Sunday, September 15, 2019

मातृका पोखरेलको 'सन्त्रस्त आँखाहरू' हेर्दा - गंगा


    कथाकार मातृका पोखरेलको कथासङ्ग्रह 'सन्त्रस्त आँखाहरू' विभिन्न समयमा विभिन्न पत्रपत्रिकाहरूमा छापिएका कथाहरूको सङ्ग्रह हो। २०६१ मा पहिलो संस्करणको रुपमा प्रकाशित कथासङ्ग्रह २०६९ मा दोस्रो संस्करणको रुपमा कथा पारखी पाठकमाझ आएको छ।
    कथा सङ्ग्रहमा जम्मा १२ वटा कथाहरू सङ्ग्रहित छन्।
    कम्युनिष्ट विचारप्रति आस्थावान स्रष्टा मातृका पोखरेलका कथाले जनताको कथा व्यथालाई आवाज दिइएको छ भने वर्तमान समयमा भइरहेको सामाजिक तथा राजनीतिक मूल्य मान्यताप्रति पनि कथाहरू लक्षित छन्।
    'एउटा नयाँ यात्रा' शीर्षकको कथा पितृसत्तात्मक सोचविरुद्ध एउटी नारीले उठाएको आवाजको कथा हो। कथामा समाजमा महिलाले छोरा जन्माउन नसक्दा भोग्नुपर्ने मानसिकता तथा शारीरिक यातना र तीनै महिलाले चालेको सङ्घर्षको पाइलालाई देखाइएको छ।
    अपराधी र बेइमानी मान्छेको मन सधैं डराएको हुन्छ। 'निर्णय' शीर्षकको कथा राजनीतिक अपराध गर्ने नेता रामलालको कथा हो। सत्तामा पुग्न साधारण जनतादेखि इमानदार कार्यकर्तासम्मको काँध चढ्ने नेता आफूले गरेको बेइमानीकै कारण एउटा साधारण मान्छेसँग पनि डराएको मानसिकताको वर्णन कथामा गरिएको छ।
    'हरियो बत्ती' कथाले कम्युनिष्ट पार्टीभित्र र आन्दोलनमा देखापरेको सैद्धान्तिक विचलनलाई देखाइएको छ। पार्टी पदको दुरुपयोग गर्दै कम्युनिष्टको मुकुण्डो लगाई खराब काम गर्ने नेताहरूप्रति लक्षित कथा यथार्थपरक छ।
    'अविश्वास प्रस्ताव' शीर्षकको कथाले संसदीय व्यवस्थाको विकृतिलाई चिरफार गरेको छ।  सरकार ढाल्न, बनाउन र मन्त्री बन्न आफूखुसी बोकाजस्तै बेचिन तयार हुने सांसदहरूको कथा हो 'अविश्वास प्रस्ताव'।
    प्रहरी जनताका रक्षक हुन् तर भ्रष्ट राजनीतिक व्यवस्थामा प्रहरी पनि भक्षक बनेका उदाहरणहरू धेरै छन्। त्यसकै एउटा उदाहरण हो 'फुटपाथ' कथा। आफ्नो मेहेनतमा बाँच्ने मानिसहरूमाथि प्रहरीले गरेको ज्यादतीलाई कथामा मार्मिक ढङ्गमा प्रस्तुत गरिएको छ।
    'म यसरी फर्किएँ' कथामा विदेशिएका युवाहरूको पीडा समेटिएको छ भने 'परिचित अभिनय' आफ्नो लोग्नेलाई भ्रष्टाचार गर्न उक्साउने नारी र उसको परिवारको दुःखद अन्त्यको कथा हो।
    प्रगतिशील धारमा आफ्नो कलम तिखार्ने स्रष्टा मातृका पोखरेलका आगामी सङ्ग्रहहरू अझ सशक्त र ओजिलो हुने आशासहित स्रष्टा मातृका पोखरेल र प्रकाशक ज्ञानज्योति पुस्तक पसल, बागबजारलाई साधुवाद !
    छपाइ र पुस्तकको आकार प्रकार राम्रो छ तथा गाता आकर्षक छ। १०० पृष्ठ भएको कागज ठिक्कको र एक सय रू.मूल्य पनि महङ्गो होइन आजको बजार भाउको हिसाबले। 




                  गंगा 
           http://shramik.com.np बाट साभार 

No comments:

Post a Comment