्द्र लामा, रामप्रसाद पन्त, कर्ण थामी, गोपीचन्द्र प्रधान, ललिता दोषी र जलेश्वरी श्रेष्ठबाट कविताहरू वाचन भए तर विमल राई, केवल स्याङतेन, मेनुका प्रधान, नरेन्द्र गोरखा, जीवन गुरुङ, मोहन शर्मा, रिङ्जीवाङ्दी भोटिया, मनोज एकलकाटे, सन्देश विश्वास, डा. गीता क्षेत्री, अमला सुब्बा, गणेश सुब्बा जस्ता दार्जिङेली साहित्यकारहरूको उपस्थिति भए पनि कविता वाचन गराइएन । 
हाम्रै म्यारथन दौडलाई समय नपुग्ला भनेर कटौती भएका थिए ती कविता । तर ती कविताको सबै समय मनप्रसाद सुब्बा एकै जनाले खर्लप्पै खाइदिएपछि के गर्ने ? उनको मन्तव्य बौद्धिकता र विद्वताले परिपूर्ण थियो तर समय अनुकूल थिएन । 

भन्दै थिए— ‘नेपालमा साहित्यको ठूलो उद्योग चलेको छ । साहित्यिक उत्पादन अत्यधिक बढेको छ । तर पूर्णता छैन । पूर्णता कहीँ हुँदा पनि हुँदैन । हाम्रा लागि ब्युटी भनेको गोरो छाला, अफ्रिकनको ब्युटी ठूलो ओठ, स्क्यान्डिनेभियनहरूको ब्युटि लामो घाँटी, जापानीहरूको ब्युटी चिम्सा आँखा, चाइनिजहरूको ब्युटि पातलो शरीर । अरु र हामीमा फरक छ । अरुको कुरा जहाँ अन्त्य हुन्छ, हाम्रो प्रारम्भ त्यहीँबाट हुन्छ । कुनै पनि पाठ चूडान्त (अन्तिम) हुँदैन, केही न केही शेष रहन्छ । दार्जिलिङ र सिक्किममा प्रशस्त समसामयिक कविता लेखिएका छन् तर ‘लेखिएका छन्’ भनिदिनुपर्नेले भनिदिएका छैनन् .......’ आदि । 

उनी बोलिरहेको माइक अगाडि डेस्कमा तीनवटा चिट राखिएपछि मात्र उनले कविता पाठ गरेर मन्तव्य शेष (अन्त्य) गरे । कविताको अंश थियो— सिद्धार्थ सिद्ध हुँदै बुद्ध भए, म सिद्धार्थबाट सिद्धे हुँदै सिद्धिएँ । 

त्यसपछिको मन्तव्य थियो रोचक घिमिरेको । उहाँको जिज्ञासा थियो— भारतीय शैक्षिक संस्थाहरूमा पढाइने नेपाली विषयक किताबहरूमा ‘भारतीय नेपाली साहित्य’ भन्ने गरिँदा नेपाली भाषाको मूल मर्ममा पार्थक्य देखिन्छ कि ! त्यसो नभनेर ‘नेपाली साहित्य’ मात्र भनिदिए राम्रो हुन्थ्यो कि ?

यसको जवाफ लगत्तैपछि बोल्ने प्रेम प्रधानले दोहोरी शैलीमा दिएका थिए — ‘तपाईंहरूको देश छ, हामी किनारीकृत भएका छौँ । तामिलहरूलाई भारतमा स्थान नदिएजस्तै हामीलाई नेपालमा स्थान दिने गरिएको छैन । तपाईंका युनिभर्सिटीहरूमा हामीहरूका रचनालाई स्थान दिइएको छैन । तर तपाईंहरूका किताबहरूलाई हाम्रा युनिभर्सिटीहरूमा मान्यता दिइरहेका छौँ । अनि तपाईंहरूले आइवी सरलाई मात्र देख्नुभएको छ, अरुलाई देख्नुभएको छैन । तपाईंहरूका समस्या बेग्लै होलान् तर हाम्रो मुटुको धड्कन एउटै होस् भन्ने हामी चाहन्छौँ ।

करिब साढे दुईमा कार्यक्रम सकिएको थियो । हामी अब कहाँ खाना खाने र इन्द्रबहादुर राईकहाँ पुग्ने छटपटीमै हल बाहिर निस्कियौँ तर हामीहरूलाई रोकियो । 

कार्यक्रमकै बीचमा हाम्रो नेतृत्व पक्ष र आयोजक पक्षबीच कुराकानी भएछ, त्यसपछि मात्र त्यहीँ खाना खुवाउने व्यवस्था गरिएछ । तर कता कुन होटलमा बसेर गाँस टिप्ने र कुदिहाल्ने भनेर निस्केका हामीहरू खाना तयार भइनसकेकोले आधा घण्टाजति कुरिरह्यौँ त्यहीँ । कविता वाचनमा गरिएको कटौती र मनप्रसाद सुब्बाको मन्तव्यमा लगाइएको लगाम व्यर्थ भयो । 
खाना पाकिसकेपछि हामीले भोको भिखारीले मिष्ठान्न पाएजस्तै गरी भात बुकायौँ र हातमुख पुछ्दै कुद्यौँ इन्द्रबहादुर राईको घर खोज्दै लोचनगरतिर । विमल वैद्यलाई थाहा रहेछ उनको घर । वैद्यको पछिपछि हामीले म्याराथन दौडलाई निरन्तरता दियौँ । 

हामी बजारको फुटपाथमा कुद्दै थियौँ, बटुवाहरूलाई धक्का दिँदै । हामीलाई पसलका सामान हेर्ने फुर्सद थिएन, घरका धुरीहरूतिर नजर लगाउने फुर्सद थिएन, ‘थकाइ लाग्यो, एकछिन उभियौँ’ भन्ने महिला वर्गको आवाज सुन्ने धैर्य थिएन । एकले अर्कालाई नछाडेर सँगसँगै आउने निर्देशन थियो अगाडिबाट । 

तथापि मैले आक्कलझुक्कल हेर्दै थिएँ बजार र दौड्दादौड्दै खिच्दै थिएँ फोटो । अचम्मै लाग्यो दार्जिलिङ देखेर । मैले सोचेको जस्तो होइन रहेछ दार्जिलिङ । मैले सोचेजस्तो सुन्दर र सफा रहेनछ दार्जिलिङ । पुरानो भइसकेछ बजार, ऐतिहासिक बनिसकेछ शहरको संरचना । कतै भत्किएका, रुखपातहरू उम्रिएका, बिजुली र टेलिफोनका तारहरू अलपत्र झुन्डिएका । बाटोको छेउकुना जम्मा भएको फोहोरले झन् दुर्घन्धित बनेको थियो शहर । 

हामी लोचनगर पुग्यौँ र आफ्नै निवासमा बसिरहेका लीलालेखनका सम्वद्र्धक इन्द्रबहादुर राईलाई भेट्यौँ । राईदम्पतीलाई सँगै राखेर रमा–कृष्ण सिर्जना प्रतिष्ठानले अभिनन्दन ग¥यो । अरु सहभागीहरूले किताब र पत्रपत्रिकाहरू अर्पण गरे । 

हामीले जिज्ञासा राख्यौँ — स्वास्थ्य र साहित्यबारे । हाम्रो म्यारथन दौडको सम्मान गर्दै उहाँले सङ्क्षेपमा हामीलाई आफ्नो वस्तुस्थिति अवगत गराउनुभयो । भन्नुभयो— ‘छिटै लैजाने रोग त छैन तर सातवटा रोगले एकैचोटि च्यापिरहेको छ, औषधी खाँदै छु । अस्तिमात्र श्रीमतीलाई पनि सिलगढीमा उपचार गराएर ल्याएँ । तपाईंहरू धेरै साहित्यिक पत्रकार हुनुहुँदो रहेछ । हाम्रो पालामा बडो कठिन थियो साहित्यिक पत्रिका चलाउन । कसरी चलाउनुभएको छ तपाईंहरूले यति धेरै पत्रिकाहरू ? ऋद्धिबहादुरले शारदा, काशीबहादुरले उदय, उत्तम कुँवरले रूपरेखा चलाएर जसरी साहित्यको सम्वद्र्धना गरे, त्यसैको अनुसरण गर्दै म जस्तो ओरालो लागेको बूढोलाई सम्झेर यहाँसम्म आएर सम्मान गर्नुभएकामा म तपाईंहरूलाई धन्यवाद दिन्छु ।’ 

त्यसपछि हामी अविलम्ब निस्केका थियौँ र जीपपार्कतिर उन्मुख भएका थियौँ, जहाँ हामीहरूलाई पर्खेर बसेका थिए— सिक्किमबाट हामीलाई बोकेर आएका दुईवटा जीप । त्यतैतिर लम्कँदै गर्दा म बडो अन्यौलग्रस्त भएको थिएँ । मसँगै अघिपछि भएर दौडिरहेका साथीहरू पनि द्विविधाग्रस्त थिए — ‘पैदल घुम्न सम्भव नभए पनि जीपबाट सररर दार्जिलिङ शहरको चक्कर लगाउन पाइन्छ कि पाइँदैन होला ! टोलीनेता अगाडि कुद्दै छन्, पाँच बजेसम्म पशुपतिनगर पुग्नैपर्ने, अन्यथा सीमाद्वार बन्द हुने हल्ला कानमा परिरहेको छ । भोलि बिहान आठै बजे कार्यक्रम राखिएको छ इलाम बजारमा । आज राती बास बस्ने बन्दोवस्त मिलाइसकिएको छ इलाम बजारमा । साँच्चै नै बेलुका पाँच बजे सीमाद्वार बन्द भयो भने हामी के गर्छाैँ ? जाने बुझेका इलामेली कवि विमल के भन्छन् ? टोलीनेता महेन्द्र गुरुङ के भन्छन् ? ड्राइभरहरू के प्रतिक्रिया दिन्छन् ? जे भन्छन् त्यही गर्ने त हो ! आयोजकका लागि म÷हामी बाधक किन बन्ने ?’ 

हामीलाई कतै अडिने फुर्सद थिएन, बोल्ने फुर्सद थिएन, सोच्ने फुर्सद थिएन । एकछिन उभिएर सल्लाह गर्ने फुर्सद त झन् छँदै थिएन । हामी सरासर गएर आ–आफ्नो सिटमा बस्यौँ । कत्ति बेर नगरेर ड्राइभरहरूले जीप हाँके — अपराह्न ४ बजे । 

मभित्र अझ पनि आशा जीवित थियो । मैले सुनेका कुराहरू मस्तिष्कमा तरङ्गित हुँदै थिए— जीपकै सिसाबाट भए पनि चौरास्तामा उभिएका मेरा साहित्यिक पुर्खा भानुभक्तलाई देख्न पाउँछु कि ! धीर शमसेरको नाममा जुद्ध शमसेरले बनाएको धीरधाम, अर्थात् पशुपति मन्दिर देख्न पाउँछु कि ! नेपाली भाषा–साहित्यको धाम, दार्जिलिङ नेपाली साहित्य सम्मेलनको भवन देख्न पाउँछु कि ! के थाहा, टाइगर हिलकै बाटो भएर पो जान्छ कि जीप ! गए त मिरिक ताल पनि देख्न पाइएला ! 
म आँखा पाटिने गरी निर्निमेष बाहिर हेरिरहेको थिएँ, मूकवत् टोलाइरहेको थिएँ । धेरै वर्षअघि पुगेका रोचक दाइ पनि द्विविधामा हुनुहुन्थ्यो— ‘कता हो कता खोई ? यो कुन बाटो हो ? मैले भेउ पाउनै सकेको छैन ।’ 

तर दुर्भाग्य ! मैले थाहा पाइहालेँ— अघि आएकै बाटोमा कुद्न थाले जीपहरू । मेरो मन कुँडियो, मेरो मन भाँचियो, मेरो मुटु छियाछिया भयो, म आहत भएँ । कसैले तँ दार्जिलिङ गएको छस् ? भनी सोध्यो भने मैले भन्ने भएँ— ‘गएको छु ।’ के के देखेको छस् ? भन्यो भने मैले भन्ने भएँ— ‘टोय टे«न’, गोर्खा दुःख निवारण सम्मेलनको भवन र इन्द्रबहादुर राईको घर । 

हामी जोरबङ्गला आयौँ र घुमपहाडबाट सुकेरोड हुँदै पशुपतिनगर उन्मुख भयौँ । मैले थकित र उत्साह विहीन स्वरमा ड्राइभरलाई सोधेँ— ‘खस्र्याङ जाने बाटो कुन हो भाइ ? कताबाट गइन्छ ?’ उसले भन्यो— ‘अझ पर (पूर्व)बाट ओरालो लाग्छ ।’ उसले थप्यो— ‘धेरै छन् बाटाहरू खस्र्याङ जाने-छसात वटा ।’ 

उसले गफ छाँट्यो कि जस्तो लाग्यो मलाई । फेरि भन्यो— ‘पशुपतिनगर जाने बाटाहरू पनि अरु छन् । कुन बाटोबाट लैजाऊँ ? अरु केही सोध्नुछ भने सोधिहाल्नुस्, म दार्जिलिङमा जन्मेको मानिस दार्जिलिङका बारेमा सबै कुरा थाहा छ । म अमर राई । दार्जिलिङमा अमर भनिसकेपछि बच्चाबच्चाले चिन्छ मलाई ।’ 

के खालको मान्छे होला ! विना प्रसङ्गका कुरा फररर भन्दैछ । म उसको स्वभाव पढ्न खोज्दै थिएँ । विचार गरेँ— ड्राइभर हो, धेरैबेर पर्खनुपर्दाको असन्तुष्टि पोख्दै होला ! अस्तिको ड्राइभरलाई सम्झेँ— कालिङ्पोङमा धेरैबेर पर्खनपर्दा रन्केको थियो, यादव । 
मैले विनम्रतापूर्वक सोधेँ— भाइ ! पशुपतिनगर कति किलोमिटर छ ? 
उसले भन्यो— तीस । 

अनि बीच बाटोमा आएको एउटा बजारको नाम सोधेँ । भन्यो — सुकेपोखरी । उसले थप्यो— ‘त्यसै भएर यस बाटोलाई सुकेरोड भनिएको । बुझ्नु भो ?’ 
बाटो निरन्तर ओरालो लाग्दै थियो । मेरो अनुमान ठीक निस्कँदै थियो । दार्जिलिङको उच्च पहाडी क्षेत्रभन्दा इलामको पशुपतिनगर पक्कै तल होला ! हुस्सु लागेर केही नदेखिने भएको थियो वाह्य जगत् । त्यसमाथि सिमसिम पानी परिरहेको थियो । म पूर्वतर्फ सङ्केत गर्दै अमरलाई सोध्दै थिएँ— ‘हुस्सुले केही देख्न पाइएन, यसतर्फ के के छ ? के के देख्न पाइन्छ ? के भनिन्छ यसतर्फको गाउँ पहाडहरूलाई ?’ 

‘मेची खोला । मेचीखोलाको वल्लो किनारमा एउटा राम्रो सलकपुर फाँट छ । राम्रो खेती हुन्छ त्यहाँ । तरकारी फलफूलहरू प्रशस्त पाइन्छ त्यहाँ । सुन्तलाको सिजनमा सुन्तलै सुन्तलाको बजार लाग्छ त्यहाँ र अलैँची पनि धेरै उत्पादन हुन्छ त्यहाँ । इलाममै पर्ने भए पनि नेपालीको भन्दा इन्डियनको घुइँचो लाग्छ त्यस  बजारमा ।’— उसले भन्यो । 

अहिले भने राम्रै उत्तर दिएजस्तो लाग्यो मलाई । मेरो मन पुलकित भयो । सोचेँ, यस्तो भारतीय घुइँचो नेपालका अरु सिमाक्षेत्रमा पनि त भए हुन्थ्यो ! कति भारतीय सीमाक्षेत्रमा मात्र नेपालीको घुइँचो लागिरहने त ? नेपाल र भारतको सम्बन्ध प्रगाढ भएकै कारण त हामी दुवै देशका नागरिकलाई सीमा बन्देज छैन । साहित्य होस् या शिक्षा, कृषि होस् या पर्यटन, व्यापार होस् या व्यवसाय, रोजिरोटी होस् या चेलीबेटी सबै दृष्टिकोणले नेपालीको पूर्वी क्षेत्र र त्यसैमा पनि इलामको सम्बन्ध बढी दार्जिलिङमा छ र वस्तु विनिमयको मामिलामा त भारतले भन्दा नेपालले नै बढी फाइदा लिइरहेको छ । 

हामी बस्ती विहीन बाटोबाट निरन्तर ओरालो लाग्दै थियौँ — तानसेनबाट दोभान ओरालो लागेजस्तै । हुस्सु लागेको जङ्गली बाटो दिउँसै अँध्यारो जस्तो भएको थियो । मैले अनायासै भनेँ— पाँच नबज्दै अन्धकार जस्तो पो भयो त ! अमरले भन्यो— ‘यस्तो भइरहन्छ यहाँ । पानी परिरहन्छ यहाँ । हुस्सु लागिरहन्छ यहाँ । यस्तै मौका पारेर दिउँसै डाका लाग्छन् यहाँ । म त गाडी चलाइरहनुपर्ने मान्छे, रातसाँझ खुकुरी र खुँडा नलिई हिँड्दिनँ । अहिले पनि छ मसँग खुकुरी । पहिले त यही पेशा राम्रो लाग्थ्यो मलाई पनि । यस्तै गर्दै हिँडियो धेरै वर्ष । पेस्तोल बोकेर पनि हिँडियो लुकीलुकी । तर बिहा गरेपछि गाडी किनेर चलाउन थालेँ ।’ 

उसको कुरा सुनेर मनमनै डर लाग्यो मलाई । साथीहरूलाई पनि त्यस्तै लागेछ क्यारे, मौन अवस्थामा देखिए ।

अमर भन्दै थियो — ‘तर मेरो गाडी भनेर चिनिसकेपछि जसतसले आक्रमण गर्ने हिम्मत राख्दैन मलाई । मान्छेको त के कुरा, बाघले पनि सीधा आँखाले हेर्ने सक्तैन मलाई । दस जनालाई त म एक्लै ढालिदिन्छु ।’ 

अहो ! उसको कुराले त मुटु ढक्क फुल्यो मेरो, लामो श्वास तानेँ मैले । उसले भनेको कुरा सुन्ने बाहेक ठीक गरिस् कि गरिनस् भनेर प्रतिक्रिया दिने कुरै भएन । हामीले मौन बसेर उसका कुरा सुनिरह्यौँ । 

म देख्दै थिएँ र मनमा राख्दै थिएँ— काँकडभित्ताबाट भारत प्रवेश गरेदेखि पशुपतिनगर निस्कँदासम्मको बाटोको प्यारापिठमा सेतो रङ पोतेर नीलो रङको गोलो टीका लगाइदिने चलनले निरन्तरता पाएको थियो । त्यसले बाटोको लाइन स्पष्ट देखिँदो रहेछ । यो तरिका नेपालका पहाडी राजमार्गहरूमा पनि प्रयोग गरे कसो हुन्थ्यो होला ! 

जङ्गे पिलर देखियो बाटै छेउमा । अब त पशुपतिनगर आयो कि भनेको त ती पिलरहरूलाई छेउछाउ पार्दै ओर्लनु पर्दाेरहेछ अझ पाँच÷छ किलोमिटर तल । 
अब भने आइपुगिएछ पशुपतिनगर । समय ५ः१५ भएको थियो । पाँच बजे बन्द हुने भनेर अत्याइएको मात्र रहेछ । झरी लागेसरह पानी वर्षिरह्यो । इलाम जानका लागि नेपाली जीपहरूको व्यवस्था गर्न महेन्द्रजीलाई केही समय लाग्यो । हामी जीपमै बसिरह्यौँ । ड्राइभरहरू एउटा भट्टीमा छिरेर ज्यान रनक्क पारिसकेछन् । उनीहरूसँग सम्झौता गरेभन्दा दार्जिलिङमा पर्खाएबापत मुखबोली दिनुपर्ने आवश्यकता देखियो । हाम्रो अनुमान थियो, अमरका खुँडा र खुकुरी अनि ज्यान रन्काइपछिको परिवर्तित अनुहार भाडा बढाउने सङ्केत थिए ।

ड्राइभरहरूलाई सन्तुष्ट पारिसकेपछि हामीले ठीक ६ बजे पशुपतिनगर छाड्यौँ । 
अब हामीले पशुपतिनगर–इलामबजारको ५० किलोमिटर यात्रा पूरा गर्नुथियो । दुईवटा जीपका नेपाली ड्राइभरहरूले हामीलाई सुरक्षित अवतरण गराए— इलाम बजारको बसस्टपस्थित होटल न्यु डिसमा । 
०००
अर्काे दिन बिहान अर्थात् २०७१ चैत्र १७ गते होटल न्यु डिसमा चिया खाएर बाहिरियौँ केही साथीहरू । मैले सम्झेअनुसार रोचक घिमिरे, ठाकुर शर्मा, यादव भट्टराई, तुलसीहरि कोइराला, जयदेव भट्टराई, दुर्गा दाहाल मसँग थिए । माथि डाँडो ठडिएको टावरले बोलाएजस्तो लाग्यो हामीलाई । यसअघि म इलाम जाँदा बनिरहेको टावरले अहिले टोपी लगाउन पाएछ र दर्शकहरूलाई पनि बोलाउन थालेछ । त्यो अवसर हामीले पनि किन गुमाउने ? 

टावर पछ्याउँदै गर्दा चियाबगानसँग आबद्ध भएर फोटो खिच्न यति समय खर्च गरेछौँ कि टावरमा पुग्न झन्डै एक घण्टा लागेछ । तर टावरको द्वारै खुलेको रहेनछ । हामीले टावरलाई नजिकैबाट हे¥यौँ मात्र, अँगालो मार्न सकेनौँ । 

हामी अर्कै बाटो भएर ओर्लियौँ मध्यबजारमा र पुग्यौँ होटलमा । आठ बज्नै लागेको थियो । हामी बेर नगरेर, भारतीय भूमि छाडेर बाँकी रहेका पत्रपत्रिका, किताब र कार्यक्रमका लागि छुट्याइएका सामानहरू बोकेर कार्यक्रमस्थल जिल्ला विकास समितिको कार्यालयमा पुग्यौँ । 

नेपाल प्रज्ञा प्रतिष्ठान र भानु प्रतिभा संरक्षण तथा साहित्य संवद्र्धन समितिको संयुक्त आयोजनामा कार्यक्रम सुरु भयो । उद्घोषक दिवाकर भण्डारीले माइक खोले पौने नौतिर । सभापति— विमल वैद्य, प्रमुख अतिथि— माधव भण्डारी, विशेष अतिथि— रोचक घिमिरे, मातृका पोखरले, मदन कोइराला (स्थाविअ), महेन्द्र गुरुङ, प्रा. युद्धप्रसाद वैद्य, जलेश्वरी श्रेष्ठ र कार्यपत्र प्रस्तोता र टिप्पणी कर्ता लक्ष्मी उप्रेती र केदार शर्मा ।

स्वागत गरे, धर्म गौतमले । अन्य कार्यक्रमहरूमा परिचय दिएजस्तै हाम्रो टोलीको सङ्क्षिप्त परिचय दिए— यादव भट्टराईले । रमा–कृष्ण सिर्जना प्रतिष्ठानको तर्फबाट सम्मान गरियो— इलामेली कवि प्रा. युद्धप्रसाद वैद्यलाई । ‘नेपाली नारी कथाकारहरू र लेखनप्रवृत्ति’ विषयक लामो कार्यपत्र प्रस्तुत गरिन्— लक्ष्मी उप्रेतीले । खरो टिप्पणी पेश गरे— केदार शर्माले । इलामेली साहित्यकारहरू— देवी गौतम, रामजीहरि, डिवी इलामे, उपेन्द्र आचार्य, केशबहादुर राई, दीपक पौडेल लगायतको उपस्थितिमा प्रवेश शर्मा, अन्विश राई, ठाकुर शर्मा, देवी क्षेत्री, शिव अधिकारी, लक्ष्मी उप्रेती, सीताराम गुरुङ, तुलसीहरि कोइराला, प्रतिभा पौडेल, डिवी इलामे र रामप्रसाद पन्तहरूले कविता वाचन गरे । सम्मानित व्यक्ति प्रा युद्धप्रसाद वैद्य, रोचक घिमिरे, मातृका पोखरेल र प्रमुख अतिथि माधव भण्डारीहरूले मन्तव्य दिए, महेन्द्र गुरुङले सिक्किम यात्राको समीक्षा गरे । सहाभागीहरूलाई धन्यवाद दिए र रमा–कृष्ण सिर्जना प्रतिष्ठानको तर्फबाट मायाको चिनो अर्पण गरे । अन्त्यमा विमल वैद्यले सभा विसर्जन गरे १२ः५० बजे । 

एक बजे बस चढ्नुछ— टिकटमा त्यही लेखिएको छ । हामी छौँ म्याराथन दौडमा । भोलि बिहान काठमाडौँ नपुगे दिउँसो माओवादी बन्दमा पर्छाैँ र नागढुङ्गामै बन्दी हुन्छौँ । बन्द फिर्ता लिएको आवाज पनि कानमा पर्दै थियो हाम्रो । यसबेला परेर के गर्ने ? एक दुई दिनअघि नै थाहा पाएको भए त हामीले म्यारथन दौड गर्नुपर्ने थिएन नि ! जेसुकै भए पनि अब म्याराथन दौडलाई बीचैमा स्थगित गर्न सकिने कुरा थिएन । टिकट काटियो, कुरै सकियो । 

स्थानीय साहित्यकारहरूको अनुरोधमा बस आधा घण्टा ढिलो गरेर हिँड्ने भयो । हामीले खाना खान पाउने भयौँ । हामी म्याराथन गतिमै सापकोटा होटलमा पुग्यौँ र जिविस इलामको सौजन्यमा कुखुराले चारो टिपेजस्तै भातका गाँसहरू टिप्यौँ । होटल पुगेर झोला बोक्यौँ र शुभेक्षा डिलक्समा चढ्यौँ । विमल वैद्यले हामीलाई बिदाइ गरे । जोरकलशमा मिठो चिया पियौँ, बुधबारेको रहरलाग्दो चिया बगान हे¥यौँ र ४ः४५ मा पुग्यौँ चारआली । पर्वत पोर्तेललाई त्यहीँ छाडेर महापथबाट पश्चिम हानिएपछि लालगढको पुकार होटलमा राती दश बजे भात खायौँ या खाएजस्तो ग¥यौँ । त्यसपछि एक बजे मुग्लिङ पुगेको थाहा छ मलाई र सिम्लेको होटल कान्तिपुरमा चिया खान ओर्लेको सम्झना छ मलाई । 

सम्झन्छु, किनभने म पूर्ण होसमा थिइनँ त्यसबेला । अरु ओर्लेजस्तै म पनि बसबाट ओर्लेको थिएँ र धङधङाउँदै लघुशङ्काको लागि बाटोपारि पुगेको थिएँ । फर्कँदा तीव्र गतिमा हुइँकिँदै पूर्वतर्फ लागेको बसले झन्डै मेरो चोला समाप्त पारेको थियो । मेरो ढाड राम्रोसँग सोझिएको थिएन । बेत तन्काएजस्तै ढाड तन्काएर सोझो बनाउने प्रयास गर्दै थिएँ । बसको सिसा तानातान गर्ने मौनसङ्घर्षको प्रभाव रोचक दाइलाई मात्र नपरेर मलाई पनि परेको थियो । शायद त्यसै भएर चरचरी टाउको दुःखेको थियो मेरो । 

बिहान ८ः३० मा कोटेश्वर ओर्लेपछि थाहा भयो— यातायात चलेका रहेछन् । बन्द फिर्ता भएकै रहेछ । विचार गरेँ— म्याराथन दौड नगरेको भए पनि हुने रहेछ । फेरि विचार बदलेँ— म्याराथनको एउटा अपूर्व अनुभूति त भयो नि ! सितिमिति कहाँ भाग लिन पाइन्छ यस्तो म्याराथनमा !
हामीले म्याराथन दौड ग¥यौँ र सबै विजयी भयौँ । हामी, अर्थात् रमा–कृष्ण सिर्जना प्रतिष्ठानको अगुवाइमा सिक्किम यात्रामा निस्केका इलामेली कवि विमल वैद्य र झापास्थित कान्तिपुर संवाददाता पर्वत पोर्तेल सहित महेन्द्र गुरुङ, रोचक घिमिरे, मातृका पोखरेल, जलेश्वरी श्रेष्ठ, लक्ष्मी उप्रेती, ललिता दोषी, यादव भट्टराई, जयदेव भट्टराई, दुर्गा दाहाल, तुलसीहरि कोइराला, सीताराम गुरुङ, ठाकुर शर्मा र म ।
 ९८४१५२६०१७
चावहिल, काठमाडौं

सार्थक र स्मरणीय यात्रा
रोचक घिमिरे

बाल्यकालमा सिक्किमको नाउँ निकै सुनेको हुँ । घरमा बुढापाकाहरू भन्ने गर्थे; ‘फलानो यता दुःख पाएर सुखिम (सिक्किम) गएको उतै पो भासियो !’ हाम्रा एकजना आत्मीय ब्यक्ति बलराम अमात्यकी दिदी सिक्किममा बिहे गरेर दिइएकी थिइन् । ती सिक्किमे दिदीका श्रीमान् र छोराहरू कहिलेकहीं काठमाडौं आएका हुन्थे । बलराम दाईको घर ओमबहालमा जाँदा तिनीहरूसँग भेट हुन्थ्यो । भिनाज्यू बाहिर जाने बेला भित्री लुगा लगाएर जुत्ता लगाई जुत्तै समेतको खुट्टा प्यान्टमा घुसार्थे अनि टाई र कोट भिर्थे । देख्ता हामी छक्क पथ्र्यौ । बलराम दाई भन्थे; ‘हाम्रो यो सिक्किमे भिनाजु यस्तै छ !’ बलराम दाइका भिनाजु सिक्किम सरकारको उच्च पदमा कार्यरत थिए रे ! प्रधान थरका तिनको परिवार गान्तोकमा नै कतै होला अहिले पनि ।

हाम्री माइली फुपुको छोरो विनोद ढुङ्गेल महोत्तरीको हाम्रो खेतीमा बसेको थियो । कसैको उल्काइमा लागेर पैसा कमाउने सुरले भागेर हिड्यो सिक्किमतिर । यो बीस एक्काइस सालतिरको कुरा हो । एक वर्ष जति सिक्किममा रल्लिएर फक्र्यो । सिक्किम प्रवेश देखि त्यहाँ बिताएका क्षण र फर्कदा सम्मका वृत्तान्त निकै चाखलाग्दो पारामा सुनाउँथ्यो हामीलाई । सिलगढीबाट पञ्जावी सर्दारजीको खाद्यान्नका बोरा भरिएको ट्रकमा लुकेर सिक्किम छिरेको थियो रे । पछि आलू, अलैंची, सुन्तलाका बोराहरू सिक्किमका गाउँ गाउँबाट जम्मा गरेर ट्रकमा सिलगढी ल्याउने र यताबाट लत्ता कपडा खाद्यान्न उता लैजाने काममा सर्दारजीको विश्वासपात्र सहयोगी भएर काम गर्न थालेछ विनोद । रम्फू थानाको कडाई, सिक्किमको ठन्डी, त्यहाँका युवतीको सौन्दर्य ! सिक्किमे नेपाली–शेर्पा–लिम्बूहरूको जनजीवनका कुरा फूलबुट्टा भरेर सुनाउँथ्यो विनोद हामीलाई । अतीतमा त्यसरी सुनिएको, बुझिएको सिक्किमलाई पछि त्यहाँ साहित्यिक–सांस्कृतिक–राजनीतिक घटनाक्रमहरूका सन्दर्भबाट अलि बढी बुझ्न थालियो । ‘रचना’ पत्रिका प्रकाशित हुन थालेपछि सिक्किमका नेपाली साहित्यकारहरूसँग पनि सम्पर्क हुने क्रम शुरु भयो । काठमाडौं र दिल्लीका साहित्यिक समारोहहरूमा भाग लिंदा सिक्किमका स्रष्टाहरूसँग प्रत्यक्ष घेटघाटका अवसर पनि जुटे । तर नेपालीहरूको वसोवास भएका अरु भारतीय भूभागमा वेला वेला जाने अवसर मिलेपनि सिक्किम जाने संयोग जुरेको थिएन ।

विंसं.२०७० सालको शुरुतिर नेपाल साहित्यिक पत्रकार संघकी उपाध्यक्ष ‘वनिता’ की सम्पादक लक्ष्मी उप्रेतीले मलाई सूचित गर्नुभयो; “रमाकृष्ण सिर्जना प्रतिष्ठानबाट सिक्किम यात्रामा जाने टोलीमा दाईको नाम पनि प्रस्तावित छ । अरु कुरा प्रतिष्ठानका अध्यक्ष महेन्द्र गुरुङ्ले पछि भन्नुहुनेछ ।” आफूले निकै अघिदेखि चाहेको तर तारतम्य मिल्न नसकेको सिक्किम यात्रा यसरी अनायास सम्भव हुन थालेकोमा खुसी नलाग्ने कुरै थिएन । पछि महेन्द्रजीले पनि सम्पर्क गर्नुभयो र डा.ध्रुवचन्द्र गौतम समेत हामीसँग जाने कुरा सुनाउनुभयो । मित्र ध्रुवचन्द्रसँग पनि सिक्किम यात्राबारे सरसल्लाहको क्रम शुरु भयो । जाने निर्धारित मितिको सूचना महेन्द्रजीले दिनुभयो । तर अचानक महेन्द्रजीका आफन्तको निधन हुन जाँदा हाम्रो यात्रा स्थगित भयो । अब यो प्रसंग अनिश्चिततामा पुग्यो भन्ने लागेको थियो ।

बिर्सिसकिएको सिक्किम यात्रा सन्दर्भ फेरि ब्युँझियो २०७१ फागुनको अन्त्यतिर । महेन्द्र गुरुङले फोन सम्पर्क गर्नुभयो र चैत १२ गते सिक्किम प्रस्थानको मिति तोकिएको सूचित गर्नुभयो । तर यस यात्रामा डा.ध्रुवचन्द्र अस्वस्थताका कारणले सम्मिलित हुन नसक्ने कुरा महेन्द्रजीबाट थाहा भयो । साथी ध्रुवचन्द्रसँग निकै दिनपछि रमाइलो यात्राको संयोग जुरेको थियो । त्यस्तो नहुने भएपछि खल्लो त लाग्यो नै । ध्रुवलाई फोन गरें । आफू अस्वस्थ भएको र लामो यात्रामा जान नसकिने भन्दै असजिलो असमर्थता व्यक्त गरे । ध्रुव नजाने भएपछि त्यो टोलीमा अर्का डाक्टर तुलसी भट्टराईलाई भनिएछ । तर उनको पनि तारतम्य मिलेनछ । अन्तिममा हाम्रो यात्राटोली काठमाडौंबाट १३ जना र काकडभिट्टाबाट २ जना हुनेगरी १५ सदस्यीय बन्यो ।

२०७१ चैत १२ गते रात्रिवसबाट काकडभिट्टा निम्ति प्रस्थान गरियो । काठमाडौंबाट बस चढेदेखि काकडभिट्टा पुगुन्जेल पानी दर्किरह्यो । बस देख्ता नयाँ र राम्रै थियो । तर छतबाट पानी सीटमा ओइरिएर कतिपय साथीहरू निथ्रुक्क हुने स्थिति आयो ।  तिनलाई जोगाउन कति साथीहरू प्लास्टिकको झोलामा पानी थाप्तै फाल्दै गरेर रात बिताउन बाध्य भए । हाम्रो यात्राको पहिलो रात लगभग जाग्राम यसरी बितेको थियो । पानीसँग झुत्ती खेल्दै बिताउनु परेको यो रात्रिवस यात्रा हाम्रा निम्ति सकसयात्रा बन्न गएको थियो । चैत १३ गते बिहान काकडभिट्टामा बसबाट ओर्लेर आफआफ्ना सामान निकाल्ने क्रममा देखियो–डिकीमा राखेका सुटकेश, झोला, पुस्तक–पत्रिकाका बण्डल सबै भिजेका छन् । उपहार दिन लगिएका थुप्रै पुस्तक र पत्रिका कामै नलाग्ने गरी भिजेछन् । ती भिजेको सामान थुपारेको दृश्य हेर्न त्यहाँ सर्वसाधारणको एक किसिमको भीड नै लागेको थियो । त्यस्तो कन्तविजोकमा पारेको थियो हामीलाई त्यस रात्रिवसको यात्राले !

साथीहरू भिजेका किताब–पत्रिका समेट्न लागे; अचानक मेरो आँखा प¥यो कवि पुण्यप्रसाद खरेलतर्फ काकडभिट्टा बसपार्कमा । हामीलाई देखेर उनी पनि हर्षित भए । हाम्रो टोलीको यात्राप्रति शुभकामना पनि दिए उनले । नजिकै ठूलो खाली जग्गामा एउटा शालिक कपडाले छोपेर उभ्याइएको थियो । खरेलबाट थाहा भयो महाकवि देवकोटाको पूर्ण कदको शालिक रहेछ त्यो । भव्य रमणीय उद्यान तयार गरेपछि त्यस शालिकको अनावरण गर्ने कार्यक्रम रहेछ । केही कानूनी प्रावधान पूरा गर्ने क्रम चलेको रहेछ । अव अर्को वर्षसम्म यो पार्क निर्माण सम्पन्न भएर शालिक र वगैचाको काम सम्पन्न हुने सूचना खरेलले दिए । छोपिएको भएपनि आकार र प्रकारबाट हामीले अड्कल काट्यौं महाकविको नेपालमा स्थापित प्रतिमा मध्ये यो भव्य नै हुनेछ ! भ्रमणमा सामेल हुने दुई सहभागी कवि विमल वैद्य र पत्रकार पर्वत पोर्तेललाई काकडभिट्टामा कुर्दा हाम्रो केही समय बित्यो । नित्य कर्म गर्न नपाएको छट्पटी सवैमा थियो । उनीहरू आइपुगेपछि हाम्रो यात्रा सिलगढीतर्फ बढ्यो । हाम्रा निम्ति व्यवस्था गरिएको पटेल रोड, प्रधाननगरस्थित गौरव लज खोज्दै पुग्यौं हामी त्यहाँ । स्थानीय साहित्यकार ज्ञानेन्द्र दाहालले बन्दोवस्त मिलाएको रहेछ त्यो लज । ज्ञानेन्द्र दाहाल पनि त्यहाँ झुल्किए एकै छिनमा । परिचयको आदानप्रदान सहित देवकोटा संघमा हुने दिउँसोको कार्यक्रमबारे दाहालबाट जानकारी पायौं । नित्य कर्म सम्पन्न गरी, केही क्षणको विश्राम पछि खान गयौं हामी त्यहीं नजिकैको होटल सरगम एण्ड रेष्टुरामा ।

साहित्यकार लख्खीदेवी सुन्दास अङ्क निकालेको थियो ‘वनिता’ ले । त्यो अङ्क सहित रमाकृष्ण सिर्जना प्रतिष्ठानले अभिनन्दन पत्र समर्पण गर्ने निर्धारित कार्यक्रम थियो । प्रधाननगरकै शताब्दी अपार्टमेन्टको दोस्रो तलामा रहेछ लख्खीदेवीको निवास । त्यहाँ पुगेर लक्ष्मी उप्रेतीले ‘वनिता’ र महेन्द्र गुरुङले अभिनन्दन पत्र स्रष्टा सुन्दासलाई अर्पण गर्ने काम सम्पन्न भयो । संयोगवस त्यस दिन लख्खीदेवीको अस्सियौं जन्मदिन पनि परेको रहेछ । सवैले दीर्घायुको कामना समेत व्यक्त ग¥यौं । पार्किन्सन्स रोगले आक्रान्त स्रष्टाप्रति सुस्वास्थ्यको कामना गर्दै विदा भयौं हामी ।

अब लाग्यौं प्रधाननगरमै रहेको सिलगढी देवकोटा संघ भवन परिसरतर्फ । हाम्रा पथप्रदर्शक थिए ज्ञानेन्द्र दाहाल । उनीसँगै हामी पुग्यौं देवकोटा संघको भवनमा । भवन ठूलै रहेछ तर निर्माण सम्पन्न हुन अझै बाँकी रहेछ । माथिल्लो तलाको छत मुनि तीनतर्फ खुला रहेको ठाउँलाई सभाकक्ष बनाइएको रहेछ । पहिले रामलाल अधिकारी देवकोटा संघमा आवद्ध हुँदा उनकै सम्पादनमा प्रकाशित हुने ‘बाडुली’ साहित्यिक पत्रिका ‘रचना’ कार्यालयमा आउँथ्यो । रामलालसँग झापाका विभिन्न कार्यक्रममा भेटघाट हुन्थ्यो । त्यहाँ पुग्दा यी कुरा सम्झें । तर यता ‘बाडुली’ प्रकाशित भएको देखिएन । कार्यक्रमस्थलमा सहभागीको उपस्थिति न्यून र दयनीय देखिन्थ्यो । त्यहाँका केही स्थानीय साहित्यकार होटलमा हामीलाई भेट्न आएका थिए । तर यस कार्यक्रममा ती देखा परेनन् । त्यहाँ उपस्थित साहित्यकार विन्द्या सुब्बा लगायतका केही व्यक्ति पनि देवकोटा संघले बोलाएर हैन लक्ष्मी उप्रेती र महेन्द्र गुरुङबाट सूचना पाएर आएका रहेछन् । साहित्यमा गुटगत प्रवृत्तिको आक्रमण सिलगढीमा कति चर्को रहेछ भन्ने कुराको प्रमाण त्यस सभाको उपस्थितिले दिएको थियो । देवकोटा संघका उपाध्यक्ष ज्ञानेन्द्र दाहालको उद्घोषणमा कार्यक्रम शुरु भयो । सभापति रुद्रकुमार अधिकारीको नाम भने पछि प्रमुख अतिथिमा लक्ष्मी उप्रेतीलाई आसन ग्रहण गर्न अनुरोध गरे दाहालले । मञ्चासीन गराउँदा सम्वन्धित व्यक्तिको परिचय पनि अनौठोसँग दिन्थे ज्ञानेन्द्र दाहाल । मेरो परिचय दिंदै उनले भने–‘उहाँको नामै रोचक ! अनुहार नै रोचक ! बोलीचाली नै रोचक ! रोचकै रोचकका पुञ्ज हुनुहुन्छ उहाँ !’ अतिथिहरूको परिचय दिने उनको यस्तो शैलीले सहभागीहरूको मनोरञ्जन चाहीं निकै गराएको थियो । यस्तो मनोरञ्जक शैली देखाउँदा देखाउँदै दाहालले हाम्रा टोली नेता महेन्द्र गुरुङलाई मञ्चासीन गराउन चाहीं भुसुक्कै बिर्सेछन् ! पछि यादव भट्टराईले सम्झाएपछि पो महेन्द्रजीलाई आसन ग्रहण गराए । मञ्चासीनहरूका मन्तव्य र केही कविता वाचन पछि देवकोटा संघलाई ताम्रपत्र सहितको सम्मान रमाकृष्ण सृजना प्रतिष्ठानका तर्फबाट महेन्द्र गुरुङले अर्पण गरेपछि कार्यक्रम सम्पन्न भयो । देवकोटा संघलाई हाम्रो टोलीका सवै सदस्यबाट पुस्तक र पत्रिकाहरू पनि प्रदान गरिएको थियो । सङ्घकै भवनको भइँतलामा रहेको सार्वजनिक पुस्तकालयमा पाठकको उपस्थ्तिि बाक्लै देखियो । पुस्तक–पत्रिका पनि त्यहाँ दराजमा र टेबुलमा प्रशस्त देखिन्थे । हामीले दिएका प्रकाशन त्यहीं रहने होलान् भन्ने लागेको थियो । तर हाम्रो त्यो भ्रम ज्ञानेन्द्र दाहालले पुस्तक पत्रिकाको थैलो सकीनसकी आफैंले बोकेर हिंडेपछि टुट्यो । सिलगढीको त्यो राष्ट्रिय पुस्तकालयमा दिन पुस्तक पत्रिका छुट््याउनुपर्ने रहेछ भन्ने थकथकी लाग्यो हामीलाई !
ज्ञानेन्द्र दाहाल उपाध्यक्ष भएपनि देवकोटा संघमा बढी सकृयता उनकै देखियो । सिलगढीको कार्यक्रमको व्यवस्थापन, हाम्रो बसाईंको बन्दोवस्त उनैले गरेका थिए । कार्यक्रम पछि बाहिर लगेर होटलमा मीठो खाजा उनैले खुवाए र हामीलाई बिदा गरे ।
प्रधाननगरमा नै महाकवि देवकोटाको पूर्ण कदको प्रतिमा स्थापना निकट भविष्यमा हुने कुरा ज्ञानेन्द्र दाहालबाट थाहा भयो । सिलगढीमा भानुभक्त, देवकोटा, तेनजिङ, रतनलाल ब्राम्हण, पारिजातहरूका शालिक स्थापित छन् । नेपाली भाषा साहित्य र स्रष्टाप्रति सिलगढीवासीहरूको यो अनुराग स्तुत्य लाग्यो हामीलाई । बंगाली भाषीहरूको बाहुल्य रहेको यस ठाउँमा आफ्नो भाषा–संस्कृति–साहित्य जोगाएर यिनको अभ्युत्थानमा सकृय रहने नेपालीहरूप्रति गर्वको भावना पलायो हाम्रा हृदयमा ।

रातिको खाना हामीले फेरि होटल सरगममा नै खायौं । सिलगढीको मुख्य बजारतर्फ घुम्ने समय नपाएका हामी त्यहीं नजिकैको मेनरोड तर्फ टहलिने सुरले हिडयौं । रामप्रसाद पन्त, ठाकुर शर्मा, यादव भट्टराई, डा.दुर्गा दाहालको टोलीमा सामेल हुन म पनि पुगें । मेनरोड छेउमा रहेको बजारको केही परसम्मको रात्रिकालीन दृश्य अवलोकन गर्दै केहीवेर घुम्यौं । भोलि बिहानै कालिम्पोङ हुँदै सिक्किम जाने कार्यक्रम भएकोले होटल पुगेर रात्रि शयनतर्फ लाग्नु नै उचित लाग्यो र फक्र्यौं ।
हाम्रो टोलीका सहभागीहरू निम्ति होटल बसाईका निम्ति जोडी बाँध्ने काम टोली नेता महेन्द्र गुरुङबाट भएको थियो । म र रामप्रसाद पन्त निम्ति एउटा कोठा थियो । यो क्रम यात्रा अवधिभरि नै रह्यो । जलेश्वरी श्रेष्ठ, लक्ष्मी उप्रेती, ललिता दोषी निम्ति एउटा कोठा हुन्थ्यो । ठाकुर शर्मा, यादव भट्टराई, मातृका पोखरेल, सीताराम गुरुङ, जयदेव भट्टराई, तुलसीहरि कोइराला, विमल वैद्य, पर्वत पार्तेल, डा. दुर्गा दाहालहरूका आफ आफ्ना जोडी बनेको थियो । टोली नेता महेन्द्र चाहिं प्रायः आफ्नो सामान सहितको कोठामा एक्लै पर्ने स्थिति बन्यो ।
२०७१ चैत १४ गते बिहानै आफ आफ्ना कोठाबाट सामान सहित तल झ¥यौं । गौरव लज अगाडि उभिएर सिक्किम जान रिजर्भ गरिएका दुइटा जीप कु¥यौं । चियाको चुस्की लिदालिदै देख्यौं गौरव लज अगाडि रोकिएका दुइटा जीप ! हतार हतार आएर आफआफ्ना सामान जीपको छतमा राख्न दियौं । बाँडिएर दुइटा जीपमा सवार भयौं । आठ बजेतिर हाम्रो यात्रा शुरु भयो । सिलगढी छोडेर कालेबुङ तर्फ लाग्दैछौं हामी । बाटोमा पुलका मुखमा दुइटा बाघका आकर्षक मूर्तिले हाम्रो ध्यान खिच्यो । यसलाई बाघपुल भन्दारहेछन् । केहीक्षण रोकियौं हामी । दृश्य हे¥यौं । भारतको पूर्वाञ्चललाई सडक र रेलमार्गबाट जोड्ने काम यही ठाउँले गर्दोरहेछ । टिष्टा नदी हुदै गइरहेका थियौं हामी । यसैवेला मलाई सम्झना भयो–माधव घिमिरेको राष्ट्रिय गीतको पंक्ति “पश्चिम किल्ला काँगडा पूर्वमा टिष्टा पुगेथ्यौं, कुन शक्तिको माझमा कहिले हामी झुकेथ्यौं !” 
कुखुराको घाँटीजस्तै भनिएको यो ठाउँ भारतको पूर्वाञ्चलका राज्यहरूसँगको ज्यादै महत्वपूर्ण, संवेदनशील एकमात्र सम्पर्क सेतु हो । २९ माइल अथवा बालुवा खानी भन्ने ठाउँमा पुगेपछि चियाखाजा खान भनेर हाम्रा जीप रोकिए । तर टोली नेताबाट खाना नै खाने प्रस्ताव आएपछि ‘होटल पण्डित’ मा छिरेर उदरपूर्ति ग¥यौं ।
भोजनपछि हाम्रो यात्रा अव कालेबुङ तर्फ लाग्यो । टिष्टा बजारबाट एउटा बाटो दार्जीलिङ तर्फ लाग्दोरहेछ । त्यता नगएर पुल तर्दै पूर्वी किनारतर्फ कुद्यौं । नदी किनारै किनारको बाटो सिक्किम तर्फ लाग्दोरहेछ । त्यता नगएर कालिम्पोङतर्फ जाने ठाडो उकालोतर्फ लाग्यौं हामी । बाटोमा टिकका रुख, बाँसका झाङ्हरू प्रशस्त भेटिए । विभिन्न रुख, झारपात हरियालीले भूदृश्य रमणीय थियो । कतैकतै ससाना सुन्दर फूलबारी पनि झल्याक झुलक देखापर्थे । विस्तार बन बुट््यान कम हुदै गएपछि आइपुगेछ कालिम्पोङ बजार । डाँडामाथि आफ्नो सौन्दर्यले लोभ्याउँदै निम्त्याईरहेको थियो कालेबुङले ।
कालेबुङ (कालिम्पुङ) ज्यादै व्यस्त शहर रहेछ । जग्गाका कान्ला कान्लामा बसेको यस शहरका भित्तामा लस्करै मोटरहरू पार्किङ् गरिएका थिए । बीचमा कतै सवारी रोक्नु असंभव थियो । हामी मोटर स्ट््याण्ड निर पुग्यौं । त्यहाँ नेपाली साहित्य अध्ययन समिति कालिम्पोङका अध्यक्ष ज्ञान सुतार र कवि मनोज बोगटी हाम्रो स्वागतार्थ उभिएका देख्यौं । कार्यक्रमको निर्धारित स्थल रहेछ समितिकै सभाकक्ष । जीप त्यहीं नजिकै पार्क गरेर राखियो । आवश्यक पुस्तक–पत्रिका मात्र झोलामा लिएर अरु सामान जीपमा नै छोड्यौं । यिनै जीपबाट आजै गान्तोक पुग्नुथियो हामीलाई । एकैछिन समितिको सभाकक्षमा उक्लियौं । त्यहाँ पूर्वपरिचित साहित्यकार प्रा. सञ्जय विष्टले मलाई देख्नुभयो र कालिम्पोङमा स्वागत अभिवादनका भावना व्यक्त गर्नुभयो । यसअघि काठमाडौंका केही कार्यक्रममा सहभागी हुन आउँदा प्रा.विष्टसँग परिचय भएको थियो । भैरव अर्यालसँग मेरो मितेरीका कुरा र भैरवको व्यक्तित्वबारे जिज्ञासु हुनुहुन्थ्यो उहाँ । भैरवबारेका मेरा प्रकाशित संस्मरणको चर्चा विष्ट वारम्बार गर्नुहुन्थ्यो । प्रा.विष्टले हामीलाई कालिम्पोङको दर्शनीय स्थल मंगलधाम देखाउन लानुभयो । तल फराकिलो फाँटमा बनाइएको मनमोहक कृष्णप्रणामी मन्दिर रहेछ यो । भागवत र कृष्णकथासँग सम्वन्धित विभिन्न सजीव सुन्दर, आकर्षक मूर्तिहरू सजाइएका थिए त्यस मन्दिरको विशाल हलभित्र । त्यस मन्दिरको स्वच्छता, सुन्दरता र सुरम्य वातावरणबाट निकै मुग्ध भयौं हामी । कालिम्पोङको पर्यटनमा यस मंगलधामले महŒवपूर्ण योगदान गरेको प्रा.विष्टबाट जानकारी पायौं । कालिम्पोङमा एकप्रकारको नेपाली साहित्यिक तीर्थस्थल मानिएको साहित्य मनीषी पारसमणि प्रधानको घर भने पुग्न सकिएन । त्यो ठाउँ बजारबाट बाह्र माइल टाढा पर्दोरहेछ । कालेबुङमा मेरा पूर्व परिचित साहित्यकार नरबहादुर दाहालसँग भेट हुन सकेन । ‘रचना’ पत्रिकाको प्रकाशन प्रारम्भ हुनेबित्तिकै यहाँका पुस्तक पत्रिका विक्रेता डी.पी उपासक कहाँबाट पत्रिकाको माग आएको थियो र नियमित रूपले केही वर्ष पठाइयो पनि । अर्का स्रष्टा लोकेश चन्द्र प्रधान पनि काठमाडौं आउँदा मसँग सम्पर्क राख्नुहुन्थ्यो । कालिम्पोङको भूमिमा पहिलोपटक टेक्ता यस्ता संझना अनायास आए मेरो मनमा ।
मंगलधामबाट हतारहतार आएर नेपाली साहित्य अध्ययन समितद्वारा आयोजित भेटघाट कार्यक्रममा सहभागी भयौं । दुवैतर्फका सहभागिहरूका मन्तव्य र कविता पाठ भएको त्यस कार्यक्रमको बीचमा बाहिर बोलाएर टोली नेता महेन्द्र गुरुङ र मेरो अन्तर्वार्ता लिएका थिए स्थानीय टेलिभिजन च्यानलहरूले । तर आफूले त्यो हेर्ने अवसर पाइएन । मन्तव्यका क्रममा “नेपालले दार्जीलिङलाई मात्र चिन्दछ, कालेबुङ्लाई चिन्दैन हाम्रो साहित्यिक अवदानलाई चिन्दैन हामी ओझेल परेका छौं” भन्ने कुरा अध्यक्ष ज्ञान सुतार सहितका केही वक्ताले प्रकट गर्नुभएको थियो । आफ्नो बोल्ने पालोमा मैले भनें–“तपाईंरूको सहयोग पाए म ‘रचना’ पत्रिकाको एउटा अङ्क ‘कालिम्पोङ अङ्क’ निकाल्ने प्रण गर्दछु । यस निम्ति लेख रचना संकलन–संयोजन गर्ने जिम्मा तपाईंहरूले यहीं कसैलाई दिनुहोस् !” मेरो प्रस्ताव पछि तत्काल सहभागीहरूले कवि मनोज बोगटीको नाम संयोजकमा तोके । बोगटीले पनि सामग्री जम्मा गरेर पठाउने वाचा गर्नुभयो । तर यी पंक्ति कोरुञ्जेल मैले उहाँहरूबाट सामग्री पाएको छैन । यो काम अधुरै रहेको छ । स्थानीय समाचार पत्रहरूमा पनि यी कुरा प्रकाशित भएको भोलिपल्ट पढेका थियौं । 

करीव ४ बज्न लागिसकेको थियो । गान्तोक पुग्नुथियो, जीपका ड्राइभरहरू हतार गर्दैथिए । थोरै खाजा चिया खाएर कालिम्पोङबाट विदा भयो हाम्रो टोली । 

बिहान हामी जुन बाटो कालिम्पोङ उक्लेका थियौं त्यही बाटो आर्लन थाल्यौं । बाटोमा सहयात्रीका कविता, ठट्टा, रमाइला गफ सुन्दै जीपमा कुदिरहेका थियौं । हिजो सिलगढी देवकोटा संघमा ज्ञानेन्द्र दाहालले मेरो परिचय दिंदा भनेका वाक्यतर्फ ध्यानाकर्षण गराउँदै पनि रमाइलो गरिरहेका थिए साथीहरू । बाटो कटनी मजाले भइरहेको थियो । हामी टिष्टा नदीको किनारै किनार जाँदै थियौं । जङ्गलबीचको नदी किनारको बाटो भएर कुदिरहेका थिए गाडीहरू । कतै कतै ससाना बजार भेटिन्थे । त्यहाँ सुकेका घिरौंलाका ठूला लामा जालीहरू झण्ड्याएर बेच्न राखेका दृश्यमा हामी आकर्षित भयौं । पहिले पहाडतिर दूध छान्ने र खुट्टाका मैल माड्ने काम यस्ता जालीबाट गरेको सम्झें मैले । यता पनि त्यस्तै काममा प्रयोग होला भन्ने लाग्यो । ठाउँ ठाउँमा नदीका पानीबाट बिजुली निकाल्न बनाइएका पावर हाउस पनि भेटिन्थे । रक्सी बनाउने डिस्टिलरीहरू पनि देखिन्थे । नदीका पानीको अत्यधिक सदुपयोग गर्ने प्रयत्न गरिएको रहेछ । यो पक्ष अनुकरणीय लाग्यो । दार्जीलिङ, सिक्किमका साहित्यमा पढेका टिष्टा, रङ्गीत, मल्ली आदि ठाउँ प्रत्यक्ष देख्तै गान्तोक तर्फ लागिरहेका थियौं । एक ठाउँमा सडकको भित्तामा पहेंलो भुईंमा कालो अक्षरले लेखेको देखें मैले, “आफ्नो गाउँ आफैं बनाऔं !” नेपालको यो नारा सिक्किममा पनि सरेको रहेछ ! साथीहरूलाई पनि देखाएँ । नारा नेपालमा बन्यो, त्यस अनुसारका गाउँ चाहीं सिक्किममा बनेछन् ! सबैको प्रतिकृया यस्तै थियो ।

हामी चढेको जीपमा अघिल्लो सीटमा ड्राइभरसँगै रामप्रसाद पन्त बस्नुभएको थियो । नियात्राका वरिष्ठ लेखक पन्तजी आफू हिडेको गाउँ ठाउँबारे विशेष जिज्ञासा राख्दै दृश्यको तस्वीर खिच्तै ड्राइभरलाई सोध्दै नोटबुकमा टिप्तै गरिरहनुभएको थियो । दायाँतिर निकै टाढा एउटा गाउँ देखियो । पन्तजीसँगै बीचमा बसेका जिज्ञासु सीताराम गुरुङले ड्राइभरलाई सोध्नुभयो–‘त्यो कुन गाउँ हो ?’ पन्तजी र अन्यका थुप्रै जिज्ञासा पूर्ति गर्दा गर्दा हैरान भएको ड्राभरले झोक्किंदै जवाफ दिए; “म गाडी रोकेर यहीं बस्छु तपाईं त्यहीं गएर सोधेर आउनुस् त्यो कुन गाउँ रहेछ !” हामी सुन्नेहरूले निकै मुस्किलले हाँसो थामेका थियौं । रम्फू थाना आइपुग्दा तस्वीर लिन क्यामरा तेस्र्याउँदा पनि ड्राइभरले झर्किएर पन्तजीलाई सचेत पारेको थियो–“यो सिक्किम हो, यहाँको कानून कडा छ जथाभावी गर्न पाइँदैन, लगेर जाकिदिन्छ !” भन्दैथिए ड्राइभर । ठाउँ ठाउँमा सफा सिक्किम ! हरियो सिक्किम ! राम्रो सिक्किम ! का नारा अंकित बोर्डहरू थिए । सडकमा पिसाव फेरे एकहजार जरिवाना को सूचना पनि थियो । यी कुरा नारामा सीमित मात्र थिएनन् । वास्तवमा नै सिक्किमलाई स्वच्छ, सफा, हरियालीयुक्त मनोहर बनाउने प्रयत्न यहाँको सरकारले गरेको रहेछ । त्यस्तै अनुभूति सिक्किम यात्रामा भयो हामीलाई ।

साँझ परिसकेको थियो । रानीखोला पुल तरेर गान्तोक उक्लिदै थिए हाम्रा जीप । बाहिरबाट आएका भाडाका गाडी आफूखुसी जता पनि लान नपाइने रहेछ । हाम्रा गाडी गान्तोकको जीप पार्कमा पुगेर रोकिए । त्यहीं ओर्लेर आफ आफ्ना सामान लियौं । विमल वैद्यले त्यहाँका आयोजकसँग सम्पर्क गरेपछि थाहा भो होटल म्याग्नोलिया जानुपर्ने रहेछ । अव त्यहाँका स्थानीय ट््याक्सीमा सवार भयौं हामी । आउँदा दुइटा जीपले पुगेको थियो तर अहिले चारवटा कारमा पनि मुस्किलले अटायौं हामी । म्याग्नोलिया होटल पुग्दा सिक्किम साहित्य परिषदका अध्यक्ष पारसमणि दँगाल र सचिव नीलम न्यौपानेले हाम्रो स्वागत गर्नुभयो । केहीबेर उहाँहरूसँग भलाकुसारी र भोजन गरेपछि दिनभरिको धपेडीले थाकेका हामी आफ आफ्ना शयनकक्षतिर लाग्यौं ।

२०७१ चैत १५ गते विहान चिया खाएर पैदल यात्रामा निस्क्यौं । हाम्रो गन्तव्य थियो भानुभक्त शालिक रहेको ठाउँ । सोधेर पत्ता लगायौं जिरो प्वाइन्ट भन्ने ठाउँमा रहेछ भानु शालिक ! बाटोमा पुलिस हेडक्बार्टर, अदालत, मुख्य मन्त्रीको कार्यालय, एसेम्बली हाउस आदि देखिए । बाटोमा देखियो एउटा ठूलो बोर्ड; लेखिएको थियो–जीवन थीङ मार्ग । अहो ! यी त मेरा परिचित सिक्किमे कवि थिए । ‘रचना’ पत्रिकाका पाठक र लेखक थिए । उनले पठाएको कविता मैले ‘रचना’ मा छापेको पनि थिएँ । उनकै नाममा रहेको त्यस सडकमा हिड्दा उनी बारेको पूर्वस्मृतिमा पुगें म । थीङ कटेज, सिच्चेवस्ती, गान्तोक, सिक्किम ठेगाना लेखेर मसँग पत्र व्यवहार गर्ने, कविता पठाउने कवि जीवन थीङ प्रति राज्यले देखाएको यो सम्मानले एउटा स्रष्टा प्रतिको कृतज्ञता प्रदर्शित गरेको आभास हुन्थ्यो । केहीवेरमा हामी पुग्यौं जीरो प्वाइन्ट । सडकको दायाँ पट्टि उक्लिएपछि देख्यौं उभिएका भानुभक्तलाई । पूर्ण कदको यो शालिक आकर्षक थियो । पार्क चाहीं त्यति स्वच्छ र सुन्दर देखिएन । वर्षको एकचोटि भानु जयन्तीका दिन यहाँ चहलपहल हुने सूचना त्यहाँ भेटिएका केही युवतीले दिए । तिनले भने; “हामीले त पहिल्यै सोचेका थियौं तपाईंहरू नेपालबाटै आएका हुनुपर्छ ! नत्र त यहाँकालाई अरु बेला यहाँ आउने फुर्सद कहाँ हुन्छ र ?” भानुभक्तको शालिकसँग हामीले धित मरुन्जेल विभिन्न मुद्रामा एकल र सामूहिक तस्वीर खिचायौं । केहीवेर त्यहाँ बितायौं र लाग्यौं होटलतिर । 

खाना खाएर ११ बजे हुने कार्यक्रममा सामेल हुनुथियो । हतार गरेर फर्केपनि डेढ घण्टा पछि साढे दस बजेमात्र खाना तयार हुने सूचना पाइयो । यति समय पनि होटलभन्दा बाहिरै बिताउने सुरले हिड्यौं हामी केही साथी गान्तोकका सडक नाप्दै ओरालोतिर । पहाडका भित्तामा ठूला ठूला घर ठडिएका छन् । केही वर्ष अघिको भूकम्पले क्षति पु¥याएका कान्लाहरूलाई ढुङ्गाका बलिया पर्खालका आड दिएर मजबूत पारिएको छ । सडक पार गर्न ठाउँठाउँमा आकाशे पुल बनाइएको छ । तल तल देखिने बेंसीहरूमा पनि घर, वस्ती, खाद्यान्न र तर्कारी बजार देखिन्छन् । सडकमा गाडीहरूको ओहोर दोहोर चलिरहेको छ । यस्तै यस्तै दृश्य हेर्दै ठाकुर शर्मा, यादव भट्टराई र म फक्र्यौं होटलतिर ।

खाना खाएर तातो पेट लिंदै हामी ठीक एघार बजे पुग्यौं सिक्किम साहित्य परिषद भवनमा । सहभागीहरूको आउने क्रम चलिरहेको थियो । पूर्वपरिचित स्रष्टा कवि केदार गुरुङसँग भेट भयो । आफ्नो सम्पादनको ‘स्रष्टा’को नयाँ अङ्क र आफ्ना कविताको संकलन ‘अद्र्ध शताब्दीय कविताहरू’ दिनुभयो उहाँले । हामी पुगेको आधा घण्टा पछि कार्यक्रम शुरु भयो । सिक्किम साहित्य परिषदका सचिव नीलम न्यौपानेबाट उद्घोषण शुरु भयो । प्राध्यापक रुद्र खरेलको सभापतित्व र महेन्द्र गुरुङको प्रमुख आतिथ्यमा अन्य अतिथिहरूलाई आसन ग्रहण गराइयो । मञ्चमा उद्घोषक र वक्ता मात्र उभिन्थे । सभापति, प्रमुख अतिथि र अतिथिहरूलाई मञ्च अगाडि तलका सोफाहरूमा बसाइन्थ्यो । कार्यक्रममा यस्तो अनौठो भिन्नता देखियो । नेपालबाट गएका डा.दुर्गा दाहालबाट ‘नेपाली साहित्यको विकासक्रम नेपालभित्र र बाहिर’ शीर्षक कार्यपत्र प्रस्तुत भयो । सिक्किमतर्फबाट सिक्किम साहित्य परिषदका अध्यक्ष पारसमणि दँगालले ‘नेपाली साहित्यको विकासक्रम’ शीर्षक कार्यपत्र मौखिक नै तर प्रखर बौद्धिकतापूर्वक प्रस्तुत गर्नुभयो । यसै क्रममा उहाँले नेपालमा ‘सिक्किमीकरण’को चर्चा वारम्वार हुने गरेको तर त्यो अनुपयुक्त भएको टिप्पणी गर्नुभयो । राजतन्त्र पूर्ण प्रजातान्त्रिक विधिबाट फालिएको र भारतमा विलय पनि प्रजातान्त्रिक विधिबाट जनताको इच्छा अनुसार नै भएको उहाँले स्पष्ट पार्नुभयो । नेपालतर्फबाट बोल्दा प्रमुख अतिथि मेहन्द्र गुरुङले “एउटा स्वतन्त्र राष्ट्रले आफ्नो अस्तित्व गुमाउने स्थिति आएकोमा नपाली जनताको चिन्ता जाहेर हुँदा त्यस्तो शब्द प्रयोग हुने गरेकोलाई अन्यथा नमान्न अनुरोध गर्नुभयो । त्यहाँ ‘वनिता’ को सिक्किम अंक विमोचनका साथै रमाकृष्ण सिर्जना प्रतिष्ठानबाट कवि केदार गुरुङलाई अभिनन्दन पत्र अर्पण गरिएको थियो । नेपालका कविहरूका कवितापाठ पछि अतिथिहरूका मन्तव्यको क्रम शुरु भयो । यस पंक्तिकारले आफ्नो मन्तव्यमा–नेपाल र सिक्किम दुवै ठाउँका पुस्तक पत्रपत्रिकाको आदानप्रदानले नेपाली भाषा साहित्यको विकास र विस्तारमा पूर्ण सहयोग पुग्ने र नेपाली भाषा साहित्यले मात्रै विश्वभरका नेपालीलाई एउटै धागोमा बाँध्नसक्ने कुरा व्यक्त गरेको थियो । प्राज्ञ मातृका पोखरेलले नेपाली भाषा साहित्यको विकास निम्ति नेपाल, सिक्किम र दार्जिलिङले सशक्त भएर काम गर्नुपर्ने राय व्यक्त गर्नुभयो । हजारौं खर्च गरेर छापेका पुस्तक निःशुल्क बाँड्न बाध्य भएको, वितरण–विक्रीको समस्या निकै चर्को भएको धारणा सिक्किमे स्रष्टाबाट आएको थियो । कार्यक्रम विसर्जनपछि स्वादिष्ट जलपान आयोजना गरिएको थियो । आपसी विचार विमर्श र परिचयको आदानप्रदान त्यसवेला पनि भयो । पूर्वपरिचित स्रष्टाहरू महानन्द पौडेल, महेन्द्र पी लामा, राजेन्द्र भण्डारीहरूसँग भेट हुने संयोग चाहिं जुरेन । कोही अस्वस्थ र कोही सिक्किम बाहिर भएर उपस्थित हुन नसकेको सूचना आयोजकबाट पाइयो ।

हामी सिक्किमयात्राको अन्तिम सन्ध्यामा थियौं । अघिल्लो दिन पनि गएको त्यहाँको प्रसिद्ध पर्यटकीय बजार महात्मा गान्धीमार्ग जाने सल्लाह गर्दै रामप्रसाद पन्त, ठाकुर शर्मा र म हिड्यौं । भारतका विभिन्न क्षेत्रबाट आएका पर्यटकहरूको भीड लाग्ने यो बजार एउटा लामो फराकिलो टारमा पसारिएको थियो । बजारका दुवै मुखमा उभिएका महात्मा गान्धीको विशाल मूर्ति राखिएको थियो । बीच बीचमा बस्ने कुर्सीहरू राखिएका थिए । भुईंमा चिल्ला काला ढुङ्गा छापिएको थियो । रमणीय फूलबारी, फोहोराहरू पनि ठाउँठाउँमा देखिन्थे । राति भएपनि दिउसोलाई बिर्साउने बिजुलीको उज्यालोले पूरा बजार एरियालाई झलमल्ल पारेको थियो । यहाँको रमणीयतामा भुल्दै करीब डेढ घण्टा जति बितायौं हामीले । पछि अरु साथीहरू पनि आइपुग्नुभएछ । जलेश्वरी, लक्ष्मी, ललिता, त्रिदेवीहरूले मन फुकाएर शपिङ गरेको देख्यौं । पन्त र मैले ५० रुपियाँ गोटामा ‘सिक्कम पकेट गाइड’ २ थान किन्यौं । कपडाहरू त्यति सस्तो लागेन । एउटा जवाहर कोट किन्न खोजेको निकै महँगो लागेर छोडियो । प्रशस्त गाँठ भएका पर्यटकहरूलाई दोहन गर्न बंगालीहरूले खोलेका दूकान रहेछन् यी । स्थानीय नेपाली चाहीं तिनका सहायक भएर जागिर खाएर बसेका देखिन्थे । स्थानीयहरूमा आफ्ना घर भाडामा लगाएर खाने अथवा जागिर खाने प्रवृत्ति शहरी क्षेत्रमा निकै झाङ्गिएको रहेछ ।

सिक्किमे स्रष्टाहरूका तर्फबाट हामी बसेकै होटलमा नेपालका पाहुनाहरूका निम्ति भनेर सान्ध्य रसपानको व्यवस्था गरिएको रहेछ । तर हाम्रो टोलीका महिला र केही पुरुष सदस्य रसप्रेमी थिएनन् । सिक्किम तर्फका केही पनि रसपानप्रति वितृष्णा राख्ने रहेछन् । मद्य विरागी हाम्रो वेग्लै समूह बन्यो र बेग्लै कोठामा सात्विक आहारीहरू जम्मा भयौं । त्यहाँ हल्का चिया खाजा सहित हाम्रो कोठे गोष्ठी शुरु भयो । सिक्किमे स्रष्टाहरूसँग मैले सोधें; नेपालमा भनिने सिक्किमीकरण प्रति दिउसोका सभामा भनिएजस्तै यथार्थ हो त यहाँ ? मेरो प्रश्न टुङ्गिन नपाउँदै एकजना प्रखर युवाले उत्तर दिए; “तपाईंहरू बारम्बार ती वाक्य उक्काइरहनुस् ! हामीले ऊर्जा पाउँछौं । यहाँ पनि सिक्किमीकरण विरोधी जनमत प्रशस्त छ । जो सरकारी सुविधाभोगी छन्, केन्द्र सरकारबाट प्रशस्त फाइदा लिएका छन् र बजेटका ठूलठूला रकममा ढलीमली गरेका छन् ती सिक्किमीकरण समर्थक हुन् । केन्द्रको पैसाको ओइरोको तडकभडक हो यो तपाईंहरूले देखेको सिक्किमको बाहिरी रूप ! सुनको पिंजरामा थुनिएको सुगा जस्तै छौं हामी । फौज र बन्दुकको बलले जनतालाई दमन गरेर गरिएको विलय हो यो । हाम्रा नेपाली शहीद भएका छन् दमनको प्रतिकार गर्दा । ती शहीदको आत्माले पिरोलिरहेको छ हामीलाई । एउटाको शोषण र दासताबाट मुक्त भएर अर्को त्यस्तै स्थिति बेहोर्न बलात् बाध्य पारिएका छौं । यहाँ सरकारको विरोध गर्न पाइदैन, नागरिक स्वतन्त्रता र मानवीय स्वाधीनताको कुरा गर्न पाइदैन । सरकारी दमनको शिकार हुनुपर्दछ, कठोर यातना भोग्न विवश हुनुपर्दछ । यसैलाई हाम्रा केही टाठाबाठाहरूले स्वतन्त्रता भनेका छन् । हामी सिक्किमको स्थितिसँग सन्तुष्ट छैनौं । यो असन्तुष्टि यहाँ बलियै छ । कुनै बेला त्यो असन्तुष्टिले विस्फोटक रूप लिन सक्छ । यस्तै कुरा त्यहाँ उपस्थित सिक्किमे स्रष्टाहरूबाट सुनियो । प्रत्येकले उदाहरण सहित विलयबाट परेका दुष्प्रभाव सुनाएका थिए । एकजनाले भने–यहाँ राज्य सरकार केन्द्र सामु निरीह छ । राज्यपाल सर्वाधिकार सम्पन्न छन् । राज्यपालकै दयामा यहाँको सरकारको अस्तित्व निर्भर रहन्छ । सिक्किम निम्ति भारतका अरु राज्यभन्दा बेग्लै कानूनी प्रावधान केन्द्र सरकारले बनाएको छ । यस्ता अभिव्यक्ति सुनेर हामी पनि दोधारमा प¥यौं वास्तविकता के हो ? कुन पक्षको दृष्टिकोण सही हो ? विलय समर्थक र विलय विरोधी जनमत त्यहाँ रहेछ भन्ने कुराको आकलन यस प्रसङ्गबाट भयो नै हामीलाई ।

अर्को कोठामा च्यायौं । साथीहरू रसपानमा जमिरहेकै थिए । हामी मद्यविरागीहरू भोकले ग्रस्त भएका थियौं । हाम्रो जमात खाना खान तल ओल्र्यो । खाएर शयन गर्दा ११ बजिसकेको थियो ।
आज २०७१ चैत १६ गते । बिहान सातबजे होटल छाड्यौं र प्रस्थान ग¥यौं दार्जीलिङतिर । उही पहिले आएकै बाटो फर्कदै थियौं । मल्ली, सिङताम, रम्पू हुदै पुग्यौं टिष्टा बजार । यहींबाट कालिम्पोङ, दार्जीलिङ जाने उकालो तर्फ लाग्यौं । चिस्यानयुक्त जङ्गली बाटो थियो यो । हाम्रो यताका नौ घुम्ती र सात घुम्ती जस्तै घुमाउरो बाटो थियो त्यो । अस्ति कालेबुङतर्फ जाँदाको जस्तै संरचना थियो यस सडकको पनि । यहाँ ससाना गाडीमात्र चलेका देखिन्थे । ठाउँठाउँका खोल्सा र झर्नाहरूबाट ट्याङ्करमा पानी भरिंदै थिए । पानीका ट्याङ्कर कुदिरहेका देखिन्थे । ड्रममा पानी बोकेका गाडी पनि देखिन्थे । दार्जीलिङमा पानीको अभाव कति रहेछ भन्ने यथार्थ यी दृश्यले स्पष्ट पारिरहेका थिए । निकै माथि डाँडामा पुगेपछि हाम्रा गाडी साइड लगाएर रोकिए । पेसोक भन्ने ठाउँ रहेछ त्यो । वरिपरि चियावगानको हरियाली देखिने; टाढा टाढासम्म सुन्दर दृश्य देखिने रमाइलो ठाउँ रहेछ यो । चिया खाजा खायौं त्यहींको एउटा होटलमा । बाहिर खुला ठाउँका फलैचामा बसेर सामूहिक र दृश्यका तस्वीर पनि खिच्यौं ।

अव अलमल नगरी बाटो लाग्यौं हामी । सल्ला धूपी र अन्य ठूला रुखहरू बाटाका दुवैतिर बाक्लिएर ठडिएका देखिन्थे । बनको संरक्षणको प्रभाविलो दृश्य यता देख्यौं हामीले । भुल्भुल फुटेको पानीका मूल ठाउँठाउँमा भेटिन्थे । हाम्रा अगाडि पछाडि पानी भरिएका ट्याङ्करले यता पनि छाडेका थिएनन् । यस्तै दृश्य परिदृश्य हेर्दाहेर्दै जोरबङ्गला पुगेछौं । अव दार्जीलिङ आइपुगेछ भन्ने लाग्यो । दार्जीलिङको मुख्य प्रवेशद्वार नै मानिन्छ यो ठाउँ । एकै छिनमा छुकछुक गर्दै रेल पनि आइपुग्यो । वर्तमानमा त यहाँको रेल विस्थापित भैसक्यो होला भन्ने लागेको थियो । अझ पनि त्यसको अस्तित्व कायमै रहेछ । रेललाई बाटो दिन गाडीहरू रोकिए । इन्जनसमेत चारवटा मात्र डिब्बा भएको त्यो रेल सिलगढीबाट आएको थियो । केही विदेशी पर्यटक मात्र त्यसमा सवार थिए । पहाडमा रेल यात्राको मजा लिन ती चढेका थिए । यस्तो पट्यारलाग्दो रेलयात्रा स्थानीयले त किन गर्थे र सडक यातायातको यस्तो सुविधा भएको बेलामा । विश्व सम्पदा सूचीमा रहेको यो रेलले अहिले पनि आफ्नो अस्तित्व देखाइरहेको रहेछ ! हाम्रो एकमात्र जनकपुर जयनगर रेलको दुर्गति सम्झें मैले । माल पाएर चाल पाउन नसक्नेहरूले त्यो रेलको अस्तित्व नै समाप्त गरिदिएका छन् । भारतले त्यस रेलवेको विकास र विस्तार गर्ने जिम्मा लिएको छ । तर अनेक कचिङ्गलले गर्दा काम सम्पन्न हुने कहिले हो ठेगान छैन । यस्तै सोचाईमा मग्न भएकै बेला देखें दार्जीलिङ रेलवे स्टेशन ! अव दार्जीलिङ शहर प्रवेश गरिसकेका छौं हामी । सरासर हामीलाई गोर्खा दुःख निवारण सम्मेलनको भवन छेउमा पु¥याएर ओरालिदियो जीपले । सवारीको चाप र सानो सडकका कारण गाडी रोकिरहने स्थिति थिएन । यहाँबाट आजै हामीलाई यिनै गाडीबाट पशुपतिनगर पुग्नु थियो । मोटर स्ट््याण्ड आउने उर्दी गरेर हाम्रा सामान सहित जीपहरू थान्को लाग्न गए ।

मध्यान्ह करीब १२ बजेको समय थियो । गोरखा दुःख निवारण केन्द्रको हलमा रमिता प्रकाशनले आयोजना गरेको कार्यक्रम रहेछ । प्रेम प्रधानको सभापतित्व र महेन्द्र गुरुङको प्रमुख आतिथ्यमा कार्यक्रम शुरु भयो । मेरा पूर्वपरिचित कवि मनप्रसाद सुब्बा, डा गीता क्षेत्रीहरूसँग भेट भयो त्यहाँ । प्रेम प्रधान अहिले साहित्य अकादमी दिल्लीमा नेपाली भाषा सम्पर्क समितिका संयोजक पदमा कार्यरत हनुहुँदोरहेछ । गोपी नारायण प्रधान वारेको उहाँको पुस्तक भर्खर साहित्य अकादमीले प्रकाशित गरेको रहेछ । प्राज्ञ मातृका पोखरेललाई उहाँले दिनुभएको त्यो पुस्तक मैले पल्टाएर हेरें । गोपीनारायण आफ्ना परिचित साहित्यकार, काठमाडौं र दिल्लीका कार्यक्रममा बेला बेला भेट हुने गरेको, सधै दौरा सुरुवालमा सजिएर चिटिक्क परेर हिड्ने तर टोपी नलगाउने । यी कुरा गम्न थालें म । गोपीनारायण बारेको त्यो पुस्तक पढ्न मन लाग्यो र त्यसका लेखक प्रेम प्रधानलाई साधें–यो पुस्तक यहाँ बजारमा किन्न पाइन्छ ? प्रधानले दिल्लीमा पाइने यतातिर नपाइने भन्नुभयो । यस्तै कुरा हुँदाहुँदै मलाई बोल्न मञ्चमा बोलाइयो । मैले भनें–नेपाली भाषा साहित्य प्रेमीहरूका निम्ति दार्जीलिङ तीर्थस्थल बराबर नै हो । नेपाली साहित्यलाई दार्जीलिङले दिएको योगदानप्रति हामी जति अनुगृहीत भए पनि कम हुन्छ । भारतीय अकादमीसँग सम्बद्ध प्रेम प्रधानसँग जिज्ञासा राख्दै मैले भनें–नेपालका प्रकाशनहरूमा नेपाल र भारतका नेपाली साहित्यकार भनेर छुट््याइँदैन । तर भारतीय अकादमीका संकलनमा नेपालका साहित्यकारहरूलाई ठाउँ दिइँदैन यस्तो विभेद किन होला ? भारतीय अकादमी दिल्लीबाट प्रकाशित नेपाली पुस्तक यहाँ दार्जीलिङमा, सिक्किममा, असममा त पाइँदोरहेनछ भने नेपालका प्रकाशन यहाँ आउने र तपाईंहरूका प्रकाशन नेपालमा जाने त कुरै भएन ? आफ्नै देशका विभिन्न केन्द्रमा आफ्ना प्रकाशन विक्री वितरणको व्यवस्था किन मिल्न नसकेको होला ? भन्दै मैले गापीनारायण प्रधानबारेको पुस्तक दार्जीलिङमा नपाइने भन्ने ताजा सन्दर्भ उठाएँ । बीचमा नै सभाध्यक्ष प्रेम प्रधानले भन्नुभयो–एक प्रति सो पुस्तक म उहाँलाई दिन्छु ! –मैले आफूले नपाएर नभै व्यवस्था र प्रकृयाको कुरा गरेको बताएँ ।

मनप्रसाद सुब्बाको मन्तव्य ओजपूर्ण र मननीय भएको अनुभव ग¥यौं हामीले । साहित्यमा कसैलाई बोक्ने र कसैलाई फ्याँक्ने प्रवृत्ति जताबाट भएपनि निन्दनीय हुन्छ भन्ने उहाँको टिप्पणी सार्थक थियो । सभाध्यक्षको मन्तव्य दिंदा प्रेम प्रधानले मेरो जिज्ञासाबारे पनि बोल्नुभएको थियो । केन्द्र सरकारको केन्द्रीय अकादमीको नीति अनुसार चल्नुपर्ने हुन्छ हामीले । भारतीय अकादमीले नेपालको मात्र होइन पाकिस्तानको उर्दू साहित्य, बंगलादेशको बंगाली साहित्य र श्रीलङ्काको तमिल साहित्यलाई पनि आफ्ना प्रकाशनमा ठाउँ दिंदैन । नेपालका साहित्यकारलाई हामीले विभेद गरेका छैनौं । हाम्रा विश्वविद्यालयका पाठ्यक्रम नेपालकै साहित्यकारका रचनाले भरिएका छन् । यताका पाका केही स्रष्टालार्र्ई छाडेर नयाँ मनप्रसाद सुब्बा जस्ता स्रष्टाको रचना नेपालका पाठ््यक्रममा राखिदैन यस्तो किन ? यसबाट पनि हामीले विभेद नगरेको ठहरिदैन र ? यसरी आफ्नो स्पष्टीकरण प्रेम प्रधानले दिनुभएको थियो । कार्यक्रम समाप्तिपछि पनि प्रेम प्रधानसँग मेरो संवाद चल्यो । वंगलादेशको वंगाली र पाकिस्तानको उर्दूका रचना भारतीय अकादेमीका प्रकाशनमा रहने गरेको तर नेपालका स्रष्टाका रचनालाई ठाउँ नदिइने गरेको कुरा यताकै केही साहित्यकारबाट सुनिन्छ सो के हो ? तपाईंहरूले पाठ्यक्रममा यताका स्रष्टालाई ठाउँ दिनुभएको रहेनछ आफ्ना स्रष्टाका रचनात्मक क्षमताप्रति विश्वास नभएर नेपालका साहित्यकारहरूका रचनाले विश्वविद्यालयहरूका पाठ्यक्रम भर्नुभएको हो त ? नेपालमा विगत २ वर्षदेखि मात्र नयाँ पुस्ताका स्रष्टाका रचना पाठ्यक्रममा रहन थालेका छन् । यताकालाई विभेद गरिएको छैन । मञ्चमार्फत् र पछि सम्वादका क्रममा पनि प्रेम प्रधानसँग मेरो जुहारी सहयात्री र सहभागीहरूका निम्ति आकर्षणको विषय भएको थियो । प्रेम प्रधानसँग आफ आफ्ना प्रकाशनको आदानप्रदान भयो । गोपीनारायण प्रधान बारेको आफ्नो पुस्तक दिनुभयो उहाँले ।

सिक्किमका स्रष्टाहरूको गुनासो पनि उस्तै थियो । हामी हजारौं रुपियाँ खर्च गरेर पुस्तक छाप्छौं । वितरण र विक्री प्रणाली शून्य छ । नेपालमा त परै जाओस् हामी यताकै दार्जीलिङ असममा पनि पठाउन सक्तैनौं । दार्जीलिङमा पनि त्यस्तै समस्या छ । यताका अंग्रेजी, हिन्दी पुस्तक पत्रिका नेपालमा पर्याप्त जान्छन्, बिक्छन् । तर नेपालका प्रकाशन यता आउन पाउँदैनन् । यताका पनि नेपाली भाषाका प्रकाशन नेपालका बजारमा जाँदैनन् । दुवैतिरको यस्तो गंभीर समस्याको निराकरण अझ हुन सकेको छैन । नेपाल र भारतका सरकारी स्तरबाटै विशेष निर्णय गरेर सहमति र सन्धिद्वारा मात्र यस्तो समस्या समाधान हुनेरहेछ । लेखक प्रकाशक सम्पादकहरूले दुवैतर्फबाट बारम्वार यो समस्यातर्फ सरकारको ध्यानाकर्षण गराएका हुन् । तर कुनै सुनुवाई भएको छैन ।
दार्जीलिङ यात्रामा के पनि थाहा भो भने भारतको केन्द्रीय अकादमीले नेपाली भाषाको लागि वार्षिक १० करोड भारतीय रुपियाँको बजेट छुट््याउँदो रहेछ । नेपाल प्रज्ञा प्रतिष्ठानको तुलनामा यो निकै ठूलो रकम हो । तर यत्रो रकम भएर पनि त्यस अनुरूप नेपाली साहित्यको उन्नतिका काम अकादमीले गर्न नसकेको कटु यथार्थ पनि त्यहाँ केही स्रष्टाहरूबाट थाहा भयो । वर्षदिनभित्र खर्च गरिसक्नुपर्ने यत्रो रकमको उपयोग चाहीं कहिले गोवा, कहिले त्रिवेन्द्रम, कहिले कुनै पर्यटकीय क्षेत्रको महँगो होटल रिसोर्ट आदिमा मिटिङ राखेर, घुमफिर गरेर सिध्याइन्छ भन्ने असन्तुष्टि पनि सुनाए केहीले । केन्द्र बाहेक राज्य सरकारले भाषा साहित्य निम्ति खर्च गर्ने बजेट बेग्लै हुन्छ । त्यसको पनि पूरा सदुपयोग हुने हो भने भाषा साहित्यको स्थिति यस्तै दयनीय हुने थिएन भन्ने तथ्य पनि त्यताका केही स्रष्टाहरूले कुराकानीमा भनेका थिए । दार्जीलिङ पुगेर चौरस्ताको भानु शालिक र धीरधामको नेपाली मन्दिर नपुग्दा यात्रा अधुरो हुन्छ भन्ने थाहा हुँदाहुँदै पनि हतारोले गर्दा यसपटक त्यहाँ जान सकिएन । 

आयोजक संस्थाले खुवाएको भोजनबाट उदर तृप्त भएपछि त्यहाँबाट विदा भएर लाग्यौं हामी पाका स्रष्टा इन्द्रबहादुर राईलाई भेट्न लोचनगरस्थित उहाँको निवासमा । नेपालका यत्रा साहित्यिक पत्रकार आफूलाई भेट्न आएकोमा खुशी व्यक्त गर्नुभयो उहाँले । रमाकृष्ण सिर्जना प्रतिष्ठानका तर्फबाट अध्यक्ष महेन्द्र गुृरुङले अभिनन्दनपत्र अर्पण गर्नुभयो स्रष्टा राईलाई । ‘रचना’को नयाँ अङ्क दिंदा उहाँले ‘रचना’का देवकोटा अङ्क र असमे नेपाली अङ्क पठनीय रहेका भनेर तारीफ गर्नुभयो । इन्द्रबहादुर दम्पतीसँग बिदा भएर हामी लाग्यौं जीप पार्क गरिएको ठाउँतिर । यिनै दुइटा जीपले हामीलाई इलामको सिमाना मिरिक–पशुपतिनगर पु¥याउनुपर्ने थियो ।

गान्तोक देखिनै हामीलाई लिएर आएका ती दुइटा जीपमा सवार भयौं हामी । मिरिकसम्मको यात्रा तिनैमा गर्नुथियो । बीचमा निकै ठूलो पानी प¥यो । हामीेले काठमाडौं छोड्दा पनि यस्तै झरी थियो । आज भारत छोड्दा पनि त्यस्तै झरीमा प¥यौं । मिरिकमा ती जीपलाई विदा गरेर सामान बोकेर पारि पशुपतिनगरतिर जाँदा निथ्रुक्क भिज्यौं । महेन्द्रजीले बन्दोवस्त गरेका अर्का दुइटा जीपमा सवार भएर इलाम बजारको बसस्टप पुग्दा रात निकै गइसकेको थियो । विमल वैद्यले व्यवस्था गरेको होटलमा रात्रिविश्राम ग¥यौं । 

२०७१ चैत १७ गते बिहानै घुम्न निस्क्यौं हामी । माथि डाँडामा देखिने भ्यूटावरसम्म पुग्ने लक्ष थियो । चियाबारीको बीचमा इलामे स्रष्टा विष्णु नवीनको अर्धकदको शालिक रहेछ । त्यहाँ फोटो खिच्यौं । विष्णु नवीनसँग २३ सालको चितवनको साहित्य सेमिनारमा भेटघाट र परिचय भएको थियो । हास्य व्यंग्यका गतिला लेखक थिए उनी । ‘रचना’ मा उनका सृजना छापिएका पनि छन् । पछि उनको मनस्थिति केही खलवलियो । महिलाको भेषमा सिंदुर टीका चुरा, धोती चोलो लगाएर हिड्न थालेछन् उनी । आफ्नो क्षेत्रका विशिष्ट प्रतिभालाई इलामेलीले गरेको सम्मान स्तुत्य लाग्यो । हामी चियाबारीको ठाडो उकालो चढ्दै टुप्पोमा पुग्यौं । तर टावरको ढोकामा ताल्चा झुण्डिएको थियो । बाहिरै उभिएर दृश्यावलोकन ग¥यौं । हिजोको झरीले चियाका बुट्टा र रुखका हाँगाविगाँलाई पखालेर स्वच्छ पारिदिएको थियो । डाँडाकाँडा निख्खर गाढा हरिया र सुरम्य देखिन्थे । कलिलो घामको न्यानो प्रकाशले स्वच्छ र नीलो आकाशलाई अझ मनोहर र रमणीय बनाएको थियो । यिनै दृश्यको आनन्द लिंदै, शरीरमा प्रदूषणरहित वातावरणको ऊर्जा भर्दै ओर्लियौं हामी ।

हाम्रो यात्राको अन्तिम कार्यक्रम आज हुदैथियो इलाममा । नेपाल प्रज्ञा प्रतिष्ठान र रमाकृष्ण सृजना प्रतिष्ठानको सहकार्यमा साहित्य प्रवद्र्धन समितिको समायोजनमा ‘समकालीन नेपाली नारी कथाकार र लेखन प्रवृत्ति’ विषयक गोष्ठी आयोजना गरिएको थियो । वनिता सम्पादक लक्ष्मी उप्रेतीको यो कार्यपत्रको टिप्पणीकार लेखक केदार शर्मा थिए । काठमाडौंमा राम्रै ख्याति कमाएर सञ्चार क्षेत्रमा सकृय भएर गतिशील जीवन बिताइरहेका केदार शर्मा विगत केही वर्षदेखि काठमाडौं छोडी आफ्नै जन्मथलो इलाममा बस्न लागेको दुईवर्ष भएछ । यहाँ पनि उस्तै सकृयता देखियो केदार शर्माको । प्राज्ञ मातृका पोखरेलको लागिपराईमा भएको यो कार्यक्रम हाम्रा निम्ति उपलब्धिमूलक रह्यो । प्रमुख आतिथ्य गरेका विद्वान प्राध्यापक माधव भण्डारीसँग, स्रष्टा युद्धप्रसाद वैद्यसँग धेरै पछि भेट गर्न पाउँदा प्रसन्नता लाग्नु स्वाभाविकै थियो । केही कविता पाठ, अतिथिहरूका मन्तव्य र सभाध्यक्ष विमल वैद्यको सम्वोधन पछि हतार हतार कार्यक्रम विसर्जित भयो । विमल वैद्यले लाम बजारको एउटा भोजनालयमा लगेपछि स्वादिष्ट खानाले तृप्त भएर होटलतर्फ लाग्यौं र सामान लिएर काठमाडौं जाने रात्रिवस चढ्यौं ।

२०७१ चैत १८ गते बिहान काठमाडौं आइपुगेपछि हाम्रो यो करीव सात दिनको धपेडीयात्रा सम्पन्न भयो । शारीरिक धपेडी धेरै भएपनि मानसिक स्फूर्ति बढाउनुका साथै नेपाल–सिक्किम–सिलगढी–कालेबुङ–दार्जीलिङसँगको भाषिक साहित्यिक सद्भाव बढाउन यस यात्राले उपलब्धिपूर्ण र सार्थक परिणाम ल्याउने विश्वास गर्नुपर्दछ ।

यात्राको व्यवस्थापन गर्ने रमाकृष्ण सिर्जना प्रतिष्ठान, विशेष गरेर त्यसका अध्यक्ष महेन्द्र गुरुङ सहित सवै पदाधिकारीहरूप्रति आभार व्यक्त गर्दछु । सहभागीहरूको टोली सभ्य र शालीन भएकोले पनि यात्रा सुखद र उपलब्धिमूलक रहेको अनुभव सवैमा भयो । भविष्यमा पनि यस्ता यात्रामा सहभागी हुन पाइयोस् भन्ने कामना सहभागीहरूबाट गरिनुले पनि यस यात्राको सार्थकता प्रमाणित गरेको छ । अस्तु ।
 ९८४१३७४३१०
लामोढुङ्गा मार्ग, गहनापोखरी, काठमाडौं

सम्झनामा सिक्किम यात्रा
लक्ष्मी उप्रेती

कुनै यात्रा रहरका हुन्छन्, कुनै या  त्रा करकापका हुन्छन्, कुनै यात्रा व्यावहारिकताका र कुनै यात्रा बाध्यताका पनि हुन्छन् । जस्तो यात्रा भए पनि यात्रा यात्रा नै हो यात्रामा सहज र असहज दुवै परिस्थिति हुन्छ । त्यस्तो यात्रामा विताउँदाका क्षण र यात्राको सिलसिलामा भेटिएका नयाँ मानिसहरूसँगको सामीप्य र त्यस ठाँउको जीवन पद्धति, संस्कार, संस्कृति, सभ्यता र वरिपरीको परिवेशका अनुभूतिले जीवन जान्न सिकाउँछ, बुझ्न सिकाउँछ र अघि बढ्न अभिप्रेरित गर्दछ ।

२०७१ को अन्तिम महिना चैत्र १२ गते स्रष्टाहरूको एउटा टोली सिक्किम यात्राको उद्देश्यमा तय भयो । त्यसमा म पनि मिसिएकी थिएँ । हाम्रो अनुरोधलाई स्वीकार गरेर सिक्किम साहित्य परिषद्को निमन्त्रणामा रमाकृष्ण सिर्जना प्रतिष्ठानले दुई वर्ष अघि तय गरेको यो यात्राको कार्यक्रम यस वर्ष जु¥यो । दुई वर्ष अघि आदरणीय दाजू आख्यान पुरुष डा. धुव्र चन्द्र गौतमको चाहना अनुरूप यो यात्राको लागि दुई पक्षीय प्रारम्भिक वार्ता धु्रव दाईको घरबाट नै सुरु भयो । सिक्किमका वरिष्ठ पत्रकार, साहित्यकार विजय वान्तवा दाइको माध्यमबाट सिक्किम साहित्य परिषद्सँग समन्वय गरी रमा कृष्ण सिर्जना प्रतिष्ठानका अध्यक्ष महेन्द्र गुरुङको सकृयतामा कुरा अघि बढ्यो । संस्थागत रूपमा तय गरिने यो यात्राबारे सल्लाहकार दाजु धु्रव चन्द्र गौतम, अध्यक्ष महेन्द्र गुरुङ, उपाध्यक्ष म आफै र महासचिव यादव भट्टराईको केही दिनको भेटघाट र छलफल पछि टुंगो लाग्यो । को को जाने भन्ने निर्णय पनि भयो । सिक्किम साहित्य परिषद्बाट संस्थागत रूपमा हामीलाई निमन्त्रणा आयो । तर त्यस समयमा भवितव्य प¥यो, जुरेन । सबै मिलाई सकेर पनि त्यसबेला अध्यक्षको आफन्तको मृत्युको शोकले यात्रा रोकियो । मेरो लागि भने केही सहज बन्यो । कारण वनिताको सिक्किम विशेषांक प्रकाशन गर्न भ्याएकी थिइनँ । अव भने विशेषाङ्क प्रकाशन गरेर जान सकिने भयो भनेर म ढुक्क भएँ ।

     समय वित्दै गयो, यात्राको कुरो सेलाउँदै गयो । वनिताले पनि सिक्किम यात्रालाई ध्यान दिएन । तर, समय मिलाएर सिक्किम जानै पर्छ भन्ने अभिव्यक्ति बारम्बार अध्यक्षबाट आई रहन्थ्यो । धु्रव दाईको जोश, जाँगरले पनि हामी उत्साही भईरहन्थ्यौं । फेरि सिक्किम यात्राका लागि तात्तिन थाल्यौं । महेन्द्र जीकै सक्रियतामा सिक्किम साहित्य परिषद्को निमन्त्रणा सहित तिथि, मिति तय भयो । उद्देश्य सिक्किम साहित्य यात्रा थियो तर सिलिगुढी, कालेवुङ हुँदै सिक्किम त्यसपछि दार्जिलिङ्ग र इलाममा साहित्यिक कार्यक्रम गर्ने योजना बुनियो । जस अनुरूप सबै ठाँउमा जाने र स्रष्टासंग भेटघाट गर्ने र कार्यक्रम गर्ने भइयो । मैले पनि हतारिदै सिक्किम विशेषांक प्रकाशन गरें । त्यसपछि हामी १३ जना काकडभिट्टाको बसमा बाटो लाग्यौं । जसमा म सहित महेन्द्र गुरुङ «, यादव भट्टराई, सीताराम गुरुङ, जलेश्वरी श्रेष्ठ, रोचक घिमिरे, रामप्रसाद पन्त, ठाकुर शर्मा, डा. दुर्गा दाहाल, ललिता दोषी, जयदेव भट्टराई, तुलसीहरि कोइराला, मात्रिका पोखरेल थियौं । इलामका विमल बैद्य तथा झापाका पर्वत पोर्तेल काकडभिट्टाबाट सामेल हुनुहुन्थ्यो । तर, सुरुकै दिन देखिनै नरमाईलो पनको अनुभव भईरह्यो त्यो यात्रामा । दाइ धु्रवचन्द्र गौतमको केही दिन देखि स्वास्थ्य स्थिति विग्रिएका कारण उहाँलाई हामीसंग यात्रामा समावेश गर्न नपाएकामा नरमाइलो हुनु स्वाभाविकनै थियो । त्यस्तै संस्थाकी कोषाध्यक्ष गौरी गुरुङ पनि जाने समयमा अस्वस्थ भएकोले जान सक्नु भएन । तर पनि हाम्रो गन्तव्य तय भईसकेको थियो हामी बाटो लाग्यौं , काठमाडौबाट काकडभिटाको बस चढ्यौंं । 

हाम्रो त्यो वस यात्रा स्मरणीय भयो । यात्रा लागे पछि मुसलधारे पानी पर्दा बसको सिटमा बसेका हामी माथि पानी चुहेर विजोक । पानीबाट जोगिने प्रयासमा प्लाष्टिक थापेको असहज परिस्थितिबाट उत्पन्न रमाईला मजाकका सम्झनाहरू नविर्सिने गरी गाँसिएका छन् । निकै बेर पानी पर्दै, रहदै गर्दा पनि हुईकिन नछाडेको बस विहान ८ बजे तिर हाम्रो पहिलो गन्तव्य काकडभिटा पुग्यो । बसबाट ओर्लिएर डिक्कीबाट सामान झिक्न खोज्दा खलासीले फ्याकेर कितावका पोकाहरू छरपष्ट भएर भुईंमा छरिएका । राती परेको पानी छिरेर सबै हाम्रा कितावहरू भिजेर बर्बाद भएका देखेर एकछिन् त दिक्दार लाग्यो । र पनि हामीले सबै सामानहरू विस्तारै समाल्दै निकालेर एकै ठाँउमा राख्यौं । एकछिनको भलाकुसारी पछि सिलगुडीसम्म जाने गाडी बन्दोवस्त गरेर हामीले सामान थन्क्यायौं । अनि काकडभिटाबाट मिसिन तय भएका भाइहरू विमल वैद्य र पर्वत पोर्तेललाई पर्खियौं । करिव १ घण्टाको पर्खाइ पछि भाइहरू आउनु भयो । त्यसपछि हामी सिलगुडी तिर बाटो लाग्यौं ।

सिलगुढी पुगेर त्यहाँ कार्यक्रम गरेर एकरात वास वस्नका लागि भाइ ज्ञानेन्द्र दाहालले खोजिदिएको गेष्टहाउसमा सरसामान थन्क्यायौं । रातभरि पानीले भिजेर वर्वाद भएका वनिता र अन्य कृतिहरू सबै निकालेर हावामा फिजायौं र फ्रेस भएर छेउकै रेष्टुरेन्टमा गएर खाना खायौं । 
त्यसपछि डा.लक्खीदेवी सुन्दासको स्वास्थ्य स्थिति ध्यानमा राख्दै उहाँलाई भेट्न र उहाँबारे प्रकाशित वनिता विशेषांक जिम्मा लगाउने उद्देश्यले हाम्रो टोली उहाँको घर गयो । उहाँसंगको त्यो भेट सुखद् संयोग बन्यो । त्यहाँ पुगे पछि मात्र हामीले थाहा पायौं कि त्यो दिन उहाँको जन्मदिन रहेछ  । उहाँको जन्म दिनको अवसरमा उहाँबारे वनिताको प्रयासमा प्रकाशित वनिता विशेषांक उहाँलाई समर्पण गर्न पाइयो । रमा कृष्ण सिर्जना प्रतिष्ठानको तर्फबाट दोसल्ला, खादा ओडाएर शुभ जन्म दिनको अवसरमा  सम्मान ग¥यौं । एकछिनमा रसवरी, लड्डु किनेर ल्याउनु भयो महेन्द्र जीले र सबैले उहाँको दीर्घायुको कामना गर्दै मुख मिठा ग¥यौं । 

४ बजे देखि सिलगुडीको देवकोटा सङ्घले कार्यक्रम राखेको थियो । थोरै मानिसको उपस्थितिमा भएको त्यो कार्यक्रममा अन्य केही परिचित अपरिचित स्रष्टाहरूको साथ मित्र विन्ध्या सुब्बासंग पनि भेट भयो । सिलगुडीको कार्यक्रममा पनि समय, व्यवस्थापन र सम्पर्कको अभावमा त्यहीं हुनु भएका कति स्रष्टा मित्रहरूसँग भेट हुन सकेन । देवकोटा सदनकै हलमा भएको त्यो कार्यक्रममा कविता वाचन, मन्तव्य परिचय गरी लगभग डेढ घण्टा जति चल्यो । त्यसपछि चिया नास्ता गरेर गेष्ट हाउसमा आयौं । जलेश्वरी दिदी, ललिता वैनी र म सुत्ने कोठामा दिउसो फिजारिएका पुस्तकहरू कामै नलाग्ने त्यही कुनामा राखेर काम लाग्ने जति ललिता बैनी र म भएर समेटेर प्याकिङ ग¥यौंं र खाना खाएर सुत्यौं । 

यात्रामा व्यवस्थापनको चिन्ता थिएन तर संस्थामा सम्वद्ध भएकाले केही जिम्मेवारी थियो । भोलि कालेवुङ हुँदै हाम्रो उद्देश्यको यात्रा सिक्किम सम्म पुग्ने यातायातको साधन महेन्द्रजीले वन्दोवस्त गर्नु भएको थियो । त्यसरि गरिएको बन्दोबस्तमा आर्थिक भार त प¥यो तर सहभागीलाई सहज भयो । । जलेश्वरी दिदीको उमेर र शारिरीक अवस्था अलि पाको भएकाले यात्रामा उहाँलाई विशेष ख्याल गर्नु पर्दथ्यो । नत्र अरु चिन्ता थिएन । विहान चिया पिउन सडक छेउ चिया बेच्न बसेका पसलमा चियाको अडर गरेर चिया पिउदाको रहरलाग्दो क्षणको स्मृति मानसपटलमा सल्वलाएको छ । 

महेन्द्रजीले बन्दोवस्त गरेका दुईटा जीप आए । हामी आआफ्ना लगेजहरू सुरक्षित गाडिमा राखेर चढ्यौ. । बाटाभरिको सौन्दर्यले मन्त्र मुग्ध मेरो मन चुलवुलाएको थियो । कालेम्वुङ तिर हामी चडेको जिप मोडियो  । कालेवुङसंग मेरो बाल्यकालका रहरलाग्दा सपनाका अनुभूतिहरू बग्न थाले सलल । कुरो वि.सं. २०२६ सालको हो । धरान भगवती मिडिल स्कुलबाट कक्षा ५ पास गरेर ६ कक्षामा गए पछि मलाई कालेवुङमा पढाउने भइयो । धरान देखि मलाई पढाउन बुवाले कालेम्वुङ लिएर जानु भयो । तर भर्नाको लागि इन्ट्रेन्सको समय केही दिन पर्खनु पर्ने रहेछ । त्यसैले पछि आउँला भनेर बुवा भोलि पल्ट नै मलाई लिएर फर्कनु भयो । तर मेरो जीवनको सुखद सपनाको त्यो पछि कहिले आएन बरु केही दिनमा धरानको बालिका विद्यालयमा ६ कक्षामा भर्ना भएर पढ्न थालें । त्यो रहरलाग्दो जीवनको उद्देश्यपूर्ण यात्रा सुरु नभई किन अन्त भयो त्यो आजसम्म थाहा छैन । कहिलेकाँही म थकथकाउछु त्यसबेला इन्ट्रान्सको समय नभएकोले र दुख्छु आफ्नो जीवनको कहालिलाग्दा भोगाइहरू सम्झेर अनि फेरि चित्त बुझाउछु मेरो भाग्य त्यस्तै रहेछ के गर्ने र ? भनेर । यसरी बुनिएका अधुरा सपनाहरूको शहर त्यो कालेम्वुङको ४५ वर्ष पछिको यात्रा एउटा उद्देश्यको थियो, सुखद थियो । 

कालेम्वुङका बाटो, घाटो वपरिपरिको सुन्दर पहाडी परिवेशको मनोरम दृश्यमा मोहित भएर केही दूुरी पैदल यात्रा गरेको क्षणको रमाईलो स्मृतिको तहमा अर्कै अनुभूतिका साथ सिंन्चन भएको छ । वस स्टपबाट ओरालो पैदल यात्रा गरेर नजिकैको आकर्षक राधा कृष्ण भवनमा गएर त्यहाँ भित्र सजिएका राधा कृष्णसंग सम्वन्धित मूर्तिहरू अवलोकन गरेर एकछिन आनन्दको रसपान ग¥यौं । त्यसपछि उकालो चढेर कार्यक्रम स्थलमा आयौं । त्यहाँका स्रष्टा र हाम्रो जमघटको कार्यक्रम करिव डेढ घण्टा जति भयो । रमाइलो हुदाहुदै कार्यक्रम टुङ्याएर हिडनु पर्ने हाम्रो बाध्यता थियो । किनकि हामीले त्यही दिन सिक्किम पुग्नु थियो । त्यसैले हतारिदै कार्यक्रम सकेर त्यहाँबाट हिड्यौं र हामीलाई पर्खिएर किनारा लागेका गाडीमा गएर बस्यौं । त्यसपछि सिक्किमको बाटो तिर गाडीले गति लियो । 

उकाली ओराली नागवेली बाटोको सौन्दर्यलाई ओझेल्याउदै झुल्क्याउदै गाडी आफ्नै सुरमा कुदिरहेछ सलल । कहीं सानो बाटो उताबाट आउने गाडीलाई साइड दिन अडिन पर्ने । यात्राभरि विमल वैद्यले कविता सुनाएर हाम्रो यात्रालाई रोचकता प्रदान गरेको स्मृतिले अल्हादिन बनाईरहन्छ । साँझ झमक्कै भए पछि सिक्किम पुग्यौं । 

केही वर्ष अघि केही हार्दिकता जोडेको सिक्किम पुग्दा यहाँ विताएका रमाइला दिनहरूको स्मृतिले म भावुक भएँ । आफ्नो पनले भरिएका मनहरू सम्झिएर मलाई हर्ष संगै पीडाले आहत बनायो । यहँीको माटोमा मेरी प्रिय मित्र कमला आशुलाइ गुमाउनको पीडाले म बेस्कन छचल्किएँ । छोटो समयमा हाम्रो मित्रतामा प्रगाढता बढेको थियो । हाम्रा दःुख सुख एकआपसमा बाँडेर हामीसंगै रोएका थियौं, रमाएका थियौं । उनीसंग हिडेका सडकहरू, गल्ली गल्छीडाहरू समयको साक्षी भएर पद्धति बनेर लमतन्न छन् । सिक्किम उही सौन्दर्यमा आलोकित छ । सबै छन्, भोलिको विहानीमा भेट्ने सम्भावना छ सबैसंग तर उनी छैनन्, उनी नहुनुको रिक्तता त्यहाँ पुगेपछि ममा झन बढ्दो भयो । मनलाई सम्हालें उनी हुँदाको मुस्कान आफूृमा भरेर अनि ती दिनहरूमा गाँसिएका मनहरू सम्झिएर भानुमामा (भानुप्रकाश मार्मिक) र उहाँका परिवारको हार्दिकता विजय वान्तवा दाइ मेरी प्रिय कमलाका श्रीमान्, मित्र विनाश्री, मीना सुब्बा, प्रद्युम्न श्रेष्ठ, कृष्ण दीक्षित, टी.बि चन्द्र सुब्बा र नाम विर्सिएर पनि स्मृतिमा रहनु हुने अरुहरू । सिक्किम यात्रा मेरो लागि यो चौथो पटक थियो र गान्तोक तेस्रो पटक । पहिलो दुई पटक वनिता पत्रिकाकै सिलसिलामा र एक पटक आदरणीय केदार गुरुङको पहलमा भएको विशाल साहित्यिक कार्यक्रमका लागि गेजिङमा सहभागी भएर गएकी थिएँ । गेजिङमा भएको उक्त कार्यक्रम विशाल सहभागी विच वनिताको लीला विमर्श विशेषाङ्क विमोचन भयो । यसपटक वनिताको सिक्किम विशेषाङ्क विमोचन संजोग जुरेको छ । यसो हुनु मैले मेरो सौभाग्य नै मानेकी छु ।

मोवाइल सम्पर्कद्वारा सिक्किम साहित्य परिषद्का साथीहरूले वन्दबस्त गरेको वासस्थान छेउ ट्याक्सी स्टेनमा हामी पुग्यौं । रात झमक्क परेको छ, तर वत्तीको झिलमिलले सिक्किम झपक्क बलेको छ । उताबाट हाम्रो स्वागतमा परिषद्का  मित्रहरू देखिनु भयो । त्यसपछि हामी रमाउदै उहाँहरूले बन्दोवस्त गरेको आवास गृहमा गयौं । अनि फ्रेस भएर भोकाएका हामी भोजमा सरिक भयौं । 
भोलि कार्यक्रम हुने दिन । कार्यक्रममा आउनुहुन्छ भन्ने आशा भएका भानुमामा सिलिगुडीमै बसोबास गर्न थाल्नु भएको रहेछ । वान्तवा दाइ पनि सिलिगुडीमै । त्यस्तै अन्य शुभ चिन्तकहरू अन्त कतै कामले बाहिरिनु भएको । मेरो उत्साह कम भयो तर त्यहीं मित्र मार्फत् फोन  गरेर भानुमामा माइजु र वान्तवा दाइसँग कुराकानी गरेर चित्त बुझाएँ । त्यस कार्यक्रममा उहाँहरूसँगको सामीप्य पाउने अवसर भएन । 

विहान चिया  खाएर हाम्रो टोलीनै भानुभक्तको शालिक भए ठाँउ गयौं । एकछिन त्यहींको पेरिफेरीमा रोमाञ्चित भयौ, फोटो खिच्यौं र फर्कियौं होटलमा  । खाना खाएर कार्यक्रम स्थल जान अघि टि.बि चन्द्र सुब्बा होटलमा आउनु भयो र हामीलाई पुस्तक लगायत उपहार दिनु भयो । खाना खाएर कार्यक्रम हुने ठाँउमा गयौं । कार्यक्रममा सहभागी हुन गेजिङदेखि हाम्रो निमन्त्रणा स्वीकार गरेर हाम्रो सम्मानका लागि आउनु भएका स्रष्टाका सम्पादक, कवि केदार गुरुङलाई हल बाहिर देख्दा मेरो मन पुलकित भयो । म गद्गद भएँ । पूर्व परिचित मित्र डा. कविता लामा, विणा श्री खरेल लगायतलाई देख्दा खुशी लाग्यो । 

कार्यक्रम सुरु भयो । दुवै तिरका स्रष्टाहरूको परिचय भयो । त्यस पछि रमाकृष्ण सृजना प्रतिष्ठानका तर्फबाट श्रद्धेय केदार गुरुङ लगायत त्यहाँ तय भएका महारथीहरूलाई सम्मान अर्पण गरियो । वनिता सिक्किम अंक लोकार्पण गरेर आफूले लगेको पानीले बचाएका वनिता सिक्किम विशेषांकको पोको नै लेखकहरूलाई पनि हात लगाई दिनु भनेर त्यहीं समर्पण गरें । सिक्किम अङ्कमा छुट्नु भएका कति स्रष्टाहरू बारे टीका ढुङ्गेलजीले भन्नु भयो । सम्पर्क र समन्वयको अभावले कति छुट्नु नहुने स्रष्टाहरू पनि छुट्नु भएको छ ।

करिव चार घण्टाको जमघट र छलफल पछि कार्यक्रम टुंगियो । अनि मीठो नास्ता गरेर हामी होटल आयौं । एकछिन होटलमा बसेर सिक्किमको चौरास्ताको परिवेशमा मिसियौं । वरिपरि घुमेर एकछिन पसल पसलमा चाहा¥यौं । 
सिक्किम प्रकृतिकी खानी सुन्दर परिवेशमा सजिएर मनमोहक दृश्यमा गम्किएकी सुनौलो संसार । पहाड, डाँडा काँडाले भरिएको  रहरलाग्दो शहर । सुव्यवस्थित र सफा बाटो घाटो । विकास चरम चुलीमा लोभ्याउने व्यवस्थित शहर । 

होटलमा फर्किएर पछि हाम्रो कोठामा त्यहाँका केही साथीहरू र यताबाट जानु भएका केही साथीहरूको जमघट भयो । केही साथीहरू आआफ्नै  धुनमा हुनुहुन्थ्यो । सिक्किमको सत्ताधारी राज्य व्यवस्थाप्रति आपत्ति गर्ने मातृभूमि भक्त भाइबैनीको गुनासो पनि सुन्यौं र कतिको सहमति पनि सुन्यौं । कति थाहा नभएका राम्रा नराम्रा कुराहरू थाहा पायौं एकछिनको अनौपचारिक जमघटको कुराकानीमा । सिक्किमको यो यात्रामा थुप्रै नयाँ मित्रहरूसँग हार्दिकता रह्यो । त्यसपछि हामी खाना खाएर भोलि विहान फर्कने तयारीका लागि सरसामानहरू प्याकिङ ग¥यौ र सुत्यौं ।  

यसरी उद्देश्य अनुरूपको यात्रामा हामी सफल भएका थियौं । तर पनि अरु दुई ठाउँको यात्रा महत्वपूर्ण नै थियो । त्यसैले विहानै सिक्किमबाट दार्जिलिङका लागि बाटो लाग्यौं । दुईवटा जीपमा बाँडिएर उकाली ओराली सल्ला र सिसै अनि चिया वगानको सुन्दर दृश्य अवलोकन गर्दै हामी चढेको जीप हुईकेको छ आफ्नै  गतिमा । विमल वैद्यको कविताले कवितामय बनेको छ यात्रा । नन स्टप कविता पढ्न सक्ने शक्तिशाली कविताका सर्जक र सुन्दर वाचन शैलीका कवि विमलका कविताका भाव परिवेश अनुरूप भईदिन्थे । 

पानीको सिमसिम, कहीं दर्के भल चुहिएको छ आकाशबाट । बादलका आकृतिहरू अनेक कला भर्दै मडारिएका छन्  क्षितिजमा । लगभग आधा दुरी छिचले पछि चिया नास्ताको पसल अगाडि गाडी रोकियो । करिव एक घण्टा जति गाडी रोकियो । त्यसबेला सम्ममा हामीले अप्ठ्यारा परेका कामहरू र चिया नास्ता खाने र फोटा खिच्ने काम ग¥यौं । चालक गाडीमा चढेर स्टेरिङ्ग घुमाउन थाले पछि हामी गाडीमा चढेर आ–आफ्ना ठाँउमा बस्यौं र गाडि गुड्न थाल्यो । दार्जिलिङमा पुगेपछि  विमलजीको नेतृत्वमा रमिता प्रकाशनले गरेको कार्यक्रममा सहभागी हुन गाडीलाई नजिक रोकेर बाटो लाग्यौं । मिरिकसम्म जान बन्दोवस्त गरेका ती गाडीहरू सुरक्षित स्थानमा गए । दार्जिलिङमा आयोजना गरेको कार्यक्रम पनि भव्य थियो । भव्य र सभ्य त्यो कार्यक्रम सकेर त्यही संस्थाले हाम्रो आतिथ्यमा तयार गरेको दिवा भोजनमा सरिक भएर मिसियौं । त्यो कार्यक्रम हतार हतार गरेर सक्यौं तर सहभागीहरू संग मनभरि गाँसिन पायौं । फर्कनु त छदैछ, दार्जिलिङ गए पछि आइ.वि.राई (ईन्द्र बहादुर राई) लाई नभेट्नु अधुरो अनुभूतिमा दुख्नु थियो । त्यसैले त्यहाँबाट हतारिदै आइ.वि. सरको घरमा गयौं । रमाकृष्ण सिर्जना प्रतिष्ठानले तयार गरेको सम्मानपत्र अर्पण गर्नु र उहाँसँग अपरिचित मित्रहरूको परिचय गराएर एकछिन उहाँका गहकिला अभिव्यक्ति सुन्नु थियो । त्यो अवसरलाई हतारिदै सम्पन्न ग¥यौं र त्यसरिनै हतारिदै गन्तव्यका लागि गाडी रोकेको ठाउँमा आयौं । सिक्किम देखि आएर हामीलाई पर्खिएका गाडीमा चढे पछि हाम्रो यात्रा अघि बढ्यो । 

हाम्रो साहित्यिक यात्राको अन्तिम लक्ष इलाम । इलाम पुग्न मिरिक सम्म ती गाडीले पु¥याउने र फेरि मिरिकबाट बन्दोवस्त गर्नु थियो । जति हतार भयो त्यति नै सार्थक, जति सार्थक त्यति नै रमाइलो , जति रमाइलो त्यति नै हण्डर व्यहोर्नु पर्ने त्यो यात्राका अनुभूतिहरू लेखेर कहाँ सक्नु नि । 
ओठ कलेटी पारेर हस्याङफस्याङ गर्दै कुदेका छौं । पानी दर्किदो छ, कितावका भारी बोकेको छ ।  त्यति हुँदा पनि धन्य त्यो यात्राका सहभागीहरू सकुशल फर्कनु नै यात्राको सफलता मान्नु पर्छ । 
वेग गतिमा घुइकिदै गरेको हामी चडेको जिप मिरिक वारि नेपालको सिमानामा ल्याएर रोकियो । दर्किदो पानीबाट ओतिदै छेउकै सानो चिया पसलमा छि¥यौं र अण्डा उसिन्न लगाएर अण्डा चिया खायौं । महेन्द्रजीलाई भने चर्को, व्यवस्थापन मिलाउन । हाम्रो यो यात्रा कार्यक्रम गर्नै अन्तिम गन्तव्य विन्दु पुग्नु थियो । इलाम पुग्ने गाडी बन्दोवस्त गरेर हाम्रो गन्तव्य अघि बढ्यो । रात निकै नै भै सकेको थियो । इलाम बजारको बसपार्क छेउको होटलमा हाम्रो गाँस र वासको बन्दोवस्त अनुरूप हामी सहभागी भयौं । 

भोलि विहान कार्यक्रम गरेर भोलि नै काठमाडौ फर्कने दिन । बन्दको हल्लाले हामी सबै आन्दोलित छौं । नेपाल प्रज्ञा प्रतिष्ठानको सहकार्यमा हुने रमाकृष्णको त्यो कार्यक्रममा मैले कार्यपत्र प्रस्तुत गर्ने अभिभारा लिएकी थिएँ । पत्रकार, चिन्तक, केदार शर्मा त्यस कार्यपत्रको टिप्पणीकर्ता । 
विहान चिया नास्ता गरेर हामी कार्यक्रम हल तिर बाटो लाग्यौंैं । विमलजीले घरै गएर मेरै करले बोलाएकी मेरी सानिमाकी छोरी कल्पना ओली बैनीलाई बाटामा नै आउदै गर्दा भेट भयो । अनि हामीसंगै कार्यक्रम हलमा गयौं । 

केही समय पछि कार्यक्रम सुरु भयो । क्रमसंगै सहभागीहरू बिच परिचय आदान प्रदान भयो । अ‍ैपचारिकताका केही मन्तव्य, कार्यपत्र प्रस्तुति, त्यसमाथि टिप्पणी र केही कविता वाचन पछि सभा समापन भयो । अनि हतारिदै आएर त्यहाँको व्यबस्थापनमा तयार भएको खाना खाएर पोका पन्तेरा बोक्दै काठमाडौको गाडीमा चढ्नु परेको थियो । यो हतारिएको क्षण सम्झदा अझैं पनि थकाई लाग्छ । 

हाम्रो यो साहित्यिक यात्रा सिक्किम साहित्य यात्राको नाम दिए पनि यसरी सिलगुडी, कालेम्वुङ, सिक्किम, दार्जिलिङ र इलाममा भएका भव्य र सभ्य साहित्यिक कार्यक्रम समयको साक्षी भएर ऐतिहासिक हुने छ भन्ने हामीले अनुभव गरेका छौं । श्रद्धेय दाजू आख्यान पुरुष डा. धु्रवचन्द्र गौतम अनि आदरणीय समालोचक डा. तुलसी भट्टराईको सहभागिता नभएपनि हाम्रो साथमा उहाँहरू रहनु भएको हामीले अनुभव गरेका छौं । हाम्रो पथ  प्रदर्शक र हामीलाई अभिभावकत्व दिनु हुने आदरणीय रोचक दाईको सहभागिता त्यो यात्राको आकर्षण हामीले ठान्यौं । 
 ९८४१२६९१८२
मण्डिखाटार, काठमाडौं
मस्तिष्कभरि सिक्किम यात्रा
ललिता ‘दोषी’

होटेल हार्दिकमा किताब विमोचन हुँदैछ आउनु बहिनी भनेर विश्वविमोहन श्रेष्ठ सरले फोन गर्नुभयो । यो ०७१ चैत्र दुईचार गतेकै कुरा हुनुपर्छ । त्यो कार्यक्रममा लक्ष्मी दिज्यू पनि आउनुभएको थियो । म वहाँको सामीप्यमै बसेँ । वहाँले रमाकृष्ण सृजना प्रतिष्ठान काठमाडौँबाट हामी सिक्किम जाँदैछौँ भन्ने कुरा गर्नुभयो । वहाँले रोचक घिमिरे दाज्यूदेखि लिएर चारपाँच स्रष्टाहरूको  नाम खुर्र भन्नुभयो । मैले भनें दिज्यू त्यो लिस्टमा मेरो नाम परेनछ त ? दिज्यूले भन्नुभो– अहँ, परेनछ त बहिनी तै पनि एकपल्ट म महेन्द्रजीसँग सोधिदिन्छु नि ! तर लिस्ट त तयार भई नै सक्यो । मलाई अलि खिन्न लाग्यो । यो समयमा भने म अलि फुर्सदिलो थिएँ । ठूलो छोरा आकाश भर्खर इन्जिनियर सिध्याएर आएका थिए भने कान्छो छोराको पनि जाँच थिएन । थुप्रैपल्ट बच्चाहरूका कारण मौका गुमेको थियो । महेन्द्र सर आफ्नै परिवारका सदस्यभैmँ लागे पनि म जान्छु भनेर फोन गर्न आँट आएन । मस्तिष्कबाट सिक्किम जाने रहर मरी नै सकेको थियो । चार गतेतिर हुनुपर्छ महेन्द्र सरले फोन गरेर भन्नुभयो – “लक्ष्मीजीले कुरा गर्नुभएको थियो ।  तपाईं पनि सिक्किम जान चाहनुहुन्छ रे होइन ? मैले खुसी हुँदै हो सर जान त मन लागेको थियो भनेँ । त्यसो भए पर्सि मिटिङ हुँदैछ आउनुहोस् भन्नुभयो । म खुसीले बुरुक्कै उफ्रिएँ । मिटिङमा आउँछु भनेँ । तुरुन्त श्रीमान्लाई दार्जिलिङ, सिक्किम जाने कुरा सुनाएँ । महेन्द्र सरले संयोजन गर्ने कुरा पनि सुनाएँ । वहाँले जाऊ न त भन्नुभयो । सासूले पनि आनाकानी गर्नुभएन । बच्चाहरूले ममीको खुसी गरिस्यो न भने । त्यसपछि मैले लक्ष्मी दिज्यूलाई फोन गरेर धन्यवाद भनेँ । वहाँ पनि खुसी हुनुभयो । 

मिटिङमा गएपछि थाहा भयो कोको जाने भन्ने कुरा सबै प्रिय साहित्यकारहरू नै हुनुहुन्थ्यो । मन प्रफुल्ल भयो । मन केही दुःखी यस अर्थमा भयो कि मैले शब्दार्थ प्रकाशनबाट उत्कृष्ट एकाङ्कीको सम्मान पाएकी थिएँ । त्यो मेरो लागि धेरै गौरवको कुरा थियो । चैत्र १४ गते सम्मान कार्यक्रम थियो । मैले विनयकुमार शर्मा सरलाई आपूm सिक्किम जाने कुरा गरेँ । वहाँले साइत नै त्यस्तै जुरेछ । हाम्रो संस्थाबाट ठाकुर सर, यादव भाइ पनि जाने हुनुभयो जानुहोस् न म के भनौँ भन्नुभयो । मैले सम्मान लिनको लागि श्रीमान् र बच्चाहरूलाई पठाईदिने कुरा गरेँ । वहाँले हुन्छ राम्रोसँग यात्रा गरेर आउनू भन्नुभयो । 

२०७१ साल चैत्र १२ गते हाम्रो यात्राको समय तय नै थियो । कोटेश्वरमा दुई बजे बस चढ्ने भनेकोले मलाई पु¥याउन श्रीमान् जानुभएको थियो । त्यहाँ पुग्दानपुग्दै पानी बर्सन थाल्यो । बिस्तारै यात्राका सहभागीहरू जम्मा भए पछि बस भने अलि ढिला नै आयो । महेन्द्र सरको श्रीमती जाने कुरा थियो । महेन्द्र सरलाई एक्लै देखेपछि अलि खिन्न लाग्यो । वहाँ अलि बिरामी पर्नुभएको कुरा महेन्द्र सरले बताउनुभयो । यात्राका सहभागी हामी सबै हाँसीखुसी भए पनि आकाश भने मुसलधारे आँसुमा रोइरहेको थियो । श्रीमान् शुभयात्रा भनेर सबैसँग बिदा भएर फर्किनुभयो । केही समयपछि बस चढ्यौँ । टुरिष्ट नयाँ बस भए पनि जलेश्वरी दिज्यू, लक्ष्मी दिज्यू, तुलसीहरि सर, यादव सर, जयदेव सर बसेको सिटमा पानी तरर चुहियो । जलेश्वरी दिज्यूको त कपडा नै भिज्यो । प्लास्टिकका झोला थापेर सिटमा कम पानी बग्ने बनाइयो । गन्तव्यको लागि गाडी गुड्यो । सबैले बाहिर हिँड्दा पानी प¥यो भने यात्रा शुभ हुन्छ भन्दा खुसीको माहोल बन्यो । हाम्रो टोली नेता श्रद्धेय साहित्यकार महेन्द्र सरको दृष्टि सिंहको जस्तै चारैतिर छर्रिन्थ्यो । सबैको सुखदुःखको बारेमा वहाँ चासो राख्नुहुन्थ्यो । साहित्यकारहरू जयदेव भट्टराई सर, लक्ष्मी दिज्यू, जलेश्वरी दिज्यूबाहेक अरू सबै श्रद्धेय साहित्यकारहरूसँग मेरो लामो यात्रा पहिलो नै थियो । हाम्रो १३ जनाको टोली अति नै रमाइलो गर्दै काँकडभिट्टा पुग्यो । त्यहाँ नाम मात्र सुनेको तर प्रत्यक्ष भेट नभएका कवि विमल वैद्य बाबु र साहित्यिक पत्रकार पर्वत पोर्तेल भाइ पनि हाम्रो यात्रामा मिसिनुभयो । वहाँहरू पनि अति नै प्रिय हुनुहुन्थ्यो । 

१३ गते बिहान हामी सिलिगुढी पुग्यौँ । सिलिगुढी प्रधान नगरस्थित गौरव होटेलमा झोला राखी खानपिन ग¥यौँ । स्रष्टा लख्खीदेवी सुन्दासलाई भेटी वनिता प्रकाशनले प्रकाशित गरेको लख्खीदेवी सुन्दास अंक लक्ष्मी दिज्यूले वहाँलाई दिनुभयो । महेन्द्र सरले सम्मान गर्नुभयो । अचम्म त्यो दिन वहाँको जन्मदिन रहेछ । लख्खीदेवी दिज्यू अलि बिरामी हुनुहुँदोरहेछ । केहीबेर त्यहाँ बसेर हामी फर्कियौँ । रमाकृष्ण सिर्जना प्रतिष्ठानको पहिलो कार्यक्रम सिलिगुढीस्थित देवकोटा संघमा भयो । त्यहाँ कार्यक्रम समापनपछि भोलिपल्ट १४ गते बिहान कालिङपोङतिर लाग्यौँ । कालिम्पोङमा कार्यक्रम नेपाली साहित्य अध्ययन समितिको सहयोगमा भएको थियो । सोही समितिका अध्यक्ष ज्ञान सुतारले सभापतित्व गर्नुभयो भने रमाकृष्ण सृजना प्रतिष्ठानका अध्यक्ष महेन्द्र गुरुङ सरले प्रमुख अतिथिको भूमिका निर्वाह गर्नुभयो । संस्थाका महासचिव यादव भट्टराई सरले आफ्नो सुमधुर कण्ठद्वारा नेपालबाट गएका सम्पूर्ण साहित्यकारहरूको परिचय दिनुभयो । स्थानीय कविहरू र यहाँबाट गएका केही कविहरूबाट कविता वाचन भयो । त्यसपछि हामी सिक्किम तर्फ लाग्यौं ।

चैत्र १५ गते सिक्किमको गान्तोकस्थित होटल म्याग्नोलियामा खानपिन गरी नेपाली साहित्य परिषदको भवनमा पुग्यौँ । हाम्रो स्वागत गर्न त्यहाँका स्थानीय साहित्यकारहरू जम्मा हुनुभएको थियो । आयोजक संस्थाका महासचिव साहित्यकार यादव भट्टराई सरले नेपालको तर्पmबाट त्यहाँ उपस्थित साहित्यकारहरूको परिचय प्रस्तुत गर्नुभयो । सिक्किमका साहित्यसाधक केदार गुरुङलाई रमाकृष्ण सिर्जना प्रतिष्ठानको तर्पmबाट प्रतिष्ठानका अध्यक्ष, कार्यक्रमका प्रमुख अतिथि महेन्द्र गुरुङ सरले सम्मान गर्नु भयो । सोही समारोहमा साहित्यकार लक्ष्मी उप्रेती दिज्यूद्वारा सम्पादित सिक्किम अंक विमोचित भयो । नेपाली साहित्य परिषद सिक्किमका अध्यक्ष साहित्यकार पारसमणि दंगालले ‘नेपाली साहित्यको विकासक्रम भारतभित्र’ शीर्षकको कार्यपत्र प्रस्तुत गर्नुभयो । हाम्रो यात्राका सहभागी साहित्यकार डा. दुर्गा दाहाल सरले ‘नेपाली साहित्यको विकासक्रम नेपालभित्र’ विषयको कार्यपपत्र प्रस्तुत गर्नुभयो । 

सिक्किमका कविहरू र नेपालबाट जानुभएका कविहरूले कविता वाचन गरेपछि नेपालको तर्पmबाट वरिष्ठ साहित्यकार रोचक घिमिरे सर, साहित्यकार मातृका पोखरेल सर, साहित्यकार लक्ष्मी उप्रेती दिज्यू, साहित्यकार महेन्द्र गुरुङ सरले मन्तव्य प्रस्तुत गर्नुभयो । सिक्किमको तर्पmबाट साहित्यकार राजु गिरी र नेपाली साहित्य परिषदको तर्पmबाट सभाका सभापति रहनुभएका वरिष्ठ साहित्य साधक प्रा. रुद्र पौड्यालज्यूले आप्mनो सारगर्भित मन्तव्य प्रस्तुत गर्नुभयो । कार्यक्रम समापनपछि अति व्यवस्थित पाराले हाम्रो खानाको बन्दोवस्त र बिदाइको बन्दोबस्त भयो । हामी बिहान १२ बजेदेखि कार्यक्रममा सहभागी भएका थियौँ । बेलुकी टुप्लुक्क घाम डुब्दा होटेल म्याग्नोलियामा आइपुग्यौँ । होटलमा हामीसँग साहित्यकार मुक्ति बराल सरलगायत अरू साहित्यकारहरू पनि आउनुभएको थियो । भोलिपल्ट बिहान बिदाइको बेलामा पनि वहाँहरू आउनुभएको थियो । सुन्दर र सानो राज्य सिक्किमको दुईदिने बसाईपछि हामी चैत्र १६ गते बिहानै सिक्किमबाट हिँड्यौँ । जिपमा विमल वैद्य बाबुको सुमधुर कविता र महेन्द्र सरको सुमधुर गीत श्रवण गर्न पाइयो । त्यस्तै जलेश्वरी दिज्यू र लक्ष्मी दिज्यूका, पर्वत पोर्तेल भाइका मीठा कुराहरू पनि । 

गोरखा दुःख निवारण सम्मेलन दार्जिलिङमा कार्यक्रम तय गरिएको हुनाले हामी त्यतै लाग्यौँ । दार्जिलिङमा स्रष्टा नन्द हाङ्खिमलाई रमाकृष्ण सिर्जना प्रतिष्ठानका तर्पmबाट संस्थाका अध्यक्ष महेन्द्र गुरुङ सरले सम्मान प्रदान गर्नुभयो । प्रतिमा गुरुङ, मनिका मुखिया, कर्ण थामी लगायतले सुन्दर कविता वाचन गर्नुभयो । खानापश्चात हामी तुरुन्तै वरिष्ठ साहित्यकार  इन्द्रबहादुर राईको निवासमा गयौँ । आयोजक संस्थाका अध्यक्ष महेन्द्र गुरुङ सरले वहाँलाई सम्मान अर्पण गर्नुभयो । त्यहाँ विलम्ब नगरी हामी फर्कियौँ । साहित्यकार डा. गीता क्षेत्री हामीलाई पु¥याउन जिपसम्म आउनुभयो । वहाँको हामीप्रतिको आत्मीयता देखेर मन गद्गद भयो । सबैसँग बिदा भएर हामी जिपमा चढ्यौँ । मिरिकमा आइपुग्दा मुसरधारे पानी प¥यो । जिपमाथि राखेका व्याग, सुटेकश निथ्रुक्क भिजे । 

तुलसीहरि कोइराला सरलगायत सबै सरहरूले  पानीमा निथ्रुक्कै भिज्दै सबैको झोला, ब्याग थान्कोमान्को लगाउनुभयो । हामी इलाममा आइपुग्दा साँझ झमक्क परेको थियो । साँझको मीठो खानापछि हामी आ–आप्mनो रुममा गयौँ । यात्राभरिका प्रत्येक साँझभैmँ म जलेश्वरी दिज्यू, लक्ष्मी दिज्यू सँगै थियौँ । मेरो ब्याग पूरापूर भिजेकोले एउटै कपडा ओभानो थिएन । लगाएको कपडा पनि केही भिजेको थियो । धन्न जलेश्वरी दिज्यूको सुटकेश भिजेको रहेनछ । मैले त्यो दिन जलेश्वरी दिज्यूकै कपडा लगाएर सुतेँ । आफू डेढदुई वर्ष बसेको ठाउँ कताकता माया लागे पनि रातको अँध्यारोमा देख्न भने पाइएन । १७ गते बिहान भानु प्रतिमा संरक्षण तथा साहित्य सम्वद्र्धन समिति इलाम र नेपाल प्रज्ञा प्रतिष्ठानको सहकार्यमा कार्यक्रम सम्पन्न भयो । उक्त कार्यक्रममा साहित्यकार माधव भण्डारी प्रमुख अतिथिको भूमिकामा हुनुहुन्थ्यो । समाजसेवी युद्धप्रसाद वैद्य र कवि विमल वैद्यलाई रमाकृष्ण सिर्जना प्रतिष्ठानको तर्पmबाट सम्मान अर्पण गरियो । नेपाल प्रज्ञा प्रतिष्ठान र रमाकृष्ण सिर्जना प्रतिष्ठानको सहाकार्यमा ‘समकालीन नेपाली महिला कथाकार र लेखन प्रवृत्ति’ नामक कार्यपत्रको प्रस्तुति साहित्यकार लक्ष्मी उप्रेती दिज्यूले गर्नुभयो । कार्यक्रमको संचालन इलामको तर्पmबाट कवि दिवाकर सरले गर्नुभएको थियो । स्थानीय कविहरू र यात्राका सहभागी कविहरूको कविता, मुक्तक वाचन र वरिष्ठ साहित्यकारहरू रोचक घिमिरे सर, मातृका पोखरेल सर, महेन्द्र गुरुङ सरहरूले मन्तव्य व्यक्त गर्नुभयो । सम्मानित वरिष्ठ व्यक्तित्वहरूबाट पनि मन्तव्य व्यक्त गर्नुभयो । हाम्रो सात दिन यात्रा सिलिगुडी, कलिङपोङ, सिक्किम, दार्जिलिङ हुँदै इलाममा आएर अन्त्य भयो । मैले १३, १४ वर्षअगाडि छोडेको इलामभन्दा अहिलेको इलाममा साह्रै अन्तरभएछ । धेरै कार्यक्रममा सहभागी भएको जिल्ला विकास समितिको भवन पनि केही परिवर्तन भएछ । बाटाघाटा ठूला र चिटिक्कका घरहरू बनेछन् । अहिलेको इलाम देख्दा मन गद्गदभयो । अभैm गद्गद भयो मन यात्रामा सहभागी सबैको एक अर्काप्रतिको स्नेह देखेर । 

सङ्क्षेपमा सात दिने सिक्किम यात्राको कुरा गर्दा रमाकृष्ण सिर्जना प्रतिष्ठानको देन प्रशंसनीय छ । रमाकृष्ण सिर्जना प्रतिष्ठानले हामीलाई स्रष्टाहरूसँग भेटघाट मात्र गराएको छैन, राम्रा स्रष्टाहरूलाई चुनीचुनी उनीहरूलाई सम्मान गरिएको छ । सम्भवतः अहिलेसम्म पहिलो यात्रा थियो त्यो नेपालबाटै गएर त्यहाँका स्रष्टाहरूलाई सम्मान गर्ने । रमाकृष्ण सिर्जना प्रतिष्ठानका अध्यक्ष महेन्द्र गुरुङ सर, उपाध्यक्ष, लक्ष्मी उप्रेती दिज्यू, महासचिव यादव भट्टराई सर, सदस्य सीताराम गुरुङ सरको लगन, सोचलाई हामी सबैले अति नै उत्तम कार्य हो भनी मनन गरिरह्यौँ । 

साहित्यकार जयदेव भट्टराई सर, जलेश्वरी श्रेष्ठ दिज्यू र लक्ष्मी उप्रेती दिज्यूबाहेक साहित्यकार रोचक घिमिरे सर, रामप्रसाद पन्त सर, ठाकुर शर्मासर, महेन्द्र गुरुङ सर, मातृका पोखरेल सर, यादव भट्टराई सर, तुलसीहरि कोइराला सर, डा. दुर्गा दाहाल सर, सीताराम गुरुङ सर, विमल वैद्य बाबु र पर्वत पोर्तेल बाबुसँग मेरो पहिलो यात्रा थियो । सबै आ–आप्mनै विशेष गुणले पूर्ण हुनुहुन्थ्यो । सबैमा सहयोगको भावना थियो । कार्यकुशलतामा पूर्ण महेन्द्र गुरुङ सर, हँसाउने कलामा पनि पूर्ण यादव भट्टराई सर, तुलसीहरि कोइराला सर, सीताराम गुरुङ सर, विमल वैद्य बाबु हुनुहुन्थ्यो । रोचक घिमिरे सरलगायत हामीहरू पनि के कम अरूले हँसाउँदा हामी हाँस्नमा पूर्ण थियौँ । अत्यन्त सफल यात्रा हाम्रो सिक्किम यात्रा । यो यात्राको पल सधैँ मस्तिष्कमा रहिरहने छ । 
२०७२/०४/०१
बुद्धनगर काठमाडौँ

000

(रमाकृष्ण सृजना प्रतिष्ठान र नेपाली साहित्य परिषद सिक्किमद्वारा २०७१ चैत १५ गते गान्तोकमा आयोजित गोष्ठीमा प्रस्तुत कार्यपत्र)
नेपाली साहित्यको समसामयिक प्रवृत्ति
डा. दुर्गाप्रसाद दाहाल

(समसामयिक नेपाली साहित्यमा पुराना मूल्य मान्यता जीवित छन् तापनि पुराना प्रवृत्तिका मार्गलाई आफ्नै  गतिमा अघि बढाउन गतिशील प्रवृत्ति आवश्यक छ । यसले विश्व साहित्यसँग नेपाली साहित्यलाई आत्मसात् गराउनुका साथै नेपाली ढुकढुकीका बहुलतावादी संस्कृतिलाई अपनत्व प्रदान गर्दछ । साहित्यका विषयलाई सीमित घेराबाट मुक्त गराउन सहयोग गर्छ । यस्ता गतिशील प्रवृत्तिभित्र विविध जीवन शैलीको प्रभाव हुन्छ । समसामयिक साहित्यमा चेतनाको मिर्मिरेका संवेदनाका ढुकढुकीहरु हुन्छन् । सोचाइका विविध मार्ग र शैलीमा साहित्यको प्रस्तुति हुन्छ । समसामयिक नेपाली साहित्यमा परम्परावादी प्रवृत्तिभन्दा गतिशील प्रवृत्तिको चर्चा हुन आवश्यक देखिन्छ । यो कार्यपत्र पनि यही आवश्यकतातर्फ बढी आकृष्ट भएको छ । यसमा साहित्यिक व्यक्तित्वलाई उल्लेख नै नगरी समसामयिक नेपाली साहित्यको प्रवृत्ति ठम्याइलाई बुँदागत प्रस्तुति गर्नमा मात्र केन्द्रित भइएको छ । )

१. विषय प्रवेश 
वि.सं.२०३७ देखि हालसम्मको समयलाई नेपाली साहित्यको समसामयिक युग मानिन्छ । समसामयिक नेपाली साहित्यमा प्रगतिवादी, अस्तित्ववादी, विसङ्गतिवादी, अतियथार्थवादी, प्रकृतवादी दर्शनको आधार बनाइएको छ । अमूर्त विषयलाई सूत्र र सङ्केतको प्रयोगबाट प्रस्तुत गरिएको पाइन्छ । वर्तमान युगका सामाजिक र बौद्धिक विसङ्गतिहरूलाई तीब्र व्यङ्ग्य प्रहार गरिएका यस्ता कृतिहरूमा अत्याधुनिक बिम्ब र प्रतीकहरूको जीवन्तता छ । अतियथार्थवादी ढङ्गले वर्तमान युगको वास्तविकतालाई उजागर गर्न चेतन प्रवाहात्मक शैलीको उपयोग भएको छ । आदि बिम्बको प्रयोगका साथै स्वैर कल्पना र पराकल्पना ओतप्रोत भएको पाइन्छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिवेशको प्रयोगले यस चरणका कृतिहरूलाई विश्वजनीनतातर्फ तुलनात्मक रूपमा बढी उन्मुख बनाएको देखिन्छ ।  

२. समसामयिक नेपाली साहित्यका प्रमुख प्रवृत्ति 
समसामयिक नेपाली साहित्यका यिनै प्रमुख प्रवृत्तिलाई बुँदामा प्रस्तुत गरिएको छ : 
२.१.स्थिर/परम्परावादी प्रवृत्ति 
समसामयिक नेपाली साहित्यका केही कृतिले पुराना पारम्परिक प्रवृत्तिको प्रस्तुति गरेको पाइन्छ । यस्ता साहित्यमा यान्त्रिक आभ्यासिक साधना छ, अनुकरणका आभासहरु छन् । विचारका रूप रङ्गमा सनातन प्रवृत्तिको शासन छ, त्यसमा नवीनता छैन । शिल्पगत सचेतताको मूल्य मान्यताको आत्मसातीकरण छ । विचार र दर्शनमा एकोन्मुख गन्तव्यको यात्रा छ । यिनीहरु बजारमा परम्परागत बर्चस्वको एकाधिकार भएको ठान्दछन् । समसामयिकताको जीवन शैली र समयको आवाज बुझ्न नसक्ने, बहुलतालाई आत्मसात् गर्न नसक्ने यस्ता साहित्यहरु केही सूत्रहरुका आधार भूमि खडा गरेर साहित्यका हिसाब किताबका अभिलेखमा बाँचेको देखिन्छ । समसामयिक नेपाली साहित्य संसारमा यिनीहरुको मूल्य हावा भरिएको बेलुन र बजारमा पाइने खेलौना गाडी बाहेक केही छैन । जसको वरिपरि केही झुन्डहरु छन् जो पुतलीको बिहे गर्नमा मस्त छन् । साहित्य गोष्ठीका नाम दिएर भिन्न भिन्न आवरणमा एउटै स्वरको रटान लगाउन यो प्रवृत्ति लालायित देखिन्छ । यस प्रवृत्तिका साहित्यमा कतै आदर्शको स्तुति कतै निरपेक्ष यथार्थको प्रस्तुति पाइन्छ । 

२.२. प्रगतिवादी प्रवृत्ति 
अन्याय, अत्याचार, शोषणका विरुद्ध न्याय, स्वतन्त्रता र समानताको वकालत गर्ने साहित्य प्रवृत्ति नै प्रगतिवादी प्रवृत्ति हो । नेपालमा परिवर्तनको उद्घोष गर्ने प्रगतिवादी शक्तिहरुको पक्षपोषण गर्ने यस प्रवृत्तिमा अत्यन्त निकै साहित्य लेखिएको छ । माक्र्सवादी सिद्धान्तबाट प्रभावित वर्गीय दृष्टिकोण, सामाजिक असमानता र भेदभाव कुरीतिको चित्रण, अन्धविश्वास र रुढिवादी परम्पराप्रति विद्रोही भावना, आर्थिक विषमता र यसबाट सिर्जित पीडाको प्रस्तुति, समतामूलक समाजको आग्रह, वर्ग विशेष र पात्रानुकूल भाषा प्रयोग, शृङ्खलित वस्तु र उद्देश्यमूलक प्रस्तुति यस प्रकारका साहित्यका विशेषता हुन् । पुरातन शैलीका जनमैत्री नभएका सामाजिक, सांस्कृतिक मानकप्रति वितृष्णा, समतामूलक समाज निर्माणको आग्रह, विसङ्गति र विकृतिमूलक परिवेशप्रति व्यङ्ग्य, प्रगतिशील चेतनाको तीव्रता, स्वतन्त्रता प्राप्तिका निम्ति सङ्घर्ष र विद्रोह यस प्रवृत्तिका रचनामा उद्घोष भएको पाइन्छ । वि.सं. २००८ बाट बिजाङ्कुरण भए पनि बहुदलीय प्रजातन्त्रको पुनस्र्थापनाबाट निकै उर्वरता प्राप्त गरेको प्रगतिवादी साहित्य लेखनमा वि. सं. २०५२ देखि अझ सशक्तता र विविधता थपिएको आभास हुन्छ । गणतान्त्रिक नेपालको स्थापनाका लागि गरिएका युद्ध र त्यसको सफलताले यसमा निकै मलजल गरेको पाइन्छ । प्रगतिवादी साहित्यलाई वि.सं. २०५२ अघि, २०६३ अघि र २०६३ पछि देखिएको फरक पन यसरी उल्लेख गर्न सकिन्छ । 

(क) २०५२ अघिको प्रगतिवादी साहित्य : २०५२ साल अघिका प्रगतिवादी साहित्यका विषयवस्तु सामाजिक शोषण, दमन र भेदभावजस्ता विकृति र विसङ्गतिपूर्ण पक्षको चित्रणमा केन्द्रित बनेका देखिन्छन् । यस समयका प्रगतिवादी साहित्य प्रकारन्तरले आलोचनात्मक यथार्थवादी चिन्तनको स्वर उरालिरहेका थिए । यस्ता साहित्यमा नारी र पुरुषबीचको असमान सामाजिक दृष्टिकोणमाथि प्रहार गर्दै शोषक सामन्ती परम्पराप्रति आक्रोश, अन्धविश्वास, रूढिग्रस्त चिन्तनको विरोध, पञ्चायती व्यवस्था, प्रजातन्त्र प्राप्तिपछिका विसङ्गति र दिशाहीनताप्रतिको विरोध, धार्मिक विकृति र विसङ्गतिप्रति प्रहार, भनाइ र गराइको बीच असमाञ्जस्य रहने प्रवृत्तिप्रति घृणा, अत्याधुनिक सभ्यताले भित्र्याएको पैसामुखी प्रवृत्ति र कृत्रिमताको भण्डाफोर गरेको पाइन्छ । रूढि, अन्धकार र कुसंस्कारको विरोध गरी अन्त्य गर्ने प्रयासका अभिव्यक्ति पाइन्छ । 

(ख) २०५२ देखि २०६३ अघिको प्रगतिवादी साहित्य : द्वन्द्वात्मक भौतिकवादी दर्शनले समाजमा हुने परिवर्तन, विकासको चित्रण गरी उच्चतर सामाजिक अवस्था निर्माण गर्न व्यक्तिलाई प्रेरित गर्दछ । यसमा व्यक्तिगत स्वार्थ सामूहिक स्वार्थको अधीनस्थ हुन्छ । साहित्य र जीवन बीच घनिष्ठ सम्बन्ध भएको उल्लेख गर्ने यस्ता साहित्यिक कृतिहरूमा सरल र बोधगम्य भाषाको प्रयोग गरिन्छ । शोषणबाट मुक्तिको निम्ति क्रान्ति र विद्रोहको अनिवार्यता प्रगतिवादी साहित्यको आत्मा हो । प्रतिक्रियावादी शक्तिसँग भिडेर क्रान्तिकारी बाटोबाट शासन सत्ताको लगाम हातमा लिनु पर्छ भन्ने अभिव्यक्ति वि.सं. २०५२ पछि २०६३ अघिसम्म निकै सशक्त बनेको पाइन्छ । यस समयमा क्रान्ति सचेतता र वर्गीय द्वन्द्वको प्रस्तुतिको दृष्टिकोणले निखार आएको देखिन्छ । यस कालका साहित्यमा जनताको मनोभावना र जनताको सङ्गठित विद्रोहको अभिव्यक्तिले तात्कालीन बहुदलीय व्यवस्थाले ल्याएको विसङ्गति चित्रण र जनताको सङ्गठित शक्तिको अगाडि शोषकहरू टिक्न नसक्ने यथार्थ प्रस्तुति गरेको देखिन्छ । यस कालमा जनताको शासन व्यवस्था स्थापनाका लागि योद्धाहरूले भोग्नुपरेका कठिन यात्राको प्रस्तुति मात्र भएन माक्र्सवादको ‘द्वन्द्वात्मक भौतिकवाद’ मा आधारित लेखनका साथै भविष्यप्रति आशावादी दृष्टिकोणका साथै क्रान्तिका माध्यमले मात्र समाजवादी समाज स्थापना गर्ने लक्ष्यमा आधारित लेखनले तीव्र गति लिएको पाइन्छ । यस समयमा राजतन्त्रको अन्त्यको आह्वान, गणतान्त्रिक नेपालको स्थापना जस्ता विषय वस्तुको अभिव्यक्तिमा समसामयिक नेपाली साहित्य निकै सशक्त र जीवन्त देखिएको छ । 

(ग) वि.सं. २०६३ पछिको नेपाली प्रगतिवादी साहित्य लेखन : वि.सं. २०६३ पछिको नेपाली राजनीतिक परिवर्तनले क्रान्ति जनताका विचार जितेर गर्न सकिन्छ, जनताका ढुकढुकीमा बसेर मात्र देशमा परिवर्तन सम्भव छ भन्ने मान्यता नेपाली प्रगतिवादी साहित्यमा भित्र्याएको छ । यस कुराका अभिव्यक्ति शैलीमा एक रूपता छैन सारमा एउटै कुरा भए पनि प्रस्तुतिमा फरकपन देखिन्छ । यस्ता अभिव्यक्तिहरु कतै स्पष्ट देखिएका छन् कतै अलि घुमाउरो किसिमबाट चित्रित भएका छन् । वि. सं. २०६३ पछि केही प्रगतिवादी साहित्यमा सम्पूर्ण शक्ति नेपाली जनताको हातमा छ अब सिर्जनात्मक रूपले विकास र परिवर्तनका दिशामा अघि बढेर सामाजिक रूपान्तरणका पक्षमा उभिनु पर्ने जिकिर छ भने केही प्रगतिवादी साहित्यमा २०६३ को परिवर्तनलाई आंशिक उपलब्धिका रूपमा स्वीकार गरी साहित्य रचना भएको छ भने केही साहित्यमा यस परिवर्तनलाई शून्य परिवर्तनका रूपमा चित्रण गरिएको पाइन्छ । नेपालका प्रगतिवादी शक्तिहरुको विभाजनबाट प्रगतिवादी साहित्य अछुतो नभएकाले यस्तो अवस्था देखिएको हो । प्रगतिवादी साहित्यकारहरुको बिचमा प्राप्त उपलब्धिलाई आत्मसात् गर्दै सामाजिक रूपान्तरणका लागि अघि बढ्नका लागि सिर्जनात्मक बहस आवश्यक देखिन्छ । 

२.३. उत्तर आधुनिक प्रवृत्ति 
परम्परागत लेखनलाई अस्वीकार गर्दै विश्व साहित्यको अनुशरण गर्ने नाममा भित्रिएका उत्तर आधुनिक चिन्तनले बहुदलीय प्रजातन्त्रको पुनस्र्थापनापछिको एक दशक लामो यात्रा प्रमुख रूपमा र त्यसपछिका केही समय गौण रूपमा उपस्थित देखाएको देखिन्छ । यस समय विनिर्माणवादी मूल्य मान्यता र विधा भञ्जनको अनुशरण गर्दै उत्तर आधुनिकता नेपाली साहित्यमा आधुनिक बौद्धिक कसरतका रूपमा भित्रिएको पाइन्छ । सीमित घेराभित्र रहेको यस कसरतले सर्वसाधारणको जीवन शैलीलाई सम्बोधन गर्न नसकेको देखिन्छ । यस किसिमका साहित्यले सामाजिक तथा आर्थिक समस्याप्रति सूक्ष्म दृष्टिकोण पु¥याउन सकेको पाइएन । केवल आगन्तुक झैँ आफू खुसी सम्मानको आसन जमाइ रहेको देखियो । 

२.४. मिथकीय शैलीको साहित्य लेखन 
मानव सभ्यताका आदिम संस्कारहरूको नवीन ढङ्गले पुनसिर्जन गर्ने काम मिथकीय प्रवृत्तिका साहित्यमा हुने गर्दछ । समसामयिक नेपाली साहित्यमा उत्तर वैदिक कालीन पुराण तथा धार्मिक ग्रन्थमा आधारित कथावस्तुमा नयाँ अर्थको अन्वेषण गर्ने काम भएको देखिन्छ । यस किसिमका समसामयिक नेपाली साहित्यमा आदिम सभ्यता र संस्कारहरूसँग वर्तमान जटिल वस्तुस्थिति र परिस्थितिको सामञ्जस्य गरी सजीव र सशक्त प्रस्तुति भएको पाइन्छ । यिनीहरु भाषा र परिवेशको पुनसिर्जना गर्न रुचाउँछन् । यस्ता साहित्यमा पौराणिक मिथकहरूको समकालीन र यथार्थपरक पुनसंरचना तथा पुनव्र्याख्या गरिएको हुन्छ । यिनीहरुले समसामयिक यथार्थ र मिथकको अन्तरमिश्रणबाट नवीनताको सिर्जना गर्ने प्रयास गरेको देखिन्छ । 

२.५. अतियथार्थवादी प्रयोग 
व्यक्तिका स्वप्निल भाव तरङ्गका मद्दतबाट व्यक्तिभित्र निहित असली स्वरूपको चित्रण गर्ने प्रयास, चेतन प्रवाह शैलीको प्रयोग, यान्त्रिक र अत्याधुनिक सभ्यताप्रति घृणा, मानवताप्रतिको आस्था अतियथार्थवादी प्रवृत्ति समसामयिक नेपाली साहित्यमा पाइन्छ । 

२.६. विसङ्गतिवादी साहित्य लेखन 
कुण्ठित मानवीय आकाङ्क्षाहरू, विवेकद्वारा अनियन्त्रित यथार्थ, विकृत र विसङ्गत जनजीवनको प्रस्तुति गर्ने यस प्रकारका साहित्यहरुमा संरचना र घटनाको विसङ्गति देखिन्छ । यस प्रकारका साहित्यमा संसारको शून्यताबोधको सशक्त प्रस्तुति भएको पाइन्छ । विसङ्गतिवादी साहित्यकारहरु जीवनलाई अपरिभाषित, असन्तुलित रूपमा प्रस्तुत गर्न रुचाउँछन् । यस्ता साहित्यमा समाजमा विद्यमान आतङ्क, हत्या र बौद्धिक विसङ्गतिको प्रस्तुति पाइन्छ । यसमा निहत्था, निरीह, निरूपाय र निरुद्देश्य मानवको प्रस्तुति हुन्छ । 

२.७. अस्तित्ववादी साहित्य लेखन 
मानवको जन्म, मृत्यु, कुण्ठा, सन्त्रास आदिमा सही अर्थ खोज्ने साहित्यिक मान्यतामा आधारित साहित्य लेखन नै अस्तित्ववादी साहित्य हो । मान्छे स्वतन्त्र प्राणी हो तसर्थ उसले आफ्नो भविष्यको निर्णय आफैँ निर्धारण गर्छ र त्यसको उत्तरदायित्व पनि स्वयम्ले बहन गर्नु पर्छ भन्ने चिन्तन यस प्रवृत्तिका समसामयिक नेपाली साहित्यमा पाइन्छ । यस किसिमका समसामयिक नेपाली साहित्यमा विभिन्न विसङ्गतिबीच पनि घृणित भएर बाँच्नु पर्ने बाध्यात्मक परिवेशको प्रस्तुति छ । यसमा संवेदना रहित र निरर्थकताभित्र रुमलिएका पात्रहरुको प्रस्तुति हुन्छ । यस प्रकारका साहित्यमा विवश, दिशाहीन, सन्त्रास, यन्त्रणा र क्रुरताको पीडाबाट मुक्तिका निम्ति अपनाउनु पर्ने सजगता र दायित्वपूर्ण चेतनाको प्रस्तुति हुन्छ । यसमा मान्छे आफूलाई आइपर्ने समस्याहरूमा स्वतन्त्र निर्णय लिन्छ र त्यो निर्णयबाट आइपरेका समस्याहरूको उत्तरदायित्व पनि बहन गर्छ भन्ने अस्तित्ववादी चिन्तनको प्रस्तुति पाइन्छ । 

२.८. मनोवैज्ञानिक साहित्य लेखन 
मानव मनका यौनजन्य आवेग, मानसिक कुण्ठा, यौन अतृप्ति, विक्षप्त मनोदशा तथा दमित कामवासना र नियन्त्रित आकाङ्क्षाहरूको प्रस्तुति मनोविश्लेषणात्मक साहित्यमा हुने गर्दछ । समसामयिक नेपाली साहित्यमा मानसिक विकृति र मानसिक अस्वस्थताको चित्रण पाइन्छ । यसमा फ्रायडद्वारा प्रतिपादित मनोविश्लेषणात्मक सिद्धान्तको प्रभाव देखिन्छ । यस किसिमका साहित्यमा घटनामा भन्दा चरित्रको प्रधानता देखिन्छ । बिम्ब र प्रतीकको पर्याप्त प्रयोग देखिन्छ । विविध उमेरगत मनोविज्ञानको प्रस्तुति यस्ता साहित्यहरुमा पाइन्छ । समसामयिक नेपाली साहित्यमा ईश्वररहित र विकासवादी जीवशास्त्रीय पृष्ठभूमिमा मानव जीवनलाई यौनवासनाका आँखाले हेर्ने गरिएको पाइन्छ । वैयक्तिक आवेगलाई भन्दा आन्तरिक वस्तुलाई पक्रने जमर्को यस्ता साहित्यहरूमा पाइन्छ ।

विलासिताको सम्भ्रान्त जीवन शैली चित्रण गर्न रुचाउने साहित्यकारहरुले यौनलाई विषय बनाएर पनि साहित्य सिर्जना गरेको देखिन्छ । कतै बिम्बले त्यसलाई लुकाइएको छ, कतै बिम्बको आवरण बिना पाठकहरुको माझ घुमाइएको छ । अहिले युवा युवतीका बिचमा चर्चित भएको विज्ञापन भएपनि लुकेर पढ्ने साहित्यका रूपमा यसले बजारमा आफ्नो बर्चस्व कायम राखेको देखिन्छ । पठन संस्कृतिका विषयमा छलफल गर्न रुचि नराख्ने आफ्नै  किसिमको मौलिक नैतिक शिक्षाको औपचारिक शिक्षामा समेत ध्यान पु¥याउन नसकेको वर्तमान परिवेशमा यस प्रकृतिका कृतिहरुको विरोधमा आवाजहरु होइन, किशोर नेपाली साहित्य लेखनका निम्ति सिर्जनात्मक प्रयोग आवश्यकता ठहरिन्छ । 

२.९. प्रकृतवादी साहित्य लेखन 
डार्बिनको विकासवाद र त्यसपछिका प्रकृतवादी दर्शन तथा जीव वैज्ञानिक र भौतिक शास्त्रीय मान्यताहरूमा आधारित साहित्य लेखनलाई नै प्रकृतवादी साहित्य भनिन्छ । समसामयिक नेपाली साहित्यमा मान्छे र समाजको प्रकृति वा स्वभावमा अन्तर्निहित नैसर्गिक धर्म र प्राकृतिक प्रक्रियाको अध्ययन निरूपण गर्ने काम भएको छ । यस प्रकारका साहित्यमा जीवन जगत्का अत्यन्त असुन्दर, क्रुर र अश्लील, घृणित, गुप्त लुप्त यथार्थको प्रस्तुतीकरण पाइन्छ । मान्छेको आदिम पाशविक आवेगको चित्रण प्रकृतवादी साहित्य लेखनको केन्द्रीय मर्म हो । विशुद्ध भौतिक एवम् यान्त्रिक कृत्रिमतामा जीवित जीवन दृष्टिकोणको प्रस्तुति गर्दै समसामयिक नेपाली साहित्यमा नितान्त व्यक्तिगत शैलीमा भएको पाइन्छ ।
२.१०. बहुलतावादी चिन्तनको प्रयोग 
राजनीतिक बहसका मानवाधिकार, गणतन्त्र, जनजीविकाका यथार्थ सवालका साथै सीमान्तकृत जनताको आवाजप्रति समसामयिक नेपाली साहित्यले सम्बोधन गरेको छ । नारीवादी, सीमान्तकृत जनताका जीवन शैली र हृदयका आवाजलाई समसामयिक नेपाली साहित्यले उदारपूर्वक उठाएको छ । हिजो स्थापित एकल र केन्द्रीकृत चिन्तनका ठाउँमा आजका समसामयिक नेपाली साहित्यले विविध र बहुल चिन्तनलाई प्राथमिकता दिन कुनै कसर राखेको देखिएको छैन । यस्ता बहुलतावादी चिन्तनका साहित्यमा सांस्कृतिक सङ्क्रमणको चित्र पाइन्छ । सांस्कृतिक विविधताको रङ्ग साहित्यमा सहजसँग चित्रित भएको देखिन्छ । 

२.११. पहिचानको अभिव्यक्ति 
अहिलेको नेपाली समाज पहिचानको स्वर गुन्जित भएको समाज हो । यस्ता पहिचानका स्वरमा विभिन्न प्रकृतिले मुखरित हुन पाएका छन् । कतै वर्गीय, कतै जातीय, कतै सांस्कृतिक र कतै क्षेत्रीय पहिचानका स्वरहरु समसामयिक नेपाली साहित्यमा सशक्त रूपमा अभिव्यक्त भएको देखिन्छ । आञ्चालिक भाषा, क्षेत्रीय समस्याका साथै सामाजिक मूल्य मान्यता विपरीतका समूहका पहिचानमा आधारित भएर समसामयिक नेपाली साहित्यमा पहिचानमूलक कृतिको सिर्जना सशक्त रूपमा भएका छन् । 

२.१२. नारीवादी चिन्तन 
समसामयिक नेपाली साहित्यमा परम्परावादी नारीवाद, सुधारवादी नारीवाद, प्रगतिशील नारीवाद र उग्र नारीवादको प्रयोग भएको छ । परम्परावादी नारीवाद घर, परिवार र समाजमा नारीप्रति गरिने भेदभाव र नारीका समस्या उजागर गर्ने परम्परावादी शैलीकै घेरामा छन् । कहिले काहीँ यस्ता साहित्यमा विचारको स्पष्टता देखिन्छ, विरोधाभासको जन्जालमा कैदी बन्न पुग्छन् । यिनीहरुको स्वरमा मलिनता छ । सुधारवादी नारीवादी साहित्य नारी समस्या कम गर्नतर्फ अग्रसर भएको उद्घोषण गर्नमा सीमित भएको देखिन्छ । प्रगतिवादी नारीवादी साहित्यले नारी र पुरुष बिचको समानताको वकालत गर्छ । यिनीहरु लैङ्गिक विभेदका सम्पूर्ण बाधा अवरोधहरु समाप्त पारेर महिला सशक्तीकरणको अभियान सञ्चालनमा जोड दिन्छन् । उग्र नारीवादीभित्र आक्रोश हुन्छ । नारीको सत्तालाई सर्वोच्च ठानिन्छ । हामीलाई लोग्ने होइन लोग्ने मानिस भए पुग्छ भन्ने मान्यता राख्दछ । 

२.१३. चेतनाको उच्चता 
 गणतान्त्रिक नेपालभित्र भएका राजनीतिक, सामाजिक र सांस्कृतिक रूपान्तरणका विषयहरुका माध्यमले समसामयिक नेपाली साहित्यमा चेतनाको उच्चता निर्माण भएको देखिन्छ । दलित, जनजाति, मधेसी, मुस्लिम, पहाडी आदि जस्ता वर्गका चेतनाका स्वरहरु यस समयका सशक्त अभिव्यक्ति बनेका छन् । 

केही साहित्यकारहरुले ऐतिहासिक घटनाको पुनव्र्याख्या गरेर साहित्य सिर्जना गर्ने काम गरेको पनि देखिन्छ । विगतमा भएका यस किसिमका अन्याय, अत्याचारका घटनाप्रतिको पुनर्मूल्याङ्कन गर्ने यस प्रकारका कृतिमा चेतनाको उच्चता कायम भएको देखिन्छ । 

२.१४. आधुनिक युगको चित्रण 
आधुनिक मान्छे एक्लोपन भोग्न विवश छ । उसमा निराशाले घर गरेको छ । आजको मान्छे आधुनिक सभ्यताका नाममा यान्त्रिक र कृत्रिम बनेको छ । जीवन भोगाइका यथार्थ र तिनबाट उत्पन्न विसङ्गतिप्रति व्यङ्ग्य गरिएको हुन्छ । समसामयिक मानव समुदायका भय, आतङ्क, अनिश्चय, कुण्ठा, निराशा र मूल्यहीनताको जीवन्त चित्रण पाइन्छ । लोकतान्त्रिक मूल्य मान्यता, स्वतन्त्रता र समानताको स्वर प्रकट भएको देखिन्छ । 

३. निष्कर्ष 
समसामयिक नेपाली साहित्यले परम्परागत लेखन अस्वीकार गरी विषयवस्तु र साहित्य शिल्पको निर्माणमा नवीनता दिएका छन् । सामाजिक तथा आर्थिक समस्याप्रति सूक्ष्म दृष्टि दिएको पाइन्छ । विषय वस्तुमा विविधता र संरचनामा नवीनता, अन्तर्मुखी जीवनदृष्टि, अमूर्त विषयलाई सूत्र र सङ्केतमा प्रयोग, निरीह, विवश र यन्त्रवत् आधुनिक मान्छेको प्रभावकारी युगबोधको अभिव्यक्ति, विचारोत्तेजक भाषा र तर्कपूर्ण शैली समसामयिक नेपाली साहित्यको सशक्त प्रवृत्ति हो । यसमा जीवनका सामयिक मूल्यलाई स्थापना गर्ने, सामाजिक संरचनामा प्रचलित विकृति र विसङ्गतिलाई विरोध गर्ने प्रवृत्ति पनि पाइन्छ । समसामयिक नेपाली साहित्यमा स्वैरकल्पनाको व्यापक प्रयोग गरिएका कृतिहरु छन् । यस्ता कृतिहरुमा विश्व परिवेशको उडान छ । आदर्श र सपनाको महलमा उन्मुक्तताको अभियान छ । विश्वजनिन सन्दर्भहरू समसामयिक नेपाली साहित्यमा निकै सशक्त रूपमा प्रस्तुत भएको छ । उत्तर आधुनिक चेत र डायस्पोरिक साहित्य लेखन यसका साक्षी हुन् । समसामयिक नेपाली साहित्यमा बौद्धिक चेतनाको अभिव्यक्तिले मुखरित हुने मौका पाएको छ ।

 आञ्चलिकप्रति उन्मुखता, प्रगतिशील चेतनाको तीव्रता, विश्वजनीन सन्दर्भहरू र पहिचानप्रतिको सचेतता र आधुनिक युगको बौद्धिक चेतनाको अभिव्यक्ति समसामयिक नेपाली साहित्यका मौलिक र जीवन्त प्रवृत्ति हुन् । 

सन्दर्भ सूची 
१. दाहाल, दुर्गा प्रसाद दाहाल (२०६६),  नेपाली गद्य र नाटक,  काठमाडौँ ः एम. के. पब्लिसर्स एन्ड 
डिस्ट्रिब्युटर्स । 
२. ढुङ्गेल, भोजराज र दाहाल, दुर्गा प्रसाद (२०७०), नेपाली कविता र काव्य ,  काठमाडौँ ः एम. के. पब्लिसर्स एन्ड डिस्ट्रिब्युटर्स ।
३. ढुङ्गेल, भोजराज र दाहाल, दुर्गा प्रसाद (२०७०), नेपाली नाटक, एकाङ्की  र निबन्ध,  काठमाडौँ : एम. के. पब्लिसर्स एन्ड डिस्ट्रिब्युटर्स ।
४.ढुङ्गेल, भोजराज र दाहाल, दुर्गा प्रसाद (२०७०), साहित्य शास्त्र नेपाली समालोचना र शोध विधि,  काठमाडौँ : एम. के. पब्लिसर्स एन्ड डिस्ट्रिब्युटर्स ।

000

नेपाल प्रज्ञा प्रतिष्ठानसंगको सहकार्यमा रमाकृष्ण सिर्जना प्रतिष्ठानद्वारा २०७१ साल चैत्र १७ गते  इलाममा आयोजित समकालीन नेपाली नारी कथाकार विषयक गोष्ठीमा प्रस्तुत कार्यपत्र 

समकालीन नेपाली नारीकथाकार र कथा लेखन प्रवृत्ति
लक्ष्मी उप्रेती

विषय प्रवेश 


 कथा सुन्ने र भन्ने परम्परा पुरानै भएता पनि स्वतन्त्र रुपले नेपालमा कथाको इतिहास १९ औं शताब्दीदेखि मात्र आरम्भ भएको पाइन्छ । कथा साहित्यमा समय र सहभागीताका दृष्टिले पुरुषका तुलनामा नारी अलि पछि र संख्यामा केही कम भएता पनि नारीको योगदान महत्वपूर्ण रहेको छ । सम्वत् १८२७ को शक्ति वल्लभ अर्यालको महाभारत विराट पर्व (नेपाली अनुवाद)बाट आरम्भ भएको नेपाली कथाको १४४ वर्ष र शारदा प्रकाशनको दोश्रो वर्ष १९९२ मा प्रथम नारी कथाकार तुषार मल्लिकाको सहभागिताबाट सुरु भएको नारी कथाकारको लगभग ८० वर्ष र २००५ देखि देवकुमारी थापा, फलेन्द्र जगतकुमारी राणा, राधिका राय, शशिकला शर्मा हुँदै पारिजात, प्रेमा शाह, बाट उर्वर बनेको कथायात्रामा हामी यात्रारत छौं । 

कुनै पनि कामका लागि समयको पारख संगै त्यसको श्रेष्ठता ठहर गरी समसामयिक स्थितिवोध गर्दै लेखिने साहित्यले नै समकालीन लेखनमा क्रमिक विकास गर्छ । समयको जुनसुकै अवधि र युगमा घटेका अनेकन राम्रा, नराम्रा घटना र त्यसको सिमाभित्रका सान्दर्भिक विषयवस्तु बुझाएर साहित्य लेख्नु समकालिन चेतना हो । कुनै निश्चित अवधि मात्र समकालिनताको मानक नभई हिजो देखि नै चलिआएको निरन्तरताको प्रवाह आजसम्म चल्नुलाई समकालिन अवस्था मान्नु पर्ने हुन्छ । समयको बोध गर्दै भूत र वर्तमानका बैचारिक चेतनालाई सुन्दर रंगसंगैै शब्द खेलाउदै कथा लेख्नु समकालीन कथाको एउटा स्वरुप मान्न सकिन्छ ।

विज्ञानको विकाससंगै संचार माध्यमले इमेल र इन्टरनेट अझ मोवाईलको स्क्रिनमा सिमित रहि खुम्चिदै, साँघुरिदै गएको विश्व परिवेशको विचरण गरेर लेखिने यथार्थाता समकालीन साहित्यका उपलब्धी हो । नेपाली कथा साहित्यमा निराशा, कुण्ठा, डर, त्रासा, शंखाका आवाज २० पछि ३० को दशकमा अलि बढी आए भने ४० को दशकमा देशमा भइरहेका अनेक विकृति र विसंगति जस्ता विविध विषयमा केन्द्रित कथा लेखिए । शैली र कथानकताको प्रयोगशील प्रस्तुती जीवन दृष्टिबाट देखिने बहुलवाद, अलगिदो र टुक्रिदो पारिवारिक विषयका कथा लेखनमा ५० अझ ६०को दशक पछि त नारीकथाकारहरु संख्यात्मक र गुणत्मक रूपमा ह्वात्तै बढे । 

समकालीन सन्दर्भको विचरण यहाँ नेपाली नारी कथाकारहरूको लेखनी बारे छ । तर “समकालीन नेपाली  नारी कथाकार र कथा लेखनप्रवृत्ति” विषयक यो आलेख प्रारम्भिक रुप मात्र हो । 

नेपाली कथासाहित्यको आधुनिक काल र समकालीन नारी कथाकारहरू  

नेपाली साहित्यमा नारी लेखनको प्रारम्भ यदाकदा मल्लकालीन युगदेखि भएको पाइएता पनि १९९० को दशकपछि नारीहरू फुटकर कथा सिर्जना गरेर प्रकाशनमा आउन थाले । २००७ सालको राणाकालीन अन्त र प्रजातन्त्रको प्रारम्भिक विन्दुबाट नारी स्रष्टाहरूको लेखनमा विधागत प्रवृत्ति आयो । खास त नारी जागरणमा शिक्षा संगै साहित्य सिर्जनामा नारीहरूको जमात आशारत भएका पाइन्छ । 

विश्व साहित्यमा आधुनिकता को मानक र सिद्धान्तका ब्याख्या अनेक छन् । नेपाली साहित्यमा पनि आधुनिकता बारे विभिन्न विद्धानहरूमा विभिन्न मत देखिन्छन् । साहित्यिक मर्यादालाई ध्यानमा राखेर सरसर्ती हेर्दा नेपालमा शारदा पत्रिकाको प्रकाशन पछि आधुनिक कालको साहित्य विधागत रूपमा स्वतन्त्र अस्तित्वका साथ लेखिन थालेको देखिन्छ । त्यसैले १९९० को दशक पछिलाई कथा लेखनको आधुनिक काल मान्ने जमातको धारणा नै सान्दर्भिक ठहरिन्छ । समसामयिक घटना र विचारको बौधिक अनुभूतिसंगै ब्यक्तिगत अस्तित्ववादी चिन्तनको खोजी आधुनिक कथासाहित्यको विशेषता हो । स्वतन्त्रता, समानता, आत्मा सम्मान, माया, प्रेम, अहम, घृणा जस्ता मानवीय स्वभावका भावहरू मिश्रित कथालेखन आधुनिक कालको कथासाहित्यको रुप हो । 

समकालीन चेतना वि.सं.२०३६ को जनमत संग्रहपछि वैचारिक धरातलमा साहित्य मार्फत संघर्षको आवाज प्रवाह गर्न पुरुषसंगै नारी साहित्यकारहरू पनि लागि परे । त्यस्तै २०४६ को जनआन्दोलनले त साहित्य लेखनको प्रवृत्तिमा नै फरक शैलीको विकास भयो । त्यसरी नै जनयुद्ध पछि नारी कथाकारहरू पनि वैचारिक द्धन्द्धबाट अभिप्रेरित भई बौद्धिकता संगै कलात्मक रंग भर्दै प्रयोग र वादका विभिन्न तहमा पुगेर नारी कथाकारहरूले आफ्नो लेखकीय क्षमतालाई अघि सारे । फलत विसंगति वाद, लैङ्गिक चेतना, विनिर्माण वाद, अस्तित्ववाद, युद्ध र द्धन्द्धको चिन्तन आदि विषयका कथा लेख्ने नारी कथाकारको जमात पनि आशारत भयो । समानताका र स्वतन्त्रताका आवाजहरू निसंकोच समयकालीन नारी कथाकारहरूले लेख्न थाले । समयले विस्तारै नारी कथाकारहरूलाई विचार र चेतना संगै अस्तित्व र पहिचानको सवालले कोपर्न थाल्यो । फलत नारी कथालेखनको धरातल नै फराकिलो बन्यो । अघिल्लो पुस्ताका नारी स्रष्टाहरूले पछिल्लो पुस्ताका नारी स्रष्टालाई न्याय गर्दै हरेक सन्दर्भका विषय वस्तु समावेश गरेर ओझपूर्ण कथा लेखेर नारी कथाकारहरू समकालीन युगका संवाहक बने । अन्याय विरुद्धका, स्वतन्त्रताका, आफ्नो पहिचान र स्वअस्तित्वका, आफ्नो जीवनको अधिकार प्रतिको चिन्तनमा निस्फिक्री भएर लेख्नु नारी कथाकारको कलम शक्ती बन्यो र आधुनिक नेपाली साहित्यको समकालीन रुपरेखा नै तयार भयो । त्यस क्रममा नारी कथाकारहरूले साहसीपन भरिएको समाज सुधारक प्रसंगका कथासंगै  विकृतजन्य कथा पनि लेखे ।

परम्परागत संस्कृतिका विकृति जन्य संस्कारहरूलाई विस्थापित गरि समाज सुधारका नविनतम मूल्य मान्यतामा मुखारित भएर कथा लेखिनु आधुनिक कालको उपलब्धी मानिन्छ । यस अर्थमा १९९१ देखि सुरु भएको कथा लेखनमा आरम्भ गर्ने नारीमा तुषारा मल्लिका, मोतीलक्ष्मी उपासिका हुदै २००५ पछि देवकुमारी थापा, शशीकला शर्मा, राधिका राय, चन्द्रकला नेवार, विद्यादेवी दिक्षित आदि हुदै पछिल्लो पुस्तामा आईपुग्दा अर्थात २० को दशक पछि पारिजात, पे्रमा शाह, गीता केशरी, माया ठकुरी, भागिरथी श्रेष्ठ, अनिता तुलाधर, भुवन ढुङ्गाना, बेन्जु शर्मा, पद्मावती सिंह, लगायतको लेखनसंगै नेपाली कथासाहित्यकमा लिङ्गभेद गर्न नहुने सशक्त प्रारुख तयार भयो । देवकुमारी थापाको उपस्थितिले मनोविज्ञान लेखनीको स्पष्ट धारणा बोक्यो भने पारिजात सम्म आइपुग्दा प्रगतिवाद र अस्तित्ववादको चिन्तन बैचारिक धरातलमा उभ्यायो । यसरी २० को दशक देखि नै साहित्य सिर्जना सुरु गरी हालसम्म पनि निरन्तर लेख्ने नारी कथाकारहरू त्यस समयका पनि समकालिन नारी कथाकार भए र भरखर लेख्न थालेका नँया पुस्ताका नारी कथाकारहरू पनि समकालीन सर्जक भए । ४० को दशक पछि आधुनिक नेपाली कथासाहित्यमा नारी लेखन अझ ओझ पूर्ण र विश्वब्यापीकरणको धरातलमा हिड्न सक्ने भयो । राजनितक पृष्ठभूमिलाई आत्मासाथ गर्दै अनेक वाद, प्रयोग र धारका कथा लेखनमा नारीहरू पुरुषहरूसंगै सहयात्री बने । त्यसक्रममा इन्दिरा प्रसाई, सीता पाण्डे, मिरा प्रधान रेम, शारदा शर्मा आदि स्थापित छन् भने  जया राई, जलेश्वरी श्रेष्ठ, निलम कार्की निहारिका, तृष्णा कुँवर, लक्ष्मी उप्रेती,  इल्या भट्टराई, सरला रेग्मी, सिमा आभाष, आन्विका गिरी, विन्दु सुवेदी लगायत नारी कथाकारहरुको राम्रो संभावन देखिन्छ । 

समकालिन नारीका कथा लेखन विषय :
नारी लेखन नेपाली कथासाहित्यमा शक्तिको रूपमा अघि बढेको पाईन्छ । नेपालीहरूको अराजक प्रवृत्ति, त्याग, समर्पण, आवेश र प्राप्तीका आशारत तरंगको बदला निराशाका परिणामले जन्माएको मानसिकताको उत्कर्षले वाद र प्रयोगको अनेक धारका कथा सिर्जना गर्ने नारी कथाकारहरूको वृद्धि भयो । कथामा स्वतन्त्रताको मानक आजको युगमा आ.आफ्नो तरिकाले प्रस्तुत गरेको पाइन्छ । समकालिन नारी कथाकारका कथाले हरेक कालखण्डको प्रतिनिधित्व गरेको छ । समसामयिक कथा साहित्यका विषय आ.आफ्नो जीवन र परिवेशबाट उत्पन्न हरेक समयका घटना र परिस्थतिको परिदृष्य मान्नु पर्छ । इन्टरनेटले विश्व परिदृश्य क्षणभरमा नै गर्न सकिन्छ त्यो पनि आजको कथा साहित्यको प्रमुख श्रोत भएको पाइन्छ । आफ्नो स्वार्थगत मनोवृत्ति, एकाङ्कीपन, अस्तित्वको खोज,  सहरी जीवनशैलीको बढदो सुबिधमुखी प्रवृत्ति, अविश्वास, निराशा र असन्तुष्टीबाट उत्पन्न चिन्ता आदि बदलिदो समाजको मानविय परिस्थिती, परम्पराको विरोध, तीव्र सहरीकरणको अवस्था, , जनसंख्या बृद्धि र महत्वकाक्षा ,मोह भङ्ग, जीवनका मूल्य र मान्यता, विज्ञानले सम्भव पारेको अनेक प्रसंग सहित विश्व परिवेशका विविध प्रसंगसंग आफ्नो परिवेशको चिन्तन आजका कथाका विषय बनेका छन् । यही क्रममा युद्ध र द्धन्द्धको प्रभाव, उत्तर आधुनिक चिन्तन, जातिय चेत, वर्गिय चेत, स्वअस्तित्वको सिमन्तकृत चेत, बैदेशिक रोजगारीको परिणती, प्रकृतिक प्रकोपका विभत्स घटना आदि चिन्तनका कथा लेखनमा नारीहरू अग्रसर भए । खास गरी द्धन्द्धकालमा घटेका विभत्स घटनाका मार्मिक घाउ, व्यक्तिमा निहित अन्तरविरोधमूखी द्धन्द्धका , भ्रष्टाचारका , चारित्रिक गतिविधिका, जातीय विभेदका, धार्मिक सहिष्णुताका, मानवतावादी चिन्तनका, दण्डहीनताका, राजनीतिक अस्थिरताक, स्वरोजगारका, जनसरोकारका, सरकारका अनुत्तरदायि भूमिकाका, सीमान्तकृत जनताहरूका आवाज, आञ्चलिकताका, समावेशी भावका, सत्तामोहबाट उत्पन्न देशको विविध परिस्थितिका, सामाजिक अन्याय र अत्याचारका विविध प्रसंगका, तराई मधेशका जनजीवनका पाटा,अझ शसक्त रूपमा मानिसकै अस्तित्वमा जीउने अधिकारका, नारी मानसका पहिचानका आदि बारे नारी कथाकारका कथाका विषय बनेका छन् । यसरी अघिल्लो पुस्ताका अग्रज नारी कथाकार र नयाँ पुस्ताका नारी कथाकारहरूले युगको प्रतिनिधित्व गरेर समकालिन कथा लेखनमा जीवनबादी स्वर अभिव्यक्त गरेका छन् । विश्वका अनेक प्रसंग परिवेश र प्रभाव नेपाली कथासाहित्यकारहरुले लेख्ने विषय बनेको छ । तर त्यसमा नेपाली रंगले नै सजाएर नारी कथाकारले लेखिएको पाइन्छ । कला, शैली, शील्प आदिमा नेपालीत्व भाव भरिएको हुन्छ । नारीले लेखेका कथा आफ्नै  प्रकृति र प्रवृत्ति लिएर आफ्नै  मौलिक रंगमा लेखिनु विशेषता बनेको छ । त्यसैले सैद्धान्तिक रूपमा विश्वसाहित्य को प्रभाव परेता पनि नेपाली कथासाहित्य स्वावलम्वन तिर नै केन्द्रित भएको भन्न सकिन्छ । विचारको शसक्त पक्ष नै समकालीन कथासाहित्यको प्रवल पक्ष बन्यो । देश, काल र परिस्थिति जन्य समसामयिक घटनालाई कथासाहित्य मार्फत सार्वजनिक चेतनाका सामूहिक स्वरहरू नारीहरूबाट विभिन्न कोण, विषय र शैलीबाट लेखिए । यथार्थको नजिक रहेर आफ्नै  जीवनको मनस्थित, व्यक्ति चरित्र वा विचारको एउटा अंशको छोटो द्धन्द्ध सहितको सन्दर्भका प्रस्तुती नै आजका नारीकथाकारको कथामा कथानक बनाएको पाइन्छ । तर नारी कथाकारले कथालेखनमा सुधार गर्नु पर्ने अझै प्रशस्त ठाउ छन् ।  
   
नारी कथाकारमा युगिन चेतना
२०४६ को जनआन्दोलन पछि युग चेतनाको प्रवृक्तिगत धारणाले आन्दोलित मानसिकतसंगै समकालीन कथासाहित्यमा नारीहरूको जमात बढ्यो । नेपालको राजनैतिक परिवर्तनसंगै स्वतन्त्रता र स्वच्छन्दताका साहित्य लेखिन थाले । जीवन र जगतसंग प्रत्यक्ष अप्रत्यक्ष सरोकार जन्य कुराहरू अविब्यक्त गर्ने अघिल्लो प्रणालीको शैलीलाई पनि चटक्क नछाडि समसामयिक परिपाठीको शैलीलाई अपनाउदै नारीकथाकारको लेखिन अघि सरेको पाइन्छ । चाहना अनुसारका पृष्ठभूमिमा समकालीन कथा लेखिनको प्रवृत्तिले गति लिने क्रममा नारी कथाकारहरू आन्दोलत भए जस्मा राजनीतिक र सामाजिक अवस्थाबाट उत्पन्न मानवका अनेक प्रशंग प्रेम, घृणा, मोहभंगका मूल्यवोध, स्वअस्तित्ववोध, पहिचानका कुरा, गतिशिल परिवेशको चासो, विश्वविमुखीकरणको प्रभुत्व, राष्ट्रियताको रंग, कलात्मकताको चेतना, नविनतम प्रवृत्तिको खोज, परम्परागत विकृति विरुद्धका स्वर, सामाजिक स्थितिलाई सुधार्ने आधुनिक करणको माग र उत्तर आधुनिकताको वैचारिक र वौद्धिक प्रवृत्ति, यथार्थ वादको आकलन, युद्ध र द्वन्दको सन्त्रास, पाश्चात्य मुलुकको प्रभावले पारेका अनेक विषय, समसामयिक जीवनवोध, समजिक जागरण, अन्र्तराष्ट्रिय ज्ञान आदि विभिन्न कुरा समकालीन नारी कथाकारहरूका लागि प्रशस्ती बने । विषयका पृथकतासंगै चेतनाका संवाहक भई नारीहरूबाट समकालीन कथासाहित्य लेखिदै छ । 
पहिले पुरुषले लेखेका कथामा नारीका पीडाभाव आदर्श भावले उठाएको हुन्थे तर शोषित, पीडित नारीबारे कथा लेखेको पाइन्न । त्यसरी नै नारीले लेखेका कथामा आफ्नो जीवन भोगाइका अध्यारा पक्ष मात्र लेखिएका हुन्थ्यो । तर समयसंगै आधुनिक युगको जटिल परिस्थितिको चेतनाले नारीहरु पनि संवेदित भए । जीवन जीउनेक्रममा अनेक भोगाइका अनुभूति, देशको  परिस्थिति आदि नारीका पनि साझा सवल हुन भन्ने चेतनाको तहमा पुगेपछि नारी सजक हुन थाले । त्यसपछि अन्य क्षेत्रमा झै नारी कथाकारले कथा साहित्यमा नवीनतम स्थितिको खोज गर्न थाले । यहि प्रकृयाबाट उत्पन्न सकरात्मक प्रवृत्तिको बैचारिक लेखनमा समकालिन नारी कथाकारहरू अभिमुख भएको पाइन्छ । यसरि नै विश्वकथा साहित्यमा सहयात्री हुन नारी कथाकारहरू देश–काल परिस्थित र विश्व परिवेशका कथा लेखनमा आकृष्ट भएका छन् । विद्युतीय संचारको विकास र समय अनुरुप वैचारिक दृष्टिकोणमा आएको परिवर्तनसंगै युगिन चेतनाका समसामयिक कथा सिर्जनामा नारी कथाकारहरु सचेत छन् । वर्तमान राजनीतिक र सामाजिक जनजीवनमा भएका विकृतिपूर्ण मानसिकताका विषयमा आफ्नोपनको शैली र स्वादका कथा लेख्ने नारी कथाकारका राम्रा कथा लेखनसंगै केही अकथा पनि देखिएका छन् ।

कथामा कथाकारको अनुभूति पराईको जस्तो नभई आफैले भोगिरहेको अनुभूति होस् भन्ने पाठकले चाहान्छ । आजको तिव्र गतिमा बढ्नु पर्ने जीवनको बाध्यतासंगै कथामा भन्न खोजेको सटिक कुरा कथाकारले विवरण तिर नअल्मलिकन लेख्ने तर कथाको निचोड पाठकलाई नै निकाल्ने स्थिति पनि छ । कथासाहित्यको विकासमा नारी लेखनीको यस्तो चेतना युग सापेक्ष समकालीन मानक बनेको छ । आफ्नो छुट्टै शैली निर्माण गरेता पनि नेपाली कथा साहित्यमा सकारात्मक बाटो तिर डो¥याउदै आधुनिक कथा पद्धतिको संरचनामा रही कथा लेखिनु नै आजका नारी कथाकारको  दाइत्व हो ।

सांस्कृतिक रूपान्तरणको चेतना  
साहित्य समाजको विधमान संकृतिक रुपान्तरण गर्ने महत्वपूर्ण माध्यम हो । समाजको रुपान्तकारी भुमिका खेल्न साहित्यले मदत पु¥याउछ भन्नेहरूले समाज रुपान्तरणका विषयहरूलाई जोड दिएर कथा लेख्छन भने समाजको दर्पण हो भन्नेले उहि समाजको परम्परालाई लेख्छन । आफु सम्पूर्ण रूपमा परिवर्तन नभई समाज परिवर्तन गर्न सम्भव नै छैन् । युग सापेक्ष चेतनाको रंग मिसाएर सामाजिक रुपन्तरणको भूमिका निर्भाह गर्दै लेखिएका साहित्य कालजयी हुन्छन् । त्यसैले संस्कृतिक रुपान्तरण र सामाजिक परिवर्तन मनै देखि आफुलाई यथास्थितिबाट अग्रगमन तिर लम्कने संस्कारको विकास गरेर केही नारी कथाकारहरुले केही राम्रा कथा सिर्जना गरेका छन् ।

विषय वस्तु र शैलीको विविध प्रश्तुतिमा आफूले झलक्क देखेको, भोगेको क्षणको अनुभूति नै कथानकता भएको छ । परम्परागत धारणबाट अलग्गिएर कथानकताका नयाँ शैलीको जटिलताले आजका कथा पढ्ने, बुझ्ने पाठकहरूमा पनि चिन्तनको आवश्यकता हुन थालेको पाइन्छ । नारीकथाकारले आफ्नो समयको परिस्थिति स्वीकार्दै आफ्नो पहिचानका लागि परम्परागत नराम्रो सस्ंकारको विद्रोह गरेर कथा सिर्जना गर्छन । सांस्कृतिक रुपान्तरणका सकारात्मक विषयमा समाज परिवर्तनका अनेक घटना र विविध प्रकृतिका पात्रहरूलाई विचारको शक्ति प्रवाह भइ कथासाहित्यमा पुरुषसंगै नारीको पनि वर्चश्व रहेका पाइन्छ ।

नारीवादि आन्दोलन पुरुषलाई वहिष्कार गर्न नभई समाजमा नारीलाई गर्दै आएका अन्याय विरुद्धको अस्त्र हो । नराम्रा चलनलाई अन्त्य गरी राम्रो चलनको सुरुवात गर्ने उद्देश्य हो । सांस्कृतिक परिवर्तन विना समाजका पिछडिएका वर्ग, जातको उन्नति नहुने भएकाले नेपाली कथा साहित्यमा पनि त्यस्तो विषयमा चिन्तन गरी लेखिने प्रवृतिमा नारी कथाकारहरू आकृष्ट भएका छन् । । समाजमा परिवर्तन ल्याउने सांस्कृतिक सुधारका विविध प्रसंगहरू जस्तै बालविवाह, अनमेल विवाह, छुवाछुत, छाउपडी प्रथा, मानिस माथि भईरहेका अमानवीय व्यवहार, अन्याय, अत्याचार विरुद्धमा अन्य क्षेत्रमा आवाज उठे झैं साहित्य क्षेत्रमा पनि प्रशस्त अभिब्यक्त भएको छ । परम्पराकाल देखि नै शोषित वर्ग नारीहरूमा चेतनाका ज्वारभाटा विस्फोट भए पछि हरेक क्षेत्रमा झैं लेखन क्षेत्रमा पनि नारी कथाकारहरू लागि परेका छन् । वर्तमान समयमा सांस्कृतिक रुपान्तरणको आवश्यकता वोध गरेर समस्त नेपाली बीच, राष्ट्र र राष्ट्र बीच र सम्पूर्ण विश्व समुदाय बीच शान्तिमय समतामूलक र दिगो सम्वन्ध गाँस्ने सम्भवका कथाहरू पनि लेखिन थालेका छन् । 

समकालीन नारी कथाकारका कथामा अस्तित्ववाद 
नारीकथाकारहरू पहिचान र अस्तित्वका सशक्त कथालेखन तिर अग्रसर भएको पाइन्छ । केही नयाँपनको स्वाद, केही नयाँ शैलीको प्रयोग र केही नयाँ विषय प्रति प्रवृष्ट भएर नारीकथाकारहरू लागी परेका छन् । जुन कुराले मानिसलाई पिरोल्छ त्यही कुराको चिन्तनमा लागेर अस्तित्व चेतनाले झकझक्याई आफ्नो लेखनमा संप्रेशित गर्छन । अस्तित्ववादी चिन्तनमा नारीहरूको कलम पछिल्लो समयमा सशक्त चलेको पाइन्छ । राजनैतिक परिवर्तनसंगै नारीहरू अस्तित्वको खोजीमा भौतारिए । फलत मानिस हुनकै अर्थमा अधिकांश नारीहरू सचेतताका साथ लागे ।  आप्mनो लेखनीमा स्वतन्त्रता, समानता र अवसरका कुराहरू अभिब्यक्त हुन थाले । आफूमा चेतना छ भने त्यसको चिन्तनसंगै सामाजिक मूल्यमान्यताको वोध गरेर कथा लेखनमा नारी कथाकारहरूको ब्यापक उपस्थिति भएको छ । माओवादी आन्दोलनको प्रभावबाट विभिन्न विषय र शैलिका कथाहरु नारी कथाकारले लेखेका छन् । तर यसमा पनि अझै प्रयाप्त छैन् । २०४६ को जनआन्दोलन पछि र जनयुद्ध पछि युद्ध र द्धन्द्धले विचारको घनत्व बढाएर अप्रत्याशित रूपमा नारी कथाकारले गति लिएको पाईन्छ । अस्तित्वको चेतनासंगै राजनैतिक र सामाजिक परिवर्तनका लागि स्वतन्त्रताका साथ लिङ्गभेद, वर्गभेदको अनेक परम्परागत धारणाको विरोध गर्दै वैद्धिक चिन्तनका साथ समतामूलक समाजको निर्माणका कथा सिर्जना गर्न पारिजात, माया ठकुरी, लिला श्रेष्ठ सुब्बा, मन्जु काँचुली हुदै आन्विका गिरी, उषा शेरचन लगायतका अन्य थुप्रै नारी कथाकारहरु अभिमुख भएका छन् ।

पितृसत्ताको विभेदबाट मुक्तिका लागि , मातृत्व चेतना, वर्गिय चरित्रको प्रतिनिधित्व, नारीप्रति पुरुषको संकुचित धारणा, नारी मुक्तिका आवाज, सामाजिक विसंगति, नारीवादी चेतना, नारी अस्तित्व र अस्मिताका विद्रोहि आवाज, यौन अत्याचार, घरेलू हिंसा र वलत्कारको विरद्धका आवाज, जीवनदर्शनका र प्रगतिवादी धारका नारी कथाकारका कलमबाट प्रस्तुत भएका छन् । समकालीन नारी स्रष्टाले परम्परागत रुढीवादी विरुद्धमा, स्वाभिमानमा, स्वअस्तित्वमा, न्यायमा, धर्ममा, आर्थिक पक्षमा , राजनीतिमा, समानतामा, स्वतन्त्रताका अभिमत राखेर निर्भिकताका साथ कलम चलाएका छन् । समकालीन नारी कथाकारहरूको कथा विश्वको पेरीफेरी देखि लिएर आफ्नै  जीवन अस्तित्वसंग गाँसिएर लेख्ने प्रवृत्ति बढेको छ ।  
    
लैङ्गीक चेतना, यौनिक प्रश्न र समलिङ्गीय सन्दर्भ     
दोश्रो विश्वयुद्ध पछि नारीहरूमा चेतना आयो तर लैङ्गिक भूमिका उही रयो । नारीको समस्या भनेको मानिसको समस्या हो भन्नेहरूबाट लैङ्गिक भूमिकामा केही सुधार आएको पाईन्छ । नारी साहित्यकारहरू लैङ्गिक चेतनामा अभिप्रेरित भई नारी अस्मिता र अस्तित्वका अनेक विषय आत्मासाथ गरी स्पष्ट धारणा प्रस्तुत गदै साहित्यको माध्यमबाट अघि सरे । नारीका जीवनका अतृप्त इच्छा, आकांक्षाका समग्र कुरा, विभिन्न कारणले योनबाट शोषित भएका नारीहरूको परिदृष्य, नारी विद्रोही भावमा अभिमूख भएर साहित्य सिर्जना गर्ने नारीहरूकै जमात एकाएक बढेको पाईन्छ । अघिल्लो समयका समकालीन नारी कथाकारले यौन समस्यालाई, यौन शोषणलाई र यौनिक इच्छालाई प्रतिकका रूपमा कथा लेखे भने पछिल्लो समयमा आएर यहि विषयमा अलि स्पष्टताका साथ कथामा लेखिदै आएका छन् । यौन साहित्यमा कलम चलाउने समकालीन नारी साहित्यकारहरूको शैलीगत कला सहज र सुन्दर छ । पाश्चात्य संस्कृतिसंग प्रभावित भएर यौन साहित्यमा कलम चलाएता पनि नारी कथा लेखनको पृष्ठभूमि, पात्र, परिस्थिति र रंग नेपाली समाजकै पेरिफेरीमा रहेके छ । पुरुषहरु कै माझकी एक्लो योद्धा पारिजातको अतृप्त योन आकांक्षाको भाव मैले नजन्माएको छोरो, भूवन ढुङ्गानाको राले र पे्रमा शाह, बेन्जु शर्मा, ईन्दिरा प्रसाई, सिता पाण्डे, जलेश्वरी श्रेष्ठ, लगायत अन्य थुप्रै नारी कथाकारका कथाहरु उदाहरणका रूपमा छन् ।

सृष्टी संचलनको प्रकृयालाई निरन्तर चलाउनका लागि समाजले नारी–पुरुष विच बैवाहिक वैधता दिएर जैविक चाहना परिपूर्तिका साथै सन्तान बृद्धि गर्ने नियम बाँधेको छ । तर समयसंगै आएको मानवको नवीनतः स्वभाव र चाहनासंगै स्वलिङ्गी जैविका आकर्षणले एउटा विग्लै वर्गको जमात स्थापित भएको छ । ब्यक्तिगत निराशा र कौतूहलताका कारण यस प्रकारको मनोबैज्ञानिक चिन्तनले ब्यापकता छाएको छ । नारी–नारी बीच र  पुरुष पुरुष विचको रागात्मक सम्वन्ध संचालन विश्व परिवेशमा मात्र नभई नेपालको सामाजिक रूपमा स्वीकार्य नभएपनि प्रायः अव स्पष्ट रुपले आफ्नो उपस्थिति जनाउन थालिसकेका छन् । सम्भवत सदियौं पहिले देखि चलेको तर लुप्त अवस्थामा नै रहेको यो पद्धतिका रूपमा देखिएको विषयमा पनि साहित्य लेखिन थालिएको छ । संसारका मानवीय गुणमा देखिएको समलिङ्गीय चेतनाका कथा सिर्जना गर्ने नारी समलिङ्गीय र पुरुष समलिङ्गीय विषयमा भागीरथी श्रेष्ठ, हरिमाया भेटुवाल लगायत अन्य थुपै्र नारी कथाकारहरु पे्ररित हुदै गएको पाइन्छ । 

समकालीन नेपाली साहित्यमा जिवन र जगतका विविध पक्षको विषय उठान गरी लिङ्गभेदको मापन नगरी समकालीन लैङ्गीत चेतना, यौनिक र समलिङ्गीय सन्दर्भका लेखनमा  थुप्रै नारी कथाकारले दह्रो उपस्थिति जनाएका छन् । 

राजनीतिक चेतना र युद्ध र द्वन्द्वको प्रभाव        
२००७ सालपछी नेपाली साहित्यको आधुनिक कालको प्रहर भनिएता पनि २०४६ जनअन्दोलन पछीको प्रभावले आन्दोलीत मानसीकतामा युग चेतनाको प्रवृत्तिगत धारणासंगै लेखनमा समकालीन नारी साहित्यकारहरू शसक्त भए । राजनीतीक पृष्ठभुमिलाई आत्मसाथ गर्दै पूर्ण प्रजातान्त्रीक प्रणलीको प्रतिक्षाले चिन्तीत साहित्यकारहरूमा निराशा जनक मानसीक उत्कसबाट अनेक वाद, प्रयोग र चिन्तनका साहित्य समकालीन नारी स्रष्टाहरूले सृजना गरे । २०३६ देखि सुरु भएको भनिएको समसामयिक गति २०४६मा देशमा भएको राजनीतिक परिवर्तनको बहुलवादी चिन्तनका कारण नेपाली कथा साहित्यमा बैचारिक परिवर्तनसंग दृष्टिकोण र छुट्टै शैलीका साथ नारीहरूको प्रवल सहभागिता ५० दशक पछाडि अर्थात माओवादी जनयुद्धको लहरले नेपाली नारी कथाकारहरूको आशारत उपस्थितिसंगै अस्तित्वरत चेतनाको लहर फैलियो । त्यस्तै २०६२÷०६३ को आन्दोलन र लोकतन्त्र, गणतन्त्र प्राप्ती अनि त्यस पछिको देशको असन्तोष परिस्थितिका विविध सन्दर्भका विषयहरू नारी कथाकारले प्रमुखताका साथ ग्रहण गरे । जनयुद्धका विषयमा नारी कथाकारहरू वैचारीक द्धन्द्धबाट अभिप्रेरित भई बौद्धीकतासंगै कलात्मक रंग भरेर प्रयोग र वादको चिन्तनका कथा लेखनमा मुखारित भएका छन् । प्रजातान्त्रिक पद्धति, समानता र स्वतन्त्रताका पहिचान र स्वअस्तित्वका आवाजहरू  निसंकोच  समकालीन नारी कथाकारले लेखे । साहित्यका विविध विधा र विषयको उठान गरि प्रयोग र वादका विभिन्न तहमा पुगेर युद्ध र द्धन्द्धको चिन्तन, समयसंगै अन्याय विरुद्धका आवाज, स्वतन्त्र अस्तित्वका स्वर, आफ्नो जिवनको अधिकार प्रतिको चिन्तनमा निस्फिक्री भएर लेख्नु नारी लेखन धर्म जस्तै बन्यो । यो युग सपेक्ष भएर नारी लेखनले प्रमुखता पायो र साहित्य जगतकै उपलब्धी पनि बन्यो  । आधुनिक नेपाली कथासाहित्यको समकालीन रुपरेखा देशका समसामायिक राजनितिक कालखण्डलाई प्रतिनिधित्व गर्ने भावका कथा लेखनमा माया ठकुरी, शान्ता श्रेष्ठ, सरला रेग्मी, बविता बस्नेत, आन्विका गिरी लगायतका थुपै्र नारि कथाकारहरु अग्रसर छन् । 

विश्वब्यापीकरण र साइबर प्रभावित कथा 
समय परिवर्तनशील छ । परिवर्तन जहाँ  पनि दिनानुदिन भईरहेको छ । विज्ञानको विकास र विस्तारमा प्रविधिले परिवर्तनका नयाँ नयाँ आयामहरू क्षणभरमा नै थपि रहन्छ । तर जति छिटो परिवर्तनका स्वरुप बन्छन् त्यति नै अस्थिर छन् । विश्वब्यापीकरणको प्रभावले नेपाली कथाकारहरू विश्व साहित्यमा आकर्षित हुदै गएका छन । । अनुवादका माध्यमबाट नेपाली नारी कथाकारहरू पनि विश्वब्यापीकराको छेउमा प्रवेश गरी सकेका छन् ।  विद्युतिय प्रवृत्तिको माध्यमबाट इन्टरनेटले विश्वपरिवेशको भूगोल घर, आगन भित्रको सानो क्षेत्र बनेको छ । समकालीन नारी कथाकारहरूको लेखन पनि यता तिर निर्दिष्ट हुदै गएको छ । प्रविधिले नेपाली कथा साहित्यको जगतलाई निकै फराकिलो बनाएको छ । नेपाली साहित्यमा साईवर संस्कृतिको प्रयोग प्रशस्त हुन थालेको छ ।  कही थोरै कही धेरै साइवर प्रविधिका विषयसंग अभिप्रेरित भई कथा लेखनमा इन्दिरा प्रसाई, जलेश्वरी श्रेष्ठ, लक्ष्मी उप्रेती लगायत अन्य नारीकथाकारहरू पनि केन्द्रित हुन थालेका छन् । अब नेपाली साहित्यमा साइवर संस्कृतिबारे लेख्ने र अध्ययन अलि बढी हुन आवश्यकता भएको छ । 

डायस्पोरिक चिन्तन 
अनेकन कारण र व्यवहारले नेपालीहरू  चरण चरण गरेर विश्वका विभिन्न मुलुकमा विस्तार भई बसोबास गरिरहेका छन् । बर्षौ पहिला देखि नेपालीको विदेशिने क्रम आज झन ब्यापक भएको छ । विदेशिएर स्थायी रूपमा बसोबास गर्ने नेपालीहरूको साहित्य, कला र संस्कृतिमा चासो र रुचि बढिरहेको छ । साहित्य, संस्कृति र कलाको चेतना जहाँ भए पनि हरेक मानिसमा सधै रहन्छ । उनीहरू आफ्नो देश र बसोबास गरिरहेको देशको स्थितिको वातावरणमा संवेदनशील मनले आफ्नो अनुभूति संपेषण गरी साहित्य सिर्जना गर्छन । त्यस्तै दुवैतिरको उज्यालो अध्यारोको अनुभूति गरेर डायस्पोरिक चेतनाका कथालेख्ने मिरा रेम प्रधान, जया राई, निलम कार्की निहारिका, सन्जु बजगाई लगायत केही समकालीन नारी कथाकारहरू आकर्षित हुदै छन् । तर यस विषयमा यसबेला केही विमर्शका, विवादका कुराहरु चल्न थालेको पाईन्छ  ।

सारांश 
देशमा भएका आमूल परिवर्तनले जन्माएको अस्तित्ववादी चिन्तन, राजनीतिक र सामाजिक अवस्था, प्रेम, घृणा, मोहभंग, मूल्यवोध, गतिशिल परिवेशको चासो, विश्वविमुखीकरणको प्रभुत्व, राष्ट्रियताको रंग, परम्परागत गलत धारणा विरुद्धका स्वर, सामाजिक स्थितिलाई सुधार्ने आधुनिक करणको माग र उत्तर आधुनिकता वादको वैचारिक र वौद्धिक प्रवृत्ति, शून्यवाद, प्रयोगवाद, प्रगतिवाद, स्वच्छन्दतावाद, योनमनेविज्ञान, समलिङ्गिय चेतना, आशावादि स्वर, प्रकृति विपत्ति, आञ्चलिकता,  यथार्थ वादको आकलन, युद्ध र द्वन्दबाट उत्पन्न सन्त्रासका भयवह चित्र, पाश्चात्य मुलुकको प्रभाव, समसामयिक जीवनवोध, सांस्कृतिक रुपान्तरण,  आदि विभिन्न कुरा समकालीन नारी कथाकारहरूले लेख्ने विषय बने । आफूले भोगेका आफ्नो जीवनका अध्याँरा, उज्याला पक्ष सार्वजनिक गर्नु जोखिम कुरो हो तर यस्तो जोखिम संग नडराई आफ्नो जीवन भोगाईका कथा लेखेर समकालीन नारी कथाकारहरू अब सार्वजनिक हुन थालेका छन् ।
२०४६ को जनआन्दोलन पछि नेपालको जनयुद्ध र त्यसको प्रभावबाट बैचारिक द्धन्द्धको चिन्तनमा अग्रसर भएर आर्थिक, राजनैतिक, सामाजिक जीवन पद्धतिमा नेतृत्व वर्गका स्वार्थगत धारणाहरूलाई अघि सार्दै नारीहरूको कलम चल्यो । पौच विनाका युवा शक्तिको बेरोजगार र विदेशिने क्रम बाक्लियो । यी सबै कारणबाट हिनतावोध र वितृष्णाले खुम्चिदै गएका कारण व्याङ्ग्यमा जातिय चेतना, वर्गिय चेतना, सिमान्तकृत चेतना सहितका कथासाहित्य समकालीन नारी स्रष्टाहरूले लेखे । मानिस सिमावद्ध रही मानवीय गुणका साझा सवालका, अहमका, द्वन्द्वबाट सिर्जित मानवीय संकटका कथा पनि नारीले लेखे । 

उपनिषद्कालका विदुषी नारी मैत्रेयी र गार्गी नारी जगतका आस्थाका धरोहर र बौद्धिक सम्पत्ति हुन । नेपाली सांस्कृति चेतनाका बौद्धिक शक्ति मानिने यी विदुषी त्यस समयका रत्न हुन भने त्यही समयबाट नारी वर्गमाथि अन्याय हुन थालेका कुरा नकार्न सकिदैन । अन्यायको ज्वाला दन्किएर पनि सहन शक्तिका प्रतिरुप नारीहरूमा सहनुको सिमा रहेन् । अति नै भएपछि युगको चेतनाले विसौं शताब्दीको अन्तिमबाट अन्य क्षेत्रमा झैं कथा लेखनमा पनि नारीहरू अग्रसर भएका हुन भन्न सकिन्छ । 

नेपाली नारी कथा लेखनको पृष्ठभूमि तिर फर्किदा भारतबाट प्रकाशित गोर्खा संसार पत्रिका १९८४ सालमा दिव्यादेवी कोइरालाको चर्खा शीर्षकको कथाबाट नै नारी कथाकारको आरम्भ भएको देखिएता पनि नेपालबाट प्रकाशित हुने शारदा पत्रिकामा पहिलो नेपाली नारी कथाकारका रूपमा १९९२ मा तुषारा मल्लिकालाई मानिने भएकाले नेपाली नारी कथा लेखनले ८ दशक नाघि सकेको छ । सुरुमा एकजना र त्यस दशकमा दश जना नारी कथाकारबाट जम्मा  १०,११ वटा कथा प्रकाशित गरी उपस्थित जनाएर पृष्ठभूमि बनाएका नारी कथाकारहरूबाट प्रारम्भ भएको कथा साहित्यमा नारी सहभागीता क्रमबद्ध रुपले पछिल्लो समयमा अर्थात हालसम्म आईपुग्दा उर्वर बनेको छ । लगभग ८ दशकको अवधिमा १५० जनाको हाराहारीमा नारी कथाकारहरू कथाका कृति नै लिएर देखिनुलाई निकै उपलब्धी मूलक मान्न सकिन्छ ।
  
नेपाली कथा साहित्यको श्रीवृद्धिमा लागी पर्ने भारतीय नेपाली भाषाका नारी कथाकारहरूको योगदान महत्वपूर्ण छ । यिनीहरूका कथामा मानवीय जीवन र जगतका यावत पक्ष समेटेर कथा लेख्ने भारतीय नारी कथाकारहरूका कथाका विषयहरू विविध छन् । कथा शील्पको विशिष्ट कालको समायोजनसंगै आफू बाँचेको धरातललाई सुसज्जित बनाउने चेष्टामा भारतीय नारी कथाकारहरू लागि परेका छन् । यसका लागी विस्तृत अध्ययन गर्नु पर्ने भएकाले यसमा अधि बढन चाहन्न । 
यसमा फुटकर रूपमा कथा सिर्जना गर्ने नारी कथाकारको नाम उल्लेख नगरि कथाकृति प्रकाशनमा आएका केही नारी कथाकारको मात्र नाम उल्लेख भएको यो लेख पूर्ण छैन । तर फुटकर रूपमा कथा सिर्जना गरिरहेका नारी कथाकारहरुलेकथा लेखनमा दह्रो उपस्थिति जनाई रहेका छन् । निश्चय पनि तिनको खोजिमेली समयमा हुने छ । यहाँ मैले समकालीन नारी लेखनका सन्दर्भमा पनि सामान्य संकेत मात्र गरेकी छु । यदि यस समबन्धमा विस्तृत रूपमा लेख्ने हो भने एउटा सिङगो कृति तयार गर्नु पर्ने हुन्छ । यो सुत्रात्मक र संकेतात्मक आलेख यहाँहरू समक्ष प्रस्तुत गरिएको छ । 
सन्दर्भ सामग्री सूचि 
रेग्मी, चूडामणि (२०२५),  नेपाली भाषाको उत्पति, काठमाडौं : जगदम्बा प्रकाशन । 
प्रसाई नरेन्द्रराज (२०६३), – नारी चुली, काठमाडौँ : नई प्रकाशन । 
पाण्डे, ज्ञानु (२०७०), नेपाली महिला कथाकार भाग २, काठमाडौंः नेपाल प्रज्ञा प्रतिष्ठान । 
सिंह पदमावती (सम्पा. २०६१), नारी साहित्यकारहरूको विधागात इतिहास, काठमाडौंः गुञ्जन–। 
उप्रेती, लक्ष्मी (२०६८),  नेपालका नारी कथाकारः प्रवृत्ति र प्रतिनिधि कथा, काठमाडौंः वनिता प्रकाशन ।
शर्मा, गार्गी (२०६९),शारदाका नारी स्रष्टाहरू, काठमाडौंः श्री लुनकरणदास–गंगादेवी चौधरी साहित्य कला मन्दिर ।
श्रेष्ठ दयाराम (२०७०) नेपाली कथा र कथाकार, काठमाडौंः नेपाल प्रज्ञा प्रतिष्ठान ।
अधिर थापा किसन (२०७१) समकालीन नेपाली कथा समस्या र सन्दर्भ, काठमाण्डौ . के . पी पुस्तक भण्डार ।
गौतम, लक्ष्मण प्रसाद, अधिकारी ज्ञानु (२०६९).नेपाली कथाको इतिहास, काठमाडौंः नेपाल प्रज्ञा प्रतिष्ठान ।
ढकाल रजनी, त्रिपाठी गीता, अधिकारी ज्ञानु (२०७१) विश्व नारी नेपाली साहित्य परम्परा र प्रवृत्ति काठमाडौ, त्रिमूर्ति निकेतन ।
ढकाल रजनी, त्रिपाठी गीता (२०७१) नेपाली महिला लेखन प्रवृत्ति र योगदान काठमाडौ, शब्दार्थ प्रकाशन ।
गरिमा (२०६७), वर्ष –२८ अंक –७ पूर्णांक –३३१ –२०६७ नारी सिर्जना ।
गरिमा – नारीःअस्तित्व र अस्मिता विशेषाङ्क, वर्ष ३०, अंक ७, पूर्णाङ्क– ३५५ असार–२०६९ ।
नवराज रिजाल (सम्पा.२०७०), नवप्रज्ञान –अंक ६० 
बालसाहित्य विशेषांक  पूर्णाङ्क – ६० बैशाख–असार केही कार्यपत्रहरू 

000 

कविता 
यात्रा
सीताराम गुरुङ

हुयानसेङले यात्रा नेपाल भूमिमा नगरेको भए
राजा अशोकले यात्रामा स्तम्भ नगाडेको भए
शायद, बुद्ध भूमि नै पत्ता लाग्दैनथ्यो कि !
लु स्यून, गोर्की, टोल्सटायहरूले जीवनलाई यात्रा नबनाएको भए
शायद, साहित्यिक जीवनका पानाहरू खुल्दैन थिए कि !
पश्चिमी ध्रुवमा कोलम्वसले यात्रा नगरेको भए
दुनियाँलाई राजगर्ने अमेरिका कहाँ हुन्थ्यो होला कि गोलार्धमा ?
भन ए भन बिना यात्राले ज्ञान पाउने भए
राजकुमार सिद्धार्थ किन निस्कन्थे दरबारबाट
जिजस किन छुट्टिन्थे मरियमबाट ?
त्यसैले यात्रा हो ज्ञान प्राप्ति
ज्ञान यात्रा हो सहज जीवन प्राप्ति
यात्राले जीवन सहज र सुविधा प्राप्ति
मनुष्य जीवनको संघर्षले निरन्तरता प्राप्ति
ओखलढुङ्गा


 प्रस्तुत अङ्क

रमाकृष्ण सृजना प्रतिष्ठानको आयोजनामा नेपालबाट १५ जना साहित्यकर्मीको टोली गतवर्ष सिक्किम यात्रामा गएको थियो । सिक्किमलाई प्रमुखता दिइएपनि त्यो टोलीले नेपाली भाषीको बाहुल्य भएका छेउछाउका अरु भारतीय भूभाग पनि भ्रमण गरेको थियो । त्यसै यात्रा टोलीको यात्रा अनुभूतिलाई प्रस्तुत गरिएको छ ‘रचना’ को यस अङ्कमा ।

सिलगढी, कालेबुङ, गान्तोक, दार्जीलिङ हुँदै इलाम पुगेर बिट मारिएको त्यो सात दिने यात्राका विविध अनुभूति सँगालिएको प्रस्तुत अङ्क पाठकका निम्ति उपयोगी हुने विश्वास गरिन्छ । यात्रास्थलहरूका भाषा साहित्य, संस्कृति, कला, जनजीवन, राजनीति आदि विविध क्षेत्रका अन्तरकुन्तर केलाइएका यी अनुभूतिले पाठकलाई नौलो स्वाद दिने विश्वास हामीले गरेका छौं । आफ्नो भाषा–संस्कृति–साहित्यका मौलिकता जोगाउँदै जातीय स्वाभिमान उच्च राख्न संघर्षरत नेपालीहरूप्रति गर्वको अनुभूति यात्रा टोलीका प्रत्येक सदस्यलाई भएको आभास यहाँ समाविष्ट सामग्रीहरूमा पाइन्छ । यात्राटोलीका केही सदस्यबाट वाचा गरिए अनुसार रचना पाउन सकिएन पारसमणि दँगालले मौखिक रूपमा प्रस्तुत गर्नुभएको कार्यपत्रको लिखित प्रति पनि गान्तोकबाट उपलब्ध हुन सकेन । यस निम्ति हामीलाई खेद छ । प्रकाशनार्थ आफ्ना अनुभूति पठाउने स्रष्टाहरूप्रति आभार व्यक्त गर्दछौं ।

रमाकृष्ण सृजना प्रतिष्ठानको सहयोग र सहकार्यमा यो अङ्क प्रस्तुत गरिएको हो । यसनिम्ति ‘रचना’ परिवार रमाकृष्ण सृजना प्रतिष्ठानका अध्यक्ष महेन्द्र गुरुङ र प्रतिष्ठानका पदाधिकारीहरू प्रति कृतज्ञता व्यक्त गर्दछ ।
















-------------------------------------------

नेपाल साहित्यिक पत्रकार सङ्घको कार्यालय, बागबजारमा रचना पूर्णाङ्क १३८ सिक्किम साहित्य यात्राको विमोचन कार्यक्रम 



No comments:

Post a Comment