Saturday, July 13, 2019

मित्रताको आकाश (कवितासङ्ग्रह) - मातृका पोखरेल





































































































===============================================

मित्रताको आकाश (कवितासङ्ग्रह) का बारेमा लेखिएका समालोचना, समीक्षा र टिप्पणीहरू 
=====================




----------------------------------------------------------------------




=====================================
   

====================================



==========================================


मित्रताको आकाश

(कवितासङ्ग्रह)



मातृका पोखरेल



प्रकाशक 
रमाकृष्ण सृजना प्रतिष्ठान
काठमाडौँ, नेपाल



मित्रताको आकाश
रचना :   मातृका पोखरेल 
प्रकाशन :   रमाकृष्ण सृजना प्रतिष्ठान, काठमाडौँ 
फोन नं. ०१–४४३२०६०
सर्वाधिकार© :   लेखकमा
संस्करण :   प्रथम, २०७६ 
आवरण तथा लेआउट :  हिमाल जि.सी. (९८४१०४६८९७)
मूल्य  :  रु.५०।–
मुद्रण :  बगलामुखी अफसेट प्रेस
कोपुण्डोल, ललितपुर
फोन नं. ५५२००९९
प्रकाशकीय
बेजोड कविताका श्रष्टा मातृका पोखरेल

श्री पोखरेल नेपाल प्रज्ञा प्रतिष्ठानको प्राज्ञ र आख्यान विभागको प्रमुख हुँदाताका हो, उहाँसँग भेट र चिनाजानी भएको । बिस्तारै सहकार्य भए र सहयात्रा पनि भए । चाहे त्यो रमा–कृष्ण सृजना प्रतिष्ठानको आयोजनामा गरिएको २०७१ चैत्र १२–१८ को सिक्किम साहित्य यात्रा होस् वा २०७४ फागुन १२ मा प्रदेश नं. ७, महेन्द्रनगरमा आयोजना गरिएको साहित्य गोष्ठीसहितको वार्षिक कार्यक्रम होस्, उहाँसँगको सहयात्रा र सहकार्य गर्ने अवसर मिल्यो । व्यस्तताका बीच पनि उहाँ साप्ताहिक कविता यात्राको रूपमा अभियान चलाउनु हुन्थ्यो । यसरी उहाँको श्रष्टाका रूपमा सान्निध्य र परिचय प्राप्त गर्ने अवसर मिल्यो ।

यसबीच उहाँले रचना गर्नुभएका कविता सङ्ग्रह प्रकाशन गर्ने कि भन्ने प्रस्ताव आयो । पाण्डुलिपीका लागि अनुरोध गरियो । कविता पढ्दै जाँदा एकपछि अर्को, एकपछि अर्को कविता बेजोडका लाग्दै गए । त्यसपछि प्रकाशकका तर्फबाट औपचारिक रूपमा ‘हुन्छ’ भनें, तर मनभित्र भने औधि खुशी र आनन्द लागिरह्यो यी दमदार प्रगतिवादी कविताहरूको सङ्ग्रह “मित्रताको आकाश” प्रकाशन गर्न पाएकोमा । देशमा आएको राजनीतिक परिवर्तन, परिवर्तनभित्र लुकेका र उजागर हुन उकुसमुकुस भएर रहेका आशा र आकांक्षाहरू अनि वर्षहरू बित्दै जाँदा बिस्तारै निराशामा रूपान्तरित ती आशा र आकाङ्क्षाहरूलाई अत्यन्त बेजोड शैलीमा अभिव्यक्त गरिएका छन् सङग्रहमा । अझ भनौं दरिलो खबरदारी गरिएको छ ।
२०६७ सालसम्म कविमा प्रखर आशा थियो र त उहाँले “बूढो घोडा” मा लेख्नुभयो– 

यो घोडाले नयाँ मान्छे मन पराउंदैन
मात्र यो घोडाले
अशक्त मान्छेहरू मन पराउँछ
अस्वस्थ मान्छेहरू मन पराउँछ
ए, रातो मान्छे
तिमिले नयाँ यात्राको लागि 
नयाँ घोडा खोज्नु पर्छ।

२०७६ मा आइपुग्दा कविभित्र “मित्रताको आकाश” देखिन थाल्छन्ः

गरिबी पसिनाले धोएको सुट लगाएर
राजनीति गर्नु जोगी हुनलाई होइन भन्दै
जनअदालतको इजलासमा
भर्खरै मात्र कसले गरिरहेछ बहस ?
सगरमाथा चढ्ने कुरा गर्दै,
कसले तापिरहेछ चौरमा घाम ?
कौतुहलताका आँखा पालेर
म प्रश्नहरूको बाढी पर्खिरहेको छु ।
मान्छेहरू भन्न छाडेका छैनन्
प्रश्नहरूको बाढी
पानीको बाढीभन्दा शक्तिशाली हुन्छ ।

यस सङ्ग्रहमा कविका २६ वटा कविता छन् । जसमध्ये १४ वटा यस अघि विभिन्न साहित्यिक पत्रिका तथा दैनिकमा प्रकाशित भएका हुन् भने १२ वटा ताजा रचना रहेका छन् ।
अवसरका लागि श्रष्टाप्रति आभार व्यक्त गर्दै सफलताको शुभकामना प्रकट गर्दछु । सबै साहित्य अनुरागीहरूमा पुस्तक किनेर पढ्ने बानी विकसित गर्दै जानहुन पनि निवेदन गर्दछु ।

महेन्द्र बहादुर गुरुङ
अध्यक्ष
रमा–कृष्ण सृजना प्रतिष्ठान
लेखकीय

कविताबाटै आफ्ना कुरा भनिसकेपछि फेरि मैले थप कुरा नगर्दा पनि हुन्थ्यो । धन्यवाद र आभार व्यक्त गर्ने नाममा कविता र कवितायात्राका बारेमा थप केही बोल्ने मौका छोपेको मात्र हुँ । 

यो मेरो चौथो कविताकृति हो । तेस्रो कवितासङ्ग्रह ‘अनुहारहरू’ प्रकाशित भएको एक दशकपछि पुस्ताकाकार कृतिको रूपमा पाठकहरूसामु आएको छु । धेरै साथीहरूले बेलाबेलामा झस्काइरहनुभयो, ‘कवितासङ्ग्रह निकाल्न ढिला नगर्दा हुन्थ्यो ।’ कवि सङ्गीतश्रोताले चार–पाँच वर्षअघि नै ‘बरु प्रकाशक म खोजिदिन्छु,’ समेत भन्नुभएको थियो । टार्दाटार्दै चार–पाँच वर्ष बितेछ । यसका पछाडि आफ्नो मानसिकता पनि जोडिएको छ । पहिलो कवितासङ्ग्रह‘सेतो दरबारको छेउबाट’ प्रकाशित भएपछि, अझ कथा लेख्न थालेपछि नै कविता लेख्न छोडौँ कि भन्ने लागेको हो । यस्तो लाग्दालाग्दै पनि कविता लेख्न मैले छोड्न सकिनँ । लाग्दै छ, कवितालेखन मेरो जीवनको एउटा महत्त्वपूर्ण पाटो बनिसक्यो । 

कसैले देख्लान् कि भनेर लुकाईलुकाई कविता लेख्न थालेको समयलाई गणना गर्ने हो भने झन्डै चार दशक पुग्न लागेछ । पञ्चायतकालदेखि अहिलेसम्म आइपुग्दा मैले कवितामार्फत सत्ताका विरुद्ध बोलिरहेँ । मेरा धेरै अग्रज र समकालीन साथीहरू सँगसँग मैले पनि कवितामार्फत प्रतिरोधी स्वर अघि बढाउन साथ दिइरहेकै छु । मैले हिँड्नुपर्ने बाटो प्रतिरोधकै बाटो हो, साहित्य र राजनीतिमा पनि । यसको बारेमा मभित्र कुनै दुविधा छैन । नेपाली साहित्यको समकालीन अनुहार भनेकै प्रतिरोधी चेतना हो । यतिबेला नेपाली कविताको मुख्य राजमार्ग पनि यही हो । यस गौरवशाली राजमार्गको एउटा यात्री भएकोमा म आफू अत्यन्त सन्तुष्ट छु । 

हामी यतिबेला सपनाका नायकहरूले नै सपनामाथि लात्ती वर्षाइरहेको कुरूप दृश्यको साक्षी भइरहेका छौँ । मेरा अधिकांश कविताहरूमा यो प्रश्न छटपटी बनेर आइरहेकोमा मभित्र कुनै ग्लानिभाव छैन । भारतका पूर्व राष्ट्रपति एवम् वैज्ञानिक अब्दुल कलामले एक ठाउँमा भनेका छन्, ‘सपना त्यो होइन, जो हामी निदाएको बेलामा देख्दछौँ । सपना त्यो हो, जसले हामीलाई निदाउन दिँदैन ।’ यस सङ्ग्रहभित्रका धेरै कविता निदाउन नसकेका बेलाका छटपटी हुन् भन्दा पनि हुन्छ । गुनासो पनि आएका होलान् कवितामा, आएन भन्दिनँ । तर, मेरो अन्तर्हृदयको चेतना गुनासो गर्ने कुराको विपक्षमा छ । अगुवा हुँ भन्नेको शरीरभरि झूट र बेइमानीका डोबैडोब देखिरहेको छु । मजस्तो पछि लागेर समाज रूपान्तरणमा सहयोग पु¥याउन खोज्ने मान्छेले अघिल्तिर हिँड्ने मान्छेको पक्षमा बोल्न सक्ने वातावरणको आकाङ्क्षी भएर पनि यस्तो हुन पुग्यो । 

मसँगै रूपान्तरणको यात्रामा हिँडेका केही साथीहरू मेरा कविताहरूले केही मानिसहरूलाई ‘देवता’ बनाउन मद्दत गरिदिऊन् भन्ने चाहनुहुन्थ्यो । उहाँहरूको चाहना पूरा गरेर इतिहासलाई कुरूप बनाउन र कविताको हत्या गर्न मन लागेन । तिनै साथीहरू केही समय नबित्दै कवितामार्फत आफूले ‘देवता’ बनाएका मानिसहरूलाई ‘राक्षस’ बनाउन चाहेको देखियो । त्यो पनि मेरा लागि स्वीकार्य भएन । म कमजोरीसहितको मानिसलाई न देवता बनाउन चाहन्थेँ, न राक्षस । अझै आफ्नै साथीहरूका बीचमा म कवितामा यसैगरी छलिएर हिँडिरहेँ । 

मेरा कविता पढेर सबै मानिस खुशी होऊन्, यस्तो पनि ठान्दिनँ । केही थोरै मानिसलाई मेरा कविताले पोले हुन्थ्यो भन्ने लागिरहन्छ । किनारीकृत मानिसहरू मेरा कविताका साथी बनून्, यस्तो आग्रहले मभित्र घर गरिरहेको हुन्छ । 

कवितासङ्ग्रह प्रकाशन गर्न घच्घच्याइरहनुहुने साथीहरूको सङ्ख्या ठूलै छ । उहाँहरू सबै धन्यवादका पात्र हुनुहुन्छ । भूमिका लेखिदिनुहुने र बारम्बार कविता लेखिरहन हौस्याइरहनुहुने अग्रज साहित्यकार डी.आर. पोखरेलप्रति हार्दिक आभार व्यक्त गर्दछु । मन्तव्य लेखिदिने नयाँ पुस्ताका प्रतिभाशाली कवि सङ्गीतश्रोता र प्रकाशोन्मुख पाण्डुलिपि हेरेर सुझाव दिनुहुने मेरै छिमलका प्रसिद्ध कवि आर.एम्. डङ्गोलप्रति पनि आभारी छु । सुन्दर आवरणका लागि प्रसिद्ध कवि प्रोल्लास सिन्धुलीयप्रति कृतज्ञ छु । प्रकाशनको जिम्मेवारी लिइदिनुहुने रमाकृष्ण सृजना प्रतिष्ठान र उक्त संस्थाका अध्यक्ष वरिष्ठ इन्जिनियर महेन्द्र गुरुङलाई जत्ति धन्यवाद दिए पनि थोरै हुन्छ । 

— मातृका पोखरेल

कविताक्रम             
                              

मित्रताको आकाश
प्रश्नहरूको बाढी
जङ्गबहादुर
चस्मा
ऐना
सहरमा मार्क्स 
सडकको सिकार
पहिरो
नया“ प्रभातको खोजीमा
दिल्लीका मच्छरहरू
युद्धको नाट्यशाला
नागार्जुनको सर्प
सपना र टर्चलाइट
माटोको गन्ध
मैले उतिबेलै भनेको थिऍ 
नरेश शाक्यका आ“खा
भरखरै जस्तो लाग्छ
उपाध्याय बाजेको मोःमोः पसल


मित्रताको आकाश

उसको र मेरो बीच
ओजोन तहझैँ ढाकिएको छ
अविश्वासको बादल ।

ऊ सडकमा बालिएका बत्तीहरू फुटाल्न
बोकिरहन्छ गोजीमा ढुङ्गाहरू
र, ऊ अँध्यारो रातझैँ
हुर्काउन चाहन्छ सहरलाई,
मैले सडकबत्तीको विरुद्धमा
ऊसँगसँगै धावा बोल्न सकिनँ,
मैले खोजेको थिएँ
सानासाना चुहुने खण्डहर झुप्राहरू मिलाऊँ
र एउटा नयाँ सुरक्षित घर बनाऊँ,
ऊ सँगसँगै मैले
राष्ट्रलाई एउटा घर बनाउने
सपना त्यागेको घोषणा गर्न सकिनँ,
क्रमशः आर्लिरहेको घामझैँ
हाम्रो मित्रता टुट्दै गयो
र, बिस्तारै हरायो
आकाशको नीलोपन ।

मैले बाल्न खोजेका
आकाङ्क्षाका मैनबत्तीहरू
ऊ निरन्तर कुल्चिरहन्थ्यो
रेशमी जुत्ताहरूले,
भर्खरै आयातीत कोब्रा सर्पहरू
मेरा सपनाहरूलाई
डस्ने योजना कोरिरहन्थे
र ऊ धाप मारिरहन्थ्यो
उनीहरूको पिठयुँ,
आकाशका ताराहरू टिप्ने
सपना देख्न पनि नपाइने,
भोकाएका आफन्तहरू
अघाएको आकाङ्क्षा पाल्न पनि नपाइने
उसको चाहनाझैँ
समान सपनाहरू बोक्ने
मनका पुलहरूमा
मैले बम फालेर ध्वस्त गर्न सकिनँ,
एकाथरीहरूसँग सपारे पछि
अर्कोसँग टुट्दो रहेछ
मनहरूको पुल ।

उसको र मेरो बीच
ओजोन तहझैँ ढाकिएको छ
अविश्वासको बादल ।

मधुपर्क मासिक, वर्ष–४०, अङ्क–८, पूर्णाङ्क–४६३,  २०६४ पुस


प्रश्नहरूको बाढी


भूमिगत अक्षरहरू लेखिएको
रोल्पामा भेटिएको डायरी कसको हो ?

कसको हो ?
निबबाट बग्दै गरेको आलो मसीसहितको
रुकुममा भेटिएको रातो कलम ।

कसले छाडेर गएछ राजधानी ?
सपनाहरू थुनिएको पुरानो ट्याङ्का सिन्धुलीको गाउँमा ।

गरिबी पसिनाले धोएको सुट लगाएर
राजनीति गर्नु जोगी हुनलाई होइन भन्दै
जनअदालतको इजलासमा
भर्खरै मात्र कसले गरिरहेछ बहस ?

सगरमाथा चढ्ने कुरा गर्दै
कसले तापिरहेछ चौरमा घाम ?

पहेँलो बस्त्र ओढेर मण्डपमा
कसले कोट्याइरहेछ सिन्काले दाँत ?

प्रश्नहरू बग्रेल्ती छन् सडकमा
प्रश्नहरू बाढी बनेर आउने हल्ला आइरहेको छ,
प्रश्नहरूको बाढी पसेपछि
के होला हाम्रो बस्तीमा ?
हाम्रो सहरमा ?

कौतुहलताका आँखाहरू फालेर
म प्रश्नहरूको बाढी पर्खिरहेको छु ।
मान्छेहरूले भन्न छाडेका छैनन्
प्रश्नहरूको बाढी
पानीको बाढीभन्दा शक्तिशाली हुन्छ ।

फित्कौली  डट कम



जङ्गबहादुर 


यतिबेला कसैले नपढे हुन्छ
जङ्गबहादुर मरेको झुठो इतिहास ।

जङ्गबहादुर प्रत्येक अखबारहरूमार्फत
टेलिभिजनहरूमार्फत
हाम्रा लागि प्रत्येक दिन
आदेशहरू जारी गरिरहेका छन् ।
प्रत्येक दिन हामी सबै
जङ्गबहादुरको आदेश
छातीमा टाँगेर हिँडिरहेका छौँ ।

आफ्नो प्रिय घोडा चढेर
प्रत्येक दिन जङ्गबहादुर
उही शान सौगातका साथ
उसैगरी आफ्नो सवारी चलाउँछन्
राजधानीका सडकहरूमा ।

जङ्गबहादुर सँगसँगै
उनको पुरानो घोडा पनि जीवित छ
बालबच्चा बुढापाका सबैले देख्नेगरी
हिन्हिनाउँदै कराउँछ पहिल्यै जसरी ।
जङ्गबहादुर सवार घोडा
हाम्रा पू्र्खाहरू कोपरेका दाँतहरू बोकेर
शान सौगातका साथ हिँडिरहेकै छ हाम्रो बस्तीमा ।

जङ्गबहादुरको घोडा
जब हिन्हिनाउँछ बस्तीको छाती कोतरेर
त्यसबेला देखिन्छन् उसका तरुण दाँतहरू
उसका दाँतहरू देखेर
बुढापाकाहरू आतङ्कित हुन्छन्
दुध चुस्दै गरेका अबोध बच्चाहरू एक्कासी चिच्याउँछन्
युवतीहरू कोकोहोलो मच्चाउँदै रुन्छन् ।
र पूरै बस्ती भयग्रस्त बन्छ ।

एउटा जङ्गबहादुर मरेको कथा
खुबै घोकेको थिएँ इतिहासमा मैले
परीक्षामा पास गर्न पनि घोकेको थिएँ
अहिले आफैँलाई गलत लागिरहेको छ
जङ्गबहादुर मरेको इतिहास
आफैले घोकेको एउटा झुठो इतिहास ।

हामी सबै जङ्गबहादुरहरूबाट घेरिएका छौँ
जताततै सडकमा ,
सरकारी कार्यालयहरूमा
नीति निर्माणका तहहरूमा
पार्टीको पोलिटब्युरो र स्थायी समितिहरूमा
कहाँ छैनन् जङ्गबहादुरहरू ?
जङ्गबहादुर मरेको झुठो इतिहास
अझै घोकी रहेका छन् बच्चाहरू
विद्यालय र कलेजका विद्यार्थीहरू
पढाइरहेका छन् शिक्षक र प्राध्यापकहरू ।

स्वयं जङ्गबहादुर
विद्यालय पुगेर
विश्वविद्यालय पुगेर
हाम्रा गुरुहरूलाई
अझै दबाब दिइरहेका छन्
र पढाउन भनिरहेका छन्
आफू मरेको झुठो इतिहास ।

दाँत पनि नझरेको तरुण जङ्गबहादुरलाई बोकेर
जङ्गबहादुरको तरुण घोडा
मेरो प्रिय पर्व गणतन्त्र दिवसलाई
टुडिखेलबाट ठुलोठुलो स्वरमा लल्कारिरहन्छ
म यतिबेला सबैभन्दा खतर्नाक सपना देखिरहेको छु ।

एउटा दुर्ग फेरि बनाउनु छ
र त्यहाँ उभिएर फेरि गर्नु छ
जङ्गबहादुरको मृत्यु घोषणा ।

यतिबेला कसैले नपढे हुन्छ
जङ्गबहादुर मरेको झुठो इतिहास ।




चस्मा 

तिम्रो बजारबाट किनेको चस्माबाट
म तुरुन्तै मुक्ति चाहन्छु ।

तिम्रो बजारबाट किनेको चस्माबाट
उस्तै देखियो
गुन्डागर्दी र राजनीति
उस्तैउस्तै देखियो
दलाली र निष्ठा
समाजसेवा र व्यापार
केही फरक देखिएन ।

अहँ ! केही फरक देखिएन
सुकिला र मैला मनहरू
परिश्रमबाट आएको ज्याला
र कमिसनबाट आएको नगद
कतै फरक भएन ।

तिम्रो बजारबाट किनेको चस्माबाट
कालो र सेतो रङ
उस्तैउस्तै देखियो
कहीँ केही छुट्टिएन ।

अब म ,
तिम्रो बजारबाट किनेको चस्माबाट पूरै मुक्त हुन चाहन्छु 
नयाँ किन्न सकिन भने पनि
तिम्रो बजारबाट किनेको चस्मा
ढुङ्गामा किचेर
टुक्राटुक्रा पार्न चाहन्छु ।
कमसेकम खाली आँखाले
कुनै दृष्टिभ्रम हुँदैन
म बाँकी जीवन दृष्टिभ्रममा बाँच्न चाहन्न ।

यो चस्मा बजार तिम्रो हो
यो उत्तरआधुनिक बजार
मलाई थाहा छ ,
मैले अर्कै बजार खोज्नु छ
तिम्रो बजारबाट किनेको चस्माबाट
जे हेरे पनि भ्रमैभ्रम देखिन्छ ।

तिम्रो बजारबाट किनेको चस्माबाट
अहँ ! मैले हेर्न खोजिरहेको त्यस्तो केही पनि देखिएन
पूर्वबाट उदाउन खोजिरहेको सूर्य पनि देखिएन
अहँ ! केही पनि देखिएन
हिलोमा फुल्न प्रतिस्पर्धा गरिरहेका कमलका फूलहरू पनि देखिएनन् ।

देखियोस् न ,यो चस्मा लगाएपछि
हाँसीहाँसी झोला बोकेर विद्यालय गएका बच्चाहरू
देखियोस् न, क्लबभित्र ठुलो स्वर निकालेर हाँसिरहेका ज्येष्ठ नागरिकहरू
निरन्तर सुनियोस् उनीहरूको हाँसोको गुन्जन
तिम्रो बजारबाट किनेको चस्माबाट
अहँ ! त्यस्तो केही पनि देखिएन ।

तिम्रो बजारबाट किनेको चस्माबाट
म तुरुन्तै मुक्ति चाहन्छु ।

शाल्मली उनन्तीसौँ अङ्क, २०७३ जेठ


ऐना

हिजोआज मैले हेर्ने ऐनामा 
अर्कै मान्छेको अनुहार देखिन्छ ।

जीवनभर
जसलाई गाली गर्दागर्दा थाकेको थिएँ ,
र मुद्दा हालेको थिएँ बाटोका प्रत्येक कुइनेटाहरूमा
अचेल लुसुक्क आइदिन्छ उही
मैले हेर्ने ऐनामा ।

बिहानबिहान मुख धोएर हेर्छु आफ्नो अनुहार
अर्कै मान्छे देखिन्छु ऐनामा ,
दारी काटेर हेर्छु
दारी पालेको अर्कै मान्छे देखिन्छु
साधारण लुगा लगाएर ऐना हेर्छु
टाइ, सुट र कोटमा देखिन्छु ।

प्रत्येक दिन नयाँ–नयाँ ऐना किनेर ल्याइरहेको छु
तर कहिल्यै देखिएन आफ्नो सक्कली प्रतिबिम्ब
म आजित भएको छु आफैंले दिनहुँ हेर्ने
आफ्नै ऐनासङ्ग ।

हिजोआज
ऐनामा आफ्नो अनुहार
कहिलेकाहीँ दक्षिणतिरका छिमेकीको जस्तो
कहिलेकाहीँ उत्तरतिरका छिमेकीको जस्तो
कहिले अमेरिकीको जस्तो
कहिले कुनै ठेकेदारको जस्तो
कहिले कुनै दलालको जस्तो
कहिले कसको जस्तो
कहिले कसको जस्तो
केही समयका लागि
मैले अचेल ऐना हेर्न पनि छाडिदिएँ
ऐना बोक्न पनि छाडिदिएँ ।

म सँगसँगै मेरा साथीहरू पनि
अचेल ऐनासँग खुबै डराउँछन् ।

ऐनामा आफ्नो अनुहार हराएका
हामीहरू
निरन्तर छलफल गरिरहेका छौँ ।

हिजोआज मैले ऐनामा
आफ्नो अनुहार हराएको छु ।



अन्नपूर्ण पोस्ट दैनिक , २०७४ असोज ७ शनिबार  

सहरमा मार्क्स 

सहरबाट माक्र्स हराएको केही समयपछि
मैले उनलाई अस्ति एक्कासी बागबजारको श्रेष्ठ टेलरिङ छेउमा भेटेँ ।

उनले मलाई पूरै बिर्सिसकेका रहेछन्
उनै पुराना कार्ल माक्र्स हुन भन्ने थाहा पाएपछि
मैले लालसलाम कमरेड भनेँ,
र, हात मिलाउन खोजेँ
उनले अप्ठ्यारो मान्दै हात मिलाए ।

मैले उहिले भेट्दा उनले दारी पालेका थिए
हिजोआज जुँगामात्र राखेर दारी काटेछन्
मनमनै लाग्यो बुढा दारीमै सुहाउँथे
राम्रो गरेनछन् । 

आराम विरामका केही औपचारिक कुरा भए
उनले मलाई सोधे
श्रेष्ठ टेलरिङ कहाँनेर पर्छ ?
मैले हातको इसाराले श्रेष्ठ टेलरिङ देखाइ दिएँ ।
‘त्यहाँ दौरासुरुवाल राम्रो सिलाउँछ भन्ने सुनेको थिएँ’
उनी स्पष्टिकरण दिँदै श्रेष्ठ टेलरिङतिर गए
उनी गएको बाटो लामो समय मैले हेरिरहेँ ।

आज मैले फेरि उनलाई इन्द्रचोकनेरको एउटा गल्लीमा भेट्टाएँ
आज उनी दौरासुरुवालमा सजिएका थिए
घनिष्टता बोध गरेर हात मिलाउन खोजेँ
मैले बढाएको हात नदेखेझैँ गरे उनले
त्यसपछि मैले नमस्कार गरेँ
उनले खुसीका साथ नमस्कार फर्काए
कुनै पसलको खोजीमा थिए उनी
उनले खोजेको पसल मैले जान्न चाहेपछि
एकछिन अक्मकिए उनी
बिर्के टोपी पाइने दुकान कता होला बाबू ?
निकै अप्ठ्यारो मान्दै उनले फेरि सोधे ।

सहरबाट माक्र्स हराएको केही समयपछि
मैले उनलाई आज एक्कासी इन्द्रचोकको एउटा पुरानो गल्लीमा भेटेँ
उनी बिर्के टोपीको दुकान खोज्दै थिए ।

गण्डकी संगम, पूर्णाङ्क १६, २०७६


सडकको सिकार

सडक धेरै फराकिलो छ
उसले सहरका घरहरूलाई 
एकापसमा जोडेको छ
उहिल्यैझैँ,
सहरका प्रत्येक घरहरू
सडकसँग बेखबर छैनन्
अब गाउँतिर तन्कँदै छ सडक
हिजोझैँ,
गाउँहरू पनि सडकसँग बेखबर छैनन्
गाउँहरू सडकसँग जोडिदै छन्
जसजसलाई ढाँट्न खोज्दै छौ
ती सबै,
सडकको सागरका साक्षी छन्
तिमीले विगतमा
सानासाना खहरेहरूमा खेलेको सिकारझैँ
सडकमा उर्लिएको सागरमा
अब कसरी गर्छौ सिकार ?
यति बेला
सबैको कानमा गुन्जिएको छ
सडकको गीत
अब अन्यथा हुन्छ
सडकको सिकार नगर्नू ।

हुनसक्छ
तिमी स्वस्ति धून मात्र मन पराउँछौ,
तिमीहरूलाई मन परेन
सडकको सागरले खोजेको आधुनिक धून,
तर कसरी ढाँट्न सक्छौ?
हामी सबैले सुनेको
सडकमा पोखिएको गीत
हिजो तिमीले खुल्लमखुल्ला ढाँटेछौ
म पढिरहेको थिएँ समाचारपत्रहरूमा
मान्छेहरू अब अन्यथा हुन्छ
अस्ति हामी सबैले सडकमा
एउटै गीत सुन्यौँ
एउटा असफल र अप्रिय सङ्गीत भर्न
तिमी कोसिस गर्दै छौ
मान्छेहरू ! अब अन्यथा हुन्छ
सडकको सिकार नगर्नू ।

कसरी भुल्न सकिन्छ
ती दिनहरू,
सडकमा पोखिएको विशाल समुद्र
समुद्रभरि तैरिएका टाउकाहरू
नयाँ युगलाई आमन्त्रण गरिरहेका गीतहरू
इतिहासले जिब्रो टोकिरहेको दृश्य
अब अन्यथा हुन्छ,
सडकको गीतमा
तिमीले अप्रिय धून हाल्ने षड्यन्त्र ग¥यौ,
असफल धून
मान्छेहरू,
अब अन्यथा हुन्छ,
सडकको सिकार नगर्नू ।

कलम, पूर्णाङ्क –४४–४५,२०६३, आश्विन–फागुन


पहिरो

पहाडको स्वाभिमानमाथि शत्रुताको छुरी उज्याउने
पहाडको छातीलाई विपतको आराले रेट्ने
फेरि उत्तरआधुनिकताको टोपी भिरेर
किन गरिरहेछन् मान्छेहरू पहिरोको पूजा
म आगोका लप्का उठिरहेको डढेलोझैँ
क्रोधले चुरचुर भएको छु ।

अब किन पूजा गर्नु मान्छेले पहिरो,
जोगिमारा भोगेकै हो काठमाडौँले
कृष्णभीरको घाउले धरधरी रूवाएकै हो
दुव्रmषिम भत्किएर तराई पनि पुरिएकै हो
अब किन पूजा गर्नु मान्छेहरूले पहिरो
आतङ्कको उही पुरानो विपनाले
मलाई बारबार घेरिरहन्छ
पहाडको शिरमा ठिङ्ग उभिइरहेको
उही पुरानो पहिरो,
र सम्साझैँ निदाइरहेको
फेदीको उही पुरानो बस्ती
यति बेला, पहिरो पहाडको थुम नापिरहेको छ
म, नयाँ युगको चिन्ता बोकेर
चौबाटोमा नयाँ जुलुस पर्खिरहेको छु ।

नयाँ युगको फूल बोकेर
म महाभारत
नयाँ भोलिको आमन्त्रण गरिरहेको छु
त्यस्तो एउटा नयाँ भोलि
त्यति बेला पहिरोले
हामी पहाडहरूको छाती रेटेर
वस्तीका वस्ती खण्डहर बनाउँदैन
हामीलाई पुरानो युगतिर धकेल्दैन
त्यस बेला मसँगसँगै
बच्चाहरूले घृणा गर्दै पढ्ने छन्
उसको क्रुर इतिहास ।

शारदा मासिक, वर्ष १ अङ्क ४, २०६४ वैशाख


नयाँ  प्रभातको खोजीमा

मैले कलिला आँखाहरूको
सपनालाई निमोठेर
महलका भ¥याङहरूमा सजाउने
सिंगमर्मर बनाउन सकिनँ,
तिमीले भनेझैँ म तिमीभन्दा फरक हुँ
जसरी तिमीले आफ्नो छातीमा
विभाजनको एउटा तस्विर झुन्ड्यायौ,
अब तिमीले शङ्काका डोबहरू पुरिदिए हुन्छ
मैले पनि बाध्यताले चह¥याएका आँखाहरूमा
आस्थाको नयाँ प्रभात टाँगेको छु ।

तिमीलाई खुसी पार्न मैले
आहालको फोहोर हिलोलाई
निर्मल जल भन्दै निसङ्कोच पिउन सकिनँ,
तिमीसँगको सहयात्राका लागि,
पसिनाका पोखरीहरूमा डुबुल्की मार्न सकिनँ,
मैले निर्धक्क उड्न चाहने
परेवाका प्वाँखहरू चुँडेर
जुत्ताको भित्री भुवा बनाएर लाउन सकिनँ,
हो ! तिमीले शङ्का गरेको ठिकै हो
गर्मीले निसास्सिएका वस्तीहरूमा
मैले पनि नयाँ बतासलाई आमन्त्रण गरेको छु ।

मैले तिमीलाई उहिल्यै भनेको थिएँ
तिम्रा मर्न लागेका घोडाहरू
त्यसबेलाका भोका वस्तीहरूमाझैँ
अब टाप मारेर शासन गर्न असमर्थ हुनेछन्,
तिम्रो भद्दयुगको निरन्तरता कायम गर्न
प्रजननका लागि पनि पूर्णतः असमर्थ हुने छन्
मैले तिम्रा घोडाहरूको दीर्घायु कामना गरेर
कलिला घामहरू छोप्ने बाक्लो हुस्सूलाई
यो चिसो वस्तीमा आमन्त्रण गर्न सकिनँ
मैले नयाँ युगको विरुद्धमा
कदापि किर्ते बयान दिन सकिनँ
परिणाममा तिमी बरु खोज्छौ भने
म तयार छु
अभावका ठुलाठुला शिखरहरू आरोहण गर्न
तर म इतिहासलाई साक्षी राखेर फेरी भन्छु
मैले कलिला नानीहरूको सपना देख्ने आँखाहरूलाई
खेलौना बनाएर खेल्न कहिल्यै सकिनँ ।

दायित्व द्वैमासिक, वर्ष २२ पूर्णाङ्क ६२, २०६५ असोज–कार्तिक


दिल्लीका मच्छरहरू

उद्वेलित आगोका लप्काहरूको
चेतना बोकेर
हामी बारम्बार
विद्रोहको एउटा जुलुस निकालिरहेका छौँ
तर प्रत्येक दिन
मक्किएको सन्धीको ठुटोमा बास बसेर
निरन्तर हाम्रो अभिमानलाई टोकिरहन्छन्
दिल्लीका मच्छरहरू ।

एक भाँडो उज्यालो बोकेर
घरभित्र चियाउन पनि नपाइने
उसका लागि सधैँसधैँ
कोठाहरू अँध्यारै राख्नुपर्ने
इतिहासले छादेका फोहोरहरू
फाल्ने रहर बोकेका आँखाहरू
ओछ्याउन पनि नपाइने,
स्वाधीन माटोको बास्ना
खोज्ने नाकहरू
बोक्न पनि नपाइने
बाक्लो स्वेटरलाई छेड्ने सुँड बोकेर
हर्दम यतै घुमिरहन्छन्,
हाम्रा बस्तीहरूको शान्त छातीमा
आतङ्कको दुन्दुभी बजाइरहन्छन्,
दिल्लीका मच्छरहरू ।

मधेशको गर्मीमा मात्र होइन
हिउले ढाक्ने चिसा लेकहरूसम्म
वेग हानेर पुग्ने योजना कोर्छन उनीहरू,
सगरमाथाकै काखमा पुगेर
हाम्रो अभिमानलाई डस्न खोज्छन् उनीहरू,
स्वाभिमानको एक झप्को निद्रा
सुत्न पनि दिँदैनन्,
आत्मसम्मानको एक झल्को सपना
देख्न पनि दिँदैनन्
हामी लिपुलेकबाट
एकजोडा सेता परेवाहरू उडाउन खोज्छौँ
उनीहरू हाम्रा परेवाहरूका प्वाँखमा
विषालु सुँडहरूले चिल्छन्
हामी यतिबेला
आफैभित्र पनि प्रश्न कोरिरहेका छौँ
किन पालिरहेछन् मान्छेहरू ?
दिल्लीका मच्छरहरूको घार
हामी घृणाले निथ्रुक्क भिजेका छौँ
यो युग अझै
विवेकको युग होइन जस्तो,
यो युग अझै
स्वाभिमानको युग होइन जस्तो,
यो युग अझै
स्वतन्त्रताको युग होइन जस्तो,
यो युगलाई,
निर्धक्क÷निर्लज्ज हमला गरिरहेका छन्
दिल्लीका मच्छरहरू ।

गोरखापत्र दैनिक वर्ष–१०८, अङ्क–५४, २०६५ असार १४ गते शनिबार



युद्धको नाट्यशाला

तिमीलेझैँ युद्धको विरोध गर्दै
कुनै ईश्वरलाई पूजा गर्न
अबदेखि हामी
कुनै मन्दिर जाने छैनौँ ।

पराधिनताको महाभारत चढेर
धेरै ग¥यौं हामीले
भविष्य बनाउने कुरा,
कहालीलाग्दा पहराहरू उक्लेर
हामी यतिबेला एउटा कुइनेटोमा निस्केका छौँ
र केही सोचिरहेका छौँ,
उहिल्यैदेखि तिमीले हामीसँग युद्धको विरोध ग¥यौ
र एउटा युद्ध लड्यौ
रोमकालीन दासहरू प्रजनन गर्ने
तिम्रा ती ईश्वरहरू
तिम्रै जुठोपुरो खाएर हुर्केका रहेछन्
ती ईश्वरहरू तिम्रै मात्र रहेछन्
ती ईश्वरहरू तिम्रै मात्र रहेछन्
भ्रमको कुहिरो फाटिसकेको टाउको बोकेर
हामी तिमीसँग
सर्वथा नौलो युद्धको घोषणा गरिरहेका छौँ
हामी नयाँ युद्धको घोषणा गरिरहेका छौँ ।

तिमीले ईश्वरको आदेश भन्यौ
र तिम्रै लागि हामीले
हतियार कारखानाहरू बनायौँ
बम, अणुबम र विभिन्न क्षेप्यास्त्रहरू
हामी ज–जसले बनाएका थियौँ ती हतियारहरू
तिनै हतियारहरूबाट
हामीले गुमाएका थियौँ आफ्नै आफन्तहरू
परिवारहरू,
त्यसबेला तिमीसँगै सिरक ओढेर सुतेको थियो
तिम्रो ईश्वर,
भ्रमको जालो च्यातेको आँखा बोकेर
हामी हेरिरहेका छौँ यतिबेला
तिमीले तिम्रो ईश्वरसँग मिलेर बनाएको
एउटा नाट्यशाला
त्यहींभित्र तिमीसँगै गरिरहेको छ तिम्रो ईश्वर
एउटा थोत्रो र भद्दा अभिनय
अब हामी तिमीले कोरेको इतिहासको गल्लीबाट
आपँैंmले खनेको एउटा फराकिलो सडकमा आइपुगेका छौँ
तिमी तिम्रो ईश्वरसँगै
लड्नका लागि तयार भएर बसे हुन्छ
हामी नयाँ युद्धको घोषणा गरिरहेका छौँ ।

तिमीले झैँ युद्धको विरोध गर्दै
कुनै ईश्वरलाई पूजा गर्न
अबदेखि हामी
कुनै मन्दिर जाने छैनौँ ।

दिशाबोध पाक्षिक, वर्ष ११ अङ्क ६, २०६५ (असोज १५ –कार्तिक १५)


नागार्जुनको सर्प

नागार्जुनबाट यात्रा थालेर
एउटा विषाक्त हरेउ सर्प
हरेक दिन बिहान 
जङ्गबहादुरको सालिकमा 
जब पूजा गरेर फर्कन्छ
मलाई प्रत्येक सपनामा ऐँठन हुन्छ । 

प्रेमपूर्वक गुँडमा बसेका परेवाहरू
ऊ पटक्कै मन पराउँदैन
रुखका पातहरू जस्तै भएर
गुँडभित्र पस्छ
र, उनीहरूलाई डस्छ,
चौरमा खुशी मानेर खेलिरहेका नानीहरू
ऊ ईष्र्याले भुतुक्कै हुन्छ
चौरको घाँसजस्तै नदेखिने भएर 
नानीहरूका खुट्टामा डस्छ,
धानका कलिला गाभाहरूमा लुक्छ
र, किसानहरूलाई टोक्छ,  
हाम्रा सपनाहरूको हत्या गर्ने 
कार्यसूची बोकेर 
ऊ अचेल प्रत्येक दिन
जङ्गबहादुरको शालिकलाई पूजा गर्छ । 

म आतङ्कित छु
सडकमा मानिसहरू आतङ्कित छन्
गाउँहरू आतङ्कित छन्
तर किन आतङ्कित छैनन् ?
सिंहदरबारका बैठकहरू,
किन त्रसित छैनन् ?
राष्ट्रिय पार्टीका भेलाहरू,
समाचार सुनेर पनि 
किन मौन छन् ?
तारे होटलमा गरिएका 
सहमतिका माइन्युटहरू ,

मेरो अघिल्तिर 
हरेउ सर्पबाट बारम्बार लखेटिएका 
त्रासद दिनहरू
चलचित्रका रिलहरूझैँ घुमिरहेछन्
हिजो आजको नयाँ बिहान 
एउटा खतर्नाक समाचार बोकेर 
हाम्रो आँगनमा झुल्किन्छ
र, ऊ हाम्रा मुहारका खुशीहरू बोकेर भाग्छ । 

आज बिहानै 
नागार्जुनबाट यात्रा थालेर 
एउटा विषाक्त हरेउ सर्प
अपाङ्ग चेतना भएको बस्तिको निर्माण गर्न
जङ्गबहादुरको सालिकलाई पूजा गरेर फक्र्यो
भोपाल ग्याँस दुर्घटनामा
चुहिएको ग्याँस जस्तै
खतरनाक बतास उडिरहेको छ 
मेरो वरिपरि
त्रासद् भविष्यलाई रोक्न
अब बुन्नुपर्ने छ मैले नयाँ योजना ।

२०६७ भाद्र, ठानागाउँ ४ थामखर्क उदयपुर, नवप्रज्ञापन, पूर्णाङ्क –५०, २०६७ कार्तिक –पुस



सपना र टर्चलाइट

हिजोआज गाउँमा
एउटा खबर बरोबर आइरहेछ
कमरेड कञ्चनको टर्चलाइट हराएको खबर
हामी यतिबेला
चिन्तामग्न भएर 
कमरेड कञ्चनको 
हराएको टर्चलाइटको कुरा गरिरहेका छौँ ।
हाम्रो गाउँ
उही तिमीले देखेजस्तै,
उही तिमीले भोगेजस्तै,
उस्तै पुरानो छ,
हामी गाउँका मान्छेहरू
यो ढल्किंदै गएको रातमा
अलिकति झिक्रा बटुलेर
चिसो रात काट्ने बहानामा
हामी सबैले माया गरेको
कमरेड कञ्चनको
उही पुरानो हराएको टर्चलाइटको कुरा गर्छौँ
चिन्तामग्न भएर कुरा गछौँ ।
कहिले अगेनाको डिलमा बसेर
कहिले सिकुवामा बसेर
कहिले बारीको कान्लातिरै बसेर
हामी त्यही पुरानो टर्चलाइटको कुरा गर्छौँ
हामी अझै माया गर्दै छौँ त्यो टर्चलाइटलाई
जब कमरेड कञ्चन ! त्यो टर्चलाइट बाल्थे
र, मध्यराततिर
हाम्रो जस्केलो ढक्ढक्याउँथे,
हामी गरिबी पोतिएको मझेरीमा
जून उदाएको देख्थ्यौँ,
कसले चो¥यो होला ?
कमरेड कञ्चनको टर्चलाइट !
कसले चो¥यो होला ?
हाम्रो मझेरको प्यारो जून !
हामीले हाम्रो गाउँबाट
एउटा खबर पठाएका छौँ सहरमा,
कमरेड कञ्चनलाई,
हामी हाम्रा थैलीहरू निचोरेर
चन्दा बटुल्न तयार छौँ,
कमरेड कञ्चन !
तपाईं फेरि एउटा टर्च किन्नुस्,
अझै खतरनाक छ अँध्यारो रात
हामी फेरि हाम्रा टपरीहरूको
निम्तो गाँस काट्न तयार छौँ,
आततायी बन्न तयार छ अँध्यारो रात,
त्यही टर्चलाइटको उज्यालोमा
हामी सगरमाथा चढ्न आतुर छौँ
हामी यतिबेला झनै चिन्तामग्न छौँ
कमरेड कञ्चन !
तपाईंले उज्यालोको सपना
देख्न छाडेको खबर आइरहेछ गाउँमा
हराएको टर्चलाइट सम्झेर,
कमरेड कञ्चन !
तपाईको अनुहारमा कुनै कालो बादल देखिएन,
यस्तै खबर आइरहेछ गाउँमा
आज हामी झनै चिन्तामग्न छौँ ।
सपनाहरू हराएपछि
बेग्लै हुँदोरहेछ मान्छेहरूको अनुहार ।

मूल्याङ्कन मासिक, वर्ष २७ पूर्णाङ्क १६८, २०६५ माघ–फागुन


माटोको गन्ध


यो माटोमा 
तिमी सँगसँगै मैले पनि भेटेको छु
मेरा पुर्खाहरूको पसिनाको गन्ध ।

तिम्रै जिजुहरूले सुनाएका कथा
हाम्रै हजुरबाले सुनाएको कथा
हामीले सँगसँगै सुनेका थियौँ
तिमीले बिर्सियौ कि के हो ?
तिमीलाई याद हुनुपर्छ 
अगेनाको डिलमा बसेर
तिमै जिजुले सुनाउनुभएको एउटा कथा 
मलाई भरखरै जस्तो लाग्छ  
यही ठाउँको जङ्गल फाँड्दा
तिम्रा जिजुहरूसँगसँगै
मेरा जिजुहरू पनि मरेका थिए
हामै बेसीको जमिन आवाद गर्दा 
गएको सातै दिनमा 
औलोले मरेछन् मेरा हजुरबा
तिम्रै जिजुले फर्काएर लगेको
एक हाँडी भुटेको मकै
र, एक टपरी गुन्द्रुक
अनिकालमा खाएको कथा
हजुर आमाले सुनाउनुभएको
मलाई भरखरै जस्तो लाग्छ 
कसले लगायो हाम्रो बिचमा
तिक्तताको आततायी काँडेतार ?
अचेल तिमी मबाट टाढा हुन थालेछौ ।

बेसीमा गर्मी सुरु भएको बेला
मेरा पुर्खाहरू पनि तिम्रा पुर्खाहरू सँगसँगै
एक हल गोरु लिएर लेक चढेका थिए 
उँभौली गाउँदै ,
लेकमा जोड बढेको बेला
हलो कोदालो बोकेर 
बेसी बास बस्न झरेका थिए
उधौली गाउँदै,
यही पँधेरामा पानी बोक्न आउँदा
तिम्री बहिनी सुम्निमासँगसँगै
मेरी बहिनीले पनि गाएकी थिई सोरठी,
यही जङ्गलमा दाउरा काट्न आउँदा
तिम्रो भाइ पारुहाङसँगसँगै 
मेरो भाइले पनि गाएको थियो सेलो ,
मलाई अझैसम्म याद छ 
कसले लगायो हाम्रो बिचमा
तिक्तताको आततायी काँडेतार ?
अचेल तिमी मबाट टाढा हुन थालेछौ । 
तिम्रो मूलघर बनाउँदा मुछेको माटोमा
अझै आउँछ मेरा हजुरबाको पसिनाको गन्ध
अझै छन् हाम्रा घरका झयालहरूमा 
तिम्रा जिजुले खोपेका राम र सीताका चित्रहरू ,
हाम्रा पुर्खाहरूलाई जलाउने घाट
तिम्रा पुर्खाहरू अन्त्यष्टी गर्ने चिहान
उत्तिकै पुराना हुन् ,
बारीमा मकै गोडेर बसेको एक थकित साँझ
जिजुहरूले आँगनमा बसेर सुनाएका कथाहरू
हामी सबैले सँगसँगै सुनेका छौँ  
यी बस्तीका जगहरूमा
अझै पनि खोतले भेट्न सकिन्छ 
तिम्रा जिजुका पाइतालाहरूसँगसँगैै 
मेरा जिजुका पाइलाका डोबहरू,
कसले लगायो हाम्रो बिचमा
तिक्तताको आततायी काँडेतार ?
अचेल तिमी मबाट टाढा हुन थालेछौ । 

यात्रापछिका प्रत्येक विश्रामहरूमा
सुनाइने सबै इतिहासका घटनाहरू
हामीले सबै सँगसँगै सुनेका छौँ 
भरखरै गर्भाधान भएको नयाँ युगमा
श्वास भर्न बाँकी नै छ 
बाँकी नै छ नयाँ मुटुहरू जोड्न,
मस्तिष्कहरू जोड्न,
नयाँ हात र खुट्टाहरू जोड्न,
आउ, यो हल्लाको जङ्गलबाट टाढा
आऊ, म तिमीलाई
हाम्रा जिन्दगीका सुरुवातका कथाहरू भन्छु ,
तिमीे सँगसँगै मैले पनि भेटेको छु 
मेरा पुर्खाहरूको पसिनाको गन्ध ।

गरिमा मासिक, पूर्णाङ्क –३३३, भदौ २०६७


मैले उतिबेलै भनेको थिऍ 


यतिबेला मेरा साथीहरू
आफैँले भरखर घोषणा गरेको
नयाँ देवता फुटाइरहेका छन् ।

मैले उनीहरूलाई त्यसबेला
यात्राको एउटा मोडमा भेटेको थिएँ
मैले भेट्दा उनीहरू
सँगसँगै हिँडेको एउटा यात्रीलाई देखाएर
“ऊ देवता भयो” भनिरहेका थिए
उसलाई पूजा गर्न
पूजा सामग्रीहरूको जोहो गरिरहेका थिए
मैले उतिबेलै भनेको थिएँ
मान्छे देवता हुनै सक्दैन
मान्छेलाई देवता बनाउनु पनि हुँदैन
कहिलेकाहीँ मान्छे देवता भएपछि
उहिलेको रुसको जारजस्तो पनि हुनसक्छ
हाम्रै देशको राणा र शाहजस्तै पनि हुनसक्छ
कहिलेकाहीँ हामीलाई खेलौनाजस्तै ठानिदिन सक्छ 
हाम्रो आत्मसम्मानलाई ठाउँ कुठाउँमा डस्छ
मैले उनीहरूलाई आफन्त ठानेरै भनेको थिएँ
मान्छेलाई देवता बनाउनु
कहिलेकाहीँ आफ्नै खुट्टोमा बन्चरो हान्नु हो
मेरो कुरा सुनेर
उनीहरू रिसले चुरचुर भएका थिए
मलाई सराप्दै आफ्नो बाटो लागेका थिए ।

फेरि मैले उनीहरूलाई
यात्राको अर्कै कुइनेटोमा भेटेको थिएँ
मैले भेट्दा उनीहरू
आफैले भरखरै घोषणा गरेको 
नयाँ देवता फुटाइरहेको थिए
उसको शरीरका सबै बस्त्रहरू फुकालेर
मानौ कुनै अद्भूत जनावर
आविष्कार गर्न खोजेझैँ
उनीहरू देवतालाई कुरूप बनाइरहेका थिए
देवता नाङ्गिएको खुसियालीमा 
नजिकै बसेर भोज खाइरहेको थिए
मैले फेरि उनीहरूलाई अनुरोध गरेँ
उसलाई नङ्ग्याउनु भन्दा 
देवता बनाउनु भन्दा पहिलेको 
मान्छे नै रहन दिनू
मैले फेरि भनेको थिए
फेरि ऊसँग गर्नै पर्ने छ लामो यात्रा
उनीहरू फेरि मसँग रिसले चुरचुर भए
मलाई राताराता आँखा पारेर हेरे ।

मेरा साथीहरूलाई 
देवता बनाउन पनि हतार
देवता फुटाउन पनि हतार
यात्रा गर्न पनि हतार 
पछुताउन पनि हतार
मैले त उतिबेलै भनेको थिएँ
सबै कामहरू साचेर गर्नु
उनीहरू रिसाएका थिए त्यसबेला ।

यतिबेला मेरा साथीहरू
आफैले भरखर घोषणा गरेको
नयाँ देवता फुटाइरहेका छन् ।

प्रतिभा प्रवाह, पूर्णाङ्क –१७, माघ, २०६८




नरेश शाक्यका आँखा 


अचेल नरेश शाक्यलाई बानी परिसकेको छ
एकान्तमा बसेर हेर्न
सपनाहरूको सामूहिक आत्महत्या ।

किशोर उमेरमै
उनले पहाडको सपना देखे
पहाड चढ्न तम्सिए
सगरमाथाको सपना देखे
सगरमाथा चढ्न तम्सिए
सपनामा चन्द्रमा देखे
चन्द्रमा छुन तम्सिए
महासागर देखे सपनामा
त्यो पनि तर्न तम्सिए ।

यात्राको थालनी
हरियो दुबोमै टेकेर गरेका थिए उनले
हिँड्दैहिँड्दै जाँदा
भेटिदै गयो मरूभूमि
अब पछि  फर्कने ठाउँ पनि छैन
अघि हिँड्ने ठाउँ पनि छैन
उनलाई राम्रैसँग थाहा छ
सत्ता हिँड्ने राजमार्ग
र आफू हिँड्ने गोरेटो
कहिले भेट नहुने विपरित दिशामा छन् ।

बुढो माकुरो र नरेश शाक्य
यो महानगरको एउटा छिँडीमा
अचेल सँगसँगै बस्छन्
उनलाई हिजोआज
माकुराको माउलाई
बच्चाहरूले खाइरहेको दृश्य
खुबै मन पर्न थालेको छ ।

आत्महत्या मानिसहरूले मात्र गर्दैनन्
सपनाहरूले पनि गर्छन्
अचेल नरेश शाक्य अनौठो नमानिकन हेर्छन्
प्रत्येक दिन र प्रत्येक रात
सपनाहरूको लामो लस्करको दृश्य
भीरबाट सामूहिक आत्महत्या गरिरहेको ।

अचेल नरेश शाक्यलाई बानी परिसकेको छ
एकान्तमा बसेर हेर्न
सपनाहरूको सामूहिक आत्महत्या ।

शब्द संयोजन, पूर्णाङ्क –१३८, कार्तिक, २०७२

भरखरै जस्तो लाग्छ

भरखरै जस्तो लाग्छ
मैले उसलाई चोर औँला उठाएको
यही चौतारोमा हो ।

हामी चौतारोमा बसेर
जब सपनाका कुरा गथ्र्यौं
हाम्रा दुस्मनहरू
त्यो चौतारोमा आउन डराउँथे
त्यो बाटो हिँड्नै डराउँथे
हामी त्यही चौतारोमा बसेर
भविष्यका कुरा गथ्यौँ
सन्ततीका कुरा गथ्र्यौँ
भोकाएकाहरूको कुरा गथ्यौँ
तर उनीहरू हामीसँग तर्केर हिँड्थे ।

के भइरहेको छ ?
आफैंलाई घेरेर बसेको छ
यतिबेला शङ्काको बादल
घरिघरि आफैंलाई विश्वास लाग्दैन आफैसँग
फेरि आँखा मिचेर त्यही चौतारोमा हेर्छु
मैले हिजो त्यही चौतारोबाट
चोर औला उठाएका ऐतिहासिक दुश्मनहरू
त्यही चौतारोमा घुमिरहेका थिए
फेरि आँखा मिचेर हेर्छु
उनीहरू त्यही थिए
कसैले हातमा अक्षता र चन्दनको थाली बोकेका थिए
कसैले हातमा फूल र फूलका मालाहरू बोकेका थिए
जति–जति मानिसहरू थिए त्यहाँ
हामीले चोर औँला उठाएकाहरू नै बढी थिए
हाम्रो चौतारोलाई उखेल्नेहरू नै बढी थिए ।

आस्थाका इट्टाहरू जोडेर बनाएको
श्रमिकहरूको लागि सियाल ताप्न बनाएको
नयाँ पाउला पलाउने ऋतु आउन तरखर नहुँदै
पुराना पातहरू क्रमशः झरिरहेका छन्
सुक्दै गएका हाँगाहरूमा
चराहरूले गुँड लाउन छाडिसकेका छन् ।

इतिहासको यो कुइनेटोमा
एक हुल हामी मान्छेहरू
पुनःनिर्माण गर्न खोजिरहेका छौँ
हिजो अस्तिकै जस्तो
त्यो चौतारोको रहरलाग्दो बैंस ।

भरखरजस्तो लाग्छ—
मैले उसलाई
हाम्रो दुश्मन भनेर घोषणा गरेको
यही चौतारोमा हो ।

शिवपुरी सन्देश, पूर्णाङ्क–६०, बैशाख–असार, २०७०

उपाध्याय बाजेको मोःमोः पसल

यतिबेला सहरमा लोकप्रिय छ
उपाध्याय बाजेको मोःमोः पसल ।

सहरभरि हल्लैहल्ला छ
त्यहाँ सफा मासुको मोःमोः पाइन्छ
उपाध्याय बाजे,
आफू स्वयम्पाक्य छन्
धोतीपाटा फेरेरै
काँधमा झुन्ड्याएको जनै देखाउँदै
प्लास्टिकको पोकामा
बजारबाट खसीको मासु लिएर आउँछन्
हामी उनलाई चिनेका जजमानहरू
कतै बाटामा भेटियौँ भने
‘के गर्ने ? पापीपेटको सवाल हो’
स्पष्टिकरण दिन छाडेका छैनन् । 

खाद्य–अनुसन्धान–विभागले
धेरैतिर छापा मा¥यो
मोःमोः पसलहरूमा
भट्टी पसलहरूमा
ठूलाठूला गोदामहरूमा
तर कहिल्यै छापा मारिएन
उपाध्याय बाजेको मोःमोः पसल
बाजेको धोती–पाटा र जनैप्रति
विभाग पनि विश्वस्त छ ।

विचरा बाजे,
सहरमा आएर धेरै हन्डर खाए
पहाडको गाउँमा जानेको पेसा
कर्मकाण्डीय कामहरू खोजे
त्यो पेसाले राम्ररी पेट पाल्न सकेनन्
सहरका आफन्तहरूसँग प्रतिस्पर्धा गर्न सकेनन्
त्यसपछि धेरै सोचेर सुरु गरे
यो महानगरको एउटा गल्लीमा
सफा र स्वस्थ भएको ठूलो विज्ञापन गरेर
खसीको शुद्ध मासुबाट बनेको मोःमोः पाइने
सहरको एकमात्र सानदार पसल ।

उपाध्याय बाजेले
आफ्नो मोःमोः पसलमा
उही पुरानो दराज राखेका छन्
त्यहाँ उनका उनै पुराना किताबहरू छन्
रुद्रीका किताबहरू
चण्डीका किताबहरू
ज्योतिषशास्त्रका किताबहरू
मोःमोः पसलका ग्राहकहरू
ती किताबहरू हेरेर
मोःमोः अझ सफा र सुग्घर भएको ठानिरहेका छन् ।

एकदिन उपाध्याय बाजेले
मलाई खुसुक्क भने –
बाबु ! मटन मोःमोः भन्दा
बफ र चिकेन मोःमोःबाट
नाफा बढी हुँदोरहेछ
फेरि उनले मुस्कुराउँदै मलाई भने –
अब यो पसलमा
अङ्ग्रेजी सालको नयाँ वर्षदेखि
बफ र चिकेन मोःमोः पनि पाइन्छ ।

उपाध्याय बाजेको मोःमोः पसलमा
हिजोदेखि नयाँ विज्ञापन झुन्डिएको छ
भोलि नयाँ अङ्ग्रेजी सालको नयाँ वर्षदेखि
बफ र चिकेन मोःमोः पनि पाइन्छ
स्वस्थ र सफा मोःमोःका पारखीहरू
उपाध्याय बाजेको नयाँ विज्ञापनबाट
हिजो आज धेरै खुसी देखिएका छन् ।

यतिबेला सहरमा लोकप्रिय छ
उपाध्याय बाजेको मोःमोः पसल ।


शाल्मली मासिक, २०७०, चौथो अङ्क

बूढो घोडा 

तिमी जतिसुकै छडीले हिर्काऊ
जतिसुकै लगाम खैँचेर
घोडाको पेटमा खुट्टाले ठोक
यो जिर्ण कालो घोडा
रातो लुगा लगाएको मान्छेलाई बोकेर
सभ्यताको उकालो चढ्न पटक्कै मन पराउँदैन ।

सम्भवतः धेरै पटक हिर्काएपछि
केही पाइला हिँडेजस्तो पनि गर्ला
लगाम तानेर घिस्याएपछि
केही अघि बढेजस्तो पनि गर्ला
यतिले तिमी भ्रममा नपरे हुन्छ
यो जीर्ण बूढो घोडाले
कहिल्यै मन पराएन
तिमीले पुग्नुपर्ने उँभोको सगरमाथा ।

जब बाटो तेर्सैतर्सो हुन्छ
सजिलै हुन्छ
तिमीलाई बूढो घोडा चढेर हिँड्न
जब बाटो कठिन हुन्छ
नाक ठोकिने उकालो आउँछ
त्यसबेला तिमी चढेको घोडा हिनाहिनाउँछ
पछाडिका दुवै खुट्टाहरू फाल्छ
तिमीले जति नै लगाम ताने पनि
जति नै छडीले कुटे पनि
त्यो बूढो घोडा उकालो चढ्नै मान्दैन
कि यो घोडाले तिमीलाई लडाउँछ
कि यो घोडा आफैं थचक्क बस्छ
ए, रातो लुगा लगाएको मान्छे
तिम्रो आस्थाको शिखर
यो बूढो घोडा चढ्नै सक्दैन ।

रातो लुगा लगाएको मान्छेसँग
युगौँदेखिकै हो यसको तर्सने बानी
कालै लुगा लगाएको सवार खोज्छ यसले
यो जीर्ण घोडालाई राम्रैसँग थाहा छ
कालो लुगा लागाएको मान्छे
उँभोउँभो उकालो चढ्दैन भन्ने कुरा
सभ्यताको नयाँ शिखर
आरोहण गर्न मन पराउँदैन भन्ने कुरा
कालो घोडालाई राम्रैसँग थाहा छ
धेरै बलजफ्ती नगरे हुन्छ
यसले ठाउँठाउँमा तिमीलाई लडाउँछ
ठाउँठाउँमा तिमीलाई घाइते बनाउँछ
ए, रातो लुगा लगाएर शिखर चढ्ने मान्छे
यो घोडाले नयाँ मान्छे मन पराउँदैन
जीर्ण भइसकेका छन्
यसका अङ्गप्रत्यङ्गहरू
मात्र यो घोडाले
अशक्त मान्छेहरू मन पराउँछ
अस्वस्थ मान्छेहरू मन पराउँछ
ए, रातो मान्छे
तिमीले नयाँ यात्राको लागि नयाँ घोडा खोज्नुपर्छ ।
०००
शिवपुरी सन्देश, स्वर्णअङ्क, वर्ष–१६, अङ्क ५०, कार्तिक पुष २०६७  


ऋषिकुटीतिर फर्केर हेर्दा 

कसले गरिरहेछ
ऋषिकुटीमा एकराते मेला लागाउने योजना
मलाई अब सबै थाहा छ
भोको वस्तीको बीचमा उभिएर
त्रासद समयको विरुद्धका खेद प्रस्तावहरूमा
म यतिबेला
हतारहतार सहिछाप गरिरहेको छु ।

विजयका उत्सवहरू
मन खुलेर मनाउन नपाउँदै
यात्रामा निस्केको समय
भरखरैमात्र
कतै माकुराको जालमा परेर
घाइते बनेको सूचना आएको छ
मा पनि यतिबेला
समय सँगसँगै घाइते भएको छु
घाइते युगलाई बोकेर
फेरि पनि हेरेको छु ऋषिकुटीलाई
नयाँनयाँ कोसेली बोकेर जानेहरूको
कसले गरिरहेछ भित्रबाट स्वागत ?
र निरन्तर भैरहेको छ तपस्वीहरूको शान्तिभङ्ग
मलाई अब सबै थाहा छ
क–कसले आयात गरिरहेका छन्
आस्थाको काँडेतारले बारेको ऋषिकुटीमा
उच्चस्तरीय मदिराका ड्युटीफ्रीका बोतलहरू
मलाई अब सबै थाहा छ
क्रोधले फुट्न लागेको टाउको बोकेर
फेरि हेर्छु आफ्नो नाङ्गो वस्तीलाई
ऋषिकुटीमा दर्शन गर्न जानेहरू
उठ्न अल्छी मानिरहेका छन्
चोखा मनहरूले
उत्साही भएर
चङ्गाझैँ उड्न नजानेको यो समय
यतिबेला म कुनै जटिल उपदेश दिन सक्दिन
सहरको कुनै भूत बङ्गलाबाट
गाउँहरूलाई आतङ्कित पार्ने गरेर
कसले बजाइरहेको छ
कर्कस साइरनहरू ?
मलाई अब सबै थाहा छ
तिनीहरूले कहाँकहाँबाट स्विच दबाइरहेका छन् ?
घिनौला औँलाहरू चलाएर
वासिङ्गटन, लन्डन वा दिल्ली
मलाई अब सबै थाहा छ
कर्कस साइरनहरू बजाएर
समयलाई त्रासद बनाउनेहरूका विरुद्धको
खेद प्रस्तावहरूमा
म यतिबेला
हतारहतार सहिछाप गरिरहेको छु ।

यो घाइते समय
इमानदार आँखाहरूसँग पनि
विश्वास हराउन सक्ने समय
कहिलेकाहीँ आफ्नै आस्थासँग पनि
भ्रम उत्पन्न हुनसक्ने समय
तर पनि हेरिरहेकै छु ऋषिकुटीलाई
फेरि त्यहाँ कसले कोट्याइरहेको छ
अत्याधुनिक सिन्काले आफ्ना दाँतहरू ?
र, थुकिरहेको छ वस्तीतिर फर्किएर
मासुका त्यान्द्राहरू
मलाई अब सबै थाहा छ
भोको बस्तीको बीचमा उभिएर
त्रासद समयका विरुद्धको
खेद प्रस्तावहरूमा
म यतिबेला
हतारहतार सहिछाप गरिरहेको छु ।
                      ०००
मधुपर्क मासिक, वर्ष– ४२, अङ्क ३, पूर्णाङ्क ४८२ , २०६६ साउन

लेख्नै बाँकी  छ

सूर्य बोकेर हिँड्नेहरू
सूर्यलाई पुर्न खाडल खन्दै छन्
म उनीहरूलाई
अँध्यारो गुफातिर लुक्न
खोजिरहेको देख्दै छु
उनीहरूको बारेमा लेख्न पुगेकै छैन
लेख्न अझै धेरै बाँकी छ ।

झुपडी झुपडीहरूमा
निरर्थक सपनाको दुन्दुभी फुकेर
कालो सिसा लागाएको पजेरोमा
बेतोडसँग दौडिरहेका छन् साथीहरू
उनीहरू पनि लेख्नै पर्ने विषय हुन्
लेख्न अझै बाँकी छ ।

आजकै समाचारपत्रमा
भरखरैमात्र पढेको थिएँ
आफ्नै बाबुले श्रीमती र छोरी बेचेको घटना
हामी बाँचेको युगको एउटा चित्र
त्यो पनि कवितामा आउने बाँकी छ
हामीले सोच्न पनि नसकेका
कुरूप सम्भावनाका सिँढीहरू
लगातार चढिरहेका छन् शासकहरू
उनीहरूले आफ्नी आमालाई बेचेको खबर
कुनै दिन विदेशी समाचारपत्रहरूले छाप्ने छन्
त्यो युगको त्रासद कविता
काँपिरहेका हातहरूले लेख्न अझै बाँकी छ ।
त्यो कविता लेख्नुपर्ने
अभागी कविहरूको सूचीमा
म पनि पर्न सक्छु
तपाईँ पनि पर्न सक्नुहुन्छ
अझ लेख्न धेरै बाँकी छ ।

म अँध्यारोमा बाँचेको मान्छे
उनीहरूले उत्तरतिर
मलाई एउटा नयाँ सूर्य देखाए
म पनि उनीहरूसँगै हिँड्न खोजेँ
उनीहरूले मलाई बिस्तारैबिस्तारै उत्तरतिर देखाउँदै
दक्षिणतिर दौडाउन खोजे
विचार स्खलनको एउटा त्रासद् अध्याय
यो पनि लेख्नै  बाँकी छ ।

धेरैधेरै कुराहरू लेखिन बाँकी छन्
म नियमित लेख्ने छु
मेरा कविताहरूमा
म बाँचेको युग
अझै धेरै लेख्नै  बाँकी छ
साथसाथै हिंडिरहेका साथीहरू
यात्रा रोक्न खोज्दै छन्
लेख्न अझै धेरै बाँकी छ ।
०००

अभिनव, वर्ष १३, अङ्क २३, वैशाख २०७१  




नयाँ  आँधीको स्वागतमा 

उसले सूचना दिए लगत्तै
केही फूलहरू टिपेँ र माला गाँसेँ
पुराना थैलीहरू खोतलेर
केही पैसाहरूको जोहो गरेँ
र रातो अबिर किनेँ,
रातो मसीले लेखेँ
भर्खरै किनेको एउटा नयाँ डायरीमा
भोलिको भविष्य,
मेरा साथीहरू सँगसँगै पर्खिएँ
स्वागतका लागि
आउँदै छु भनेर
सूचना पठाउने
एउटा नयाँ आँधीलाई ।

समयले निरन्तर बजाइरहेको छ
कर्कश शोकधून
हल्ला गरिरहेका छन् 
समाचारपत्रहरू
रेडियोहरू
टेलिभिजनहरू
आधा खुट्टा टेकेर उभिएको छ
टाढा कतै क्षितिजतिर
यो हल्लामा बस्तीहरू शोकाकूल छन्
म पनि उनीहरूसँगै  शोकविह्वल छु
तर पनि उभिइरहेको छु
केही फूल र मालाहरू बोकेर
केही अबिरका पोकाहरू च्यापेर
खुट्टाहरू फालेर उड्ने
एउटा आँधीको स्वागतका लागि
उनीहरू सँगसँगै
फेरि पनि उभिइरहेको छु ।

खुट्टाहरू टेकेर बस्नु होइन
आँधीको काम,
सुस्ताएर बस्नु होइन
आँधीको काम,
हामीलाई देखाउन
केही पाइला सारेजस्तो गर्नु पनि होइन
आँधीको काम, आँ
उसले आफ्नो शरीरमा
खुट्टाहरू जोडेपछि
वरिपरि गनाइरहेका फोहोरहरू
मित्रता गाँस्न खोजिरहेका छन्
कुनै भ्रममा परेर
फोहोरहरूसँग मित्रता गाँस्नु पनि होइन
आँधीको काम
आँधी उड्नु हो जमिन छोएर आकाशमा
आकाश छोएर जमिनमा ।

केही फूल र मालाहरू बोकेर
केही अबिरका पोकाहरू च्यापेर
उनीहरूसँगसँगै
फेरि पनि पर्खिरहेको छु
खुट्टाहरू नटेकेको एउटा आँधीलाई ।

शारदा मासिक, वर्ष– ३, अङ्क–२ , पूर्णाङ्क–१९ भदौ २०६६


अनेकोटले हेर्ने  आँखा  

मलाई सबैभन्दा बढी
अनेकोटले हेर्ने आँखा
र, उसले देख्ने सपना मन पर्छ ।

मलाई जसरी मनपर्छ
अनेकोटका आँखा
सबैलाई मन पर्दैन त्यसरी
कोही डराउँछन्  उसका आँखासँग
र झन् डराउँछन्  उसका सपनासँग
तर म जति पटक उसलाई हेर्छु
उसको आँखाबाट एउटा नयाँ घाम उदाएको देख्छु
म प्रत्येक रात
आफूले देखेका सपनामा उसले देखेका सपना खोज्छु
चैत लागेपछि
माइला लामाको गीत
अर्जुन पराजुलीको कविता
निर्मला देवकोटाकी आमाको आँसु
च्याङ्बा लामाकी जीवनसङ्गिनीको
हत्या गरिएका रहरहरूसँगसँगै
म एकपटक अनेकोटको छातीमा उभिन्छु
र, फेरि सुम्सुम्याउँछु
सपनाका सुन्दर आकृतिहरूलाई
अनेकोटले देख्ने आँखा
मलाई साँच्चै मन पर्छ ।

सबैले देख्दैनन्
इन्द्रेणीमा पोखिएको रङ्ग
जसरी अनेकोटले देख्छ
सबैले बुझ्ेरै
भोकाएका मान्छेहरूको हृदय
जसरी अनेकोटले बुझछ
सबैले छाम्न सक्दैनन्
विस्तारवादी आराहरूले रेटिएको
संवेदनाको छाती
तर अनेकोटले राम्ररी छाम्नसक्छ
म विश्वस्त छु
अनेकोट मेरो विश्वासको धाम हो ।

भन्नेहरूले भनेकै छन्
आस्थाको भूगोलमा मेटिदै गएको छ सिमाना
ऊ चिन्ताग्रस्त छ
भन्नेहरूले यसो पनि भनेका छन्
अर्को ज्वालामुखीको स्वागतमा
ऊ फूलका मालाहरू बोकेर उभिएको छ
ऊ जे सोचिरहेको छ
हामी सबैको सपना सोचिरहेको छ ।

मलाई सबैभन्दा बढी
अनेकोटले हेर्ने आँखा
र, उसले देख्ने सपना मन पर्छ ।
०००
कलम साहित्यिक त्रैमासिक,  वर्ष १८, अङ्क ४, पूर्णाङ्क  ५४, वैशाख  असार २०६७


बाटो छाडेपछि 

हिँडिरहेको बाटो छाडेपछि
हराउँदो रहेछ
मान्छेहरूको अनुहारमा चमक ।

हिँडिरहेको बाटो छाडेपछि
फेरिँदोरहेछ उसको स्वभाव
उसको चलन
उसको बोलिचाली
सबै एकाएक फेरिँदा रहेछन्
र, बेग्लो देखिदोरहेछ मान्छे ।

हिँडिरहेको बाटो छाडेपछि
कतै पनि आउँदो रहेनछ
आफूले बोकेको झन्डाको याद
कतै पनि सम्झनामा आउँदो रहेनछ
सपनाका हरिया फाँटहरू
जब आफू हिँडेको बाटो बीचबाटै छुट्छ
सबैसबै एकाएक विस्मृत हुँदारहेछन्
सुँङ्गुरहरूले लगाइदिने माला
किचकन्याहरूको प्रेम
हत्याराहरूले गाएको गीत
क्रमशः प्रिय लाग्दै जाने रहेछ । 

हिँडिरहेको बाटो छाडेपछि
सन्तान हराएका आमाहरूको आँखा
गरिबहरूको सुनसान अगेनो
सबैसबै सामान्य लाग्ने रहेछन्
आफ्नै देशको इतिहास
कुनै दन्त्यकथा सुनेझैँ लाग्ने रहेछ
आफूले देखेका सपनाहरू
क्रमशः विस्मृत हुँदै जाँदारहेछन्
र, मान्छे पनि नितान्त फरक हुँदोरहेछ ।

हिँडिरहेको बाटो छाडेपछि
बिस्तारै हराउँदो रहेछ उसको संवेदना
र, मान्छे पनि
साँच्चै बेग्लै हुँदो रहेछ ।


नक्कली हावा 

नक्कली हावाले
किन पठाइरहेको छ
आँधी आउने  हल्ला 
र, बगाईरहेको छ तातो हावा । 

कस्तै गर्मीमा पनि
छालाले स्पर्श गर्दैन
चिसो बतासको स्वाद
नाकका पोराहरूमा
कुनै सुगन्ध आउँदैन माटोको

यो तातो हावामा मच्छरहरू हराउन जरुरी थिएन 
हराएन पनि, 
बच्चाहरूको शरीरमा घमौरा  हराउन जरुरी थिएन 
हराएन पनि,
खेतबारीमा काम गरिरहेका मानिसहरूको 
पसिना ओबाउन जरुरी थिएन 
ओबाएन पनि, 
कसले कहाँबाट र किन पठाइरहेछ 
यो नक्कली तातो हावा ?
हिजोआज सबै चौतारोहरूमा 
चिया पसलहरूमा 
निधार खुम्च्याएर  
यही कुरा सोचिरहेका छन् मानिसहरू ।

हावा त आखिर सल्लाघारी छिचोलेरै आएको थियो
ठुलाठुला अक्करहरू नाघेरै आएको थियो
हिमालका चिसा भन्ज्याङ्गहरू छिचोलेरै आएको थियो
ऊ आउने सूचना
ठुलै हल्ला बनेर आएकै थियो।

हल्ला त,
गाउँ हुँदै  सहर गएकै हो
जसको केही उड्नु थिएन र उडाउनु पनि थिएन
तिनीहरू स्वागत  गर्न बसेकै हुन्
हुन्डरीले जसका केही टपरा र दुनाहरू उडाउँदै थियो
तिनीहरू बिरोधमा बसेकै हुन्

आँधी र हुन्डरीले केही नउडाए पछि
बिरोधमा बसेकाहरू
सारै खुसी छन् यतिबेला,
आँधी र हुन्डरीले केही नउडाए पछि
स्वागतमा बसेकाहरू 
सारै दुःखी छन् यतिबेला,

नक्कली हावाले
किन पठाइरहेको छ
आँधी आउने  हल्ला 
र, बगाइरहेको छ तातो हावा ।

हिमाली गुराँस द्वैमासिक, पूर्णाङ्क – ५९, माघ–फागुन २०७२


मान्छेहरूको भर्‍याङ 


पर्यटकहरूले
सगरमाथा चढेझैँ
उनीहरूले चढिरहे
हाम्रा करङहरूको भर्‍याङ  ।

निरन्तर चढिरहे उनीहरू
हाम्रा करङहरूको भर्‍याङ 
हजारौँ वर्षदेखि
वा त्यो भन्दा पहिले
लाखौँ वर्षदेखि
हामी उनीहरूका लागि
मात्र भर्‍याङ हुन बाँचेको जस्तो
हाम्रो आफ्नो जीवन नभएजस्तो
हामी मान्छेहरू,
सधैँभरि
मतदान केन्द्रको तातो घाममा
लाइन लागिरहने
मात्र भर्‍याङजस्तो
उनीहरूको आँखामा
हामी सधैँ भर्‍याङ  जस्तो ।

पहिले पहिले
निक्खर कालो  रात थियो
हामी भर्‍याङ  भयौँ भन्न पनि नपाइने
अहिले केही हटेको छ कालो रात,
तर भन्छन् उनीहरू,
अहिले उज्यालो छ
हामी भर्‍याङ  हौँ भन्न सम्म पाइने ।
उनीहरूको उज्यालोमा,
हामी भर्‍याङ  हौँ भन्न पाइने
तर भर्‍याङबाट मुक्ति नपाइने ।

हामीलाई
भर्‍याङबाट मुक्त भएको
हेर्न चाहँदैनन् उनीहरू
बरु चाहन्छन्
डेकेन्द्र राजवंसीले  गरेझैँ
हामी सबैको आत्महत्या
उनीहरू भित्रैबाट चाहन्छन्न् अबोध बच्चाहरूसँगसँगै
भोकले छट्पट्एिर
कर्णालीका अविभावकहरूले गरेको जस्तो
हाम्रो पनि सामूहिक आत्महत्या
तर उनीहरू चाहँदैनन्
भर्‍याङबाट हाम्रो मुक्ति ।

मान्छेलाई भर्‍याङ बनाउने मान्छेहरू,
भर्‍याङ  नै भर्‍याङले उठाएको मुठ्ठी
भर्‍याङ नै भर्‍याङले लगाएको जुलुस
भर्‍याङ  नै भर्‍याङले उरालेको भाषण
भर्‍याङ  नै भर्‍याङले चलाएको क्रान्ति
कति शक्तिशाली हुन्छ
मान्छेलाई भर्‍याङ  बनाउने मान्छेहरू
अब हेर तिमीहरूले
आँखा खोलेर हेर
इतिहासका पन्नाहरूमा आँखा रगडेर हेर,
काठका भर्‍याङलाईझैँ
तिम्रा पाषाण खुट्टाहरूले
लामो समयसम्म
अब टेकिरहन सक्दैनन्
मान्छेका करङहरूको भर्‍याङ ।

मधुपर्क मासिक, २०६८ असोज

(२०६७ साल वैशाख ४ गते २०२८ सालको झापा आन्दोलनका योद्धा डिकेन्द्र 
राजवंसीले ने.क.पा.(एमाले) पार्टी कार्यालयमा झुण्डिएर आत्महत्या गरेका थिए ।)  





No comments:

Post a Comment