Friday, April 20, 2018

माटोको गन्ध – मातृका पोखरेल

यो माटोमा
तिमी सँगसँगै मैले पनि भेटेको छु
मेरा पुर्खाहरुको पसिनाको गन्ध ।
  
तिम्रै जिजुहरुले सुनाएका कथा
हाम्रै हजुरबाले सुनाएको कथा
हामीले सँगसँगै सुनेका थियौँ
तिमीले बिर्सियौ कि के हो ?
तिमीलाई याद हनु पर्छ
अगेनाको डिलमा बसेर
तिमै जिजुले सुनाउनुभएको एउटा कथा
मलाई भरखरै जस्तो लाग्छ
यही ठाउँको जङ्गल फाँड्दा
तिम्रा जिजुहरु संगसगै
मेरा जिजुहरु पनि मरेका थिए
हामै बेसीको जमिन आवाद गर्दा
गएको सातै दिनमा
औलोले मरेछन् मेरा हजुरवा
तिम्रै जिजुले फर्काएर लगेको
एक हाँडी भुटेको मकै
र एक टपरी गुन्द्रुक
अनिकालमा खाएको कथा
हजुर आमाले सुनाउनु भएको
मलाई भरखरै जस्तो लाग्छ
कसले लगायो हाम्रो बिचमा
तिक्तताको आततायी काँडेतार ?
अचेल तिमी म बाट टाढा हुन थालेछौ ।

बेसीमा गर्मी सुरु भएको बेला
मेरा पुर्खाहरु पनि तिम्रा पुर्खाहरु संगसंगै
एक हल गोरु लिएर लेक चढेका थिए
उँभौली गाउदै ,
लेकमा जोड बढेको बेला
हलो कोदालो बोकेर
बेसी बास बस्न झरेका थिए
उद्यौली गाउदै,
यही पंधेरामा पानी बोक्न आउदा
तिम्री बहिनी सुम्निमा संगसंगै
मेरी बहिनीले पनि गाएकी थिई सोरठी,
यही जङ्गलमा दाउरा काट्न आउदा
तिम्रो भाइ पारुहाङ सँगसँगै
मेरो भाईले पनि गाएको थियो सेलो ,
मलाई अझै सम्म याद छ
कसले लगायो हाम्रो बिचमा
तिक्तताको आततायी काँडेतार ?
अचेल तिमी मबाट टाढा हुन थालेछौ ।
      
तिम्रो मूलघर बनाउदा मुछेको माटोमा
अझै आउछ मेरा हजुरबाको पसिनाको गन्ध
अझै छन् हाम्रा घरका झ्यालहरुमा
तिम्रा जिजुले खोपेका राम र सीताका चित्रहरु ,
हाम्रा पुर्खाहरुलाई जलाउने घाट
तिम्रा पुर्खाहरु अन्त्यष्टी गर्ने चिहान
उत्तिकै पुराना हुन् ,
बारीमा मकै गोडेर बसेको एक थकित साँझ
जिजुहरुले आंगनमा बसेर सुनाएका कथाहरु
हामी सबैले संगसंगै सुनेका छौ
यी बस्तीका जगहरुमा
अझै पनि खोतले भेटन सकिन्छ
तिम्रा जिजुका पाईतालाहरु संगसंगैै
मेरा जिजुका पाईलाका डोबहरु ,
कसले लगायो हाम्रो बिचमा
तिक्तताको आततायी कांडेतार ?
अचेल तिमी मबाट टाढा हुन थालेछौ ।
          
यात्रा पछिका प्रत्येक विश्रामहरुमा
सुनाइने सबै इतिहासका घटनाहरु
हामीले सबै संगसंगै सुनेका छौ
भरखरै गर्भाधान भएको नयाँ युगमा
श्वास भर्न बाँकीनै छ
बाँकीनै छ नयाँ मुटुहरु जोड्न,
मस्तिष्कहरु जोडन,
नयाँ हात र खुट्टाहरु जोड्न,
आउ, यो हल्लाको जङ्गलबाट टाढा
आउ, म तिमीलाई
हाम्रा जिन्दगीका सुरुवातका कथाहरु भन्छु ,
तिमीे सँगसँगै मैले पनि भेटेको छु
मेरा पुर्खाहरुको पसिनाको गन्ध ।

No comments:

Post a Comment