Friday, April 20, 2018

नक्कली हावा - मातृका पोखरेल

नक्कली हावाले
किन पठाईरहेको छ
आँधी आउने  हल्ला 
र बगाईरहेको छ तातो हावा । 

कस्तै गर्मीमा पनि
छालाले स्पर्ष गर्दैन
चिसो बतासको स्वाद
नाकका पोराहरूमा
कुनै सुगन्ध आउदैन माटोको

यो तातो हावामा मच्छरहरू हराउन जरुरी थिएन 
हराएन पनि , 
बच्चाहरुको शरिरमा घमौरा  हराउन जरुरी थिएन 
हराएन पनि ,
खेतबारीमा काम गरिरहेका मानिसहरुको 
पसिना ओवाउन जरुरी थिएन 
ओवाएन पनि, 
कसले कहाँ बाट र किन पठाइरहेछ 
यो नक्कली तातो हावा 
हिजो आज सबै चौतारोहरुमा 
चिया पसलहरुमा 
निधार खुम्च्याएर  
यही कुरा सोचीरहेका छन् मानिसहरू ।

हावा त् आखिर सल्लाघारी छिचोलेरै आएको थियो
ठुलठुला अक्करहरु नाघेरै आएको थियो
हिमालका चिसा भन्ज्यांगहरु छिचोलेरै आएको थियो
उ आउने सूचना
ठुलै हल्ला बनेर आएकै थियो।

हल्ला त्,
गाउँ हुँदै  सहर गएकै हो
जसको केही उड्नु थिएन / उडाउनु पनि थिएन
तिनीहरु स्वागत  गर्न बसेकै हुन्
हुण्डरीले जसका केही टपरा/ दुनाहरु उडाउदै थियो
तिनीहरु बिरोधमा बसेकै हुन्

आँधी / हुण्डरीले केही नउडाए पछि
बिरोधमा बसेकाहरु
सारै खुसीछन् यतिबेला,
आँधी / हुण्डरीले केही नउडाए पछि
स्वागतमा बसेकाहरु 
सारै दुखीछन् यतिबेला,

नक्कली हावाले
किन पठाईरहेको छ
आँधी आउने  हल्ला 
र बगाईरहेको छ तातो हावा । 

No comments:

Post a Comment