Friday, April 20, 2018

चस्मा - मातृका पोखरेल

तिम्रो बजारबाट किनेको चस्माबाट
म तुरुन्तै मुक्ति चाहन्छु ।

तिम्रो बजारबाट किनेको चस्माबाट
उस्तै देखियो
गुण्डागर्दी र राजनीति
उस्तैउस्तै देखियो
दलाली र निष्ठा
समाजसेवा र व्यापार
केही फरक देखिएन ।

अहँ ! केही फरक देखिएन
सुकिला र मैला मनहरु
परिश्रमबाट आएको ज्याला
र कमिसनबाट आएको नगद
कतै फरक भएन ।

तिम्रो बजारबाट किनेको चस्माबाट
कालो र सेतो रङ्ग
उस्तैउस्तै देखियो
काहीं केही छुट्टिएन ।

अब म ,
तिम्रो बजारबाट किनेको चस्माबाट पुरै मुक्त हुन चाहन्छु ,
नयाँ किन्न सकिन भने पनि
तिम्रो बजारबाट किनेको चस्मा
ढुँगामा किचेर
टुक्राटुक्रा पार्न चाहन्छु ।
कमसेकम खाली अाँखाले
कुनै दृष्टिभ्रम हुँदैन
म बाँकी जीवन दृष्टिभ्रममा बाँच्न चाहन्न ।

यो चस्मा बजार तिम्रो हो
यो उत्तरआधुनिक बजार
मलाई थाहा छ ,
मैले अर्कै बजार खोज्नुछ
तिम्रो बजारबाट किनेको चस्माबाट
जे हेरे पनि भ्रमैभ्रम देखिन्छ ।

तिम्रो बजारबाट किनेको चस्माबाट
अहँ ! मैले हेर्न खोजिरहेको त्यस्तो केही पनि देखिएन
पूर्वबाट उदाउन खोजीरहेको सूर्य पनि देखिएन
अहँ ! केही पनि देखिएन
हिलोमा फूल्न प्रतिस्पर्धा गरिरहेका कमलका फूलहरु पनि देखिएनन ।

देखियोस न ,यो चस्मा लगाएपछि
हाँसीहाँसी झोला बोकेर बिद्यालय गएका बच्चाहरु
देखियोस न , क्लबभित्र ठुलो स्वर निकालेर हाँसीरहेका ज्येष्ठ नागरिकहरू
निरन्तर सुनियोस उनीहरुको हाँसोको गुन्जन
तिम्रो बजारबाट किनेको चस्माबाट
अहँ ! त्यस्तो केही पनि देखिएन ।

तिम्रो बजारबाट किनेको चस्माबाट
म तुरुन्तै मुक्ति चाहन्छु ।

No comments:

Post a Comment