Friday, April 20, 2018

मान्छेहरुको भर्‍याङ्ग - मातृका पोखरेल

पर्यटकहरुले
सगरमाथा चढेझैं
उनिहरुले चढिरहे
हाम्रा करङहरुको भर्‍याङ्ग ।

निरन्तर चढीरहे उनिहरु
हाम्रा करङहरुको भर्‍याङ्ग
हजारौं वर्षदेखि
वा त्यो भन्दा पहिले
लाखौं वर्षदेखि
हामी उनिहरुका लागि
मात्र भर्‍याङ्ग हुन वाँचेको जस्तो
हाम्रो आफ्नो जीवन नभएजस्तो
हामी मान्छेहरु,
सधैंभरी
मतदान केन्द्रको तातो घाममा
लाइन लागिरहने
मात्र भर्‍याङ्गजस्तो
उनिहरुको आँखामा
हामी सधैं भर्‍याङ्ग जस्तो ।

पहिले पहिले
निक्खर कालो  रात थियो
हामी भर्‍याङ्ग भयौं भन्न पनि नपाइने
अहिले केही हटेको छ कालो रात,
तर भन्छन् उनीहरु,
अहिले उज्यालो छ
हामी भर्‍याङ्ग हवौं भन्न सम्म पाइने ।
उनिहरुको उज्यालोमा,
हामी भर्‍याङ्ग हवौं भन्न पाइने
तर भर्‍याङ्ग बाट भुक्ति नपाइने ।


हामीलाई
भर्‍याङ्गबाट मुक्त भएको
हेर्न चाहँदैनन् उनिहरु
बरु चाहन्छन
डेकेन्द्र राजबंसीले ८ गरेझैं
हामी सबैको आत्महत्या
उनिहरु भित्रैबाट चाहन्छन्
अबोध बच्चाहरु सँगसँगै
भोकले छट्पट्एिर
कर्णालीका अविभावकहरुले गरेको जस्तो
हाम्रो पनि सामुहिक आत्महत्या
तर उनिहरु चाहँदैनन्
भर्‍याङ्गबाट हाम्रो मुक्ति ।

मान्छेलाई भर्‍याङ्ग बनाउने मान्छेहरु,
भ¥याङनै भर्‍याङ्गले उठाएको मुठ्ठी
भ¥याङनै भर्‍याङ्गले लगाएको जुलुश
भ¥याङनै भर्‍याङ्गले उरालेको भाषण
भ¥याङनै भर्‍याङ्गले चलाएको क्रान्ति
कति शक्तिशाली हुन्छ
मान्छेलाई भर्‍याङ्ग बनाउने मान्छेहरु
अब हेर तिमीहरुले
आँखा खोलेर हेर
इतिहासका पन्नाहरुमा आँखा रगडेर हेर,
काठका भर्‍याङ्गलाईझैं
तिम्रा पाषाण खुट्टाहरुले
लामो समयसम्म
अब टेकिरहन सक्दैनन्
मान्छेका करङहरुको भर्‍याङ्ग
    


( २०६७ साल वैशाख ४ गते २०२८ सालको झापा आन्दोलनका योद्धा डिकेन्द्र राजवंसीले ने.क.पा.(एमाले) पार्टी कार्यालयमा झुण्डिएर आत्महत्या गरेका थिए ।)

No comments:

Post a Comment