Wednesday, March 28, 2018

फुल्चोकीमा छुटेको ‘सेक्सी चुनरी’ : प्रकाश गुरागाईं

विमल निभा चिया पिउँदै छन् । राजव चिया पिउँदै छन् । वियोग बुढाथोकी पनि चिया पिउँदै छन् । चिया मात्र पिउनु अचम्मको कुरा हो । तर, वेला बाँकी छ । बल्ल बिहानको ८ बज्यो ।
प्रकाश गुरागाईं

प्रज्ञा प्रतिष्ठान हाताको बसअगाडि राखिएको ब्यानरले गन्तव्य बताइरहेछ । फुल्चोकी साहित्य उत्सवमा कविता सुनाउनु छ । फुल्चोकीको डाँडामा बस्ती छैन, मात्र जंगल । कसलाई सुनाउने म भन्न सक्दिनँ । तर, झन्डै ५० कवि डाँडा चढ्न तयार छन् । सायद कवि र श्रोता दुवै हुन् बसमा चढ्न तयार कवि ।
विमल निभाले अइलाविना कविता दमदार वाचन गर्लान् ? वियोगी बुढाथोकी चिसो बियर नखाई गजल गाउलान् ? रहस्य कायम छ । केवल बिनाबीको हालत अहिलेसम्म ठीकै छ । म उसकै अगलबगल छु ।

प्रज्ञाको गेटमा नै भेटिएका थिए कवि सुनिता खनाल र अमृता स्मृति । बाटैमा मादक मुस्कानले स्वागत गरेका थिए । अझै देखिएकी छैनन् देवकी अभिलाषी ।
यस्ता कार्यक्रममा ब्रेकफास्टको मेनु पुरानै हुन्छ, उसिनेको अन्डा, चना, पाउरोटी र चिया । एउटा सिकारु कवि कविता भन्न मञ्चमा गयो भने उसको कविताको शीर्षक अनुमान गर्न सकिन्छ– आमा, मेरो देश, छोरीको मर्म, सडक बालक यस्तै । ब्रेकफास्ट पनि अनुमान गर्न गाह्रो छैन । त्यसैले ब्रेकफास्टमा अग्र्यानिक कविताको स्वाद छैन । पुरानै ढर्रा ।
कवि तुलसी दिवस दुई–चार नयाँ कविबाट घेरिएका छन् । चाउरी परिसकेको अनुहारमा फुर्ती भने स्पष्ट देखिन्छ । उनी कविताको दर्शन बताइरहेछन् ।
बसले हिँड्ने संकेत दियो । अगाडि सिट त भरिभराउ । कवि गजलकार बलराम तिमल्सिना विप्लव मध्यभागतिरको बायाँ सिटमा बसिसकेछन् । उनको दायाँतिर सिटमा जगत प्रेक्षित । बलराम तिमल्सिना विप्लवको ठीक पछाडि म र केवल बिनाबी यात्री भयौँ ।


बलराम तिमल्सिनालाई क्रान्ति अपूरो भएको पीडा छ । प्रचण्डले एमालेसँग पार्टी एकीकरण गर्ने निर्णय गरेपछि उनी केही महिनाअघि मात्र अलग्गिएका छन् । अहिले प्रचण्ड र माओवादी नेतालाई व्यंग्य गरेर कविता, गजल र गीत लेखिरहेका छन् । बसमा पनि उनले बहस सुरु गरिहाले । घरी गजल सुनाए, घरी गीत र कविता सुनाए । श्रोता थियौँ जगत प्रेक्षित, केवल र म ।
क्या लेखे विप्लवले ! क्या भने विप्लवले ! त्यसपछिका कविहरूले आफूले वाचन गर्ने भनेर ल्याएका कविता खल्तीबाट झिकेनन् । बरु उही पुराना दमदार कविता भन्न थाले । कवि श्रवण मुकारुङले बिसे नगर्चीको बयान सुनाए । केशव सिलवालले ङा चेपाङ सुनाए । गीता त्रिपाठी, डा. ज्ञानु पाण्डे, मातृका पोखरेल, डा. विन्दु शर्मा र क्रमशः अरू सुन्दै गयौँ ।
बलराम तिमल्सिना विप्लवभन्दा अगाडि सिटमा छन् वियोगी बुढाथोकी र ज्ञानुवाकर पौडेल । उनीहरूको दायाँतिर छन् प्राज्ञ श्रवण मुकारुङ । पछाडिबाट कवि सोझो गाउँले वियोगी बुढाथोकीमाथि खनिए, ‘वियोगी दाइको आँत हरहर भइसक्यो होला, उहाँ त हिउँ परेको दिन पनि फ्रिजको बियर खाने मान्छे हो ।’ वियोगी पछाडि फर्कन बाध्य भए । ‘खोइ बसमा कसैले व्यवस्था गरेन ? गफ गर्ने जोसै आएन,’ एकपटक हाँसो त छुटिगयो ।
ठैबबाट कवि केशव सिलवाल र बम बानियाँ पनि मिसिए । गोदाबरीमा निजी कार छाडेर देवकी पनि सुनिता र अमृताको बगलमा आइपुगिन् । बस उक्लिँदै जाँदा देवकीले दोहोरी सुरु गरिन् ।
हे…अघि थिए वनका बाघजस्ता
अहिले भए ओइला’का पातजस्ता
बल्ल प¥यो निर्माया…
केवलले पछाडिबाट जवाफ फर्कायो–
हे… अहिले भने तिमीले झ्याउ गर्याै
तिम्ले पनि पैले नै म्याउँ गर्याै
बल्ल पर्याे निर्माया…
तर, उसको जवाफ अगाडि सुनिएन । महिला कविले आफ्नै धुनमा जवाफ दिए । दोस्रोपटक भने पछाडिको स्वर अलि ठूलो भयो । तर, जवाफ अन्टसन्ट हुन थाल्यो, भाकामा नमिलेको । कवि देवकी अभिलाषीको अगाडि पुरुष कविहरूले दोहोरी गाउनै सकेनन् ।
फुल्चोकी पुग्नुअघि बस ठस्ठस् कन्दै उकालो चढिरहेको छ । धुलाम्मे बाटो । बसभित्र छिरेको धुलोले मान्छे देखि नै छाड्यो । सबका आँखा बन्द थिए सायद । ‘झ्याल लगाऊ, झ्याल’ कसैले चिच्यायो । तर, ढिला भइसकेको थियो । झ्याल लगाएपछि बाहिरको धुलो भित्र आएन र भित्रको पनि बाहिर गएन । केही कविले खोकेको सुनियो । बस भने घ्यार्र उकालो उक्लिरहेको छ ।
फुल्चोकी डाँडामा सैनिक क्याम्पअगाडि बस रोकियो । लुगा र अनुहारमा टाँसिएको धुलोले कविका अनुहार फुस्रा छन् । तैपनि बसअगाडि फोटो खिच्न घम्साघम्सी भइगयो ।
ब्यानर बोकेर स्वागतमा बसेका रहेछन् रविराज आचार्य । साहित्य उत्सवको सन्दर्भ थियो– विश्व कविता दिवस । प्रज्ञा प्रतिष्ठान र नेपाल मण्डल पर्यटन महोत्सवले कार्यक्रम राखेको थियो । हामी धुले पर्यटक र धुले कवि थियौँ । धुलैमा बसेर कविता भनियो ।
कविता वाचनस्थल २७६५ मिटर उचाइमा । म पहिलोपटक यति उचाइमा पुगेको थिएँ । काठमाडौँ आसपासका डाँडा होचा देखिइरहेका थिए । कवि विप्लव ढकाल र केशव सिलवाल ठाउँ पहिचानमा लागे । पारि गोटीखेलतिर बस्ती होइन वन मात्र देखिइरहेको थियो । तल काठमाडौँ तुवाँलोमा हराएको छ । काठमाडौँले आज कविहरूलाई सम्झिरहेको होला कतै कोठे कार्यक्रमहरूमा । तर, फुल्चोकीमा भने उन्मुक्तताको खोजी भइरहेको थियो ।
कवि वियोगी बुढाथोकी बसबाट उत्रिनेबित्तिकै चिसो बियरको खोजीमा थिए । उनका लागि कवि महेश प्रसाईं अघि सरेर प्यास बुझाइदिने प्रयासमा थिए । यता केवल बिनाबीलाई पश्चात्ताप थियो कि उसले कोटको खल्तीमा रुस्लान हाल्न पाएन । मैले नै रोकेको थिएँ । वेला–वेला मतिर औँलो सोझ्याएर गाली दिइरहेको थियो ।
डाँडाको मन्दिरछेउका ढुंगा र फलैँचामा टक्राकटुक्रुक बस्यौँ । मन्दिर त थिएन, खुला आकाशमा मूर्ति थिए । भगवान्लाई घर चाहिँदो रहेनछ । उसलाई हिउँ, पानी, घाम, धुलोले असर गर्दैन । बरु मन्दिरबाट भगवान् निकालेर त्यहाँ गरिबलाई राख्नुपर्छ । काठमाडौँका मन्दिरबाट मूर्तिहरूलाई संग्रहालय सारेर दलित र गरिबलाई राख्नुपर्छ भन्यो भने कसैले अराजकता ठान्ला । तर, मन्दिरमाथिको पहिलो हक दलित समुदायकै हो, जसले कला भरे । पुजारी त एउटा सत्ता हो, जो राजनीति गरेर मालिक भएको छ । फुल्चोकी डाँडाको खुला मन्दिरले मलाई यति दार्शनिक पक्कै बनायो ।
कार्यक्रमको सुरुमा नै नेपाल मण्डल पर्यटन उत्सवका संयोजक कृष्ण केसी बोले । लामो बोलेनन् । तर, मैले उनको बोली सुन्नुभन्दा उनको विगत सम्झिएँ । जनयुद्ध, सगरमाथा आरोहण, वागमती सफाइ, पर्यटन उत्सव, अनेक गर्न भ्याउँछन् यी ।
राम विनयले नयाँ यात्रा संस्करण प्रकाशन गरेका रहेछन्, झझल्को । २७६५ मिटरको उचाइमा विमोचन गराउने भए कुलपति गंगाप्रसाद उप्रेतीको हातबाट । कृति कति उचाइको छ पाठकले नै भन्नेछन् ।
५० कविका कविता सुन्नु थियो । तर, आज कोही कवि पनि आफ्ना कविता सुनाएर भागिहाल्ने सम्भावना थिएन । कविलाई आरोप छ कि आफू कविता सुनाउँछन्, अरूका सुन्दैनन् । एकेडेमीमा कविता सुनाउँदा अन्तिममा एक–दुई कवि मात्र बाँकी हुन्छन् । तर, आज पैदल फर्कने सम्भावना थिएन । सार्वजनिक गाडी फुल्चोकी चढ्दैन । कविहरू अरू कविका कविता पनि सुन्नैपर्ने बाध्यतामा फसे ।
कुलपति गंगाप्रसाद उप्रेती, विमल निभा, राजव, महेश प्रसाईं, ज्ञानुवाकर पौडेललगायतले कविता भन्दै गए । तर, माहौल तताए कवि विप्लव ढकालले ।
बाटोभित्रै यदि बाटो हरायौ भने
मेरो ठेगाना कुनै पर्खालमा टाँगिएको
अमिताभ बच्चनको
पुरानो तस्बिरलाई नसोध्नु !
तिम्रो देशको नयाँ सरकारलाई सोध्नु !
उनले कविता ‘सेक्सी चुनरी झ्याप्प झ्याप्प !’ मा मुम्बईको गल्लीमा बेचिएको देशको चित्र उतारे । सायद यो देश अहिले दलालहरूले चलाइरहेका छन् । उनले कविता अन्त्य गर्दा पनि अझै सुन्न मन लागिरहेको थियो–
अब तिमी कमाठीपुराको अँध्यारो गल्लीमा
मिराबाईले थुकेका पानका बुट्टाहरू
कुल्चिँदै आऊ !
आँसुको रङ, वीर्यको रङ र रगतको रङभित्र
जीवनका असंख्य रङहरू बिर्सिँदै आऊ !
म आज तिम्रै लागि अन्तिम साँझ बत्ती
बालिरहेकी छु–
छुटेको जवानी झ्याप्प झ्याप्प !
सेक्सी चुनरी झ्याप्प ! !
क्या लेखे विप्लवले ! क्या भने विप्लवले ! त्यसपछिका कविहरूले आफूले वाचन गर्ने भनेर ल्याएका कविता खल्तीबाट झिकेनन् । बरु उही पुराना दमदार कविता भन्न थाले । कवि श्रवण मुकारुङले बिसे नगर्चीको बयान सुनाए । केशव सिलवालले ङा चेपाङ सुनाए । गीता त्रिपाठी, डा. ज्ञानु पाण्डे, मातृका पोखरेल, डा. विन्दु शर्मा र क्रमशः अरू सुन्दै गयौँ ।
एकपटक फेरि कवि सुनिता खनालले ‘आमाको बैंस’ कविताले सबैलाई आफूतिर तानिन् । अनि अमृता स्मृति, देवकी अभिलाषी, बम बानियाँलगायतले सुनाए कविता । घाम डुब्नै लाग्दा कार्यक्रम सकिएको थियो ।
बस तल झरिरहँदा फेरि दोहोरी सुनिएन । महिला कवि अर्को बसमा छुटेछन् । तर, पल्लो सिटमा बस्न पुगेका विमल निभा मनोरञ्जन दिइरहेका थिए । उनले सबैभन्दा धेरैपटक श्यामललाई पुकारे । ‘आज कविता भनेर अइला खान पाइएन भनेको सुन्दा श्यामल कति हाँस्ला ? आफू नगएको राम्रो भएछ भन्दो हो, ढाँट्नुपर्छ है उसलाई,’ उनी श्यामल र अइला एकसाथ सम्झिरहेका थिए । विमल आजका सबै कवितालाई उच्चस्तरीय भनिरहेका थिए । ‘यति उचाइमा भनेका कवितालाई कम आँक्नु हुन्न, २७६५ मिटरमा पढिएका आजका सबै कविता उच्चस्तरीय हुन्,’ विमल निभाले हँसाइरहे ।
उनी वेला–वेला आयोजकलाई मदिरा नखुवाएकोमा व्यंग्य पनि गरिरहेका थिए । आयोजकले बसमा हालेको मदिरा डाँडामै छुटेछ । त्यो किन निकालिएन छलफल भयो, विनानिष्कर्ष ।
बस झरिरहँदा विप्लव ढकालको सेक्सी चुनरिया छुटेको थियो । सुनिता खनालको आमाको बैंस छुटेको थियो । काठमाडौँको मदिरा छुटेको थियो । चिसो हावा छुटेको थियो । जंगलको हरियो गन्ध छुटेको थियो । सँगै थियो फुल्चोकी सम्झना ।

No comments:

Post a Comment