Friday, September 20, 2019

सचेत कविता - छविरमण सिलवाल



----------------------------------------------------------------------------------------------------

समय र समाजलाई सचेत गराउँने कविता
छविरमण सिलवाल

   नेपाली साहित्यमा चर्तित नाम हो मातृका पोखरेल । उनी मुलतः कथा, कविता मार्फत समाजका विकृतिहरु उजागर गर्छन । उनका सेतो दरवारको छेउबाट कवितासंग्रह(२०५७), यात्राको एउटा दृश्य कवितासंग्रह(२०६०), अनुहारहरु कवितासग्रह(२०६४) र मित्रताको आकाश कवितासंग्रह(२०७६) प्रकाशित छन् । र, सन्त्रस्त आँखाहरु कथासंग्रह(२०६१) र घाम झुल्कनु अघि कथासंग्रह प्रकाशित छन् । शान्त, शिष्ट र भद्रताका प्रतिक उनको व्यक्तित्व कवितामा पनि झल्किरहेको पाइन्छ । नेपाली कम्युनिष्ट राजनीतिका एक अगुवा मातृका, अध्यारो रात पछि पक्कै उज्यालो हुन्छ भन्ने क्रान्ती चेतनाका विगुल कवितामार्फत पोखिएका छन् । तर यस्ता प्रश्नहरु अझै कतिन्जेल तेर्साउनु पर्ने हो कविहरुले ? कहिले बन्द होला रैति बनाउँने होडवाजी ? अझै यो भन्दा पनि जोडदार विगुल फुक्नु पर्ने समयको प्रतिक्षामा उनका कविताहरुले मित्रताको आकासमा बसेर समाधान खोज्नु पर्छ भन्ने सन्देश प्रवाहित गरिरहेका छन् । 

   नेपाली बामपन्थि आन्दोलनका एक अथक योद्धा हुन्, पोखरेल । करिब तिसको दसक देखिनै कविता लेख्न थालेमा उनी नेपाल प्रज्ञा प्रतिष्ठानमा प्राज्ञको भूमिका निभाइ सकेका छन् । स्पष्ट वत्ता, लोभ, लालचा केही नभएका निष्कलङ्क योद्धा लाग्छ मलाई मातृका पोखरेल । उनको बारेमा एकपटक कुरा चल्दै थियो, एकजना शुभचिन्तकले भन्नु भयो, उहाँ माओवादी भए पनि माओवादी जस्ता लाग्दैनन्, कति सफ्ट, यस्तो तालले यीनले  के प्रगति गर्लान र खै ? जाल झेलको खेल नजानेका एउटा वामपन्थि । हो यस्तै सुन्दर विचार बोकेका र सुन्दर कविताका वान्की मार्फत उज्यालो खोजीमा भौतारी रहेका अथक योद्धा । जो कवितामा पनि क्रान्तिका विगुल फुकेर समाजलाई सजग गराई रहेका छन् । र, नेपाली राजनीतिका अगुवाहरुलाई पनि खवरदारी गरिरहेका छन् । 

   मलाई पनि त्यस्तै लाग्छ, उनलाई पहिलो पटक मैले कहिले देखे भन्दा पनि उनीसंग  नजिकिनु मेरो लागि कवि कर्मले नै हो । उनका फुटकार कविता धेरै पहिले देखि पढ्को हुँ तर कृतिको रुपमा मैले २०६४ मा अनुहारहरु  पढेका थिए । अनुहारहरुका कविताले तानिरह्यो मलाई वर्तमान समयमा भोगेका र भै रहेका कुरुप चित्रहरुलाई पनि हेर्ने दृष्ट्रिकोण राम्रो भएमा कुरुप चित्र पनि राम्रा देखिन्छन्, भन्ने आशावादी सोच बोकेका उनका सिर्जनाहरु नेपाली कवितामा अब्बल नै ठहरिएका छन् । 

    मित्रताको आकाश कवितासंग्रहसम्म आइपुग्दा उनका कविताहरु अझै बेजोड बनेका छन् । मित्रताको आकाशभित्रका कविताहरु पढिरहदा लाग्छ उनलाई बामपन्थि कित्ताबाट झिकिदिए हुन्छ । आफ्नै पार्टिका साथीहरु विरुद्ध कविता घन्काई रहेको मान्छेको पार्टिमा के काम, तर मनन गर्न सकेमा उनका कविताले समाजका सबै दर्शन बोकेका छन्, अझ भन्नै पर्दा मान्छेलाई मान्छे भएर बाच्ने कला सिकाएका छन् । त्यसैले उनी निर्भिकका साथ कविता लेख्दै बाटो बिराएका र बाटो बिराउँन खोज्ने सबैलाई सजग गराई रहेका छन् कवितामार्फत । उनी निडर र निर्भिक रुपमा देखेका कुराहरु  व्यक्त गर्दछन्, त्यसमा कोही रिसाउँला भन्ने दोधारबाट मुक्त भएर कोरिएका यी कविताहरु नेपाली साहित्यमा लामो समय देखिको उनको साधनाको वास्तविक कमाइ भएको म ठान्दछु । सत्ता संचालक भनौ या पार्टिका उच्च नेताहरुले सेतोलाई कालो भन्न सिकाउँने जमातमा मातृकाका कविताहरुले विद्रोह गरिरहेको दृष्य मित्रताको आकाशमा छताछुल्ल भएका देखिन्छन् । 

    कविताका विषयमा उनी लेख्छन् पंचायतकालदेखि अहिलेसम्म आइपुग्दा मैले कवितामार्फत सत्ताका विरुद्ध बोलिरहेँ । मेरा धेरै अग्रज र समकालीन साथीहरु सँगसँगै मैले पनि कवितामार्फत प्रतिरोधी स्वर अघि बढाउन साथ दिइरहेकै छु । मैले हिँडनुपर्ने बाटो प्रतिरोधीकै बाटो हो, साहित्य र राजनीतिमा पनि । यसको बारेमा मभित्र कुनै दुविधा छैन । नेपाली साहित्यको समकालीन अनुहार भनेकै प्रतिरोधी चेतना हो । यतिबेला नेपाली कविताको मुख्य राजमार्ग पनि यही हो । यस गौरवशाली राजमार्गको एउटा यात्री भएकोमा म आफू अत्यन्त सन्तुष्ट छु । 

   मित्रताको आकाशभित्र मझौंला आकारका छब्बिस कविताहरु छन् । वर्र्तमान समयले निम्याएका विकृतिहरुलाई कलात्मक रुपमा पस्केकाछन् मातृकाले । कवितामार्फत यावत प्रश्नहरुका बाढी बगाएका छन् । उनी सोध्छन् गरिबी पसिनाले धोएको सुट लगाएर, राजनीति गर्नु जोगी हुनलाई होइन भन्दै, जनअदालतको इजलासमा, भर्खरैमात्र कसले गरिरहछ बहस ??

   कविता मार्फत जनताका आवाज पोखिरहेका छन्, वर्तमान समयका कारुणीक चित्कार बोकेका छन्, नेपाली राजनीतिले निम्त्याएका विकृतिहरुको बारेमा समाधान खोजिरहेका छन्,  । उनी लेख्छन् इतिहासका पन्नाहरुमा रगेडेर हेर, काठका भर्याङ्हरुलाईझैँ तिम्रा पाषण खुट्टाहरुले लामो समयसम्म अब टेकिरहन सक्दैनन्, मान्छेका करङ्हरुको भर्याङ् ।

    एउटा मित्रले गर्नु पर्ने व्यवहार कस्तो हुनुपर्दछ, र कस्तो गरिरहेका छन्, दिल्लीका मच्छडहरु पढेपछि स्पष्ट हुन्छ । उनलाई लाग्छ बूढो घोडाले रातो लगाएको मान्छेलाई बोकेर सभ्यताको उकालो चढ्न पटक्कै मन पराउँदैन । नेपाली राजनीतिप्रतिको तिखो व्यग्ङ्य भन्दा पनि हामीमाझँ भएको पनि यस्तै छ । युवाहरुलाई पाखा लगाएर बूढाहरुले कहिल्यै सत्ता नछोडेको नमिठो वर्तमान हामीले भोगिरहेका छौं । हामीलाई बुबाले सधैँ भन्ने गर्नुहुन्थ्यो बाबु जहिल्यै पनि वतास जता बहेकोछ त्यतै दौडनु पर्छ । विपरित दौडन खोज्यो भने बतासले उडाएर ल्याएका विभिन्न प्रकारका वस्तुहरुले दुःख दिन्छ । उतिबेला यी कुराहरु मैले हावासंगमात्र दाजो होला, तर अहिले सम्झदा हाम्रा बुबा त महान विश्वविद्यालय पो हुनुहुँदो रहेछ । मित्रताको आकाश कविताभित्रको एउटा कविता उपाध्याय बाजेको मःमः पसल शिर्षक कविताले मलाई बुबाले भन्नु भएको पुराना कुरालाई ताजा बनाइदियो । 

मातृका पोखरेल कविता लेखनमा सचेत भएर लागेका कवि हुन् भन्ने स्पष्ट हुन्छ, मित्रताको आकाश पढ्दा । नेपाली राजनीतिमा जनता सबै भन्दा ठूला हुन्, भनेर शासकहरुले नबुझ्नु त्यो हाम्रो दुर्रभाग्य हो । यदी यी सबै शासकहरुले बुझ्देका भए यी र यस्ता कविताहरु लेख्ने पर्ने थिएन । अब यी कविताहरु शासक वर्गले पनि पढुन र कविहरुले उनीहरुका विरुद्ध कविता लेख्न नपरोस भन्ने चाहना हामी सबैको हो तर ति दिनहरुको प्रतिक्षामा कति यस्ता कविता कोर्नु पर्ने हो ? कति कविहरु जन्मनु पर्ने हो ? यस्ता प्रश्नै प्रश्नको वाढीभित्र रहेर मातृका पोखरेल आशावादी कविताहरु कोरिरहेका छन् । उनी चाहन्छन्, अझै कही विग्रेको छैन, मित्रताको आकाश खुल्ला छ, हामी सबै लागौ अब सत्ता र जनताका खाडलहरुको दुरी कम गरौं । 
   




No comments:

Post a Comment