Friday, December 20, 2019

तर यो सपना होइन - मातृका पोखरेल

कथा
तर यो सपना होइन
मातृका पोखरल

घुर्मीतिरबाट ओखलढुङ्गा, सोलुखुम्बू र खोटाङतिर जाने सडक खनिएपछि राइघाटतिरको बाटो ठ्याप्पै सुक्यो । अब त बिहानै गएर पसलमा चिया पकाउन उसलाई जाँगर नै छैन । बाटो हिँड्ने मान्छे भए पो चिया खान्छन् । अब यो बाटोमा दिनभरमा दस जना मानिस पनि हिँड्दैनन् । वरिपरि गाउँ–टोलका मानिसहरूबाट कहिलेकाहीँ बिस्कुट, चिनी जस्ता सामानहरू मात्र बिक्री हुन्छ ।
“अब यो पसलले पनि दुई जनाको ज्यान नपाल्ने भयो !” खोजुले बिहानै उठेर दिक्दार मान्यो । 
“खुट्टा नभएको मान्छेले अरू पेसा के नै पो गर्न सकिन्छ र ! तिमी यही पसल चलाऊ; म सकेजानेको खेतीपाती गर्छु !” निराश भएको बेलामा उसलाई श्रीमतीले ढाडस दिन्छे । 
खोजुले जनयुद्धमा लागेर एउटा खुट्टा गुमाएपछि उसकी श्रीमती बेलाबेलामा आक्रोश पोखिरहन्थी ।
“हामीले जनयुद्ध नलडेको भए गणतन्त्र कहाँ आउँथ्यो र !” खोजुले श्रीमतीलाई बारम्बार यही उत्तरले चित्त बुझाउन खोज्थ्यो । 
“एउटा राजा फाल्यौ त ठीकै भयो तर हिजोका तिम्रा नेताहरू फेरि भुरेटाकुरे राजाजस्तै भए । तिनीहरूलाई पनि नफाल्ने हो भने तिमीले लडेको युद्धको के काम ?” श्रीमतीले बारम्बार गर्ने यो प्रश्नले भने खोजुलाई भित्रैसम्म दुख्थ्यो । 
खोजु धेरै पछिमात्र जनयुद्धमा हिँड्यो । अझ भन्ने हो भने आफ्नै एकमात्र छोरो कमरेड वसन्तको प्रभावले हिँड्यो । कमरेड वसन्त पश्चिम खाराको भीडन्तमा मारिएको करिब तीन वर्षपछिसम्म ऊ युद्धमोर्चामा हिँड्यो । 
“म छोराको प्रभावले पार्टी र क्रान्तिमा लागेको थिएँ । म कोही पनि नेताको प्रभावले गर्दा जनयुद्धमा लागेको थिइनँ । मेरो छोरो सहिद भएकोमा मलाई गर्व छ ।” अझै पनि खोजु उत्साहका साथ आफ्नो कथा मानिसहरुलाई सुनाउँथ्यो । 
पार्टी शान्ति प्रक्रियामा गएपछि ऊ पनि घर फर्कियो । अब त धेरै भइसक्यो, आफ्नै बारीछेउको बाटोमा एउटा चिया पसल राखेर जीविकोपार्जन गरिरहेको छ । 
ऊ अर्थात् कमरेड खोजु । पार्टीमा लाग्नुभन्दा अघि उसको नाम लालबहादुर श्रेष्ठ थियो । पार्टीमा लागेपछि उसले आफ्नो नाम खोजु राख्यो । साथीहरूले सल्लाह दिए— “यति अप्ठ्यारो नाम नराख्नू !” तर उसलाई यो नामप्रति असाध्यै प्रेम थियो । उसले खोजु नाम राख्नुको पछाडि पनि एउटा कारण थियो । 
तीन पुस्ता भएछ उसको परिवार यस ठाउँमा बस्न आइपुगेको । धुलिखेलबाट व्यापार गर्ने सिलसिलामा उसको हजुरबुबा यहाँ आइपुग्नुभएछ । धुलिखेलको जीविकोपार्जन त्यसबेला अत्यन्तै कष्टकर थियो भन्ने कुरा हजुरबाबाट सानैमा सुनेको थियो उसले । हुन त उसका हजुरबा व्यापार गर्न धुलिखेलबाट सिधै यहाँ आउनुभएको होइन; पहिले कटारी आउनुभयो । कटारीमा व्यापारको सुरुआत नै उसका हजुरबालगायत तराईतिरबाट आएका मानिसहरूले गरे । यस क्षेत्रमा मानिसहरू बजार जाने सिलसिलामा उसका हजुरबाले यस ठाउँका बारेमा सुनेछन् । 
निबुुवाटार, निबुवाघाट जे भए पनि भन्छन् मान्छेहरू यस ठाउँलाई । तर यस ठाउँको नाम निबुवाटार नै हो । यस ठाउँबाट कुनै समय कोशी नदी वारपार गर्ने घाटको सुविधा भएकोले यात्रुहरूले यसलाई निबुवाघाट पनि भनिदिए । 
तीन पुस्ता पहिलेका आफ्ना पुर्खाका बारेमा कमरेड खोजुलाई केही पनि थाहा छैन । धुलिखेल गएर आफ्ना जाति÷वंशहरू भेट्टाउने उसको पुरानै रहर हो ।
“हामी ‘श्रेष्ठ’ जातिभित्रको ‘खोजु’ थरी हौँ ।” हजुरबाले बेलाबेलामा भन्ने गरेको ऊ सम्झन्छ । अहिले त कसैले पनि घरमा नेवारी भाषा बोल्न जान्दैनन् । हजुरबा जान्नुहुन्थ्यो । उनीहरूलाई सिकाउन खोज्नुहुन्थ्यो । उसको परिवारले आफ्नो भाषा पूरै बिर्सिएको देख्दा उसको छाती चरक्क काटिन्छ । धेरै पछिमात्र उसले सिक्ने कोसिस गर्यो । जुनयुद्धमा हिँडेको बेला काठमाडौँ उपत्यकाका नेवार साथीहरूसँग भेट्यो । त्यही मौकामा भाषा सिक्ने कोसिस गर्यो उसले । तर साथीहरूको कार्यक्षेत्र परिवर्तन भइरहने कारण उसको इच्छा राम्ररी पूरा हुन सकेन । केही सिक्यो पनि । अन्त्यन्त थोरै मात्र । 
०००
छेउको सुनकोशी नदी आफ्नै गतिमा बगिरहेको थियो । वर्र्षा सकिएर हिउँदका महिना सुरु भएपछि ऊ भित्रभित्रै खुसी हुन्छ । पहिलेपहिलेको जस्तो यो गाउँको रमाइलोपन त्यसैत्यसै हराएर गयो । अझ वर्षायाम सुरु भएपछि यहाँको बस्ती पूरै सन्त्रासमा बाँच्न विवस हुन्छ । तलबाट कोशी नदीको बाढी, माथिबाट पहिरोको डर । दुई हजार एकचालीस सालमा आएको बाढीले यो गुलजार गाउँको पूरै सौन्दयै लुटेर लग्यो । हेर्दाहेर्दै यो गाउँ करिबकरिब बगरमा परिणत भयो । तर कमरेड खोजुलाई यो गाउँ सबैभन्दा बढी प्रिय लाग्छ अझै पनि । 
भुङ्जु डाँडाका मुन्तिर गोरुजुरेसम्म घाम देखानपरुन्जेल आज उसलाई ओछ्यान छोड्ने इच्छा भएन । सुनकोशीबाट बगेर आउने चिसो स्याँठले वातावरण एक प्रकारको नरमाइलो भइरहेकै थियो । 
“आज दोकान खोल्ने विचार छैन कि के हो ? एकदुई गिलास चिया बिक्री पो भैहाल्थ्यो कि ?” बाहिर बाख्रालाई घाँस खुवाउँदै श्रीमती कराई । 
“केही बिक्री हुँदैन, कोशीको चिसो खानमात्र किन खोल्नु ?” खोजु सिरकबाट अलिअलि मुख निकालेर बोल्यो । 
“आज कमरेड दिनेशले हाम्रो पार्टीको उमेदवार लिएर आउँछु भनेको छ, चिनजान गराउन ।” खोजुले केही दिनअघि दिनेशसँग भएको सल्लाह सम्झ्यो । 
चुनाव आउन अब एक महिना पनि बाँकी छैन । तर पहिलेपहिले जस्तो गाउँमा चुनावको चहलपहल केही छैन । दिउँसो उसको पसलमा आउने मानिसहरूले उमेदवारहरूको बारेमा चर्चा गर्छन् । 
आफ्नै पार्टीको उमेदवार खोजुले चिनेको थिएन । उसले पार्टी छाडेको पनि होइन । पार्टीले बनाएको मोर्चा जनयुद्धका घाइते तथा अपाङ्गहरूको सङ्गठनमा छ ऊ । केन्द्रीय तहमै छ । यसको बैठक नभएको पनि वर्षौं भइसक्यो । तर, जिल्ला पार्टीको कुनै गतिविधि र जिम्मेवारीमा ऊ जोडिएको थिएन । 
“कमरेड मङ्गलमान हाम्रो पार्टीको तर्फबाट सांसदको उमेदवार बन्नुभएको छ । कमरेड दिनेशले यो खबर सुनाउँदा खोजुले अचम्म मान्दै सोधेको थियो, “को मङ्गलमान ?”
“पार्टीमा पछि प्रवेश गर्नुभएको कमरेड । हाम्रो पार्टीमा उहाँको धेरै पुरानो योगदान छ अरे !” कमरेड दिनेशले जानेसम्मको परिचय दियो । 
“मैले कहिल्यै र कहीँ पनि यस्तो नाम सुनेकै थिइनँ ।” खोजुले निकै बेर घोरिएर भन्यो । 
“उनको बारेमा मलाई अरू केही पनि थाहा छैन । तर, जिल्लामा पार्टीलाई आइपरेको आर्थिक समस्याको सबैभन्दा ठूलो हिस्सा उनैले व्यहोर्ने गरेका छन् । उनलाई माथि केन्द्रबाट नै यहाँ पठाइएको हो ।” कमरेड दिनेशले आफूलाई थाहा भएसम्म सम्पूर्ण कुरा भन्यो । 
“मलाई महत्व दिएर भेट्न आउँदा मेरा लागि हर्षकै कुरा हो ।” खोजुले भनेको थियो । 
०००
कमरेड दिनेश पनि कमरेड खोजुले नै पार्टीमा सङ्गठित गरेको कार्यकर्ता हो । जनयुद्धको पछिल्लो चरणमा ऊ पार्टीमा जोडियो । पार्टीमा दिनेश अत्यन्तै सक्रियतापूर्वक लागिरहेको छ । कमरेड खोजुलाई केही परेको बेला अन्तर्हृदयले सहयोग गर्छ । करिब–करिब खोजुको अभिभावक भन्दा पनि हुन्छ उसलाई । अहिले यस क्षेत्रको चुनाव प्रचारप्रसार समितिको प्रमुख पनि पार्टीले उसैलाई तोकेको छ । 
“आज उमेदवारलाई लिएर दिनेश यही गाउँमा आउँदै छ ।” खोजुले ओछ्यानमै झल्याँस्स फेरि यही कुरा सम्झ्यो र जुरुक्क उठ्यो । 
घाम लागे पनि जमिन राम्ररी तातिएको थिएन । खोजुले परैबाट देख्यो— आठदश जना मानिस उसकै घरतिर सङ्केत गर्दै आइरहेका छन् । दिनेशले उमेदवार लिएर आएको हुन सक्ने अनुमान गर्यो उसले । वरिपरि हिँड्नेहरू भन्दा बीचमा हिँड्ने एउटा मानिस बेग्लै देखिन्छ । एउटा त्यो मान्छे मौरीको रानोजस्तो छ । हेर्दै खाइलाग्दो छ । जिउडाल नै बेग्लै छ । उसका परिपरि हिँड्नेहरू सबै ख्याउटा र मरन्च्याँसे । 
“पक्कै त्यही खाइलाग्दो मान्छे नै हाम्रो पार्टीको उमेदवार हुनुपर्छ ।” खोजुले मनमनै लख काट्यो । 
मानिसहरूको समूह निकै नजिक आइपुग्यो । त्यो खाइलाग्दो मान्छेको अनुहार कहिले कतै देखेदेखे जस्तो लाग्यो उसलाई । पार्टीको सम्मेलनमा हो, अहँ होइन । कतै जुलुसमा हो, त्यो पनि होइन । खोजुले निकै खोजी गर्ने कोसिस गर्यो, अहँ सम्झन सकेन । 
त्यो समूह खोजुको नजिकै आइसकेपछि कमरेड दिनेशले खाइलाग्दो मान्छेको कानमा गएर केही फुसफुसायो ।
“कमरेड, लालसलाम !” खाइलाग्दो मानिसले ठूलो स्वर निकालेर खोजुलाई अभिवादन गर्यो ।
“लालसलाम ! लालसलाम !! आउनुस्, बस्नुस् !” खोजुले आँगनमा राखेको गुन्द्री देखाउँदै भन्यो । 
“तपाईंलाई मैले भन्ने गरेको हाम्रो आन्दोलनको महत्त्वपूर्ण मानिस उहाँ नै हो । उहाँ जनयुद्धको घाइते, अपाङ्ग ! उहाँको छोरो कमरेड वसन्त जनयुद्धमा सहिद हुनुभयो । त्यस अर्थमा उहाँ सहिद परिवार पनि । जनयुद्धमा उहाँले भोजपुर, रामेछाप, ओखलढुङ्गा, बन्दिपुर जस्ता ठूलाठूला लडाइँका मोर्चामा लड्नुभएको छ । कमरेड दिनेशले सकेसम्म र जानेसम्म मङ्गलमान समक्ष कमेरड खोजुको परिचय गराउँदै थियो ।” 
“उहाँ जनयुद्धको जिउँदो सहिद हुनुहुन्छ ।” दिनेश भन्दै थियो । 
मङ्गलमानको अनुहार एक्कासि कालो भयो । नाकको डाँडीमा चिटचिट् पसिनाका थोपाहरू देखिन थाले । सबैले बुझ्नेगरी ऊ छटपटियो । उसका ओठमुख पूरै सुकिसकेका थिए ।
मङ्गलमानको टाउको पूरै लत्रिएको थियो र ऊ जमिनतिर हेरिरहेको थियो । 
कमेरड खोजुले मङ्गलमानका भुइँतिर लत्रिएको अनुहारमा हेर्ने कोसिस गर्यो । 
कमरेड खोजु झसङ्ग भयो । 
‘यो त त्यही मेजर हो, दानव मेजर !” खोजु प्रष्ट भयो । 
“स् साला !” खोजुको मुखबाट एक्कासि फुत्कियो । कमरेड खोजुको ब्रह्माण्ड फनफनी नाच्न थाल्यो । कहिलेकाहीँ सपनामा मात्र देख्थ्यो ऊ यस्ता घटनाहरू ! यो पनि सपनै हो कि भनेर एक पटक आँखा मिच्यो । 
“होइन, होइन । यो सपना होइन ।” ऊ आफैँ विश्वस्त भयो । उसलाई देखेर समूहका अरू मानिसहरू छक्क परिरहेका थिए । मङ्गलमानतिर फेरि हेर्ने कोसिस गर्यो । मङ्गलमान आफ्नो समूहका साथीहरूलाई छाडेर निकै पर पुगिसकेको थियो । 
“एक छिन कमरेड खोजुसँग कुरा गरौँ । उहाँका धेरै अनुभव र विचारहरू सुन्न जरुरी छ ।” कमरेड दिनेश मङ्गलमानलाई फर्काउन कोसिस गर्दै थियो । 
“खोजु अङ्कल हाम्रो पार्टीको महत्त्वपूर्ण र सम्मानित मानिस हुनुहुन्छ । यहाँ केही समय नबसी हिँड्न मिल्दैन ।” समूहभित्रका केही युवाहरू मङ्गलमानलाई बोलाउँदै थिए । 
छिटोछिटो पाइला चाल्दै मङ्गलमान निकै पर पुगिसकेको थियो । मङ्गलमानसँग साथै आएकाहरू अचम्मित भए । उनीहरू पनि कमरेड खोजुसँग विदा मागेर मङ्गलमान गएकै बाटोतिर लागे । 
सबै हिँडेपछि कमेरड खोजु थचक्क आँगननेरीको पर्खालको डिलमा बस्यो । 
कमरेड खोजुका अघिल्तिर बीस वर्ष पहिलेका कहालीलाग्दा दिनहरू सिनेमाको रिलझैँ माननसपटलमा एकएक गरी आउन थाले । 
त्यस बेला कमरेड खोजुलाई पार्टीले मकवानपुर जिल्लाको भीमफेदी इलाकामा इन्चार्जको जिम्मेवारी दिएर पठाएको थियो । तत्कालीन शाही नेपाली सेनाको गिरफ्तारीमा परेपछि उसले पाएको यातना वर्णन गर्दा पनि उसको मुटु काँप्न थाल्छ यतिबेला । 
त्यस दिन उनीहरू आफ्नै साथीको सुराकीका कारण शाही सेनाको गिरफ्तारीमा परेका थिए । उनीहरू वैठक गरिरहेको घरमा सेनाले घेरा हालेर गिरफ्तार गर्यो । गिरफ्तार गरिएको स्थानमै उनीहरूको हत्या गर्ने पहिलो योजना रहेछ । थप सूचना प्राप्त गर्ने र त्यसपछि मात्र हत्या गर्ने निर्देशन माथिबाट आएपछि उनीहरूलाई सुपारेटार ब्यारेक पुर्याइयो । पाँच जनामध्ये कमरेड खोजु इलाका कमिटीको इन्चार्ज थियो । ऊबाट धेरै सूचना लिने योजना बन्यो । पाँच छ घन्टाको अनवरत यातनापश्चात् उनीहरूलाई आधा रातमा चुरे जङ्गलको कुनै निर्जन ठाउँमा पुर्याइयो । 
“हामीले मागेको सूचना दिन्छौ भने तिमीहरू बाँच्न सक्छौ, नत्र !” मेजरले भनेको थियो । 
“पार्टीमा कोको छन् ?”
“पार्टीको नेता कहाँ बस्छ ?”
“तिमीहरूलाई सहयोग गर्ने कोको छन् ?”
“हतियारहरू कहाँकहाँ छन् ?”
यस्तैयस्तै हुन्थे प्रश्नहरू । पाँच जनामध्ये एक जना महिला कमरेड हुनुहुन्थ्यो, कमरेड सरला । उहाँसहित सबै कमरेडहरू सेल कमिटीमा सङ्गठित थिए । व्यारेकबाट लगिएका कोदालोहरूले उनीहरूलाई ठूलाठूला खाडलहरू खन्न लगाए । यातनाको बीचबाट उनीहरूले ठूलाठूला दुई वटा खाडल खने । 
यातनाले चिच्याएको बेला सरला कमरेड “बरु मलाई मार, म सात महिनाको गर्भवती छु,” भन्नुहुन्थ्यो । मेजर मङ्गलमानले खोजुलगायत अरू सैनिक सिपाहीका अघिल्तिर खुलेआम कमरेड सरलालाई बलात्कार गर्यो र उहाँको पेटमा बन्दुकको कुन्दाले रोपेर हत्या गर्यो । 
“आतङ्कारीहरूलाई कसरी हत्या गर्नुपर्छ, देखिस् ?” खोजुतिर फर्केर मेजर मङ्गलमानले भनेको थियो । 
अरू कमरेडहरूलाई पार्टीका धेरै आन्तरिक सूचनाहरू थाहा पनि हुँदैनथ्यो । बन्दुकका कुन्दा, बुट र लाठीले जथभावी कुट्दा साथीहरूका आँखा फुटिसकेका थिए । दाँतहरू झरिसकेका थिए । केहीका हात र खुट्टा भाँचिइसकेका थिए । खोजुलाई भने केही सूचना हात पार्ने लोभले अङ्गभङ्ग नहुने प्रकारको यातना दिन्थे । 
खोजुलाई मात्र बाँकी राखेर उसका तीन जना साथीहरूलाई खाडलमा हालेर पुर्न थाले । खोजुकै अघिल्तिर उसका साथीहरू ज्यूँदै पुरिए । अब मारिनका लागि ऊमात्र बाँकी थियो । ऊ यातनाले निकै कमजोर भइसकेको थियो । 
सायद आधारात कटिसकेको हुनुपर्छ, पूर्वबाट जून झुल्कियो र कालो जङ्गलमा रुखका छायाँहरू देखिन थाले । 
तिनीहरूलाई भन्दा यसलाई बेग्लै ढङ्गले सिध्याउनुपर्छ, बुझ्यौ केटा हो !” मेजरले खोजुतिर आँखा चढाउँदै भन्यो । 
आखिर मारिँदै छु भन्ने ठानेपछि खोजुले वरिपरि हेर्यो । उसले जङ्गलमा देखिएको बाटोजस्तो लाग्ने सेतो धर्सो कतै ओरालो लागेको देख्यो । 
छेउमा बसेर सेनाको मेजर र सिपाहीहरू रक्सीका बोतलहरू फुटाइरहेका थिए । व्यारेकबाटै तयार गरेर ल्याइएका सितनसँग उनीहरू रमाउँदै खाइरहेका थिए । खोजु भुइँमा डङ्रङ्ग लडिरहेको थियो । 
एकैछिनमा सैनिकहरू मातेर पूरै लठ्ठिन थालेका थिए । 
“छाला निकालेर मान्छे मार्न मलाई कस्तो मज्जा आउँछ ।” रक्सीले लागेर लर्बरिएको स्वरमा मेजर बोल्यो । 
“त्यो अस्ति नै हामीले पक्डिएर  ल्याएको दुई जना आतङ्कारीहरूलाई हजुरले गरेको सिकार गजबको थियो ।” अर्को सैनिक सिपाही त्यसै गरी लर्बरिएको स्वरमा बोल्यो । 
“तिमीहरूले रमिता हेर्नू । म यसलाई त्यसै गरी एक्लै मार्छु ।” खोजुतिर फर्किएर मेजर खितखिताएर हाँस्यो । 
त्यही बेला खोजुले त्यहाँबाट दौडने विचार गर्यो । सायद शाही सेनाको टोलीले अन्तिम चुस्की लिइरहेको थियो । खोजु त्यहाँबाट बिस्तारै उठ्यो र दौडियो । खोजु दौडिएर भाग्न सक्छ भनेर उनीहरूले सोच्नै सकेनन् । खोजु पछि नफर्कीकन सकेसम्म दौडियो र त्यो बाटो छाडिदिएर अर्को बाटो मोडियो । उसलाई लखेट्दै आएका सेनाका जवानहरूको आवाज उसको कानसम्म घरीघरी आउँथ्यो । बाटोमा उनीहरू लडेर कराएको आवाज पनि सुन्दै थियो ऊ । 
खोजु त्यो घटनाबाट साँच्चै भाग्न सफल भयो । घाइते शरीर लिएर केही दिनपछि ऊ भारत पुग्यो । भारतमा पुगेर बल्लबल्ल उसले पार्टीसँग सम्पर्क गर्यो । साथीहरूले उसलाई अस्पताल त पुर्याए तर उसको खुट्टा उपचारका क्रममा काट्नै पर्ने भयो । 
खोजुले आँगनको डिलमा बसेर एकै मेलोमा आफ्नो बितेको कथा सम्झ्यो ।
०००
कमरेड खोजुलाई त्यस रातभर निद्रा परेन । हिजोको घटना बिर्सने कोसिस गर्यो, तर सकेन । जति बेला पनि उसको अघिल्तिर त्यही मङ्गलमानको अनुहार झल्झल्ती आउँथ्यो । आधा रातमा उठ्यो र एक अम्खोरा पानी खायो । 
“हिँड्दाहिँड्दै कहाँ आइपुगिएछ ।” ओछ्यानमा गएर टुक्रुक्क बसेर सोच्यो । 
ओछ्यानमा गएर घरी पल्टियो, घरी उठेर बस्यो ऊ । टाउको पड्केला जस्तो गरेर दुख्यो । जति बेला पनि गर्भवती कमरेड सरलालाई उसकै आँखाअगाडि बलात्कार गरेर हत्या गर्ने मेजर मङ्गलमानको अनुहार झल्झल्ती आउँछ । बेलाबेलामा उसलाई बाहिर निस्केर चिच्याऊँचिच्याऊँ जस्तो लाग्छ । विहानपख एक झप्को निद्रा आएछ खोजुलाई । फेरि तुरुन्तै ब्युँझ्यो ऊ । हिजोको घटना कतै सपना त होइन भनेर आँखा मिच्यो । ऊ पहिले–पहिले पनि यस्ता घटना सपनामा मात्र देख्थ्यो । फेरि पनि अविश्वासपूर्वक खोजुले आफ्ना आँखा मिच्यो । तर, योे सपना होइन । ऊ प्रष्ट भयो ।

०००

ताप्ली–४, थामखर्क, उदयपुर
matrikapokharel2023@gmail.com


=============================================================









No comments:

Post a Comment